आधुनिक कलामा घोडालाई प्रतीकका रूपमा प्रयोग गरी पूर्वीय प्राचीनतासँग वर्तमानलाई जोड्ने कलाकार हुन् शशी शाह। ‘घोडा’ उनको कला दर्शनको एउटा जीवन्त प्रतीक हो। उनको कलाले पौराणिकतालाई मात्र स्मरण गराएको छैन, प्रत्येक युगको मानव समुदायले शासकद्वारा भोग्दै आउनुपरेको दमन र उत्पीडनलाई पनि अनुभूत गराएको महसुस गर्न सकिन्छ। दर्शक वा भावकमा यस्तो अनुभूति गराउन सक्नु यथार्थवादी कलाको सफलता पनि हो भन्न सकिन्छ।
शक्तिवान् मानिसका मानवताविरोधी प्रवृतिका कारण युगौंदेखि सामान्य र शक्तिहीन मानिसले अनेकौं पीडा सहनु परिरहेछ। शाहले भनेका छन्, ‘यहाँ सधैं शकुनिले पासामा कपट गरिरहेका हुन्छन्।
शकुनिहरूकै कारण संसारमा प्रायःजसो महाभारत भइ नै रहेका, अशान्ति मच्चिइरहेको एवं संसार भोक र प्यासले छटपटाइरहेको छ। कल्कीका प्रतीक घोडाले मानव सभ्यता र संस्कृतिको विकास गर्न चेस र तासमाथि टेकेर फड्को मार्दै शकुनिहरूको उछितो काढ्दै हिँड्नु पनि अपरिहार्य छ।’
शाहको यस भनाइमा वर्तमान समयको एउटा सार्वभौम त्रासदी अभिव्यक्त भएको बुझ्न सकिन्छ। कलाकारको एउटा कलादृष्टि हो यो, जसमा मानव जगत्ले भोग्नु परिरहेको एउटा भयावह यथार्थ प्रस्फुटित भएको छ। वास्तवमा वर्तमान युगलाई आआफ्नो स्वार्थका पासा खेलिरहेका शकुनिहरूले घाइते पारिरहेका छन्। तिनै शकुनीहरूका स्वार्थविरुद्ध शक्तिशाली टापहरू प्रहार गर्दै सिंगो मानवताको सुरक्षा गर्न सत्य र न्यायका प्रतीकका रूपमा कल्की अवतार हुनु जरुरी भइसकेको छ।
शाहको ‘कल्की अवतार’ शृङ्खला मानव जगत्ले भोग्नु परिरहेको वर्तमानको त्रासदीविरुद्ध छ, रोग, भोक र प्यासद्वारा प्रताडित हुँदै चिच्याइरहेको समयको आर्तनादविरुद्ध छ। जीवन्त र प्रतीकात्मक चित्रकलामार्फत समग्र मानव समाजको सुस्केरालाई अभिव्यक्ति दिनसक्नु कलाकारको अतियथार्थवादी कलाचिन्तनको अद्भुत प्रस्फुटन पनि हो। कल्की अवतारको प्रतीकात्मकताको व्याख्या बहुआयामिक हुनसक्छ। जीवन्तकलाको व्याख्या र विश्लेषण युगौंसम्म पनि भइरहन्छ। कला त्यसैले समयातित रहन्छ।
घोडाको सनातन सांस्कृतिक अर्थ छ। सूर्य खगोलीय पिण्ड मात्र होइन, सृष्टिको स्रोत पनि हो। सनातन विश्वासमा सूर्यको वाहनका रूपमा घोडाहरूको प्रयोग भएको देखिन्छ। हिन्दु विश्वासमा आधारित मिथकअनुसार सूर्य आदि देवता हुन्, घोडाहरू सूर्यका वाहन हुन्। सूर्य नारायण हुन्।
अधर्मबाट चरम रूपमा प्रताडित चराचर जगत्को उद्धारका लागि नारायणको कल्की अवतार प्रतीक्षणीय छ। प्रतीक्षा विश्वासको हो। शाहको ‘कल्की अवतार’ मानवभित्रको दानवीय प्रवृत्तिविरुद्ध लक्षित छ। सामान्य भावकका बुझाइमा अन्य कलाजस्तै चित्रकलाको उद्देश्य मूलतः आनन्दानुभूति, सौन्दर्यानुभूति र चैतन्य प्राप्ति हुनसक्छ। कलाको उद्देश्य यति नै मात्र होइन। बुझाइ र पारख्याइँको पनि सीमा हुँदैन।
