दशैंका अवसरमा कपिलवस्तुका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीका ५०० मूर्ति विसर्जन गरिएका छन्। बाजागाजा र नाचगानसहित भक्तजनले जिल्लाका विभिन्न नदी, खोला तथा घाटमा ती मूर्ति विसर्जन गरेका हुन्।
जिल्लाका १० वटै पालिकाका चोक, बजार र गाउँमा नवरात्रका अवसरमा दुर्गा भगवतीका मूर्ति स्थापना गरी पूजापाठ गरिएको थियो। कतिपय स्थानमा घटस्थापनाका दिन र अधिकांश स्थानमा सप्तमीका दिन मूर्ति स्थापना गरिएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार कपिलवस्तुमा यस वर्ष कुल ५०९ दुर्गा भगवतीका मूर्ति स्थापना गरिएका थिए।
कात्तिक ३ र ४ गते गरी दुई दिनमा ४०४ मूर्ति विसर्जन गरिएको प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहले जानकारी दिए। बुधबार कृष्णनगर र महाराजगञ्ज क्षेत्रका मूर्ति विसर्जन गरिएको थियो भने बिहीबार कपिलवस्तु नगरपालिका क्षेत्रमा रहेका ९६ मूर्ति विसर्जन गरिएका थिए।
भक्तजनले बाणगंगा नदीको रामघाट र लक्ष्मणघाट, सुरई, बेल नदीलगायत विभिन्न स्थानमा मूर्ति विसर्जन गरेका थिए। तौलिहवा र आसपासका क्षेत्रमा निकालिएका झाँकी नगर परिक्रमा गराएर रामघाट पुर्याइएको थियो। बाजागाजा र नाचगानसहित घाट पुगेका भक्तजनले धार्मिक विधिअनुसार मूर्ति विसर्जन गरेका थिए।
स्थापना गरिएका मूर्तिको मूल्य २० हजारदेखि एक लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ। नवरात्रमा दुर्गा भगवतीको व्रत बसेर पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासअनुसार भक्तजनले श्रद्धापूर्वक पूजा गर्दै आएका छन्। मूर्ति विसर्जनका विभिन्न स्थलमा मेलासमेत लागेको थियो।
मूर्ति विसर्जनका क्रममा हुन सक्ने सम्भावित झडप तथा अप्रिय घटना रोक्न जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। विशेषगरी सुरक्षा संवेदनशील मानिने कृष्णनगर क्षेत्रमा ड्रोन, सीसी क्यामेरा र बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
मूर्ति विसर्जनका क्रममा जिल्लामा कतै पनि अप्रिय घटना नभएको प्रहरी उपरीक्षक भट्टले बताए। उनका अनुसार अब नौवटा मूर्ति विसर्जन गर्न बाँकी छन्। ती मूर्ति पनि एक–दुई दिनभित्र विसर्जन गरिनेछन्। उनले दशैं अवधिभर जिल्लामा कुनै अप्रिय घटना नभएको जानकारी दिए।
किरात ऐतिहासिकस्थल साल्पा-सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ।
खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा-सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो) सहितको प्रवेशद्धार र स्वागतद्धार लगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो।
देश/विदेशका किराती तथा गैरकिरातीबाट बटुलेको करिब दुई करोड ८४ लाख रकममध्ये दुई करोड ६२ लाख रुपैयाँमा भौतिक संरचना निर्माण गरिएको आयोजक साल्पा–सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन खिम्बुले राई ‘मूलघरे कान्छा’ले बताए।
“साल्पा-सिलिचुङ विश्वभर छरिएर रहेका किरातीहरूको मुन्दुम तथा रिसियामा आउँछ। यसलाई संरक्षण र प्रवर्द्धन गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्य राखिएको छ”, उनले भने, “किराती मुन्दुम अनुसार साल्पा-सिलिचुङ नै किरातीहरूको सृष्टि र मुन्दुमको उत्पत्ति केन्द्र भएको जनविश्वास छ।
मुन्दुमी मिथकलाई भौतिकीकरण गर्न किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ क्षेत्रमा मुन्दुमी संरचना निर्माण गरिएको हो। यसले भावी पुस्तालाई मुन्दुमी ज्ञानको अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।”
साल्पा–सिलिचुङको चौतर्फी विकासका लागि २०७९ सालमा अन्तर्राष्ट्रिय समिति स्थापना गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेर स्तरोन्नतिको काम सुरु गरिएको थियो।
तीन चरणमा सञ्चालन गरिएको अभियानअन्तर्गत पहिलो वर्ष २०८१ साल वैशाख ७ गते सुम्निमा र पारुहाङ तथा नाक्छुङको प्रतिमा स्थापना, दोस्रो वर्ष २०८२ साल वैशाख १ गते सुम्निामा र पारुहाङको प्रतिमा तथा साल्पापोखरीमा तीन चुल्हासहितको मुन्दुमी माङथाम र यस वर्ष ३५ फिट अग्लो पित्तलको जोडी वाबुक/सोलोन्वा (चिण्डो), पोखरीभित्र पारुहाङ अन्तरध्यानमा बसेको प्रतिमा तथा नाक्छुङ चरा (कल्चुडा)को प्रतिमा स्थापना गरिएको हो।
