Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

रामदेव

smaller text tool iconmedium text tool iconlarger text tool icon
योगनीतिदेखि राजनीतिसम्म
प्रतीक्षा घिल्डियाल/बिबिसी-  'अरू राजनीतिक पार्टीका कमजोरी नै मेरो सबभन्दा ठूलो शक्ति हो,' बाबा रामदेवले मुस्कुराउँदै भने। म र बाबा उनकै बगैंचामा बसेर कुराकानी गरिरहेका थियौं।

'भ्रष्टाचार पूरै राजनीतिक संरचनाको छाया बनेको छ र मानिसमा राजनीतिज्ञप्रति विश्वास छैन,' उनले भने, 'म यो पूरै संरचना परिवर्तन गर्न चाहन्छु, त्यसैले राजनीतिक पार्टी गठन गर्ने विचार गरेको हुँ।'

बाबा रामदेव अर्कोपटकको निर्वाचनपछि नै आफ्नो दल सत्तामा आउनेमा विश्वस्त छन्। भक्त र प्रशंसकको संख्याका आधारमा उनलाई यस्तो लागेको हुनसक्छ।
यसअघि हरिद्वारनजिकै रामदेवको आश्रममा पाइला राख्दा आश्रयको सौन्दर्यका अतिरिक्त अर्को कुराले पनि ध्यान आकृष्ट गरेको थियो। त्यो हो, सुरक्षा व्यवस्था। कुनाकुनामा सुरक्षागार्ड तैनाथ थिए। ठूलै राजनेताको घर पुगेझैं लाग्यो।

रामदेवनिकट व्यक्तिका अनुसार बाबालाई त्यस्ता संस्थाबाट खतरा छ, जसका विरुद्ध उनले अभियान चलाएका छन्। यसमा कोल्ड ड्रिङ्क्स उत्पादक बहुराष्ट्रिय कम्पनीहरू प्रमुख छन्। त्यसो त हिजोआज उनी विश्व स्वास्थ्य संगठन र आइपिएलको पनि चर्को अलोचक बनेका छन्। बाबालाई यिनीहरूबाट खतराको आभास हुन्छ/हँुदैन, पत्ता लाग्न सकेको छैन।

जे भए पनि हामी पतञ्जलि योगपिठमा अघि बढ्यौं र प्रतिक्षालय पुग्यौं। त्यहाँ मानिसको ताँति थियो। भिन्नभिन्न स्थानबाट बाबा रामदेवलाई भेट्न आएकाहरू त्यहाँ थिए। विदेशी सञ्चार माध्यमका पत्रकार पनि थिए।

हामी दिल्लीबाट लामो यात्रामा त्यहाँ पुगेका थियौं। एक पत्रकार त बिहान ११ बजेदेखि बाबाको प्रतीक्षामा थिए। साँझ ५ बजिसकेको थियो। बाबाको अत्तोपत्तो थिएन।
अन्ततः हामी सबैलाई बाबाको कोठामा लगियो। यतिको कुराइपछि हामीले सिंहासनमा राज गरेको बाबालाई देख्यौं। मनमनै गुनेँ, जे भए पनि अन्तर्वार्ता लिन पाइनेभो।
गेरु रंगको कपडा बेरेका र खराऊ लगाएका बाबा सबैलाई हेरेर मुस्कुराए र कुराएकोमा माफी मागे। बाबासँग हाम्रो साक्षात्कार भोलि बिहानलाई तय गरिएको थियो, त्यसैले सबैले 'नमस्ते' भनेर त्यहाँबाट निक्ल्यौं।

राति आश्रमको चमेनागृहमा खाना खायौं। खानेकुरा बाबाको कडा निर्देशनअनुसार बन्ने गरेको थाहा पायौं। शुद्ध साकाहारी - न लसुन, न प्याज।
दोस्रो दिन बाबासँग बिहान तीन बजे भेट भयो। म पनि त्यसैबेला ब्युँझेको थिए। हामीलाई उनको योग शिविर जानु थियो। हामी हरिद्वारका लागि निक्ल्यौं।
एउटा दृश्य देखेर म नहाँसी रहन सकिनँ - गेरु वस्त्रधारी एक बाबा धेरै सुरक्षागार्डसहित ठूलो गाडी चढेर यात्रामा निस्केका थिए।

