२२ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नगरपालिकाको सम्पत्ति तोडफोड अभियोगमा वडाअध्यक्ष माथि आपराधिक उपद्रव मुद्दा

धनुषाको सहिदनगर नगरपालिकाको सम्पत्ति तोडफोडमा संलग्न रहेको आभियाेगमा ६ नम्बर वडाका वडाअध्यक्षसहित छ जनामाथि आपराधिक उपद्रव मुद्दा चलाइएको छ।

प्रहरीले बुधबार वडाअध्यक्ष उमेश कुमार निराला सहित तोडफोडमा संलग्न अन्य ६ जनामाथि आपराधिक उपद्रव मुद्दा दर्ता गरेको हो। सो मुद्दा उपर जिल्ला अदालत धनुषाबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

गत सोमबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न वडाअध्यक्ष निराला आफ्ना समर्थकसहित नगर परिसर पुगेका थिए। निरालाकै नेतृत्वमा तालाबन्दी गर्न पुगेका सो समूहले नगरपालिकामा तोडफोड गर्न थालेपछि उनहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सो क्रममा उनीहरूले मेयर चढ्ने गाडीसमेत तोडफोड गरेका थिए। नगरपालिकाका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवलाई जिम्मेवारीबाट हटाउनु पर्ने माग राख्दै कार्यालयमा ढुङ्गामुङ्गा गर्दा सुरक्षार्थ  खटिएका दुई प्रहरी सामान्य घाइते भएका थिए।

वडाअध्यक्ष निराला दोषी ठहर भएमा आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानी, नोक्सानी भएमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २६ मा आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरको व्यवस्था छ। दफा ३ मा भनिएको छ, (ङ) खण्ड (क), (ख), (ग) वा (घ) मा लेखिए बाहेक अरु कुनै काम गरी आपराधिक उपद्रव गरेको कारणले कसैलाई कुनै हानि, नोक्सानी भएकोमा तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ।

प्रकाशित: १२ वैशाख २०८१ २१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App