आधुनिक चित्रकलाको स्तरीयतामा शाहका सिर्जना उच्चकोटीका मानिन्छन्। आफ्नो मौलिकपनलाई राष्ट्रिय स्तरमा स्थापित गर्दै विशिष्टता प्राप्त कलाकार हुन् शाह। जति नयाँ बिम्ब कलामा प्रयोग हुन्छन्, त्यो त्यति नै मौलिक ठहरिन्छ।
शशी शाहले वर्तमानको चरम भौतिकवादभित्र निस्सासिइरहेको सार्वभौम मानवीय अवस्थालाई चित्रकलाका माध्यमबाट अभिव्यक्ति दिँदै आएका छन्। मानवमात्रले भोग्नुपरिरहेको घातप्रतिघातको नियति अन्तहीन छ। चित्रमार्फत् शशी शाहको खोजी त्यसै नियतिभित्रबाट सत्य र न्यायको खोजी हो।
एउटा शक्तिशाली परिकल्पनाको शृङ्खलाबद्ध प्रस्तुति उनका प्रत्येक चित्रमा देख्न सकिन्छ। यस्तो कला सामथ्र्यकै कारण शाहले युगको क्षितिजमा नमेटिने गरी आफ्ना कलाको निसान लगाइसकेका छन्, जहाँबाट पारखीहरूले शाश्वत चैतन्यको उज्यालो प्राप्त गरिरहन्छन्। युगहरू आउँछन् जान्छन्, जीवन्त र शाश्वत कलाको जीवन युगनिरपेक्ष रहन्छ। गाम्भीर्य अन्तर्यमा रहन्छ, सतहमा हुँदैन।
पिता चूडाविक्रम शाह र माता ईश्वरी शाहका सुपुत्रका रूपमा १९९७ चैतमा काठमाडौंको भोटेबहालमा शशी शाहको जन्म भएको हो। उनले दरबार हाई स्कुलबाट एसएलसीसम्मको शिक्षा प्राप्त गरी त्रिचन्द्र कलेजमा विज्ञान पढ्न थाले। उनको आन्तरिक अभिरुचि चित्रकलातर्फ त्यस बेलैदेखि बढ्दै गयो। बुबाआमाद्वारा उनलाई कलामै लाग्न प्रेरणा पनि प्राप्त भयो।
त्रिचन्द्रबाट आइएस्सी पूरा भएपछि उनलाई सर जेजे स्कुल अफ आर्टस मुम्बईमा कला अध्ययनका लागि भारत सरकारबाट नेपाललाई प्रदान गरिएको छात्रवृत्ति प्राप्त भयो। उनी उच्च कला शिक्षा र साधनाका लागि मुम्बईतर्फ लागे। उनको सघन कलायात्राको प्रस्थान विन्दु यही नै थियो।
२०२० सालदेखि २०२६ सालसम्म जेजे स्कुल अफ आर्टसमा अध्ययन गर्न पाउनु शशी शाहका लागि कलाको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्राप्तिका लागि सर्वाधिक महत्त्वपूर्ण अवसर थियो। सँगसँगै कला महाविद्यालयकै लागि पनि उनको कलाज्ञान र उपलब्धि गौरवपूर्ण रह्यो।
उनले प्रथम श्रेणीमा सर्वोत्कृष्ट नतिजा प्राप्त गरी कलामा स्नातकोपाधि प्राप्त गरे। त्यस कलाकेन्द्रमा अध्ययन गर्ने नेपाल विद्यार्थीहरूमध्ये शशी शाहद्वारा प्राप्त त्यस सर्वोत्कृष्ट औपचारिक उपलब्धि अभूतपूर्व थियो। उनको चित्रकलाप्रतिको समर्पण र तपस्याको परिणाम थियो त्यो। नेपालकै लागि पनि उनले प्राप्त गरेको उपलब्धि गौरवको विषय थियो।