‘सृष्टिको उत्पत्ति केन्द्र मुन्दुमको प्राण, साल्पा-सिलिचुङ संरक्षण हाम्रो अभियान’ भन्ने नाराका साथ सुरु गरिएको अभियानमा नेपालसहित बेलायत, हङ्कङ, कोरिया, अमेरिका, अस्ट्रेलिया, जापान, इजरायल लगायत विश्वभर छरिरहेका नेपाली जोडिएका छन्। बृहत् योजनासहित सुरु गरिएको अभियानका लागि साउदी अबरमा रहेका भोगिन्द्र चाम्लिङ राईको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरिएको थियो।
समुद्री सतहबाट तीन हजार ४४३ मिटर उचाइमा अवस्थित साल्पा–सिलिचुङ क्षेत्रको चौतर्फी विकास गर्ने उद्देश्यसहित सुरु गरिएको अभियानको अध्ययन तथा अनुसन्धानका लागि यसअघि अध्ययन तथा अनुसन्धान समितिसमेत निर्माण गरिएको थियो।
करिब चार वर्ष सञ्चालन गरिएको अभियानका क्रममा भएका आर्थिक तथा भौतिक प्रगतिबारे यही मङ्सिर १८ गते काठमाडौँमा बृहत् कार्यक्रम गरी सार्वजनिकीकरण गरिने समितिका अध्यक्ष मूलघरे कान्छाले बताए।
धार्मिक तथा पर्यटकीयस्थल सिचिलुङबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण, मेरापिक हिमाललगायत उच्च हिमशृङ्खला, तराईका फाँट तथा विभिन्न नदी, वनजङ्गल र किराती वस्ती प्रष्ट देख्न सकिन्छ। साल्पापोखरीबाट उत्तरपूर्वी भेगमा पर्ने सिलिचुङको उचाइ समुद्री सतहदेखि चार हजार १५५ मिटर अग्लो छ।
सिलिचुङ आसपासमा रहेका टेम्के, मैयुङ, लौरे, चिलिमढुङ्गा लगायत डाँडामध्ये सबैभन्दा अग्लो डाँडाका रूपमा स्थापित छ। टेम्के समुद्री सतहबाट तीन हजार १६५ मिटर उचाइमा छ भने मैयुङको उचाइ तीन हजार ३३३ मिटर अग्लो छ।
किरात समुदायको आस्थाको केन्द्र मानिने सिलिचुङको फेदमा अवस्थित साल्पापोखरीमा आन्तरिक तथा बाह्य पर्यटक आफ्नो मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ पूजाआजा गर्दै आएका छन्।
साल्पापोखरीमा हरेक वर्ष चार पटक (वैशाख, भदौ, कात्तिक र फागुनको पूर्णिमामा) मेलासमेत लाग्ने गरेको छ।
बिनामुहान तथा बिनानिकासको पानी जमेर बनेको साल्पापोखरीमा लाग्ने मेलामा खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बू लगायत विभिन्न जिल्लाबाट भक्तजन पुग्ने गरेका छन्। साल्पापोखरीमा पूजाआजा गर्दा बोली नफुट्नेहरू बोल्न सक्ने, सन्तान नहुनेलाई सन्तान प्राप्ति हुने, धामी तथा झाँक्रीहरूले मुन्दुमी शक्ति प्राप्त गर्ने लगायतका धार्मिक जनविश्वास छ।
कचौरा आकारमा फैलिएको साल्पापोखरी समुद्री सतहदेखि तीन हजार ६७२ मिटर उचाइमा अवस्थित छ। पहिलोपटक सगरमाथा चढ्ने एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले साल्पापोखरीकै मार्ग प्रयोग गरेको बताइएको छ।
नेपाल सरकारले निर्धारण गरेको घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्यभित्र पर्ने मुन्दुम पदमार्ग यो क्षेत्र (साल्पा–सिलिचुङ)सम्म विस्तार गरिएको छ। मुन्दुम पदमार्गले छोएको स्थानलाई जोड्दै चारवटै जिल्ला (खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्ब)का स्थानीय तहहरूले आआफ्नो क्षेत्रमा पदमार्गसमेत निर्माण गरिहेका छन्।
प्रचारप्रसारको अभावमा ओझेलमा रहेको धार्मिक एवं पर्यटकीयस्थल साल्पा–सिलिचुङ आसपास निर्माण गरिएका पदमार्गमा पछिल्लो समय होटल तथा होमस्टे (घरबास)हरूसमेत विस्तार हुन थालेका छन्। होटल तथा होमस्टे विस्तार हुन थालेपछि मुन्दुम पदमार्ग हुँदै साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटकसमेत वृद्धि हुँदै गएको स्थानीय बासिन्दा बताउँछन्।
होटल तथा होमस्टे स्थापना हुनुअघि साल्पा–सिलिचुङ जाने आन्तरिक तथा बाह्य पर्यटक चाैंरीगोठ तथा भेँडीचोकहरूमा बास बस्दै आएका थिए। धार्मिक आस्थाका रूपमा मात्र नभई प्राकृतिक रूपमा समेत पर्यटकीय गन्तव्यमा पर्ने साल्पा–सिलिचुङ जाने मुन्दुम पदमार्ग आसपास ठुल्ठूला घाँसेमैदान, चौँरीखर्क, भेँडीचोक, घोडचढी लगायतका दृष्य प्रत्यक्ष अवलोकन गर्न पाइन्छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...