शिविरमा बाबाका लागि सजिसजाउ गरिएको मञ्च तयार थियो। ठुल्ठुला क्यामरा लगाइएका थिए, प्रत्यक्ष प्रसारणका लागि। बाबाले समय खेर नफाली योग सिकाउन सुरु गरे - अनुलोम-विलोम, सूर्य नमस्कार, प्राणायाम, शीर्षासन, यस्तैयस्तै।  बाबा रामदेवले योगलाई लोकप्रिय बनाएका छन्। मुख्य कुरा के हो भने उनले आध्यात्म र व्यायामलाई जोडेका छन्। त्यसो त उनले अहिले अर्को कुरा पनि शिविरमा गर्न थालेका छन्- आफ्नो राजनीतिक पार्टीको प्रचार। अप्ठ्यारो आसन र भजनको बीचमा रामदेव राजनेतामाथि तीखो टिप्पणी गर्छन् र पूरै राजनीतिक संरचना बदल्ने कुरा गर्छन्।

आमनिर्वाचन आउन चार वर्ष बाँकी छ, तर बाबाले अहिलेदेखि नै किन प्रचार सुरु गरे होलान्? मैले पछि उनीसँग यो प्रश्न गर्दा उनको उत्तर थियो, 'हामी त्यस्ता व्यक्ति होइनौं, जो चुनावको दुई महिनाअघि मात्रै प्रचार सुरु गर्छन्। हाम्रो अभियान त वर्षौंवर्ष चल्छ।'

'हामी आज पनि देश त्यसैगरी सञ्चालन गरिरहेका छौं, जसरी अंग्रेजले चलाउँथे,' उनले भने, 'यसका कैयौं कमजोरी छन्। म पूरै प्रणाली परिवर्तन गर्न चाहन्छु।'
रामदेवले जे भनिरहेका थिए, त्यसलाई कपीमा नोट पनि गर्दै थिए। सायद उनी सञ्चारमाध्यमलाई भनेका प्रत्येक कुराको रेकर्ड राख्छन्।

त्यसो त बाबा र सन्तका विषयमा विभिन्न किसिमका विवाद आइरहन्छन्। त्यसो भए बाबा रामदेवलाई भोट पाउँछु भन्ने यति धेरै विश्वास किन छ त? त्यो पनि 'आध्यात्मिक सर्वाङ्गीण' विकासको मुद्दाका लागि?'

रामदेवले भने, 'म जे छु, आफ्नो मेहनत र इमानदारीको बलमा छु। मलाई यकिन छ मेरो राजनीतिक पार्टीलाई मानिसले खुलेर भोट दिने छन्।'
रामदेवले योग र आयुर्वेदका बलमा भारतमा ठूलो साम्राज्य बनाएका छन्। यसअतिरिक्त स्कटल्यान्डमा एक द्वीप पनि उनको ट्रस्टको नाममा छ। चाँडै नै अमेरिकाको ह्युटनमा उनको आश्रमको शाखा खुल्नेछ।

विश्वभर घुमेका रामदेवले जापान, चीन, भियतनाम र सिरियाजस्तो देशमा पनि योगको करामत देखाइसकेका छन्। पाकिस्तान पनि जान चाहन्थे। उनका प्रवक्ताले भने, 'तर विभिन्न कारणले जान सकेनन्।'

प्रवक्ताका अनुसार पतञ्जलि योगपिठमा करिब ५ सय चिकित्सक छन्। उनीहरू त्यहाँ आउने रोगीको जाँच गर्छन् र निःशुल्क योग तालिम दिन्छन्। उनका अनुसार पतञ्जलि योगपिठमा आधुनिक विज्ञानसँग आयुर्वेदको परम्परालाई जोड्ने कोसिस गरिएको छ।

उनका चिकित्सालय हेरेपछि थाहा पाएँ, बिरामीको रोग पहिचान गर्न आधुनिकभन्दा आधुनिक यन्त्र प्रयोग गरिँदो रहेछ। सबै कुरा त ठिकै छ, तर एउटा प्रश्न उठेको थियो, मेरो मनमा - 'राजनीतिमा प्रवेशपछि रामदेवले योगलाई दिने समय पाउँछन् होला?'  'योग मेरो जीवनको ९९ प्रतिशत हिस्सा हो, बाँकी कुरा एक प्रतिशत,' उनले भने, 'आउने समयमा हामी देशको सबै भागमा योगको कक्षा खोल्नेछौं। मैले योग छाड्ने कुरै आउँदैन।'

साक्षात्कार समाप्त भयो। आश्रमबाहिर निस्कँदा मनमनै सोचेँ- धार्मिक र आध्यात्मिक गुरु करोडौं भारतीयको जिन्दगीसँग कति विशेष स्थान बनाएर रहनेछन्!

(बिबिसी)
अनुवाद : मणि दाहाल

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

विश्व