बोधराज पौडेल
आस्थाको डोरीमा
रक्त र नशाको सम्बन्ध जोडेपछि
मैले बिहानको खाली पेटमा
आमाको हातको दही पिएर
एउटा बलियो बन्धनका लागि
तिम्रो हात थामेको हुँ ।
घरको छानोमा धुवाँले खाएर
भाटाहरूलाई थेग्न नसकेको बन्धनमा
एउटा दरिलो घोरे बाँध्नका लागि
चिलसा लागेका चोयाहरूको भर
कमजोर ठानेर नै हो मैले
बन्धन खोजेको पनि
आँगनलाई परदेश ठानेर
ओछ्यानदेखि चुल्होसम्म
बिहानभरिको यात्रा गर्ने
मेरा देउताहरूलाई
अलिकति अन्न
थोरै जल
र,
न्यानो घामसम्म पुरयाउने
आस्थावान् भावनाको
एउटा बन्धन नभएर नै
निन्द्रारहित पूर्ण होसहवासमा
र,
कसैको दबाबविनाको सपना हो यो
अलिकति खास्टोको मैलो हटाउने
रुग्ण आँखाको जालो फटाउने
दमले धडेको छातीमाथि
अवरुद्ध हुन लागेको गलामा
भरोसाको तरन खोज्दै जाँदा
कतै टाढा पुगिसकेछु
अरे वा सबै पूरा हुनुपर्छ
यो विश्वासमा हिँडेको बाटो हो
माटोमा पोखिएको अन्न उम्रिन्छ
धमिराले खाएको दलिन फेरिन्छ
वर्षौअघि पोखिएको आँसु
जमेर हिउँ भइसक्यो
अब त फेर्नै पर्ने भयो
यो चुँडिएको बन्धन
साँच्चै तिमीलाई थाहा छ,
बन्धन चुँडिएपछि के हुन्छ ?