३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

विदेशी पढाउने नेपाली

द्रोणप्रकाश रसाली क्यानडाको ब्रिटिस कोलम्बिया विश्वविद्यालयअन्तर्गतको जनसंख्या र जनस्वास्थ्य स्कुलमा प्राध्यापक छन्। उनी विद्यावारिधिका लागि सन् १९९९ मा क्यानडा पुगेका थिए। पशुचिकित्सा क्षेत्रमा नेपालका विभिन्न निकायमा काम गरेको र त्रिभुवन विश्वविद्यायलमा पढाएको अनुभवले क्यानडाका निकै सहयोग पुर्‍याएको उनको अनुभव छ।

२०२८ सालको एसएलसी परीक्षाका नेपाल प्रथम रसाइली काठमाडौंको पद्योदय माध्यमिक विद्यालयबाट एसएलसी गरेका उनले अमृत साइन्स कलेजबाट आइएस्सी पास गरी भारतको बैंगलोरस्थित युनिभर्सिटी अफ एग्रिकल्चर साइन्सबाट पशुचिकित्सामा थप उच्चशिक्षा हासिल गरे। त्यसपछि नुवाकोट, बाँके, दैलेख, कास्कीमा पशुचिकित्सासम्बन्धी नवीनतम काम गरेकाले उनलाई सरकारले पशुहरूको आनुवंशिक विकासमा स्नातकोत्तर गर्न फिलिपिन्स पठायो।

फर्किएर भरतपुरस्थित पशुविकास तथा पशु स्वास्थ्य कार्यालय प्रमुख भएँ र रामपुर क्याम्पसमा पनि पढाउन थाले। पछिल्लोसमय वैज्ञानिक प्रमोद ढकाल, प्राध्यापक अम्बिका अधिकारी र राजु अधिकारी र उनी मिलेर नेपाल सरकारसँग खुला विश्वविद्यालय स्थानापनाका लागि निरन्तर पैरवी गरेको तर विश्वविद्यालय आफूहरूको परिकल्पनाअनुसार चल्न नसकेकोमा उनी दुःख व्यक्त गर्छन्।

रसाइली त एक हुन्, विगतदेखि नै नेपाली प्राध्यापकहरू विश्वका विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आएका छन्। ईश्वर बरालले लामो समय बनारस र जेएनयुमा पढाएका थिए। सूर्यप्रसाद सुवेदीले  

बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुन पढाए। साथै उनले अमेरिका, बेलायत र नेदरल्यान्ड्सका विश्वविद्यालयहरूमा समेत पढाएका छन्। चूडामणि बस्नेत र मल्लिका शाक्य पनि विगत नौ वर्षदेखि साउथ एसियन विश्वविद्यालय, दिल्लीमा समाजशास्त्र विषय पढाउँदै आएका छन्। प्रेम फ्याकले अहिले अमेरिकाको न्युयोर्कस्थित कोलम्बिया युनिभर्सिटीमा अंग्रेजी विषय पढाइरहेका छन्।  

दक्षिण एसियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी यसैगरी अलका आत्रेय चुँडाल भियना विश्वविद्यालमा प्राध्यापन गर्छिन्। विद्या रञ्जित अमेरिकाको कनेक्टिकट राज्यमा रहेको कनेक्टिकट विश्वविद्यालयमा पढाउँछिन्। यसैगरी जीवन शर्मा बेलायतको युनिभर्सिटी अफ एडिनवर्गमा समाजशास्त्र र राजनीति शास्त्र पढाउँछन् भने आलोक बोहोरा युनिभर्सिटी अफ न्युमेक्सिकोमा पढाउँछन्। 

यसैगरी अविदित आचार्य अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयमा अर्थशास्त्र र राजनीतिशास्त्र पढाउँछन्। उमा प्रधानले युनिभर्सिटी अफ लन्डनमा, तेजेन्द्र फेरालीले युनिभर्सिटी कलेज अफ लन्डनमा, श्वेताज्ञानु बानियाँ युनिभर्सिटी अफ भर्जिनियामा, सञ्जोग रूपाखेती अमेरिकाको कलेज अफ द होलिक्रसमा इतिहास विषयमा प्राध्यापन गर्छन्।