औपचारिक अध्ययनकै क्रममा थप एक वर्ष शाह मुम्बईमै बसे र भित्ते चित्रसम्बन्धि अध्ययन र अभ्यास गरे। उनको कलाकारितामा अझै निखार आउँदै गयो। दिनमान, धर्मयुगजस्ता प्रख्यात भारतीय पत्रिकामा उनका रेखाचित्र प्रकाशित भए। २०२६ सालमा उनी नेपाल फर्के। उच्च तहको सैद्धान्तिक ज्ञान एवं अभ्यासको निरन्तरताले स्रष्टामा निष्ठा र आत्मविश्वास बढ्दै जानु स्वाभाविक रहन्छ।
२०२६ सालमै शशी शाहले नेपालमा आफ्नो प्रथम एकल चित्रकला प्रदर्शनी गरे। त्यसबेला प्रदर्शित शशी शाहका चित्रहरू परावस्तुवादी अर्थात् सररियालिस्ट रहेको विश्लेषण कला समीक्षकहरूले गरेका छन्। रचनामा रङको स्वच्छन्द तर अर्थपूर्ण प्रयोग गर्दै नवीनतम काल्पनिकीका साथ मानव संवेगको विश्लेषणात्मक प्रस्तुति गर्नु शशी शाहको तत्कालीन कलाकारिताको ध्येय रहेको कुरा कला समीक्षक नारायणबहादुर सिंहको विश्लेषणबाट बुझ्न सकिन्छ, ‘मूलतः कालो रङ वा मसीले लेखिने गरेका उहाँका यस्ता चित्रहरू शैलीगत दृष्टिले परावस्तुवादी र आकृतिप्रधान हुने गर्छन् तर तिनको संरचनात्मक पक्ष भावका दृष्टिले पनि औधी प्रभावशाली हुन्छन्।’ समयसँगै साधनामा निरन्तरता रहनुका साथै प्रौढता पनि आउँदै गयो।
कलाको रचना शैली एवं भाव गाम्भीर्यमा अझ परिमार्जन र निखार पनि आउँदै गयो। जेजे स्कुलबाट फर्केपछि २०२८ सालमा शशी शाह, कृष्ण मानन्धर, इन्द्र प्रधान र बत्स गोपाल वैद्य मिलेर सामूहिक कला यात्राको आरम्भ गरे। त्यसको प्रारम्भ उनीहरूले स्किब–’७१ को नामबाट गरे। स्किब–’७१ समूहले २०५० को दशकको आरम्भसम्म नै असंख्यपटक सामूहिक कला प्रदर्शनी गर्यो।
सरकारी वा जनस्तरबाट प्राप्त सम्मानले स्रष्टालाई सिर्जनामा निरन्तरता दिन ऊर्जा प्रदान गर्छ। शाहले प्राप्त गर्दै आएका सम्मान वा पुरस्कारहरू कैयौं छन्। २०२७ सालको राष्ट्रिय कला प्रदर्शनीमा शशी शाहले प्रथम पुरस्कार प्राप्त गरेका थिए। उनलाई तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट २०३५ सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कारबाट विभूषित गरियो।
यस्तै, उनलाई २०६० सालमा राष्ट्रिय प्रतिभा पुरस्कार एवं २०७० सालमा राष्ट्रिय ललितकला प्रज्ञा सम्मान पनि प्रदान गरिएको छ। अन्य सम्मान तथा पुरस्कारहरू पनि कैयौं छन्। औपचारिक सम्मानले स्रष्टाको परिचयलाई विस्तार गर्नु स्वाभाविक रहन्छ।
शाह आफूले प्राप्त गरेको कलाज्ञान समाजको अनुज पुस्तामा पुर्याउन पनि सक्रिय रहे। कलामा उच्चशिक्षा प्राप्त उनले २०२६ सालदेखि नै नेपाल ललितकला क्याम्पसमा प्राध्यापन सुरु गरे। त्यहाँ उनले क्याम्पस प्रमुखको जिम्मेवारी पनि सम्हाले। नेपाल ललितकला क्याम्पसमा उनले ११ वर्ष सेवा गरे।
