केही वर्षअघिसम्म भक्तपुरस्थित खँचा पुखु ‐ऐनापोखरी) मा प्रसिद्ध पाँचतले मन्दिर ङ्यातापोलको प्रतिविम्ब देखिन्थ्यो। घनाबस्तीका कारण ङ्यातापोलको प्रतिविम्ब अहिले देखिन्न तर यहाँका जीवन्त पोखरीमा भक्तपुरका कला, संस्कृति र जीवनशैलीसँगै सिङ्गो सहरको प्रतिविम्ब भेटिन्छ।
‘यहाँका पोखरीसँग कला र संस्कृतिको प्रगाढ सम्बन्ध छ,’ संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः भन्छन्, ‘मानिसको जीवनशैलीसँग जोडिएका यी पोखरीमा सिंगो भक्तपुर प्रतिविम्बित हुन्छन्।’
संस्कृतिविद् ओम धौभडेल पनि ग्वंगःका कुरामा सहमत छन्। भक्तपुर नगरभित्रका टोलबस्तीमा रहेका धेरैजसो पोखरीहरू परापूर्वकालदखि नै यहाँका स्थानीय बासिन्दाहरूको धर्म, कर्म तथा संस्कृतिसित अभिन्न सम्बन्ध गाँस्दै आइरहको धौभडेल बताउँछन्।
लिच्छविकालदेखि नै नगरको सौन्दर्य बढाउन पोखरी बनाउन थालिएको इतिहास भेटिने बताउँदै उनले मिथिलासँग भक्तपुरको सम्बन्ध बढेसँगै भक्तपुर पोखरीको नगरका नामले समेत चिनिन थालेको धौभडेल बताउँछन्।
लिच्छविकालदेखि नै नगरको सौन्दर्य बढाउनका लागि पोखरी बनाउन थालिएको इतिहास भेटिन्छ। अझ नान्यदेवका पालामा मिथिलासँग भक्तपुरको सम्बन्ध बढेसँगै भक्तपुरमा पोखरी बन्ने क्रम बढेको हो।
-ओम धौभडेल, संस्कृतिविद्
बिहान उठ्नासाथ नित्य स्नान, मुख धुने, तर्पण दिने, देख देवदेवीलाई शुद्ध जल चढाउनेजस्ता कार्यमा यहाँका पोखरीको उपयोग हुँदै आएको उनले सुनाए। मुलुककै सानो जिल्ला भक्तपुरमा रहेका भक्तपुर नगरपालिका हाल १० वडामा विभाजित छ। यो नगरको क्षेत्रफल ६ दशमलब ८८ वर्गकिमि छ। यहाँभित्र रहेका ३५ जीवन्त पोखरीले यसको सांस्कृतिक क्षेत्रफल निकै बढाएका छन्।
भक्तपुरको सम्पदा भनेर चिनिने यिनै जीवन्त पोखरीलाई लक्षित गर्दै अघिल्लो शनिबार सम्पदा पोखरी पदयात्रासमेत आयोजना गरियो। भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त सम्पदा पदयात्रामा स्थानीय जनप्रतिनिधि, कर्मचारी, स्थानीय बासिन्दा तथा संघसंस्थाको बाक्लो सहभागिता रहेको थियो। ‘हामीलाई आज पनि जात्रा जस्तै महसुस भएको छ,’ रानी पोखरीको डिलमा बसेर सुस्ताउँदै गरेकी ८४ वर्षीया शरणमायाले भनिन्, ‘पोखरीको डिलमा बस्दा मन शान्त हुन्छ।’
‘भक्तपुरका पोखरी चिनौं, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ सांस्कृतिक सम्पदा पदयात्रा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
भक्तपुरको भ्रमणमा आउने आन्तरिक एवम् बाह्य पर्यटकलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए। ‘सम्पदा चिनेपछि मात्र त्यसको संरक्षणमा झनै सहजता हुन्छ,’ प्रजापतिले भने, ‘त्यसैले नयाँ पिँढीलाई पोखरी चिनाउन पनि हामीले पदयात्रा आयोजना गरेका हौं।’
बाजागाजा र परम्परागत पहिरनसहित नगरबासीले देखाएको उत्साहजनक सहभागिताले नगरलाई थप हौसला प्रदान गरेको उनले सुनाए।
