५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

१० जिल्लाका गर्भवती र सुत्केरीलाई ‘एमएमएस’

सरकारले अब गर्भवती र सुत्केरीलाई बहुसूक्ष्म पोषण तत्त्व (मल्टिपल माइक्रोन्युट्रियन्ट सप्लिमेन्टेसन–एमएमएस) उपलब्ध गराउने भएको छ।

हालसम्म सरकारले गर्भवती र सुत्केरीलाई आइरन फोलिक एसिड र भिटामिन ‘ए’ मात्र उपलब्ध गराउँदै आएको छ। हेलेन केलर इन्टरनेसनल र युनिसेफको सहयोगमा नेपालले यस्तो पोषक तत्त्व वितरण गर्न लागेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

१५ थरीका पोषक तत्त्वयुक्त यो चक्की देशैभरिका गर्भवती र सुत्केरीलाई दिन मिल्ने भए पनि पहिलो चरणमा १० जिल्लामा मात्र वितरण गर्न लागिएको परिवार कल्याण महाशाखाले जनाएको छ। ‘सरकारले सहयोेगस्वरूप प्राप्त बहुसूक्ष्म पोषक तत्त्व वितरण गर्ने अनुमति हामीलाई दिएको हो, थप खरिद गर्ने स्थिति छैन,’ महाशाखा प्रमुख डा. विवेककुमार लालले भने।

लालका अनुसार पहिलो चरणमा प्रभावकारिता अध्ययनका लागि लुम्बिनी प्रदेशका १० जिल्ला रूपन्देही, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, दाङ, बर्दिया, प्युठान, रोल्पा, रुकुम र बाँकेमा यो चक्की वितरण गरिनेछ। कहिलेदेखि वितरण गर्नेबारे गृहकार्य भइरहेको उनले बताए।

छिमेकी देशहरू भारत, पाकिस्तान र बंगलादेशले गर्भवती र सुत्केरीलाई सूक्ष्म पोषक तत्त्व उपलब्ध गराउँदै आएको छ। यसमा गर्भवती र गर्भमा रहेको बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक पोषण हुन्छ। त्यसैले यो स्वस्थ शिशु र स्वस्थ आमाका लागि प्रभावकारी मानिएको लाल बताउँछन्।

‘गर्भवतीलाई सूक्ष्म पोषक तत्व दिँदा धेरै फाइदा हुन्छ,’ उनले भने। सूक्ष्म पोषक तत्व पर्याप्त भएमा पोषण तत्व कम भएका किशोरी र अरूलाई पनि दिन मिल्ने लालको भनाइ छ।

डा. लालका अनुसार एमएमएस चक्की स्वास्थ्य संस्थाको सम्पर्कमा भएका गर्भवतीलाई दिइनेछ। यसका लागि गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुगेको हुनु पर्नेछ। यो चक्की मधुमेह, पोलिसिस्टिक, डिम्बाशयमा समस्या भएका, थाइराइड, मिर्गौला, उच्च रक्तअल्पता र उच्च जोखिमयुक्त गर्भावस्था भएका महिलालाई भने दिन मिल्दैन। यो चक्की बट्टा र पत्ता दुवै स्वरूपमा हुनेछ।

सूक्ष्म पोषक तत्वयुक्त चक्कीमा भिटामिन–ए, भिटामिन–बी १२, भिटामिन– डी ३, भिटामिन–सी, भिटामिन–बी १, भिटामिन–बी २, भिटामिन–बी ३, भिटामिन–बी ६, भिटामिन–ई, फोलिक एसिड, आइरन, जिंक, कपर, आयोडिन र सेलेनियम पाइन्छ। भ्रूण विकासमा समेत सहयोग पु¥याउने यो चक्कीले समय नपुगी बच्चा जन्मिने, गर्भमा शिशुको मृत्यु हुने र नवजात शिशु मृत्युको जोखिम पनि कम गर्छ। 

प्रकाशित: २१ वैशाख २०८१ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App