आमाले साँचेका सिप र लोकगीतहरू
१० मंसिर २०७९
•
९ मिनेट पाठ
आमाले साँचेका सिप र लोकगीतहरू
वल्लोपल्लो कोठामा जाँदै नाति, नातिनी र बुहारीलाई केहीकेही अह्राउपह्राउ गर्नुहुन्छ आमा। कहिलेकाहीं दुइटा सिँढी उक्लिएर छतमा गई पछिल्तिर जोडिएकै घरका छिमेकीसँग कुराकानी गर्नुहुन्छ। माइलो भाइका घरतिर बुहारी वा नातिनातिनीहरू देख्नुभएमा उनीहरूसँग पनि कुरा गर्नुहुन्छ। अलि घाम लागेपछि आँगनमा गएर छेउका बिरुवा मुसार्नुहुन्छ। आँगनमा कोही भेटिए भने तीसँग पनि ‘के गर्छौ ? कहाँ जान लागेका...?’ भन्दै केही बेर बोल्नुहुन्छ। कम्पाउन्डबाहिरको पसलसम्म पुगेर केही छिन चिनेका मानिससँग पनि छोटो कुराकानी गरेर फर्किनुहुन्छ। ‘कुँजिएर कति कोठैमा मात्र बस्नु, सक्दा एकदुई पाइला यसो हिँडेकी नि...,’ बैठक कोठामा आएपछि आमा भन्नुहुन्छ। आँखाको दृष्टि अलि कमजोर छ। लौराको साथ चाहिन्छ कतै हिँड्न आमालाई।  




आमाको स्वास्थ्य स्थिति सामान्यतः ठिकै छ। उमेरजन्य कमजोरी हुनु स्वाभाविकै होला भन्ने लाग्छ। चिसो मौसममा कहिलेकाँही रुघाखोकी लाग्छ। भित्री रोग त्यति छैन। आमा अहिले ८९ वर्षमा हिँड्दै हुनुहुन्छ। कसैले सोध्दा ‘भुइँचालो माघमा गयो अरे, आउँदो वैशाख लाग्दै कि अरे म ता’ भन्नुहुन्छ। घरछेउको साँघुरो करेसाबारीमा रोपेका केही बोट मकै भाँचेपछि मिल्किएका खोसेला (खोस्टा) आमाले देख्नुभयो भने तिनलाई टिपेर ल्याई सुकाएर पिर्का बुन्नुहुन्छ। ‘उहिलेउहिले कति बुनियो, बुनियो। आफूले बालखैदेखि जानेकी, घरमा सधैं बुनेकी, आफ्नो त्यस्तै सिप छ र पो बुनेकी त’ भन्नुहुन्छ। आमाले त्यसरी बुनेका खोसेलाका पिर्का आफन्त वा नातागोताका मानिस कोही आएका बेला ‘मेरो चिनु’ भनेर उपहारस्वरूप दिनुहुन्छ। घरमा त उहाँले बुनेका पिर्का निकै छन्। १०/१२ वर्ष पहिलेसम्म त तान हालेर परालका गुन्द्री पनि बुन्नुहुन्थ्यो। अहिले बुन्न छोड्नुभएको छ। आमाका कुरा सुन्दा मन गाउँमा पुगिसक्छ मेरो पनि।

गाउँघरमा सधैं बाहिर वा अलि पर गएर गर्ने खेतीपाती, घाँसदाउरालगायतका कामहरू त गर्नुपथ्र्यो नै। फुर्सदका बेला हात खाली नराखी सधैंजसो केही न केही अतिरिक्त सिपका काम गर्न ग्रामीण नारीहरू सधैं अग्रसर हुने समय थियो। गाउँमा पिर्का, गजरा, गुन्द्री, बाबियोको डोरी आदिको प्रयोगमा निकै कमी आउन थालेको पाइन्छ। आमाहरूको समयका त्यस्ता मौलिक सिपका ठाउँमा औद्योगिक रूपमा निर्मित प्लास्टिकका गुन्द्री वा म्याट गाउँमा भित्रिइसकेका छन्। गुन्द्री, पिर्काको सट्टा व्यापारिक उत्पादन र सुविधाका वस्तुहरू हाम्रा गाउँका दलान, ओछ्यान र आँगनका डिलमा ओछ्याइन थालेका छन्। अन्यत्र पनि त्यस्तै होला। ‘कसले दुःख गरिरहन्छ हात दुखाई दुखाई...’ भन्न थालेका छन् गाउँका बुहारीहरू।  