यहाँका पोखरी र भक्तपुरको कला–संस्कृतिका बीच प्रगाढ सम्बन्ध छ। मानिसको जीवनशैलीसँग जोडिएका यी पोखरीमा सिंगो भक्तपुर प्रतिविम्बित हुन्छ।
-तेजेश्वरबाबु ग्वंगः, संस्कृतिविद्
भक्तपुर किराँतकालदेखि नै बसोबास भएको सहरका रूपमा चिनिन्छ। किराँतकालमा पोखरीका बारेमा ऐतिहासिक प्रमाण नभेटिए पनि लिच्छविकालमै नेपालमण्डलको अन्य ठाउँमा भेटिएका अभिलेखहरूमा पोखरीबारे उल्लेख भएको संस्कृतिविद् ओम धौभडेलले सुनाए।
भक्तपुरका विभिन्न जात्रा तथा पर्वमा पोखरी प्रयोजनमा आउने गरेको छ। यन्यापुन्हीको अवसरमा तीन दिनसम्म फरक फरक तीन ठाउँबाट यामता ल्याउने क्रममा पहिलो दिनको यामताको जात्रापछि यातु बाहार पोखरी परिक्रमा गराउने चलन रहेको धौभडेल बताउँछन्।
दोस्रो दिनको यामताको जात्रापछि झाख्यः का मे गथा पोखरी परिक्रमा गराउनुपर्ने नियम छ भने अन्तिम दिनको यामताको जात्रापछि तः पोखरी घुमाउने चलन छ। आश्विन शुक्ल षष्ठीका दिन तः पोखरीमा नवरात मेला धुमधामसित लाग्ने उनले बताए।
जनैपूर्णिमाको दिन भक्तपुर व्यासीस्थित कालदह पोखरीमा स्नान वा मुख धोएमा रसुवाका प्रसिद्घ सिल दहमा स्नान गरेजति नै पुण्य मिल्ने मान्यता रहेको धौभडेल सुनाउँछन्।
त्यस्तै भालाछेबाट उत्तरको महाकाली पीठ नजिक रहेको अेचाँ पोखरीमा प्रत्येक तीन वर्षको एकपटक एक महिना पुरुषोत्तम महिनाभरि ठुलो मेला लाग्ने उनले सुनाए। नासमनाको मेगलकुण्ड पोखरीमा प्रत्येक वर्ष ऋषि पञ्चमीका दिन मेला लाग्छ।
त्यस्तै यहाँका कतिपय पोखरीमा औधषीयुक्त पानी रहेकोसमेत मान्यता छ। यहाँका पोखरीमा देखिएको अर्काे विशेषता वा गुण पोखरीको पानीले कतिपय अवस्थामा अौषधीको समेत भूमिका निभाएको हुन्छ। उदाहरणका लागि भक्तपुर तलेजुभित्रको दुमाजु पोखरीलाई लिन सकिन्छ। ‘यहाँ रुन्चे लागेका केटाकेटीलाई आइतबार वा बिहीबारका दिन मुख धुवाएमा रुन्चे निको हन्छ भन्ने मान्यता छ,’ धौभडेल सुनाउँछन्, ‘त्यस्तै काल्हाचा पोखरीमा नुहाएमा घाउ खटिरा निको हुन्छ भन्ने मान्यता छ।’
नगरको छेउछाउका पोखरी वास्तु एवम सौन्दर्यका लागि निमार्ण भएका हुन् भने नगरभित्रका पोखरी यहाँका नगरवासीहरूको दैनिक जनजीवनसँग जोडिएको धौभडेल बताउँछन्।
पोखरी हाम्रो सम्पदा हो, नगरको सान हो। नयाँ पिँढीलाई यसको महत्त्व सम्झाउँदै अगाडि बढेका छौं। अहिले ३५ पोखरी जीवन्त रहेका पायौं। लुप्त भएका अन्य पोखरीलाई ब्युँताउने नगरको प्रयास जारी छ।
-सुनिल प्रजापति, मेयर, भक्तपुर नगरपालिका
आगलागीजस्ता प्राकृतिक विपत्तिदेखि गाईवस्तुलाई नुहाउन, पानी खुवाउन, हातखट्टा धुन, खेतबाट ल्याएका औजार सफा गर्न आदि कार्यमा यी पोखरीको उपयोग भएको उनले सुनाए। पछिल्लो समय यी पोखरी युवाहरूमाँझ लोकप्रिय स्थल बन्न पुगेका छन्। अचेल यहाँका कैयौं पोखरी आन्तरिक एवम् बाह्य पर्यटकहरूको गन्तव्यस्थल बन्न पुगेको उनले बताए।