कोही नेपालबाट भिजिटिङ प्रोफेसरका रूपमा विश्वका विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पुगेका छन् भने कोही उतै बसेर पूर्णकालीन प्राध्यापन गरिरहेका छन्। यसले नेपाली प्राध्यापकहरूले विश्वका विश्वविद्यालयमा आफ्नो सफल स्थान बनाउँदै गएको प्रमाणित गरेको छ।

अमेरिकाको कनेक्टिकट राज्यमा रहेको कनेक्टिकट विश्वविद्यालयमा विद्यावारिधि गर्न ४१ वर्षअघि पुगेकी विद्या रञ्जित प्राध्यापन पेसामार्फत नेपालीले अन्तर्राष्ट्रिय स्तरमै आफ्नो र नेपालको पहिचान बनाउन सफल हुँदैगएको बताइन्। उनीसँग अमेरिकाको विश्वविद्यालयको उच्च शिक्षामा काम गरेको २० वर्षको अनुभव छ। आफूले अध्ययन गरेकै विश्वविद्यालयमा जेन्डर एन्ड वुमन स्टडिज पढाउँदाको अनुभव कहिल्यै बिर्सिन नसक्ने उनी बताउँछिन्।

‘नेपालीहरू क्षमता र दक्षतामा विश्वमा कोहीसँग कम छैनन्। आफ्नो पहिचान र राष्ट्रको समेत पहिचान बनाउन विश्वमै सफल भएका छन्,’ उनी भन्छिन्, ‘फरक यति मात्र हो कि नेपालमा विद्यालयदेखि विश्वविद्यालय शिक्षामा पछिलो समय बढी राजनीति छिरेकाले समस्या आएको छ।’

अध्ययन सकिएपछि पनि शिक्षक र विद्यार्थीबिचको सम्बन्ध प्राज्ञिक र परिवारिक बनिसकेकाले विद्यार्थीलाई आवश्यक पर्दा शिक्षक सहजै उपलब्ध हुने गुण नै अमेरिकी शिक्षाको ठुलो उपलब्धी बनेको उनको अनुभव छ। 

उनी भन्छिन्, ‘अमेरिकाका विश्वविद्यालयमा प्राध्यापकले विद्यार्थीलाई पढाइसाथै उनीहरूको क्षमताअनुसारको रोजगार र स्वरोजगारको परामर्शसमेत दिन्छन्। जुन त्यहाँको शिक्षाको सुन्दर पक्ष हो।’ उनी नेपाली महिला ग्लोबल नेटवर्ककी पूर्व अध्यक्ष र सल्लाहकार हुन्। कनेक्टिकट विश्वविद्यालयको शैक्षिक कार्यक्रम केन्द्रको कार्यकारी निर्देशक पनि हुन्।  

पढाउने सिप भए स्वदेश तथा विदेश जुनसुकै स्थानमा पनि सहजै अध्यापन गर्न सकिने अनुभव सहायक प्राध्यापक भानुभक्त आचार्यको छ। क्यानडामा डिजिटल कम्युनिकेसन विषयमा विद्यावारिधि गर्न १२ वर्षअघि गएका उनी अटवामै रहेको युनिभर्सिटी अफ अटवामा सञ्चार विभागमा आबद्ध छन्। ‘क्यानडामा विद्यार्थी र शिक्षकबिचको सम्बन्ध नितान्त प्राज्ञिक हुन्छ,’ आचार्यले भने, ‘विदेशमा प्राध्यापकहरूको विश्वविद्यालयमा प्रवेश अन्तर्राष्ट्रिय स्तरको जनरलमा रिसर्च आर्टिकल छपाएको र प्रोजेक्टमा काम गरेका आधारमा हुन्छ। यति मात्र होइन, क्यानडामा प्राध्यापकले पाठ्यक्रम आफै बनाउने, अपडेट गर्ने, नयाँ पाठ्यक्रम बनाएर विभागमा बुझाउनुपर्छ।’

उनले थपे, ‘क्यानडामा शिक्षकले मात्र होइन, विद्यार्थीले पनि हरेक पल प्राध्यापकको मूल्यांकन गरिरहेको हुन्छ।’ उनले स्वदेश वा विदेशमा शिक्षक भएर पढाउन जाने हो भने शतप्रतिशत पेसाप्रति समर्पित हुनुपर्ने बताए।  

प्रकाशित: १६ वैशाख २०८१ १९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App