यस्तै २०५८ सालदेखि एक दशकसम्म उनले सिर्जना कलेज अफ फाइन आर्टसमा प्रिन्सिपलको भूमिकामा रही जिम्मेवारी बहन गरे। उनले २०५२ देखि ५ वर्षसम्म तत्कालीन नेराप्रपमा प्रज्ञा परिषद्को सदस्यका रूपमा भूमिका खेले। यी विभिन्न संस्थासँगको संलग्नताबाट सार्वजनिक जीवन र जिम्मेवारीबाट टाढा रहन नचाहने शशी शाहको व्यक्तित्वका विभिन्न आयामलाई बुझ्न सकिन्छ।
कलाकृतिहरूको सार्वजनिकीकरण कलाकारका लागि आफू र कला भावक, जिज्ञासु वा अनुरागीसमक्ष पुर्याउने महŒवपूर्ण माध्यम हो। कलाको सौन्दर्यलाई दर्शकद्वारा गरिने अनुभूतिगम्य प्रतिक्रियाद्वारा मापन गर्न पनि सकिन्छ। कलाको सौन्दर्य मूलतः त्यसको शैली, भाव र रङको सन्तुलनका आधारमा मापन गरिन्छ। यसका लागि कला प्रदर्शनीको जरुरत पर्छ। २०२६ सालदेखि नै उनले कला प्रदर्शनी गर्न थालेका हुन्।
स्वदेश तथा विदेशमा गरी शाहका कलाकृतिहरूको दर्जनौं पटक प्रदर्शनी भएको छ। पहिलो कला प्रदर्शनी सन् १९६८ मा नाफा आर्ट ग्यालरीमा भएपछि प्रदर्शनीको क्रम निरन्तर रह्यो। नेपालमा दर्जनौंपटक एवं भारत, रुस, जापान, अस्ट्रेलिया लगायत विश्वका अन्य कतिपय मुलुकमा उनका चित्रकला प्रदर्शनी भएका छन्।
उनका कलाकृति नेपालका प्रमुख कला संग्रहालय तथा नेपालबाहिर, अमेरिका (न्युयोर्क), जापान (फुकुओका) लगायतका संग्रहालयमा पनि संकलित छन्। स्किब–’७१ का संस्थापक सदस्यमध्येका एक रहनुका साथै शाहले योङ आर्टिस्ट ग्रुपका संस्थापक सल्लाहकार, मानविकी तथा समाजशास्त्र संकायका बोर्ड सदस्य, कलाकार समाजका उपाध्यक्षलगायत भूमिकामा रहेर पनि जिम्मेवारी बहन गरिसकेका छन्।
शाह जब सिर्जनारत रहन्छन्, उनको कल्पनाशीलता अभौतिक जगत्मा विचरण गर्दै रङ र कुचीमार्फत क्यानभासमा अवतरण हुन्छ। मनुष्य जगत्का शाश्वत प्रवृत्ति, संस्कार र संवेदना उनी चित्रकला मार्फत दर्शकलाई तरङ्गित बनाउन थाल्छन्। कलामा पूर्वीय कला दर्शनको प्रस्फुटन भइरहेको अनुभूति पारखीहरूले गर्न थाल्छन्। यसै सामर्थ्यकै कारण शशी शाहका कलामा पूर्ण मौलिकताको बोध गर्न सकिन्छ।
एउटा कलाकारका दृष्टिमा जीवन शाश्वत कलाभन्दा बाहिर छैन। प्रवृत्ति र संवेदनाहरू अमूर्त हुन्छन्। मूर्त आकारभित्रको रहस्य नै अमूर्तता हो। आधुनिक कलामा अमूर्तताभित्र मानवीय संवेगको सघन छायाङ्कन गर्नु शशी शाहका कलाको सौन्दर्य हो भनेर अथ्र्याउन सकिन्छ। अमूर्त कलामा भौतिकता र आध्यात्मिकतालाई सम्मिलन वा एकाकार गराई नयाँ सत्यको उद्घाटन गर्न सक्नु शशी शाहको उद्देश्य रहेको बुझ्न सकिन्छ। कलाकारका लागि चित्रकलामार्फत जीवनको शाश्वतताको खोजी एउटा अन्तहीन यात्रा हो।
