विगत दुई वर्ष देखि अध्ययनका निमित्त जुम्ला सदरमुकाम बस्दै आएकी सिंजा-६ कि नमिता रावत खानेपानीको जोहो गर्न दैनिक तीन घण्टामा दुरी तय गरी मालालिभिड वा खोलिकोट गाउँ धाउन बाध्य छिन्।
सदरमुकाम खलङ्गामा कोठा भाँडामा लिई बस्दै आएकी उनको हाल कक्षा १२ को अन्तिम परीक्षा चलिरहेको छ। उनलाई परीक्षा भन्दा पनि खानेपानीको चिन्ताले पिरोल्न थालेको छ।
‘बिहान बेलुका तीन घण्टा लगाएर खानेपानी लिन अरु गाउँ जानुपर्छ। परीक्षा भन्दा पनि अहिले खानेपानीकै चिन्ता छ।’ उनले भनिन्।
यस्तै जुम्लाको तिला गाउँपालिका-९ कि ललिता बुढाको पनि समस्या उस्तै छ। दैनिक बिहान बेलुकाको खानेपानीको जोहो गर्न धौधौ परेको उनी सुनाउँछिन्। लुगा धुन र नुहाउन आफूहरू जुगाडखोला वा तिला नदीसम्मै पुग्नुपर्ने बाध्यता रहेको सुनाउँदै उनले भनिन् ‘नदीको पानीले कपडा धुँदा वा नुहाउँदा विभिन्न खाले रोग लाग्ने डर पनि उतिकै छ।’
चन्दननाथ नगरपालिकन-४ कि स्थानीय सम्झना भारतीले पहिले पिउने, सरसफाइ गर्नेदेखि खेतबारीमा सिँचाइ गर्नसम्म यही पानीले पुग्ने गरेको स्मरण गर्दै भनिन् ‘अहिले पिउने पानीकै लागि मुस्किल भएको छ। पानी भर्नका लागि पालो कुर्दाकुर्दै दिनरात बित्छ। मुहान सुक्दै गयो, सदरमुकाम नै काकाकुल बनेको छ।’
उनीहरु प्रतिनिधि पात्र मात्र हुन। यतीबेला सदरमुकाम खलंगाको सबै घरमा यस्तै खाले समस्या छन्। उनीहरूका घर-घरमा धारा त जडान भएका छन् तर धारामा करिब दुई महिनादेखि पानी झरेको छैन।
खलङ्गावासीहरू खाने पानीका लागि विभिन्न गाउँठाउँ धाउने गरेका छन्। जसका लागि दैनिक घण्टौँको यात्रा तय गर्नुपर्ने हुन्छ। यहाँका स्थानीय भन्छन् ‘धारा भएर के गर्ने ? पानी नै आउँदैन। पानी नहुँदा सरसफाइदेखि खाना पाउनेसम्मका काम लथालिङ्ग भा' छन् ।’
खलङ्गामा खानेपानीको मुहान नहुँदा झन्डै १० किलोमिटर टाढाको पातारासी गाउँपालिकाको–६ बडेखोली, पातारासीकै-७ रिनी गाउँको छहरेखोला र चन्दननाथ नगरपालिका-६ खलगाडा खोलादेखि खानेपानी ल्याइएको थियो।
तर खडेरीका कारण मुहानमा पानी सुकेपछि स्थानीयलाई सास्ती भएको हो। मुहान नहुँदा खानेपानीमा अर्कै स्थानीय तहको भर पर्नुपरेको खलंगा खानेपानी उपभोक्ता समितिका सहायक प्राविधिक अर्जुन बराल बताउँछन्।
‘पहिला २०५७ सालमा २ सय धाराको लागि मात्र खानेपानी आयोजना बनाइएको थियो, अहिले १ हजार ७ सय धारा छन्,’ उनी भन्छन्, ‘बडेखोलीको मुहानमा ३ वटा पानीको मुहान मिसाइएको छ, तैपनि प्रतिसेकेण्ड २ लिटर मात्र पानीको गति हुँदा समस्या भयो।’ उनका अनुसार दशक अघिसम्म मुहानमै प्रतिसेकेन्ड ६ लिटर पानी भरिन्थ्यो।
खानेपानी समस्या हल गर्न अहिले ४ लाख लिटर अटाउने क्षमता भएको पानी ट्याङ्की बनाइएको संस्थाले जनाएको छ। भौगोलिक बनावट र जनसङ्ख्या वृद्धिका कारण खलङ्गामा दिनप्रतिदिन खानेपानीको अभाव हुँदै गएको खलंगा खानेपानी उपभोक्ता समितिका अध्यक्ष पन्नाबहादुर रोकायाले बताए।
उनका अनुसार चैतदेखि असारको पहिलो सातासम्म खलङ्गामा पानी पुर्याउन समस्या भएको हो। यो सुख्खा समयमा बर्सेनि उपभोक्ताले खानेपानी उपभोग गर्न पाउँदैनन्।
पछिल्लो समय सदरमुकाममै खानेपानीको राम्रोसँग व्यवस्थापन नहुँदा होटल संचालकहरुमा पनि ठुलो चुनौती थपिएको छ।
होटल एण्ड रेस्टुरेन्टकी सञ्चालिका लक्ष्मी बोहोरा भन्छिन् ‘होटलमा सबैभन्दा बढी खानेपानी चाहिन्छ। आधा घण्टा पनि नियमित पानी आउँदैन। पानी नहुँदा बिहान बेलुका ग्राहकलाई चिया पनि खुवाउन हम्मेहम्मे परेको छ।’
खलंगा खानेपानी उपभोक्ता समितिले व्यक्तिगत प्रति धारा सय रुपैयाँ र संस्थागत ३ सय ५० रुपैयाँ महसुल लिने गरेको छ। केही वर्ष देखि जुम्लाको तातोपानी, चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकालाई पुग्ने गरी धौलिगाड बृहत् खानेपानी आयोजनाको काम थालिएकाे थियाे। जुन अहिले लगभग अन्तिम चरणमा पुगेको बताइएको छ।
प्रकाशित: २३ वैशाख २०८१ २०:४८ आइतबार