आमाहरूले हात दुखाई दुखाई आर्जेका ती सिपहरूलाई फुर्सदका बेला गाउँका बुहारीहरूले निरन्तरता दिने हो भने कमसेकम घरायसी हस्तकलाको हाम्रो सुन्दर परम्पराले निरन्तरता पाउँथ्यो होला नि ! सहरमा बस्ने गरेका बुहारीहरूले त्यसलाई निरन्तरता दिन सक्ने कुरा भएन। समय आमाहरूको हातबाट चिप्लिइसकेको छ।  

म बिहान बेलुका प्रायः आमाकै निकटमा हुन्छु। आमाको रुचिको अर्को काम हो, रेडियो सुन्नु। रेडियो आमाका साथमा रहिरहने साथी हो। बिहान चिया खाने बेला आमा रेडियो सुन्नुहुन्छ। ‘तँ पनि सुन्। हेर्, फटाफट नबिराई नबिसाई कसरी बोल्दै छ। त्यसरी टिभीले कहाँ भन्छ र ? कस्ता मिठा कुरा गर्छ रेडियोले...,’ भन्नुहुन्छ। चिया खाँदै म पनि रेडियो सुन्छु केहीबेर। आमा दिउँसो पनि सुन्नुहुन्छ। रेडियो बजेन भने चार्जमा राखिदे भन्नुहुन्छ र आफै झिकेर बजाउनुहुन्छ। कुनै घतलाग्दो समाचार सुन्नुभयो भने सबैलाई सुनाउनुहुन्छ। कुनै दुर्घटनामा मानिसहरू परेको सुन्नुभयो भने ‘ए, कहाँकहाँका मान्छे, कसका छोराछोरी, के सुन्नुप¥यो,’ भन्नुहुन्छ। लोकगीत सुनेर रमाउनुहुन्छ। पुराना लोकगीतहरू आमालाई बढी मनपर्छ।  

२०३६/३७ सालतिर मैले घरमा रेडियो लगेको थिएँ। बिहानबेलुका बजाइन्थ्यो। आमालाई त्यस बेलादेखि रेडियो सुन्ने बानी लागेको हो। रेडियाहरू फेरिँदै गए। आमा काठमाडौं आएपछि पनि रेडियो छुटेको छैन।  

रेडियो बजाउन मन नलागेका बेला दिउँसो वा साँझतिर आमा आफूले उहिले उहिले गाउँबेसी, मेलापात र पानीपँधेरो गर्दा गाउने गरेका लोकगीतका अंशहरू सम्झेर गाउनुहुन्छ। त्यस्ता गीतमा छोरी, बुहारीहरूका कथाव्यथा एवम् सामाजिक मर्म त हुने नै भए। आमाले गाउने गरेका कतिपय गीतका पंक्ति नेपालको ऐतिहासिक कालखण्डलाई सम्झाउने खालका पनि छन्। २००७ सालको जनक्रान्तिले नेपाली लोकजीवनलाई राम्ररी छोएको रहेछ भन्ने कुरालाई आमाले प्रायः दोहोर्‍याएर गाइरहने लोकगीतको यस फाँकीले स्मरण गराएको छ ः

‘हात्ती नै आयो लमक लमक घोडीले हान्यो फाल

कांग्रेसै आयो बन्दुकै बोकी वैरीले मार्‍यो चाल।’

आमाले गाउने गरेको यस गीतको दोस्रो पंक्तिले जनक्रान्तिताका राज्यपक्ष र क्रान्तिपक्षबीच रहेको द्वन्द्वको स्थितिबारे मनन गर्न सघाउ पु¥याउँछ।  

चेलीले बुहारीका रूपमा घरमा गएर भोग्नुपरेका व्यथा, पिरहरूलाई स्मरण गरेर उहिलेउहिले घाँसदाउरा गर्दा कथ्दै गाउँदै गरेका गीतहरू बढी गाउनुहुन्छ आमा। माइतमा छँदा छोरीचेलीलाई बाबुआमाको मायाममता अनि दाजुभाइको स्नेह र आत्मीयता प्राप्त भइरहन्छ। पतिका घरमा गएपछि त्यसबाट उनी वञ्चित हुन्छिन्। घरको कामधन्दा र व्यवहार गरिरहँदा पनि उनले जस पाउँदिनन्, बरु गाली र हेलाँहोचो, उपेक्षा आदिको नमिठो अनुभूति बुहारीका हैसियतमा रहेकी छोरीचेलीले गरिरहनुपर्छ। अनि लोकगीतका यस्ता पंक्तिहरू मुटुभित्रबाट जन्मिन्छन्। दाउराघाँस गर्दा उहिले आफूले गाएको गीत आमा सम्झिँदै सम्झिँदै वल्लोपल्लो कोठा गर्दा गाउनुहुन्छ:  