लघुकथाको क्षेत्रमा खेमराज पोखरेल कुनै अपरिचित नाम होइन। सामाजिक माध्यम खासगरी फेसबुक पेजहरू जसले उनलाई लघुकथाको क्षेत्रमा स्थापित गर्न मेरुदण्डको काम गरेको छ भन्दा अतिशयोक्ति नहोला। लघुकथाबाट नेपाली साहित्याकासमा उदाएका पोखरेललाई लघुकथाकार, आख्यानकार, समीक्षक मात्र होइन परदेशी भूमिमा रहेर पनि नेपाली साहित्यको सेवामा लागिपर्ने साहित्यकारका रूपमा नेपाली साहित्यिक जगतले स्विकारिसकेको छ। यसका बलियो प्रमाण हुन् -उनले सम्पादन गरेका करिब तीन दर्जन पुस्तक। यसका साथै उनले नेपाली साहित्यको श्रीवृद्धि गरेबापत थुप्रै सम्मान तथा पुरस्कार पनि पाइसकेका छन्। उनको साहित्यिक यात्राको निरन्तरताको शुभकामना दिंदै यहाँ भने उनको पछिल्लो कृति एकालापको मात्र चिरफार गरिएको छ।
विषय प्रवेश
एकालाप पोखरेलकाे लघुकथाको सातौं कृति हो। लघुकथा लेखनबाहेकको उनले निबन्ध, कथा, पाठ्यपुस्तक, साहित्यिक पुस्तक सम्पादन गर्दै आइरहेको देखिन्छ। उनको लगाव लघुकथामा बढी देखिन्छ। एकहत्तर लघुकथा सङ्ग्रहित “एकालाप” का सबै लघुकथाका शीर्षकहरू “एक” शब्दबाट सुरु भएका छन्।
यस सङ्ग्रहमा एक शब्दको पछाडि अर्को शब्द थपेर दुई पदीय शीर्षक राखेर उनले आफ्नाे पृथक् शैली प्रस्तुत गरेका छन्। उनले कृतिको शीर्षक एकालाप राख्ने कारणबारे यस्तो लेखेका छन्, “जिन्दगीभित्रका अनगिन्ती धारावाहिक पाटाहरू रहेका हुन्छन्। यो भने मैले जीवनसँग गरेको एक आलाप मात्र हाे तर न त जीवनले मेरो आलाप सुन्यो न मैले आलाप गर्न छोडे। परिणति एकालाप हो।”
उक्त कथनबाट यो कृतिको शीर्षकले स्वत: सार्थकता पाएको बुझिन्छ। आवरण कलामा एक व्यक्ति मेचमा बसेर एकालाप गरिरहेको बुझ्न पाठकलाई हम्मे पर्ने छैन। मोलुङ फाउन्डेसन कोटेश्वर काठमाडौंले प्रकाशनमा ल्याएको यो पुस्तकको आवरण कला राजेन्द्र तारकिणीको रहेको छ भने लेआउट केदार आचार्यले गरेका छन्। हिमालयन एकेडेमी प्रेस कुपन्डोल, काठमाडौंले मुद्रण गरेको यो लघुकथासङ्ग्रहको शुद्धाशुद्धि पाठ बिमल अधिकारी, कोलोराडो अमेरिकाको रहेको छ। २०८१ भदाैमा प्रकाशित पुस्तक किनेर पढ्ने, सङ्कलन गर्न वा अनुसन्धानका लागि प्रयोग गर्ने जो काेहीको पनि मूल्य भने असुल हुने देखिन्छ।
पाेखरेलले लघुकथाविज्ञ डा. हरिप्रसाद भण्डारीलाई भूमिका लेख्न दिएर पुस्तकलाई थप आधिकारिकता प्रदान गरेका छन्। “उम्दा लघुकथाहरू” अन्तर्गत आफ्नाे धारणा राख्दै डा. भण्डारीले लेख्छन्, “पछिल्लो समय नेपाली लघुकथाको अभियानमा खेमराज पोखरेलको नाम अग्रपङ्क्तिमा आइरहेको छ। लघुकथाका सैद्धान्तिक आधारमा हेर्दा उनी कतै चुकेका छैनन्।” डा. भण्डारीको यो कथनले पाठकलाई लघुकथा पढ्न उत्प्रेरित गरेको छ।
