५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
खेल

सदस्यसचिव बस्नेतले कार्यालयको ताला फुटाएर सम्हाले पदभार

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतले बिहीबारदेखि पुनःपदभार सम्हालेका छन्।

सोमबार उच्च अदालत विराटनगरले गरेको फैसलाबाट पुर्नबहाली भएका बस्नेतले बिहीबार खेलकुद विकास बोर्डको कार्यालयमा लगाइएको ताला फुटाएर पदभार सम्हालेका हुन्। नेपाल खेलकुद महासंघका अध्यक्षसमेत रहेका बस्नेत कार्यालय पुग्दा त्यहाँ कोही थिएनन्।

कार्यालयको मूल ढोकामै ताला लगाएर बोर्डका पदाधिकारीसहित सम्पूर्ण कर्मचारीहरु ओलम्पियन्स पुर्नमिलन तथा प्रथम स्पोर्टस सेलिब्रेटी कार्यक्रममा सहभागी हुन सुनसरीको इटहरी गएका थिए।

अदालतले पदमुक्त गरिदिएका यसअघिका सदस्यसचिव हंसराज वाग्लेले कार्यालय बन्द हुने सूचना टाँसेका थिए। सूचनामा बोर्डका सम्पूर्ण कर्मचारी र पदाधिकारीहरु अनिवार्य रुपमा उक्त कार्यक्रममा सामेल हुनुपर्ने भएकाले वैशाख २० गते यस कार्यालयबाट सेवाग्राहीलाई दिनुपर्ने सेवा दिनलाई असमर्थ रहेको हुँदा नेपाल ओलम्पियन्स र सेलिब्रेटी खेलाडीहरुको सम्मान खातिर सेवाग्राहीलगायतमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं भनेर उल्लेख गरिएको छ। यसै सूचनाका आधारमा सबै जना कार्यालय बन्द गरेर गएपछि पदभार सम्लान पुगेका बस्नेत अन्यौलमा परेका थिए।

फैसलाको जानकारी दिनका लागि पत्र लिएर गएका अदालतका कर्मचारीले कार्यालयमा कसैलाई नभेटेपछि दैलोमा सूचना टाँस गरेर फर्केका थिए। बस्नेतले कार्यालयका अधिकृत विनोद पाण्डेलाई फोनमार्फत आफू पदभार सम्लान कार्यालय आएको र कार्यालयमा ताला लागेको जानकारी गराएका थिए।

इटहरीको कार्यक्रम पश्चात विराट चोक पुगेका अधिकृत पाण्डे तत्कालै विराटनगरस्थित कार्यालय फर्के। अधिकृत पाण्डेले कुनै पनि कार्यालय यसरी पूरै बन्द वा विदा गर्नु परे मन्त्रिपरिषद्को स्वीकृत लिनु पर्ने प्रावधान रहेको बताए। कार्यालयमा लगाएको ताला स्थानीय प्रशासनको निर्देशन र वडाको जनप्रतिनिधिको रोहबरमा फुटाइएको बताउँदै, अधिकृत पाण्डेले भने, ‘बिना जानकारी कार्यालय बन्द गर्न मिल्दैन भनेर प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि ताला फुटाएर बस्नेतलाई हाजिर गराइएको हो।’

कार्यालयको मुल ढोकामा मात्रै ताला लगाउने गरिएको थियो। तर, आज मेरो कोठामा समेत ताला लगाइएको रहेछ, अधिकृत पाण्डेले भने।

बिना जानकारी कार्यालय बन्द गर्न नमिल्ने बताउँदै, मोरङका प्रमुख जिल्ला प्रेमप्रसाद भट्टराईले भने, ‘बोर्ड प्रदेश सरकार मातहतको कार्यालय हो। त्यसमा मैले हस्तक्षेप गर्ने कुरा भएन । ताला लगाइएको छ कसो गर्ने होला भनेर फोन गरेका थिए। तपाईंहरुको हिसाबले जे गर्नुहुन्छ गर्नुस् भनेर भनिदिएँ।’

आफूलाई एमाले नेतृत्वकै सरकारले सदस्यसचिव बनाएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘अहिलेको सरकारले मलाई सदस्यसचिव बनाएको हैन। आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा नै नियुक्ति पाएको हुँ। खेलकुद क्षेत्रको समृद्धिका लागि काम गर्ने छु। खेल र खेलाडीको विकासका लागि सक्रिय हुन्छु। म बोर्डको संस्थापक सदस्यसचिव हुँ । राजनीतिक प्रतिशोधका आधारमा तत्कालीन सरकारले मलाई बर्खास्त गरेको थियो। ढिलै भए पनि अदालतबाट न्याय पाएको छु।’

प्रकाशित: २१ वैशाख २०८१ ०९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App