५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

बेलायतमा विद्युतीय कारको बिक्री सुस्त

नयाँ विद्युतीय कार बेच्न हम्मे पर्न थालेपछि कम्पनीले २० प्रतिशतसम्म मूल्य घटाएर बेच्न थालेका छन्। चल्तीका ब्रान्ड र लोकप्रिय कारहरूसमेत अघिल्लो वर्षको तुलनामा यतिबेला आकर्षक छुटमा बिक्री गरिन थालेको अटो ट्रेडर नामक वेबसाइटले जनाएको हो।

यसरी छुटमा बिक्री गर्ने कम्पनीहरूमा सिट्रोन-फियाट समूहका कारहरू पनि रहेका छन्। बेलायती सरकारले शून्य इमिसनका कारहरू कम्तीमा पनि बिक्री गर्ने लक्ष्य राख्न आदेश दिएको थियो तर फियाट समूहका प्रमुख कार्यकारी कार्लोस ट्राभरले लक्ष्यअनुसार बिक्री नभएको प्रतिक्रिया दिएका थिए।

सरकारले शून्य इमिसनका विद्युतीय कारहरूका लागि ठूलो छुट दिने गरेको छ। ती छुट लिन न्यूनतम संख्यामा बिक्री गर्नुपर्ने लक्ष्य सरकारले दिने गरेको छ। लक्ष्य पूरा नभएको खण्डमा सरकारले अन्य कारसरह विद्युतीय कारलाई पनि शुल्क लिने बताएको छ। सो शुल्कको छुटका लागि पनि यतिबेला बेलायती बजारमा कार बिक्रीको संख्या बढाउन छुटमा कार बिक्री गर्न थालिएको हो।

अटो ट्रेडर्सका व्यापार निर्देशक इयान प्लमरले पछिल्लो एक वर्षयता विद्युतीय कार बिक्रीमा निकै फरक अवस्था देखिएको बताएका छन्। अघिल्लो वर्ष यही बेला महँगो दाममा बिक्री भइरहेका विद्युतीय कारहरू अहिले छुटका साथ बिक्री गर्न थालिएको प्लमरले बताए।

कम मागका कारण पनि विद्युतीय कारको दाम घटेको उनको भनाइ छ। कार उत्पादन मात्र हुने तर बिक्री नहुने अवस्था रहिरहेमा सरकारले कडा शुल्क लगाउने बताएपछि छुटमा बिक्री गर्न थालिएको प्लमरले बताए। ‘ई कारको दाम घट्नु भनेको नयाँ कार खरिदकर्ताका लागि खुसीको कुरा हो किनभने नयाँ ग्राहकका लागि ती कार किन्न सक्ने त हुनुप¥यो नि !’ उनको भनाइ छ।

अहिले २० प्रतिशतसम्म घटेर कार बिक्री गर्ने कम्पनीहरूमा होन्डा ई रहेको छ। एक वर्षअघिसम्म यसको मूल्य २९ हजार ६ सय पाउन्ड पथ्र्यो। अहिले २० प्रतिशत घटाएर बिक्रीमा राखिएको छ। पुगटको ई- २००८ को मूल्य ३७ हजार पाउन्डबाट घटेर ३० हजार पाउण्डमा झरेको छ। त्यस्तै सिट्रनको ई- सी फोर ३३ हजार पाउन्डबाट घटेर २७ हजार पाउन्डमा झरेको छ।

निकै लोकप्रिय रहेका भक्सहल कोर्सा- ई र मोक्का- ई को दाम पनि २० प्रतिशतले घटेको छ। यस्तै चिनियाँ एमजी कम्पनीका जेड एस र एमजी फाइभ मोडलमा १४ प्रतिशत दाम घटेको छ।

बेलायतको लोकप्रिय टेस्ला ई कारको मोडल वाईको मूल्य पहिलेको भन्दा सात हजार घटेर ४५ हजार पाउन्डमा झरेको छ। यस कारमा १३ प्रतिशतले छुट दिइएको बताइएको छ।  

बेलायतमा ई कारहरू प्रतिवर्ष ३.८ प्रतिशतले मात्र वृद्धि भएको देखिएको छ। सन् २०२२ र २०२३ मा १६.६ प्रतिशतले कार रजिस्ट्रेसन भएको थियो भने यसपाला १५ प्रतिशतमा सीमित हुने देखिएको छ।  

पेट्रोल कारको तुलनामा ई कार ५० प्रतिशत बढी महँगो हुने भएकाले ठूलो संख्यामा लोकप्रिय हुन नसकेको बताइएको छ। त्यसमाथि कारले धान्ने दूरी पनि सीमित रहेकाले रिचार्ज गर्ने ठाउँको अभावका कारण सर्वसाधारण ई कार चढ्न हिच्किचाइरहेका छन्।

बेलायती सरकारले ई कार बेच्ने कम्पनी तथा डिलरहरूले कम्तीमा २२ प्रतिशत हरेक वर्ष बेच्नुपर्ने नियम लगाएको छ। हरेक वर्ष कम्तीमा त्यति बिक्री नगरे प्रति कार १५ हजार पाउन्ड पेनाल्टी लगाउने बताएको छ। सन् २०३० सम्म कार बिक्री सय प्रतिशत पुर्‍याउने लक्ष्य बेलायती सरकारले लिएको छ।

त्यतिञ्जेलसम्म बजारबाट अन्य किसिमका कार विस्थापित गर्ने लक्ष्य बेलायती सरकारले राखेको छ। सरकारले ई कारमाथि बढी नै भरोसा गरेको तर भरोसा गरेअनुसार सर्वसाधारणको चासो नबढेका कारण कार कम बिक्री भएको बताइएको छ। –एजेन्सी

प्रकाशित: २३ वैशाख २०८१ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App