आचार्य प्रभा
सपना,
तिम्रो स्वच्छ र कोमल
मनको कसरी गरूँ म
प्रशंसा
एउटी कलिली मुना जो
आफू सडकमा भौंतारिंदै
भोको पेट र नाङ्गो आङ्गले
सिकाएको तिम्रो संघर्षले
आज सडकमा बेवारिसे बनेका
असंख्य लाशको अभिभावक बन्दै
दागबत्ती दिने हिम्मतिली र
समर्पित नारी बन्ने
प्रेरणा पायौ
सलाम छ तिम्रो त्यो हिम्मतलाई।
छैन मसँग तिम्रो त्यो हिम्मतलाई
प्रशंसा गर्ने शब्दहरू,
आफ्नै घरआँगनबाट बहिष्कृत भएर
तिमीले भोगेका धोका र पीडाबाट नै
आज तिमी ती बेवारिसे बाआमाको
लाशको अभिभावक बन्दै स्वच्छ मनको
श्रद्धाञ्जली दिने एक सन्तान बन्यौ
हो सिक्नुपर्छ तिमीबाट सबैले
धोका, असफलता र अभावले नै मान्छेलाई
कोमल र कर्तव्यनिष्ठ बनाउँछ भन्ने पाठ।
अब कहाँ भन्न पायौ र तिमीले
म मेरो बाउआमाको मात्र छोरी हुँ भनेर
तिमी त असंख्य ती बेवारिसे आत्माहरूकी
प्रिय छोरी भयौ !
अनि भयौ संसारले चिन्ने नेपालकी
एक मात्र आँटिली छोरी,
सोच्नुपर्छ तिमीले अब त म एक्ली छैन
मेरा असंख्य असहाय बाआमा छन् भनेर
अनि गर्वले छाती फुलाउनुपर्छ
म त राखिएकी नामको पात्र सपना मात्र होइन
म त मेरो देश नेपाल र असंख्य नेपालीको
स्वच्छ मनको साकार सपना हुँ
अर्थात्,
म देशकै मिठो सपना हुँ भनेर।