‘लेकै र बाट गाई भैंसी झरे खै मेरो गाजु गाई

पहरो फोरी जन्मेकी होइन, छन् मेरा दाजु भाइ।’

गाउँघरमा एकै घरपरिवारका दिदीबहिनीहरू विवाहपछि घर (पति घर) गएपछि हत्तपत्त उनीहरूको भेट हुन सक्दैनथ्यो। यातायात, सञ्चार आदिका हिसाबले अन्धकारमय रहेको विगत समय विवाहित दिदीबहिनी भेट भएर सुखदुःखका कुरा बाँड्न वर्षौं कुर्नुपथ्र्यो। हाम्रै दिदीपुस्ताले पनि यस्तै अवस्थामा लामो समय गुज्रनुप¥यो भने झन् पहिलेको आमापुस्ता बुहारीका रूपमा घरमा गएपछि त झन् त्यस्तो भेटघाट हुनु भनेको अपवाद मात्र हुन्थ्यो होला। झन्झन् पहिलेका जिजुआमापुस्ताका चेलीबेटीहरू त घर गएपछि आपसमा पुनः भेटघाट गर्न नै पाउँदैनथे होला। आमा स्वयम्ले नै अनुभव गर्नुभएको गीत पनि त हो यो, गुन्गुनाउनुहुन्छ:

‘हिमालै चुली त्यै पल्लापट्टि खेत हुन्छ हुँदैन

एक डाँडा दिदी एक डाँडा बैनी भेट हुन्छ हुँदैन।’

हजुरआमा र अझ पहिलेका पुस्ताका चेलीहरूले यस्ता गीत रचे होलान् वा आमाकै समकालीनहरूले त्यस्ता गीतहरू कथेका हुन सक्छन्। आमा अरू कैयौं लोकगीत सम्झनुहुन्छ:  

‘राजैले खाने मसिना चामल रैतीले बगडा

जेठी र कान्छी सबैका हुन्छन् नगर झगडा।’

यस गीतमा बहुविवाहको चलन सामान्य रहेको त्यस समयमा घरमा सौताहरू बाझाबाझ वा झगडा गर्दा तिनीहरूलाई सम्झाउने आशय रहेको बुझ्न सकिन्छ।  

आमाले प्रायः गाइरहने गरेका लोकगीतका यी केही नमुना पंक्तिहरू हुन्। उहाँले गाउने अरू कैयौं गीतहरू छन्। आमा कहिलेकाहीं श्लोक पनि भन्नुहुन्छ।  

मध्यम वर्गीय किसान परिवारकी कान्छी बुहारीका रूपमा ६ वर्षकै उमेरमा पिताजी तुलसीराम धमलाका साथ विवाह भएर भित्रिनुभएकी आमा गोमादेवी धमलाले कति दुःखकष्ट सहेर संयुक्त परिवारको बुहार्तन खप्नुभयो होला, त्यसको अनुमान सजिलै गर्न सकिँदैन। जीवनक्रममा हामी छोराछोरीको लालनपालनसहित घरको काम गर्दाका हन्डर र सास्तीको पनि कल्पना मात्र गर्न सकिन्छ। खेतालासँग मेलापात गर्दा उमेरमा आफूले गाउनुभएका गीतहरूको सम्झनाले आमालाई आफूले चहारेका उतैतिरका खेतबारीमा पुर्‍याइरहेको म अनुमान गर्छु, जहाँ अरूसँग आमा स्वरमा स्वर मिलाएर काम गर्दाको थकाइ बिर्सनुहुन्थ्यो होला। ७०/७५ वर्ष पहिलेदेखि उहाँले गाउने गरेका गीत अझै कैयौं सम्झिरहनुभएको छ आमाले। कतिपय गीतहरू त आफै कथेर पनि गाउनुहुन्थ्यो होला आमा उस बेला। लोकगीत र तिनका भाकाहरूको जन्म गाउँकै मेलापात र उकालीओरालीमा हुने त हो।

अपवादबाहेक वनपाखा, मेलापात, उकालीओराली र भन्ज्याङमा अब त्यहींको माटोको सुगन्ध र आँसुहाँसो मिसिएर, निचोरिएर निस्कने लोकभाकाहरू प्रायः ‘एकादेशको कथा’ भइसकेका छन्। समयको हुन्डरीमा अधिकांश ती भाकाहरू विलयन भइसकेका छन्। अब मात्र स्रष्टाका पुस्तकहरूमा लिखितरूपमा केही सञ्चित भएका होलान्। कतिपय आमाहरूका आआफ्ना स्मृतिका सबभन्दा पुराना पत्रमा केही बाँकी रहेका पनि होलान्। नेपाली ढुकढुकी सुसाउने र सुसेल्ने मौलिक भाकाबिना पहाडी जनजीवनका मेलापातहरू कति रुक्खा भएका होलान् ? के स्टुडियोहरूमा रेकर्ड गर्दै युट्युबहरूमा अपलोड गरिएका गीत संगीतले आमाले सम्झनुभएका गीतहरूले जगाउने मौलिकताको तिर्खा मेटाउन सक्लान् र ?

