Friday 5 Mangshir, 2071 |
Menu

प्रविधि

अश्लील भिडियो रोक्न गुगल डाटाबेस

  • आइतबार १६ असार, २०७०
  • एजेन्सी
  • DISQUS_COMMENTS
mynepal
(0 votes)
अश्लील भिडियो रोक्न गुगल डाटाबेस

लण्डन – गुगलले बच्चाहरूको अश्लील भिडियो नियन्त्रण गर्न नयाँ डाटाबेस तयार पारेको छ। इन्टरनेटमा छ्याप्छ्याप्ती उपलब्ध यस्ता भिडियो तथा तस्बिरले बच्चाहरूको मनोविज्ञानमा असर पार्ने ठहर गर्दै गुगलले डाटाबेस ल्याएको हो। गुगलका अनुसार समाजमा बालबालिकासँग सम्बन्धित यौन हिंसाको बढोत्तरीमा यस्ता साइटले मद्दत पुर्‍याइरहेका छन्। यस्ता भिडियो र तस्बिर इन्टरनेटमा राख्न रोक लगाउने संस्था वा व्यक्तिलाई २० लाख डलर बराबरको पुरस्कार दिने गुगलको घोषणा छ। यस्ता घृणित कार्यमा रोक लगाउने तथा पहिचान गर्ने सफ्टवेयर निर्मातालाई नयाँ सफ्टवेयर विकासका लागि सो पुरस्कार प्रदान गरिनेछ।

संसारका धेरै संस्थाले बालबालिकासँग सम्बन्धित यौन हिंसा र अश्लील क्रियाकलापमा रोक लगाउन पहिलेदेखि नै आवाज उठाउँदै आएका छन्। गुगलले त्यस्ता संस्थाहरूले सञ्चालनमा ल्याएको कार्यक्रमलाई पनि छुट्टै डाटाबेस बनाएर अभिलेखमा राख्ने भएको छ।

संसारभरका वेबसाइट, कानुनी केन्द्र, डोनर एजेन्सी र बालबालिकाको हकहित संरक्षणका लागि कार्यरत संस्थाहरूले अश्लील तस्बिर तथा भिडियोलाई ‘फ्ल्याग्ड’ वा ‘ह्यास्सड’ गरेर डाटाबेसमा ट्याग गर्न सक्नेछन्। बालबालिकाको अश्लील भिडियो तथा आपत्तिजनक सामग्रीप्रति अमेरिका, बेलायतलगायत विभिन्न देशका सरकारबाटै गुगललाई दबाव आउन थालेको थियो। ‘द बिग जी’ले यसअघि नै आपत्तिजनक सामग्रीको पहिचान गरेर त्यस्ता सामग्रीलाई रोक्ने सिस्टम विकास गरिसकेको छ। तर, पूर्णरूपमा बन्देज लगाउन भने मुस्किल पर्छ। त्यसैले डाटाबेसले त्यस्ता सामग्री प्रकाशित गर्ने वेबसाइटको सूचना ‘इन्टरनेट वाच फाउन्डेसन’जस्ता संस्थाहरूको मद्दतबाट पत्ता लगाउनेछ र पूर्णरूपमा हटाउन प्रयत्न गर्नेछ।
यद्यपि आलोचकहरूले गुगलले बालबालिकासँग सम्बन्धित अश्लील भिडियो तथा आपत्तिजनक तस्बिर आफ्नो रहरले भन्दा पनि राजनीतिक दबाबका कारण गर्न लागेको दाबी गरेका छन्।


केही समयअघि बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले बालबालिकाको अश्लील भिडियो र तस्बिर भएका साइटहरूमा रोक लगाउन गुगललाई निर्देशन दिएका थिए। उनको विचारमा इन्टरनेटमा उपलब्ध हुने त्यस्ता अश्लील साइटमा रोक लगाइयो भने बालबालिकाजन्य यौन हिंसा कम गर्न मद्दत पुग्नेछ। केही समयपहिले भएको टिया सार्प र अप्रिल जोन्सको हत्याअघि हत्याराले इन्टरनेटमा हिंसात्मक अश्लील भिडियो हेरेको अनुसन्धानले देखाएको थियो।


क्यामरुनले एक पत्रिकालाई भनेका छन्, ‘म बच्चाहरूलाई लक्षित गरेर इन्टरनेटमा राखिने अश्लील सामग्रीले आजित भइसकेको छु। त्यस्ता सामग्रीले इन्टरनेटलाई प्रदूषित तुल्याएका छन्। यसले बालबालिकाप्रति खतरा बढाएको छ ।’ उनले भनेका छन्, ‘अब आरोप–प्रत्यारोप गर्ने समय बितिसकेको छ। ठोस निर्णय लिएर काम गर्ने बेला आएको छ। हाम्रा बालबालिकामाथि नै खतरा उत्पन्न भएको बेला अरू कुराले मतलब राख्दैन।’


क्यामरुनको यति कडा वक्तव्य आएकै कारण पनि गुगललाई थप दबाब परेको विश्लेषकहरूको दाबी छ। जे भए पनि गुगलजस्तो ठूलो सर्च इन्जिनबाट हुन लागेको राम्रो कामको स्वागत सर्वत्र भइरहेको छ।