भक्तपुरका प्रसिद्ध पोखरीहरू
तः पुखु (सिद्धपोखरी)
भक्तपुर नगरपालिका वडा नं १ इनागमा अवस्थित तः पुखु (सिद्धपोखरी) भक्तपुर नगरको सबैभन्दा ठुलो पोखरी हो। यो पोखरीको पूर्व–पश्चिम लम्बाइ करिब ५७४ फिट र उत्तर–दक्षिण चौडाइ २४९ फिट छ।
नेसं २३९ मा राजा इन्द्रदेवले यो पोखरी बनाउन लगाएको गोपालराज वंशावलीमा उल्लेख छ। भक्तपुरको प्रसिद्ध येन्या पुन्हिको दिन यो पोखरीमा मेला लाग्ने गर्छ। त्यस्तै दसैंको नवरातअन्तर्गत छैटौं दिन पनि भक्तजनहरू यहाँ मेला भर्न आउँछन्।
न्हु पुखु (रानीपोखरी)
भक्तपुर नगरको पश्चिम दिशामा अवस्थित न्हु पुखु
(रानीपोखरी) नामले पनि चर्चित छ। नेसं ७५० मा राजा जगत्ज्योति मल्लले यो पोखरी बनाउन लगाएका थिए। नेसं ७९८ मा राजा जितामित्र मल्लले यो पोखरीको निर्माणलाई पूर्णता दिएको बताइन्छ।
कान्तिपुर राज्यका राजा प्रताप मल्लले भादगाउँमाथि हमला गर्ने क्रममा यो पोखरीमा राखिएका कलाकृति लगेर कान्तिपुरमा पनि रानीपोखरी बनाउन लगाएका थिए। लामो समय नेपाली सेनाको संरक्षणमा रहेको यो पोखरी हाल भक्तपुर नगरपालिकाले संरक्षण गर्दै आएको छ। रानीपोखरी परिसरमा भक्तपुरका विभिन्न समुदायका कुल देवता (दिगु द्यः) पनि छन्।
भक्तपुरको रानीपोखरीमा दियो बाल्दै एक बालिका।कालदह
भक्तपुरको प्रख्यात नः पुखुको उत्तरतर्फ अवस्थित वर्गाकार सानो पोखरी कालदह हो। यो पोखरीको पानीको रङ कालो देखिने भएकाले यसलाई कालदह नामकरण गरिएको हुन सक्ने भनाइ छ। आकारले सानो भएकाले पनि यसलाई दह भनिएको हुनुपर्छ। यस पोखरीमा पुगेपछि रसुवा जिल्लामा पर्ने प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्ड (सिलु) पुगेसरह हुने स्थानीय जनविश्वास छ। कालदहमा जनै पूर्णिमाका दिन मेला लाग्ने गर्छ।
नः पुखु
भक्तपुरका मल्लकालीन पोखरीमध्ये नः पुखुको निर्माण नेसं २८९ मा भएको गोपालराज वंशावलीमा छ। बौद्ध सम्पदा थथुबहीको आँगनमा रहेको यो पोखरी वरपर अरू पनि बौद्ध सम्पदाहरू छन्। भक्तपुर नगरकै दोस्रो ठुलो यो पोखरीको उत्तर दक्षिण लम्बाइ ४३१ फिट र चौडाइ २५० फिट छ। मल्लकालमा यो पोखरी नै प्रमुख द्वार मानिन्थ्यो। तर, हाल नः पुखुको पूर्व र पश्चिम ढोकामा पुरानो द्वारको अवशेष मात्र बाँकी छ।
भोलाछें पुखु
भक्तपुर नगरको उत्तरी प्रवेशद्वार महाकाली ध्वाखा हो। यही बाटो हुँदै नगर प्रवेश गर्दा भोलाछेंमा भोलाछें पुखु पर्छ। भोलाछें पुखुलाई पहिला भौल्वा पुखु भनिन्थ्यो। भक्तपुर नगर बन्नुअघि नै यो पोखरी बनिसकेको जनविश्वास छ। किंवदन्तीअनुसार मुसा र बिरालोबीच झगडा पर्दा यो पोखरी बनेको थियो। मुसाको बथान मिलेर बिरालोलाई घाइते बनाएको थियो। यो पोखरीको लम्बाइ १ सय फिट र चौडाइ ६० फिट छ।
नागपुखु
