२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

प्रहरी भन्छ: गृहमन्त्रीबारे भाइरल भिडियोमा सत्यता छैन, परिवार भन्छ: प्रहरीले झूठो बोल्यो

सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री रवि लामिछानेको आलोचनात्मक ‘कमेन्ट’ गरेकै आधारमा प्रहरीले यातना दिएको भन्दै एक युवकले आत्महत्याको प्रयास गरेको विषयलाई लिएर साइबर ब्युरोले खण्डन गर्दै भ्रम फैलाइएको जनाएको छ।

गृहमन्त्रालय र गृहमन्त्रीको समेत दबाबमा ब्युरोले विज्ञप्ति जारी गर्दै आत्महत्या प्रयासलाई भ्रम फैलाएको भन्दै खण्डन गरेको हो। ब्युरोका एसपी भागेन्द्र पुरुष ढकालले जारी गरेको विज्ञप्तिमा सो कुरा उल्लेख गरेका छन्।

ब्युरोको विज्ञप्ति अनुसार ऋषि राज झा नामको फेसबुकबाट अश्लील सामग्री पोस्ट गरी हैरानी दिएको भनी सिंहविरुद्ध उजुरी परेको थियो। अनि अनुसन्धानका क्रममा उक्त ऋषि राज झा नामको फेक फेसबुक अकाउन्ट उनैले सञ्चालन गरेको पुष्टि भएको दाबी ब्युरोले गरेको छ।

तर उनका भाइ मानबहादुर सिंहले यस्तो फेक आइडी सञ्चालन नगरेको र उल्टै दाजुको मोबाइल बरामद गरेर ब्युरोबाट फेसबुकमा राखिएको सामग्री सम्पादन भएको बताएका छन्। उनले ब्युरोले जारी गरेको विज्ञप्ति नै झूठो भएको बताएका छन्।

सो आइडीबाट अश्लील सामग्री प्रकाशन गरेको विषयमा ब्युरोको कार्यालयमा उपस्थित हुन अनुरोध गरेपछि उनी यही वैशाख १२ गते १० बजे हाजिर भएका थिए।

‘यस कार्यालयमा उपस्थित हुनासाथ निजको साथीले फोनमार्फत ‘निजले मलाई तनाव भयो भनी गएको छ’ भनी यस ब्युरोमा खबर गरेपश्चात् सोधखोज गर्दा निजले २ स्ट्रिप सिटामोल खाएर आएको बताएकाले तत्कालै उपचारका लागि वीर अस्पतालको आकस्मिक कक्ष पठाइएको थियो’, जारी विज्ञप्तिमा उल्लेख छ।

जाजरकोटको कुशे गाउँपालिका स्थायी घर भएका गणेशमानसिंह ठकुरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरी गृहमन्त्री लामिछानेविरुद्ध किन फेसबुकमा ‘कमेन्ट’ गरेको भन्दै मानसिक तनाव दिएपछि उनले प्रहरीको काठमाडौंस्थित साइबर ब्युरोकै ढोकामा विष सेवन गरी आत्महत्या प्रयास गरेको उनका भाइ मानबहादुरले बताएका थिए।

आज दिउँसो नेपाल प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि गणेशमान सिंहले ढाटेको र त्यसबारेमा साइबर ब्युरोको विज्ञप्तिले जानकारी दिइसकेको बताइएको थियो।

‘समाचार र भिडियोमा गरिएकाे दाबी भ्रमपूर्ण रहेको छ, उनले अश्लील कमेन्ट र टिप्पणी गरेका थिए त्यसबारेमा अनुसन्धान गर्न प्रहरीले बोलाएको थियो, प्रहरीमा उजुरी परेपछि सोधपुछ गर्न पाउनुपर्छ’, प्रहरी प्रवक्ता डिआइजी भीम ढकालले भने।

उनले विष सेवन गरेपछि प्रहरीले नै उनलाई वीर अस्पताल पुर्‍याएको थियो। वीरमा उपचार हुन नसकेपछि राति उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।

‘वीर अस्पतालको आकस्मिक कक्ष पठाइएकामा अस्पतालको बेडबाटै आम नागरिकमा भ्रम सिर्जना गर्ने र आफ्नो आपराधिक क्रियाकलाप उपरको अनुसन्धानमा समेत बाधा पुर्‍याउने निकृष्ट उद्देश्य राखी सामाजिक सञ्जाल फेसबुकबाट पोस्ट भई प्रचार भएको भ्रमपूर्ण भिडिओ सन्देशमा कुनै सत्यता नरहेको बेहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचारप्रसार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने ब्यहोरासमेत अनुरोध गरिएको छ,’ ब्युरोका तर्फबाट प्रहरी उपरीक्षक (एसपी) ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बुधबार पीडितका भाइ मानबहादुरले आफ्नो दाजुविरुद्ध कसले उजुरी दिएको थियो भन्ने बारेमा ब्युरोमा जिज्ञासा राख्दा उजुरी नआएको बताएको र ब्युरोले आज जारी गरेको विज्ञप्तिमा भने उजुरीमाथि छानबिन गरेको जनाएको छ।

प्रकाशित: १३ वैशाख २०८१ १६:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App