लेखकको भनाइ पुस्तकको सुरुमा राख्ने शास्त्रीय शैली तोड्दै उनले लघुकथासङ्ग्रहको अन्त्यमा आफ्नाे परिचय, भनाइ र प्रकाशित/सम्पादित पुस्तकहरूको विवरण राखेका छन्। यो प्रयोगले उनलाई समयसापेक्ष चल्न सक्ने लेखकको रूपमा परिचय गराउन मदत मिलेको छ।
एक सूर्यदेखि एक सम्भोगसम्म
एक सूर्य शीर्षकको लघुकथाबाट सुरु गरिएको यो लघुकथासङ्ग्रह एक सम्भोग शीर्षकको लघुकथामा पुगेर अन्त्य गरिएको छ। लघुकथाकार पोखरेलले यस सङ्ग्रहको पहिलो लघुकथामा आप्रवासनको विषय समेटेका छन्। पोखरेलले आप्रवासी पुस्ता र अमेरिकामा नै जन्मिएका पहिला सन्तान पुस्ताको द्वन्द्व कौशलपूर्ण कथानकमा उतारेका छन्। लघुकथा पढ्दा यस्तो लाग्छ, यो कुनै कथा होइन यथार्थ हो।
उक्त लघुकथामा पाकिस्तानी पात्र खडा गरिएको छ। अन्य देशको आप्रवासीको ठाउँमा नेपाली आप्रवासीलाई नै पात्रको रूपमा ल्याउन सकेको भए यो लघुकथाले अझ नेपालीत्व पाउँथ्यो।
सम्भोग यो लघुकथासङ्ग्रहको अन्तिम लघुकथा हो। म नेपाली पात्र र जेसिका अमेरिकी पात्रका वीजको कथा बुनेर यस लघुकथामा नेपाली र अमेरिकीको प्रेम र सम्भोगप्रतिको दृष्टिकोण देखाउन खोजीको छ।
समीक्षक रुद्र अधिकारी ‘निर्दोषी’यौन विषय नेपालमा सङ्कुचित भए पनि अमेरिकीहरू भने खुला छन् भन्ने देखाइएको छ। लघुकथाको अन्तिम वाक्यमा भनिएको छ, “म तिमीलाई साथीको रूपमा प्रेम गर्छु। सेक्स पार्टनरका रूपमा होइन। मेरो प्रेमी अर्कै छ, जससँग म दैविक आनन्दमा सम्भोग गर्छु।”
उक्त वाक्य आफैंमा लामो त छँदै छ, यसले पाठकलाई झट्का दिन पनि सफल भएको देखिंदैन। यद्यपि लघुकथाले प्रेम र सम्भोग फरक विषय हुन भन्ने पाठ सरल भाषामा पाठकहरूलाई सिकाएको छ। यो लघुकथाबाहेक उनले एक अस्तित्व, एक वरदान, एक भर्जिन, एक पीडा, एक आन्नद, एक माया, एक रखौटी, एक स्टायल, एक यन्त्र, एक जेनेरेसन र एक अलगाव जस्ता थुप्रै पारपाचुके, श्रीमान् श्रीमती विवाद र यौन सम्बन्धी लघुकथा लेखेका छन्।
उत्कृष्टताका नमुनाहरू
लघुकथा लेखन र समीक्षामा पारङ्गत पोखरेलका केही लघुकथा उत्कृष्टताका नमुनाहरू हुन भन्दा फरक नपर्ला। उदाहरणको रूपमा एक समय, एक लास, एक आरक्षण, एक अप्राप्ति, एक युद्ध, एक दान, एक नियम, एक चस्मा, एक आकाङ्क्षा, एक याचना, एक गोरु, एक परिवर्तन, एक डस्टविन, एक रगत, एक भेट्रान, एक आसन, एक दुदानी, एक अपाङ्ग, एक मूर्च्छना, एक मुक्ति र एक फर्मुला लगायतलाई लिन सकिन्छ।
यी लघुकथाले सामाजिक यथार्थता र मनोविज्ञानको मात्र चित्रण गरेका छन् आदर्शको स्वाद पनि पाठकलाई चखाउन सफल भएका छन्। त्यसैले पोखरेलका लघुकथाहरू आदर्श र यथार्थताको संयोजनले भरिपूर्ण उत्कृष्टताका नमुनाहरू हुन भन्ने दुई मत देखिंदैन !
