२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पश्चिम तराईमा चल्न थाल्यो तातो हावा

गर्मीमा ठेलाबाट सामान ओसार्दै मजदुर। तस्बिर: गणेश/नागरिक

बाँकेलगायत पश्चिम तराईका केही क्षेत्रमा तातो हावा चल्न थालेको छ। दैनिक गर्मी बढ्दै गएपछि पश्चिम तराईका नेपालगन्ज, भैरहवालगायत क्षेत्रमा तातो हावा चल्न सुरु भएको हो।

तातो हावा चल्न थालेपछि यहाँको जनजीवन प्रभावित हुँदै गएको छ। जल तथा मौसम विज्ञान कार्यालयका अनुसार शनिबार भैरहवामा सबैभन्दा बढी तापक्रम मापन गरिएको थियो। यहाँको अधिकतम तापक्रम ४१.१ डिग्री सेल्सियस र न्यूनतम २१.४ डिग्री सेल्सियस मापन भएकाे थियाे।

जल तथा मौसम विज्ञान कार्यालयका अनुसार नेपालगन्जमा अधिकतम ३८.४ र न्यूनतम १९.८ डिग्री सेल्सियस तापक्रम पुगेको छ भने घोराहीमा ३५.४ डिग्री सेल्सियस पुगेको छ।

त्यस्तै, धनगढीको अधिकतम तापक्रम ३८.२ र न्यूनतम १९ डिग्री सेल्सियस पुगेको र दिपायलको तापक्रम ३५.५ पुगेको कार्यालयले जनाएको छ। पछिल्ला दिनमा यहाँको तापक्रम बढ्दो क्रममा छ।

नेपालगन्जमा हप्ता दिनदेखि तातो हावा चल्न थालेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामविकेश रायले जानकारी दिए।

‘चार/पाँच दिनदेखि लगातार तातो हावा चल्नुलाई ‘लु’ भन्ने गरिन्छ,’ उनले भने, ‘नेपालगन्जमा त हप्ता दिनदेखि तातो हावा लागेको छ। यो ‘लु’ चाहिँ हो। मौसम पूर्वानुमान महाशाखाले भने अहिले नै ‘लु’ भनिसकेको अवस्था छैन।’

बिहान १० बजेदेखि साँझ ५ बजेसम्मै ताता हावा लाग्ने गरेको उनको भनाइ छ। तातो हावा चल्न सुरु भएसँगै अस्पतालहरुमा बिरामीको संख्या पनि बढ्दै गएको छ। मौसमी ज्वरोका बिरामीहरुको संख्या बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ।

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गर्मी बढेसँगै साँझको समयमा घुमफिर गर्ने तथा चिसो पेय पदार्थ पिउनेहरूको संख्या बढ्न थालेको छ । गर्मीले मानिस मात्र हैनन्, पशुपन्छीसमेत प्रभावित भएका छन् । तापक्रम वृद्धिले हुने अत्यधिक गर्मीले मानिसहरूको चहलपहल बजारमा समेत दिउँसोको समयमा घट्न थालेको व्यवसायी बताउँछन् ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै: थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्न स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन्।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०८१ २१:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App