बाल यौन शोषणको मुद्दा खेपिरहेका लिटल बुद्ध भनेर चिनिने रामबहादुर बम्जन (रामलाल बम्जन) विरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएको छ ।
यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको अभियोग लागेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सरकारी वकिलको कार्यालय सर्लाहीमार्फत् सर्लाही अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता गरेको जनाएको छ ।
विभागले बम्जनविरुद्ध कुल ८ करोड २७ लाख ५९ हजार ४८१ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र कसुरको मात्रा अनुसार कैद सजाय माग गरेको छ ।
यस्तै बम्जनले सो कसुरबाट आर्जन गरेको सम्पत्ति र बरामद भएको रकम जफत गर्न विभागको माग छ । गैरकानुनी रूपमा स्रोत लुकाउने छल्ने लगायत निषेधित कार्य गरेकाले बम्जनविरुद्ध हदैसम्मको सजायको माग विभागको छ ।
बाल यौन दुराचार मुद्दामा समातिएका तपस्वीका रूपमा प्रचारित रामबहादुर बम्जनसँग मानव बेचबिखन र व्यक्ति बेपत्ताका अन्य दुई मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयमा बयान थालिएको छ। नुवाकोटबाट बुधबार सिन्धुपाल्चोक ल्याइएका उनीसँग जिल्ला न्यायाधिवक्ताको उपस्थितिमा बिहीबार बयान थालिएको हो।
दुवै मुद्दामा समानान्तर ढंगले बयान लिने काम भइरहेको त्यसमा संलग्न कर्मचारीले जानकारी दिए । उनीहरूका अनुसार एक पुरुष बेचबिखन गरेको र एक किशोरी बेपत्ता बनाएको आरोपमा बम्जनसँग बयान जारी छ। बयान नसकिँदसम्म उनलाई सिन्धुपाल्चोक जिल्ला कारागारमा राख्न अनुमति दिइएको छ।
‘दुवै मुद्दामा बयान सक्न चार–पाँच दिन लाग्ने जानकारी सरकारी वकिलको कार्यालयबाट पाएका छौं’, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी निरञ्जन भट्टराईले भने। बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट ती पुरुष बेचबिखनमा परेको र किशोरीलाई बेपत्ता बनाएको जाहेरी प्रहरीकोमा परेको थियो।
तपस्वीको भेष धारण गरी बम्जनले आफ्नो आश्रमभित्र अनुयायीमाथि ‘बलात्कार, हत्या र हिंसाको दुस्चक्र चलाएको’ आरोपमा प्रहरीले ६ वर्षयता बम्जनमाथि अनुसन्धान थालेको थियो। सोही क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई २०८० पुस २४ गते राजधानीबाट पक्राउ गरेको थियो।
सर्लाही जिल्ला अदालतले अघिल्लो महिना मात्र बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र पीडितलाई पाँच लाख रूपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो। त्यहाँकी एक किशोरीले बम्जनले आफ्नो आश्रममा आफूलाई पटकपटक बलात्कार गरेको सर्लाही प्रहरीमा जाहेरी दिएकी थिइन्। सोही मुद्दामा अदालतले बम्जनलाई बालयौनरी ठहर गरेको हो।
बम्जनका विभिन्न आश्रमबाट पाँच अनुयायी (चेला, आनी) बेपत्ता भएको भन्दै पीडितका परिवारले सिन्धुपाल्चोकसहित मकवानपुर, नुवाकोट, बारा र सर्लाही प्रहरीमा जाहेरी दिएका छन्। उनी पक्राउ परेपछि प्रहरीले सबै मुद्दामा बम्जनमाथि अनुसन्धान गरिरहेको हो।
बम्जनको सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बाँडेगाउँको तोड्केभिरमा आश्रम छ। सोही आश्रमबाट हराइरहेका पाँचमध्ये तीन अनुयायी बेपत्ता पारिएको किटानी जाहेरीमा उल्लेख छ। तोड्केभिरको आश्रममै रहेको बखत बाराका ती पुरुष बेचबिखनमा परेको र मकवानपुरकी किशोरी बेपत्ता भएको मुद्दामा यहाँको सरकारी वकिलको कार्यालयले बयान थालेको हो।
सिन्धुपाल्चोक ल्याउनुअघि बम्जनलाई अर्को मुद्दामा बयानका लागि नुवाकोट पुर्याइएको थियो। उक्त मुद्दामा उनले त्यहाँका सरकारी वकिलको कार्यालयमा बयान दिएका छन्। सिन्धुपाल्चोकको आश्रमबाट नुवाकोटकी तामाङ थरकी एक किशोरी बेपत्ता बनाएको जाहेरी नुवाकोट प्रहरीमा परेको थियो। तोड्केभिर आश्रमबाट बेपत्ता भएका तीनजनालाई २०७१ पुस र चैतमा बेपत्ता पारिएको बम्जनविरुद्धको किटानी जाहेरीमा उल्लेख छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...