Thursday 2 Ashwin, 2071 |
Menu

प्रविधि

गुगल वर्चस्व

(0 votes)
गुगल वर्चस्व
काठमाडौं - मोबाइलका पर्याप्त एप्सले पक्कै पनि तपाईंको दैनिकी सजिलो बनाएको छ। यसका ओएस, इमेल सर्भिस, सर्च इन्जिन, सोसल नेटवर्क नभए के हुन्छ? जीवन त चल्ला, तर पूर्ण हुँदैन। अबको दुनियामा प्रविधिमैत्री जीवन आवश्यक भइसक्यो। भनिन्छ, 'कोरमा गुगल पेरीफेरीमा अरू'। ओएसमा पनि गुगल, इमेलमा पनि गुगल, सर्च इन्जिनमा पनि गुगल र सोसल नेटवर्कमा पनि गुगल। कतिपयमा गुगल अगाडि छ भने कतिपयमा अरूले रेस जितिरहेका छन्।
हात–हातमा बढेका महँगा मोबाइल र ट्याबलाई लक्षित गर्दै विभिन्न कम्पनीका अपरेटिङ सिस्टमले नयाँ–नयाँ संस्करण निकालिरहेका छन्। ओएसमा भएका विशेषताले टेक्स्याबीहरू कुन मोबाइल र ट्याब लिने भन्ने निर्णय गर्छन्। सामान्य मोबाइलदेखि स्मार्टफोन वा त्यस्तै हैसियतका अन्य मोबाइलमा कुनै न कुनै अपरेटिङ सिस्टम हुन्छ, जसले मोबाइल चलाउन निर्देशित गर्छ। पछिल्लोपटक सर्वाधिक प्रयोगमा आएका मोबाइल ओएसमा एन्ड्रोइड, आइओएस र विन्डोज फोन ओएस हुन्। यीबाहेक पनि थुप्रै ओएस छन् तर कतिपय आफ्नै उत्पादनमा प्रयोग हुन्छ कतिपय अरू ब्राण्डमा। तर मोबाइलको ब्राण्डसँगै ओएसले पनि आफ्नो प्रभुत्व जमाउँदै छ। 
मोबाइलमा गुगलको एन्ड्रोइड, एप्पलको आइओएस र माइक्रोसफ्टको विन्डोज फोन ओएस आफूलाई बढी सुविधा प्रदान गर्ने ओएस ठान्छन्। त्यसो त ब्लाकबेरी, नोकियाका ओएसहरूमा पनि पर्याप्त सुविधा छन्। बजार हिस्सा आक्रमक रूपमा बढाउनेमा ब्ल्याकबेरीको ओएस गत वर्ष उत्कृष्ट तीनमा परेको थियो। स्याबियन ओएसले पनि बजारमा दर्बिलो उपस्थिति जनाएको छ। नोकियाको स्मार्टफोनका लागि अझै पनि यसका ओएस प्रयोग हुन्छन्। तर यो कम्पनी माइक्रोसफ्टमा सिफ्ट भइसकेको छ। मुख्य प्रतिस्पर्धा एप्पलको आइओएस र गुगलको एन्ड्रोइड भए पनि विन्डोजले सुविधा बढाउँदै लगेको छ। पछिल्लो तथ्यांकअनुसार एन्ड्रोइडको बजार हिस्सा ५३ प्रतिशत छ भने आइओएसको ३६ प्रतिशत। नेपालमा एप्पलको आधिकारिक बिक्रेता नभएका कारण एन्ड्रोइडको बजार हिस्सा अझ बढी छ। 
एन्ड्रोइड ओपन सोर्स हो। यसमा जसले आफ्नो एप्स राख्न सक्छ तर एप्पलको ओएसमा त्यो सुविधा छैन। एन्ड्रोइड सामसङ, एचटिसीलगायत अन्य ब्राण्डमा पनि प्रयोग हुन्छ तर आइओएस केवल एप्पलमा मात्र। 
प्रयोगकर्ता–समीक्षकले एन्ड्रोइड र आइओएसलाई दाँजेर हेरेकाले पनि यी दुवै मोबाइलमा ओएसकै कारण प्रतिस्पर्धा बढेको प्रोग्रामर विश्व श्रेष्ठ बताउँछन्। 'स्मार्ट फोनलाई नै बढी ध्यान दिएर ओएसमा सुविधा थपिन्छ। दुवै कम्पनी अर्काेले के उत्पादन गर्छ र आफू कुन विशेषता बढी थपौं भनेर कुरेर बसेको पाइन्छ। यस कारण पनि ओएसको प्रतिस्पर्धाले समग्र डिभाइसमा सुविधा बढ्दै गएको छ,' उनले भने।
माइक्रोसफ्ट पछिल्लोपटक विन्डोज फोन ओएसमार्फत् प्रतिस्पर्धामा उत्रिएको छ। एन्ड्रोइड र आइओएसभन्दा यसको सुविधा कम छ। तर कम्पनी हिस्सा बढाउने रणनीतिमा छ। विश्व इलोक्ट्रोइक डिभाइसमा तीन प्रतिशत हिस्सा मोबाइल ओएसकै छ। 