घरमा बसेको समय दिउँसो कुनै विशेष कार्यक्रम भएको बेलाबाहेक म टिभी खोल्दिनँ। तर आमाले ‘बसेका बेला त टिभी खोल् न’ भन्नुभयो भने चाहिँ खोल्छु। आमालाई जुनसुकै नेपाली च्यानल लगाए पनि हुन्छ तर लोकगीत, दोहोरीहरू बढी मनपर्छ।  

साँझमा म टिभीमा समाचार हेर्न बस्छु। आमा पनि केही बेर हेर्नुहुन्छ। उहाँ टिभीका समाचारलाई कमेन्ट गर्दै ‘हिजोअस्ति पनि उनै मान्छे, उनै नेता हुन् कि को हुन्, आज पनि उनै आएर उही कुरो भट्याउँछन्, के हेर्नु...’ भन्नुहुन्छ। हामी हाँस्छौं। धार्मिक कार्यक्रमका च्यानल हेर्दा भने आमा केही भन्नुहुन्न। कहिलेकाहीं धार्मिक च्यानलमा राधाकृष्ण सम्बन्धी भजन सुन्नुभएको छ भने आमा गुन्गुनाउँदै गरेको सुन्छु ः  

‘आज मेरो गाई हेर्ने पालो

राधिकालाई पठाइदेउ गोठालो।’  

आमाका प्रारम्भिक सक्रियताका दिनहरूलाई वर्तमानको आँगनमा बसेर अनुमान गर्न सकिन्छ। उसबेला मनोरञ्जनका माध्यमहरू भनेका तिनै लोकभाकाहरू थिए। अन्य सञ्चार माध्यमहरू कल्पना बाहिरै थिए। सहर (काठमाडौं) मै पनि सर्वसाधारणका लागि भने २००७ सालपछि मात्र रेडियो ‘खुला’ भएको हो। हामीले थाहा पाउँदा पनि रेडियो बजाउनु ‘ठूलाबडा’ को सोखको कुरा हुन्थ्यो। अझ गाउँघरका सामान्य परिवारका छोरीबुहारीहरूले रेडियो सुन्नु भनेको अपजस पाउनु मात्र हुन्थ्यो। त्यस्तै देखिएको पनि हो। अनि आमा र आमाहरूले मनको बह पोख्न, आफ्ना सुस्केराहरूलाई आफैले सान्त्वना दिएर ‘कर्मघर’ को व्यवहार धान्न लोकगीत गाउनुको अर्काे विकल्पै थिएन। गीत गाउँदा पनि अन्य मान्यजनले थाहा नपाउने गरी मात्र गाउन पाइन्थ्यो होला।  

सामाजिक परिवेशले निर्माण गरेको बन्द संस्कारको लक्ष्मणरेखा नाघेर मेलापात गर्दा नै भए पनि लोकगीतका भाका हाल्ने साहस बटुल्न आमा पुस्तालाई कति सकस प¥यो होला ! त्यस परिवेशमा निर्मित नेपाली नारीका अन्तद्र्वन्द्वका कथाहरू समयले बिनामूल्य, बिनाअभिलेख आफ्नो गर्तमा विलीन गरायो। कति नै अभिलिखित गरिएको छ र त्यो युगलाई ! तिनको केही महŒवबोध गराएर सत्यमोहन जोशी र धर्मराज थापाहरू गए। कतिपय सांगीतिक अग्रजहरूले आफ्ना स्वरहरूमा तिनलाई सञ्चयन गरेका होलान्। अरू कोहीकोही पनि लागिपरेका होलान्। तर तितो यथार्थ, समयले इतिहासका लोक सामाजिक सुस्केराहरूको जाग्रत निश्वासलाई धमिलो बनाइसकेको छ। त्यो समय फेरि फर्किएर रनवन गुन्जिन कहाँ सम्भव छ र ? आमाले गाउने गरेका एकादुई टुक्राहरू उहाँको पुस्ताले गाउने गरेका लोकगीतका अन्तिम संस्मरण हुन सक्छन्।  

म कामना गर्छु– आमा र आमाहरूका स्मृतिबाट यस्ता लोकभाकाहरू विस्मृत नबनून्।
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
१ घण्टा अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ५३ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस