५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

गाउँ नै जलेपछि गर्भवती र सुत्केरीकाे बिचल्ली

हेर्दाहेर्दै ‘जिउँदो भूत’ ले सारा सपना खरानी बनायो। आँखाअगाडि सर्वस्व जलिरहँदा बिलौना र गुहार गरिरहनुबाहेक कुनै विकल्प थिएन। सर्लाहीको विष्णु गाउँपालिका १ बाराउधोरण गाउँ हेर्दाहेर्दै जलिरह्यो।

स्थानीय शत्रुघन राउतको घरमा खाना पकाउने काम भइरहेको थियो। एक्कासि आकाशबाट बज्र प्रहार भएजस्तो ठुलो आवाजमा ग्याँस सिलिण्डर विस्फोट भयो। त्यसपछि आगोको लप्काले एकै छिनमा गाउँलाई नै छोप्यो।

आगलागीको आगोलाई स्थानीयहरु ‘जिउँदो भूत’ भन्दा रहेछन्। राउतको घरबाट सल्किएको आगो एकपछि अर्को गर्दै सिंगो गाउँमा फैलियो। कडा घाम, तातो पश्चिमी हावा र पूरै सुख्खा वातावरणमा जिउँदो भूतले हेर्दाहेर्दै गाउँलाई सखाप बनाइदियो।

एक्कासि आगो सबैतिर फैलिएपछि एकपछि अर्को घरमा रहेको खाना पकाउने एलपि ग्यासको सिलिन्डर पड्किन थाल्यो। आगोमा झुल्सिएका कैयौं घरमा पनि लगातार ग्यास सिलिन्डर विस्फोट भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले बताए। उनका अनुसार ७० घर जलेका र आगलागीमा परेका घरहरूमा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, कागजात, पैसालगायतका सामग्री नष्ट भएका छन्।

हुलमुलमा जीउ जोगाउनु भन्छन्। स्थानीयले सबैभन्दा पहिले आफ्नो जीउ जोगाउने काम गरे। कुनै मानवीय क्षति हुन पाएन तर एउटा घरमा एक बाख्रा मरेको छ। आगलागीबाट भएको क्षतिको विवरण अहिले संकलन भइरहेको प्रमुख जिल्ला अधिकारी धमलाले बताए।

उनले भने, ‘म घटनास्थलमै पुगेको छु, दिउँसोतिर आगो लागेकाले त्यस्तो कुनै पनि मानवीय तथा पशु चौपायामा क्षति भएन।

आगलागीका कारण सर्वस्व गुमाएका तीनजना गर्भवती महिलाको कन्तविजोग भएको छ। घर, गोठ, लत्ताकपडा र अन्नपात सबै खरानी भएर बस्तीविहीन बनेका २८ वर्षीया नितु देवी, २५ वर्षीया राधा देवी, २४ वर्षीया रिना देवीको पीडा अपार छ। सुनौलो सपना बोकेर यसै महिना बच्चा जन्माउने तयारी गरिरहेका यी महिलाको सबै सपना आगोको जलाएर खरानी बनाइसकेको छ।

गाउँका करिब एक दर्जन सुत्केरी महिलाको बिजोग देखिनसक्नु छ। काखका अबोध बालक र गर्भमा बच्चा लिएर महिलाहरु चिन्तामा छन्। सर्वस्व गुमेपछि जुन पीडा हुनुपर्ने हो, त्यसभन्दा निकै बढी पीडित गर्भवती र सुत्केरी देखिन्छन्। सुत्केरी तथा गर्भवती महिलालाई खानपान, बसाइ तथा अन्य व्यवस्थापनमा कठिनाइ देखिएको छ। अलगअलग स्याहार गर्नुपर्नेमा समूहमा गर्भवती र सुत्केरीलाई समस्या भएको हो।

दिनभर पश्चिमी तातो वायु र गर्मीले जीवन धान्न कठिन भएको भन्छिन् ९ महिनाकी गर्भवती नितु देवी। अन्नपात छैन, पौष्टिक खानेकुरा छैन, राती खुला आकाशमुनि र दिउँसो चर्को गर्मीमै पालको बास बस्नुपर्छ। राति लामखुट्टेले सताइरहन्छ भने विषालु सर्पको पनि डर भएकाले अनिदो रात बिताउनुपरेको उनी सुनाउँछिन्। अर्का गर्भवती राधा भन्छिन्– न गाँस रह्यो न कपास, बच्चा जन्माउन र हुर्काउन समस्या भएको छ।

गाउँका करिब ७० भन्दा बढी युवा भारतको पन्जाब, हरियाणामा मजदुरीका लागि गएका छन्। गाउँमा महिला र वृद्ध मात्रै रहेका छन्।

सत्रोहन राउतको घरमा खाजा पकाउने क्रममा ग्यास सिलिन्डरबाट सल्केको आगो फैलिएर सँगै जोडिएका मिना देवी, अञ्जली देवी, नितु देवी, करण पटेललगायतका १७ वटा एक घन्टामै स्वाहा भएको विष्णु गाउँपालिका १ का वडाध्यक्ष बिकाउ ठाकुरले बताए।

वडा र अन्य दातृ निकायको सहयोगमा आगलागीपीडितलाई त्रिपालको व्यवस्था गरिएको वडाध्यक्ष ठाकुरले बताए। उनका अनुसार पीडितलाई खानाका लागि सरकारी स्कुलमै सार्वजनिक मेस सञ्चालन गरिएको छ।

प्रकाशित: २१ वैशाख २०८१ १६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App