खेम पात्रको पृथकता
पोखरेल आफ्नै नाम खेमलाई पात्रको रूपमा प्रयोग गरेर पृथक् शैली अपनाएका छन्। एक भेद, एक समय, एक राष्ट्रियता, एक वरदान, एक युद्ध, एक भ्यागुतो, एक साथी र एक मूर्च्छना लगायतका लघुकथामा “खेम” लाई पात्र बनाइएको छ। कतिपय लघुकथा “म” पात्रको पनि प्रयोग गरिएको पाइन्छ जुन अरू लेखकले पनि प्रयोग गर्दै आइरहेका छन्। मानव र मानवेतर दुवै पात्रको प्रयोगले लघुकथामा रोचकता थपेका छ।
कृतिको शीर्षक नै एकालाप भएर होला कतिपय लघुकथामा उनले आफ्नाे मनमा आएका विषय र प्रसंगको आलाप गरेका छन्। उदाहरणको रूपमा एक युद्धलाई लिन सकिन्छ। यस लघुकथामा उनी मसानसँग संवाद गरिरहेका हुन्छन्। मसानले भन्छ, पढेको हुँ भन्छस्। यत्ति कुरा पनि बुझ्दैनस्? आखिरी मान्छेले जिन्दगीलाई युद्ध ठानेपछि युद्धले दिने त विनाश त हो, तनाव त हो नि, खेम।
यसैगरी एक भ्यागुतो शीर्षकको लघुकथामा उनले नागरिकता र आप्रवासनबारे आलाप गरेका छन् भने एक साथी लघुकथामा असल साथीलाई आलापबाटै चिनाएका छन्। पात्रमा मात्र होइन कतिपय लघुकथामा पनि पृथक्ता भेट्न सकिन्छ। सबै लघुकथाको नाम एकबाट सुरु हुनु , एक कथा शीर्षकको लघुकथामा जन्मदिनबारे कलात्मक कथा बुन्नु, प्रश्नाेत्तर शैली अपनाउनु, मनोवाद वा नाटक शैलीमा लघुकथा लेख्नु यी र यस्ता धेरै सन्दर्भ र प्रसंगहरूले पोखरेललाई पृथक्ता प्रदान गरेका छन्।
अन्योल, बिस्तार र निराशा
पोखरेलका लघुकथाहरू सन्देश, विषय छनौट, पात्र चयन र कथानक पक्षमा अब्बल हुँदा हुँदै पनि कतिपय अवस्थामा उनी चुकेको देखिन्छ। उदाहरणको रूपमा एक पुल, एक सिर्जना, एक पीडा, एक वरदान, एक भर्जिन, एक बुझाइ, एक रखौट, एक रुवाइ र एक स्वतन्त्रतालाई लिन सकिन्छ। एक वरदान लघुकथाको अन्तिम वाक्य झड्का दिने हुनुपर्ने र त्यसपछि बिस्तार गर्नु नपर्ने मान्यतामा लेखक चुकेका हुन् कि? लेखक बोल्नु लघुकथामा राम्रो मानिंदैन।
उक्त लघुकथामा बिस्तार भएको देखिन्छ। एक सिर्जना आफैंमा सकारात्मक शीर्षक भए पनि लघुकथा पढ्दा धेरै निराशा भेट्न सकिन्छ। एक रङ्को प्रश्न उत्तर शैलीमा लेखिएको लघुकथा पहिलो र मध्य भागमा राम्रो हुँदा हुँदै पनि अन्यमा नेता र जनतालाई रङ्गसँग तुलना गरिएको प्रसंग अकस्मात आएको छ जसको माथि कुनै सम्बन्ध छैन। उनका नगण्य लघुकथामा एकभन्दा बढी आयामको प्रयोग गरेको पाइन्छ। उदाहरणको रूपमा एक मुक्ति र एक पूजालाई लिन सकिन्छ।
सैद्धान्तिक पक्ष
पोखरेल लघुकथाकार मात्र नभई एक कुशल समीक्षक पनि भएकाले उनकाे अधिकांश लघुकथामा सैद्धान्तिक पक्ष मजबुत देखिन्छ।
प्रायजसो सङ्गृहीत लघुकथाहरूको कौतूहलपूर्ण र आकस्मिक उठान गरिएको छ भने कथाको बुनोटमा द्वन्द्व पनि सिर्जना गरिएको छ। उनका लघुकथा पढिरहँदा एक वाक्यमा उठान र अन्त्य गर्ने मान्यता अलि खुकुलो भएको आभास हुन्छ। विषयवस्तुको प्रष्टता, संवादको प्रयोग र पात्रहरूबीच वार्तालाप प्राय: सबै लघुकथामा भेटिन्छन्। अधिकांश लघुकथा एक समय, एक स्थान, एक घटनामा सीमित रहे पनि केही भने कालखण्डरहित हुन सकेका छैनन्। शब्द सीमामा उनी कटिबद्ध मात्र देखिंदैनन् उनका सबै लघुकथा एउटा कुमालेले साँचोमा राखेर बनाएका एउटै आकारका भाँडाकुँडा जस्ता देखिन्छन्।
