coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोदीको अभिनन्दनलाई लिएर कांग्रेसमा विवाद

काठमाडौं– शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनको विषयलाई लिएर प्रतिपक्षी नेपाली कांग्रेसमा विवाद देखिएको छ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मासहित युवा नेताहरु दुई ठाउँमा अभिनन्दन गर्न नहुने पक्षमा देखिएका छन् भने सभापति शेरबहादुर देउवा निकट नेताहरु भने मोदी पाहुना भएकाले नागरिक अभिनन्दनको विरोध गर्नुको अर्थ नभएको तर्क गरिरहेका छन्।

मोदी भ्रमण र नागरिक अभिनन्दनको चौतर्फी विरोध भइरहेका बेला कांग्रेस प्रवक्ता शर्माले ट्वीटरमार्फत दुई ठाउँमा अभिनन्दनको विरोध गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गर्दै उनले ट्वीट गरेका छन्– ‘प्रदेश २ का नागरिकको अभिनन्दनमार्फत समस्त नेपालीको प्रतिनिधित्व हुन सक्दैन थियो र सम्माननीय प्रधानमन्त्री ज्यू ?’

कांग्रसकै प्रवक्ताले गरेको विरोधको नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रशंसा गरेका छन्। उनको ट्वीट अहिले भाइरल भइरहेको छ। यसै क्रममा विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कांग्रेसले मोदीको नागरिक अभिनन्दनको विरोध गरेको हो भन्ने प्रश्न उठ्यो।

जवाफ दिन बसेका कांग्रेस नेता एवं पूर्व गृहराज्यमन्त्री दीपक खड्काले मोदीको सम्मानको लागि जनकपुर र काठमाडौं गरी दुई ठाउँमा नागरिक अभिनन्दन गर्ने कुरामा पार्टी प्रवक्ता शर्माले विरोध गर्नुको अर्थ नभएको बताउँदै त्यो कांग्रेसको आधिकारिक धारणा नरहेको स्पष्ट पारे। 

‘कांग्रेस प्रतिपक्षमा भएपनि विरोधको लागि विरोध गर्दैन्, यर्थाथको लागि विरोध हुनुपर्छ’, उनले भने– ‘एमालेले बरु सत्तामा हुँदा एउटा कुरा गर्ने र सत्ता बाहिर आएपछि अर्को कुरा गर्ने गरेको थियो, अहिले पनि त्यही चरित्र देखाएको छ।’

एमाले नेता राजन भट्टराईले पनि मोदीको नागरिक अभिनन्दनको विरोध गर्नुको कुनै तुक नभएको बताए। ‘जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारले सम्मान राख्ने भनेपछि यसको किन विरोध गर्नु? केन्द्र सरकारले अभिनन्दन गर्ने त परम्परा नै छ, यो चलन हो’, उनले स्पष्ट पारे।

प्रकाशित: २७ वैशाख २०७५ ११:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App