मोबाइल ओएसजस्तै सर्च इन्जिनमा पनि उस्तै प्रतिस्पर्धा देखिन्छ। चर्चित गुगललाई याहु र बिङ्गले चुनौती दिइरहेका छन्। विश्वका विभिन्न देशमा लोकल सर्भरमार्फत् सेवा दिने गुगलको सेवा अत्याधिक छ। गुगल सर्च इन्जिनको दायरामा मात्र खुम्चेको छैन। गुगल बुक, ट्रान्सलेटर, इमेल, बज, रिडल, प्लस, न्युज, क्यालेण्डर, म्याप, वालेट, सपिङ, ब्लगर, युट्युब, क्रोम, इन्ड्रोइड, फाइनान्स, अफरदेखि नेक्सस फोनसम्म गुगलकै प्रभुत्व छ। 
सन् १९९६ मा कलेज प्रोजेक्ट वर्कबाट जन्मिएको गुगलको बजार हिस्सा अहिले ८३.१८ प्रतिशत छ। यसको प्रतिसेकेण्ड आम्दानी ६ सय ९१ रुपियाँ २७ पैसा डलरमा छ। वार्षिक आम्दानी २१ अर्ब ८० करोड डलर रहेको कम्पनीले जनाएको छ। प्रतिदिन १ अर्ब ५० करोडको हाराहारीमा गुगलमा भिजिटर हुन्छन्। तर सर्च इन्जिनमा गुगलको एकाधिकारमाथि याहु र बिङ्गको चुनौती छ। 
दोस्रो ठूलो सर्च इन्जिन याहुको बजार हिस्सा ८.०८ प्रतिशत पुगेको छ। प्रति सेकेण्ड २ सय २८ रुपियाँ ३१ पैसा डलरमा आम्दानी गर्ने याहुको वार्षिक आम्दानी ७ अर्ब २० करोड डलरमा रहेको कम्पनीले जनाएको छ। गुगल निर्देशक भएका माइकल जी बाररेट याहुको सिइओमा नियुक्त भएका छन्। याहुको रणनीति सर्च इन्जिनमा पनि परिवर्तन हुने संकेत देखिएको छ। गुगलको सुविधाजस्तै याहुमा पनि याहु मेल, न्युज, फाइनान्स, स्पोर्टस्, मुभी, साइन, अटो, सपिङ, ट्राभल, जब, एन्सर्स, म्याप, मेसेन्जरजस्ता सुविधा छन्। 
माइक्रोसफ्टले २००९ मा स्थापना गरेको बिङ्ग पनि सर्च इन्जिनको दुनियाँमा अगाडि बढ्दै छ। तेस्रो ठूलो सर्च इन्जिनमा देखिएको बिङ्ग पहिला लाइभ सर्च, एमएसएन सर्चको नामले चिनिन्थ्यो। यसमा पनि सर्चदेखि न्युज, ट्रान्सलेटर, इमेज, भिडियो, म्याप आदिको सुविधा छ। प्रतिदिन ५७ करोड १ लाख ४२ हजार ८ सय ५७ भिजिटर संख्या रहेको बिङ्गको आम्दानी बढिरहेको कम्पनीले जनाएको छ। 
मोबाइल ओएस र सर्च इन्जिनमा जस्तै गुगलको इमेल र सोसल नेटवर्कमा पनि प्रतिस्पर्धा छ। जिमेल, याहु र हटमेल आउटलुकबीच प्रतिस्पर्धा छ भने र सामाजिक सञ्जालमा फेसबुक, गुगल प्लस र ट्वीटरबीच प्रतिस्पर्धा भइरहेको छ। 
४२ करोड २५ लाखभन्दा बढी सक्रिय सदस्य रहेको गुगलको जिमेलमा विशेषता र सुविधा बढेकाले प्रयोगकर्ता पनि बढी छन्। २००४ मा आएको जिमेलमा ५७ देशका भाषा छन्। प्रत्येक अकाउण्टका लागि १० जिबी निःशुल्क भण्डारण क्षमता प्रदान गरेको जिमेलमा पैसा तिरेर क्षमता बढाउन सकिन्छ। 
जिमेलभन्दा दुई वर्षअघिदेखि सेवा पुर्याकएको याहु मेलको सक्रिय सदस्य २९ करोड ८० लाख रहे पनि तथ्यांकअनुसार हटमेलका सदस्य ३६ करोड छन्। 
सामाजिक सञ्जालमा फेसबुक र ट्वीटरभन्दा गुगलप्लस पछाडि छ। फेसबुकका प्रयोगकर्ता १ अर्बभन्दा बढी छन् भने ट्वीटरका ५० करोडभन्दा बढी। आफ्ना सदस्य ५० करोड रहेको गुगलप्लसको दाबी छ। फेसबुकको मासिक भिजिटर ७५ करोड, ट्वीटरको २५ करोड र गुगलप्लसको ६ करोड ५० लाख छन्। बरु गुगलप्लसभन्दा अगाडि लिंक्ड इन, पिन्टररेस्ट र माइस्पेसजस्ता सामाजिक सञ्जालका भिजिटर बढी छन्। 
ग्याजेट्सदेखि अनलाइन सर्भिससम्म गुगलको उपस्थिति बढ्दै गएको छ। एकाधिकार रहेको ठाउँमा आफ्नो उपस्थिति जनाउने, प्रतिस्पर्धा रहेको ठाउँमा विशेषता र सुविधा बढाउँदै लैजाने गुगलको रणनीति केही सफल छ तर अझै टक्कर लिन आवश्यक देखिन्छ।