लघुकथा समापनमा विद्युतीय झड्का दिनुपर्ने मान्यतामा उनी समर्पित देखिएको भए पनि कतिपय लघुकथा बिस्तार भएको देखिन्छ। कम पात्रको प्रयोग उनको विशेषता नै रहेछ भन्दा फरक नपर्ला।
समग्रमा उनका लघुकथाहरूको सैद्धान्तिक पक्ष सबल भएकाले एकालाप पाठक, अनुसन्धानकर्ता, समीक्षक र लघुकथाबारे रुचि राख्ने जो कोहीका लागि पनि सङ्ग्रहणीय सामाग्री हुन सक्छ।
निष्कर्ष
निष्कर्षमा भन्नु पर्दा पोखरेलको एकालाप लघुकथासङ्ग्रह एक उत्कृष्ट कृतिको रूपमा आएको छ। अधिकांश लघुकथाको विषयवस्तु नेपाली र अमेरिकी समाज छ। स्वदेशी तथा विदेशी परिवेश पस्कनु उनको विशेषता नै देखिन्छ। कला, संस्कृति, चालचलन, रीतिरिवाज, विकृति, विसंगति, मानवीय भावना, श्रीमानश्रीमतीको सम्बन्ध, पारपाचुके, यौन, सामाजिक, आर्थिक र राजनैतिक विषयवस्तुलाई उनले विदेशी र स्वदेशी कोणबाट प्रस्तुत गरेका छन्।
यो लघुकथासङ्ग्रह कुनै दस्तावेजभन्दा कम छैन। कतिपय कथनमा पात्रले स्थानीय भाषाको प्रयोग गर्नुपर्ने सन्दर्भमा पनि नेपाली भाषाको प्रयोग गरिएको छ भने कतिपय नेपाली शब्द हुँदा हुँदै अन्य भाषाको प्रयोग गरिएको छ।
सरल भाषाशैली, स्वत: स्फूर्त कथन र स्थानीय लवजको समिश्रणले कथालाई काल्पनिक नभएर यथार्थको नजिक रहेको पुष्टि गरेको छ। प्रस्तुतिगत विशिष्टताले भरिपूर्ण लघुकथाहरूको बुनोट, विषय, स्वरूप, तत्त्व र सैद्धान्तिक पक्ष बलियो देखिन्छ। यद्यपि लघुकथा क्षेत्रको सैद्धान्तिक दृष्टिकोणले बामे सरिरहेको वर्तमान निरपेक्षमा लघुकथाका पाठकले पोखरेलका लघुकथाहरूलाई नमुना र आदर्श ठान्नु अस्वाभाविक होइन। तसर्थ उनका लघुकथाहरू पढ्नेले उनीबाट ठूलो अपेक्षा मात्र राखेका हुँदैन “म उहाँको जस्तो लघुकथा लेख्छु” भनेर आदर्श व्यक्तिको रूपमा पनि मान्यता दिइरहेका हुन्छन्।
पाठकको उक्त अपेक्षा ख्याल गर्दै आगामी दिनमा आकर्षक छोटो वाक्यबाट लघुकथाको सुरुवात गर्ने, श्रीमान् श्रीमती, पारपाचुके, यौन र अन्य सामान्य विषयभन्दा पनि अलि फराकिलो र गम्भीर विषय छनौट गर्ने, स्थानीय भाषालाई सोही भाषा र लवजमा उद्धरण दिएर उल्लेख गर्ने, कथालाई अलमल नगरी टुङ्ग्याउनु, छोटो र बिस्ताररहित झड्केदार समापन गर्न र नेपालीबाहेक अन्य भाषाको कम प्रयोग गर्न सके उनका लघुकथाहरूले सगरमाथा चुम्ने थिए।
आदर्श र दर्शनका विषय र प्रसंगहरू उनका लघुकथाहरू विशिष्ट छन् भन्ने बलियो प्रमाण हुन्। धेरै राम्रा र सामान्य सबै खाले लघुकथा यस सङ्ग्रहमा अटाएकाले अग्रज, समकालीन र नवआगन्तुक सबै खाले लघुकथाप्रेमीका लागि उनको एकालाप सङ्ग्रहणीय पुस्तक हुन सक्छ। लघुकथाको उन्नयनमा लामो समयदेखि योगदान पुर्याउदै आएका पोखरेललाई उनले नेपाली साहित्य र लघुकथाको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै अनवरत साहित्यिक यात्राको शुभकामना!
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...