भक्तपुर नगरका अधिकांश पोखरी आयाताकारका छन्। तर, भक्तपुर नपा वडा नं १० मा पर्ने नागपोखरी भने वर्गाकार छ। नागपोखरीको मध्यभागमा नागको प्रतिमा प्रतिस्थापन गरिएको छ। मन्दिरको वरपर विभिन्न देवदेवीका मन्दिर, सत्तल, पाटी र ढुंगेधारा छन्। यो पोखरीको लम्बाइ ८४ फिट र चौडाइ ७२ फिट छ।
ग्वंगः पुखु
भक्तपुर नगरको उत्तरमा अवस्थित मुलालामा पर्ने ग्वंगः पुखुको निर्माण तत्कालीन अपुर दरबारका भारदार चुनी (चुकुटी) ग्वंगःले गरेको बताइन्छ।
ग्वंगः थरी भारदारले बनाएको हुनाले यसको नाम नै ग्वंगः पुखु राखिएको इतिहास छ। पूर्व पश्चिम लाम्चो आकारको यो पोखरी विश्वप्रसिद्ध ङ्यातापोल मन्दिर बनाउन आवश्यक माटो निकाल्ने क्रममा बनाइएको पनि बताइन्छ।
ख्यः पुखु (धवाहिटी पुखु)
भक्तपुर नगरलाई चारै दिशामा अष्टमातृका देवीको पीठ वरपर खुला ठाउँमा रहेका पोखरी नै ख्यः पुखु (धवाहिटी पुखु) हुन्। तीमध्ये इन्द्रायणी देवीको पीठको पश्चिममा धवाहिटीसँगै रहेको ख्यः पुखु (धवाहिटी पुखु) इन्द्रायणी देवीमा समर्पित पोखरी हो। त्यसकारण यो पोखरीलाई इन्द्रायणी पुखु पनि भनिएको हो। यो पोखरीमा कमलको फूल फुल्ने भएकाले आजभोलि पलेस्वाँ पुखु भनी पनि जानिन्छ।
क्वाठण्डौ पुखु
मल्लकालीन भक्तपुरका चौबीस टोलमध्ये सामरिक महत्त्वको किल्ला भएको टोल हो क्वाठण्डौ। क्वाठण्डौ टोलको मध्यभागमा क्वाठण्डौ पोखरी छ। पूर्व–पश्चिम लाम्चो आकारको यो पोखरीको उत्तरपश्चिम कुनामा ढुंगेधारा पनि छ। यो पोखरीको लम्बाइ १७५ फिट र चौडाइ ६० फिट छ।
अँचा पुखु
महाकाली पीठको उत्तरपूर्वमा पर्ने अँचा पोखरी आकारमा सानो पोखरी हो। यसको लम्बाइ २०३ फिट र चौडाइ ७६ फिट छ। चारैतिर पर्खालले घेरिएको यो पोखरीको मध्यभागमा जलासनमा विराजमान नारायणको प्रस्तर प्रतिमा छ। पोखरी वरपर अनेकन् देवदेवीका मन्दिर र प्रतिमा छन्। यो पोखरीमा प्रत्येक चार वर्षमा एक महिना पुरुषोत्तम महिनामा मेला लाग्ने गर्छ।
लामगः पुखु
हालको कमलविनायकबाट नवदुर्गा द्योछें जाने बाटोमा पर्ने यो पोखरी भक्तपुर नगरभित्र प्रवेश गर्ने मार्गमा अवस्थित पोखरीमध्ये एउटा हो। विगतमा ठुलै आकारको यो पोखरीको हालको आकार भने सानो छ। किंवदन्तीअनुसार रावणको घुँडाबाट बनेको पोखरी भएकाले यो पोखरीको नाम नै रावण पोखरी थियो। हाल भने यो पोखरी लामगः पुखु नामले नै चर्चित छ। यो मन्दिरको उत्तरपश्चिम कुनामा सुचु फल्चा अवस्थित छ।
सलाँ पुखु
भक्तपुर नपा वडा नं ९ तचपालस्थित सलाँ गणेश मन्दिरको पश्चिमा अवस्थित पोखरी नै सलाँ पुखु हो। लाम्चो आकारको यो पोखरीको उत्तरपश्चिम कुनामा दुई वटा ढुंगेधारा छन्। पोखरीको पूर्वतिर विभिन्न देवदेवीका प्रतिमा छन्।
बाह्रे पुखु
हाल कमलविनायक पोखरी नामले चिनिएको बाहे्र पोखरी भक्तपुर नगरभित्रका ठुला पोखरीमध्ये पर्छ। विगतमा कमलको फूल फुल्ने यो पोखरीको पूर्वमा यातु गणेशको मन्दिर, बौद्ध चिवः द्यो र पाटी छन्। यातु गणेशको परिसरमा भएको पोखरी भएकाले यो पोखरीलाई यातु पुखु पनि भन्ने चलन छ।
