तारानाथ पोखरेल
१)
दबाईबिना अब मान्छे कोही मर्नु हुँदैन,अमूल्य जीवन हो यो, कसैको हर्नु हुँदैन ।
आफू ठीक नभै अरूलाई नदेऊ है दोष,
मात्रै अरूलाई मात्र आँखा तर्नु हुँदैन ।
अँध्यारोबाट उज्यालोतर्फ आफैं लाग्नुपर्छ,
आफ्नो मनोबल उच्च राख्न तल झर्नु हुँदैन ।
कसैको अधीनमा नरहेको हाम्रो यो देश,
नेपाल कसैको चंगुलमा यो पर्नु हुँदैन ।
स्वतन्त्र नेपाल राष्ट्रघातको गन्ध नआओस्,
राष्ट्रघात हुने काम कसैले गर्नु हुँदैन ।
२)
उज्यालोको खोजाइमा अँध्यारोमा फसेंको देख्छु,बढाइको चाहनामा मान्छे तल खसेको देख्छु ।
नियालेर हेर संसार घुमिरहेकै हुन्छ यहाँ,
त्यसैले होला हामी घुमाइसँग पसेको देख्छु ।
अँध्यारोपछि उज्यालो उज्यालोपछि अँध्यारो हुन्छ ,
आउने जाने क्रममा ब्वाँसोले दाह्रा धसेको देख्छु ।
सजिलोको आशै आशमा बसेका निरीह प्राणीलाई
झन् – झन् दिन प्रतिदिन पासोले नै कसेको देख्छु ।
आफ्नै औकातको धरातलमा उभिनु हुन्छ राम्रो
चाम्रो चपाउँदा चपाउँदै यहाँ कमजोर दाँत खसेको देख्छु ।
३)
विश्वास गरें उनले गरे घात धेरै,अलिअलि गर्दै उनले पिए मात धेरै ।
परिवारलाई उनले गन्दै गनेनन् ,
उनलाई उक्साउने थिए साथ धेरै ।
परिवार उनीबाट विचलित हुँदै गो,
सहस्र अश्रुधारा बगाई बिते रात धेरै ।
सपार्न सक्छु कि भनी प्रयासरत छु म
आशा निराशा बन्दै खिए प्रातः धेरै ।
हाम्रो त यस्तै छ अरूको पनि त्यस्तै होला
आजभोलि गर्दै बिग्रँदै गयो बात धेरै ।