खँचा पुखु
ङ्यातापोलको छाया देखिने पोखरी भनी चिनिएको खँचा पुखु लाम्चो आकारको छ। यसको पूर्वतिर धारा छ भने पोखरीको दक्षिणमा घर छन्। त्यसैगरी उत्तरमा पनि घरहरू नै छन्। यस पोखरीको नजिकै मुनि विहार अवस्थित छ।
गोल्मढी पुखु
गोल्मढी यातामा अवस्थित गोल्मढी पुखु उत्तरदक्षिण लाम्चो आकारमा फैलिएको पोखरी हो। यो पोखरीको दक्षिणतिर ढुंगेधारा र पाटी छन्।
ब्यासी पुखु (ब्यासी पोखरी)
भक्तपुर नगर प्रवेश गर्ने उत्तरतर्फको एक महत्त्वपूर्ण नाका तह्रा ब्यासीको प्रवेशद्वार भएर नगर भित्रिने क्रममा मूल बाटोसँगै रहेको पोखरी ब्यासी पुखु (ब्यासी पोखरी) हो। उत्तरदक्षिण लाम्चो परेको यो पोखरी नगर प्रवेश गर्ने सम्मुख मै परेको हुँदा नगरको शोभा बढाउने पोखरीका रूपमा चिनिन्छ।
पोखरी वरपर पाटी सत्तल, विभिन्न देवदेवीका मूर्ति र नारायण मन्दिर पनि रहेका कारण धार्मिक सांस्कृतिक एवम् सामाजिक दृष्टिकोणले यो पोखरी महत्त्वपूर्ण छ। यो पोखरीले ब्यासी टोलको वातावरण स्वच्छ बनाउन सहयोग भइरहेको छ। यसको उत्तरदक्षिण लम्बाइ ९३ फिट र पूर्वपश्चिम चौडाइ ५९ फिट छ।
काठमाडौँ। रमेशप्रसाद तिमल्सिनाकाे ‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक सार्वजनिक गरिएको छ।
‘मास नेपाल’ र गोदावरी साहित्य परिषद्को आयोजनामा ललितपुरको चापागाउँमा आयोजित कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचन लाेकार्पण गरेका हुन्।
कार्यक्रममा कृति विमोचनसँगै लोकतन्त्रका अभ्यास, उपलब्धि, चुनौती तथा नागरिक जीवनमा लोकतन्त्रको अनुभूतिका विषयमा विमर्श समेत गरियो।
लाेकार्पित पुस्तकमा लोकतन्त्र, नागरिक तथा मानवअधिकार, सामाजिक न्याय, राज्यको जवाफदेहिता, सुशासन र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विभिन्न समयमा लेखिएका ३० लेख समेटिएका छन्। पुस्तकलाई पाँच खण्डमा विभाजन गरिएको छ।
सञ्चारकर्मी दाहालले लोकतन्त्र जीवनपद्धति भएकाले हाम्रा अभ्यास र व्यवहारले अझै प्रश्नको घेरामा रहेको बताए।
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले कमजोर हुँदै गएको पठन संस्कृतिप्रति चिन्ता व्यक्त गर्दै अध्ययन र पठन संस्कृतिको विकासमा जोडदिए।
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
अधिकारकर्मी भावना भट्टले लोकतन्त्रलाई निर्वाचनमा मात्रै सीमित नगरी घरघरको व्यवहारमा लोकतान्त्रिक संस्कार स्थापित हुनुपर्नेमा जोड दिए।
जनभावना क्याम्पसका सहायक क्याम्पस प्रमुख गोविन्द सञ्जेलले लोकतान्त्रिक अभ्यास र अवस्थाबारे समयसमयमा समीक्षाको आवश्यकता औँल्याए। गोदावरी साहित्य परिषद्का अध्यक्ष वशिष्ठ अधिकारीले प्रश्न गर्न सक्ने हैसियत र त्यसको उत्तर दिन सक्ने सामर्थ्य भए मात्रै लोकतन्त्रको अनुभूति हुने प्रतिक्रिया दिए।
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...