Thursday 4 Baishak, 2071 |
Menu

नेपाल र अफगानिस्तान आज भिड्दै

(0 votes)
नेपाल र अफगानिस्तान आज भिड्दै
काठमाडौं – भलिबलमा नेपाल र अफगानिस्तान एकअर्कासँग अपरिचत छन्। शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा यी दुई राष्ट्र आमनेसामने भएसँगै प्रथम दक्षिण एसियाली आमन्त्रण पुरुष भलिबल च्याम्पियनसिप सुरु हुनेछ। दक्षिण एसियाली खेलकुद (साग) बाहेक भलिबलमा दक्षिण एसियाली राष्ट्रबीच अर्को प्रतियोगिता छैन। त्यसकारण पनि सहभागी चारै राष्ट्र नेपाल, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सले यो च्याम्पियनसिपलाई महत्वका साथ लिएका छन्।
भलिबलमा अफगानिस्तान नौलो प्रतिद्वन्द्वी भएकाले अनुमान गर्न कठिन हुने बताउँदै राष्ट्रिय टोलीका प्रशिक्षक कपिलकिशोर श्रेष्ठले भने, 'माल्दिभ्स र हाम्रो स्तर लगभग उस्तै छ। श्रीलंका केही माथि छ। अफगानिस्तानबारे खासै जानकारी छैन।' 
राष्ट्रिय टोली उच्च स्तरको प्रदर्शनलाई दृढ रहेको श्रेष्ठले प्रस्ट पारे। 'घरेलु कोर्टमा पहिलोपल्ट यति ठूलो च्याम्पियनसिप हुँदैछ। यसलाई खेलाडीले अवसरका रुपमा लिएका छन्,' उनले भने, 'तीन वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न पाउँदा सबै उत्साही छन्। यद्यपि हामीसँग अन्तर्राष्ट्रिय अनुभव भएका ५ खेलाडी मात्र छन्।' २०१० को सागपछि नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय स्पर्धा हो। 
अफगानिस्तानका क्रोएसियाली प्रशिक्षक मारियो स्टिपकोप प्रतियोगिताका लागि स्विट्जरल्यान्डबाट आइपुगेका छन्। उनले पछिल्लो तीन महिनादेखि टोली प्रशिक्षणमा रहेको जनाउँदै भने, 'हामी छोटो, छोटो पाइला चालिरहेका छौं। यो त्यस्तै अर्को पाइला हो।' २०१० को एसियाली खेलकुदमा पनि अफगानी टोलीको नेतृत्व गरेका स्टिपकोपले स्मरण गराए, 'एसियाली खेलकुदमा पनि हाम्रो प्रदर्शन सन्तोषजनक थियो।' 
नेपालबारे अनभिज्ञ रहँदै उनले सबैबाट फेयर प्ले हुनुपर्नेमा जोड दिए। 'घरेलु टोलीसँग खेल्दा समर्थक स्वभाविक रूपमा नेपालसँग हुनेछन्,' उनले थपे, 'तर, हामी सबैतिरबाट निष्पक्ष खेल होस् भन्ने कामना गर्छौ।' उनले खेलअघि टेक्निकल र ट्याक्टिकल योजनाबारे बताउन नसक्ने जनाए। 
नेपालका प्रशिक्षक श्रेष्ठले श्रीलंकाविरुद्धको कमजोर इतिहाँसका बावजुद राम्रो नतिजालाई प्रयास गर्ने बताए। अन्तर्राष्ट्रिय अनुभवमा श्रीलंका धेरै माथि रहेको उनको तर्क थियो। तथ्यांक प्रस्तुत गर्दै उनले भने, 'इतिहास हेर्ने हो भने श्रीलंका हामीभन्दा बलियो छ। हाम्रो राष्ट्रिय टोलीले अहिलेसम्म सबैखाले प्रतियोगितामा गरी जम्मा ३३ खेल खेलेका छौं। जबकी उनीहरुका एक खेलाडीले मात्र ४७ खेलको अनुभव लिन भ्याइसकेका छन्।'
तयारी पूरा 
नेपाल भलिबल संघले च्याम्पियनसिप आयोजनाको सबै तयारी पूरा भएको जनाएको छ। संघका अध्यक्ष दानबहादुर तामाङले थुप्रै चुनौतीका बावजुद च्याम्पियनसिप गर्न सफल भएको जनाउँदै अथक प्रयासपछि कम्तिमा चार टिमको सहभागिता पक्का भएको बताए। 'राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कम्तीमा ४ टोली सहभागी हुनुपर्ने भनेअनुरुप तयारी थालेका हौं,' पत्रकार सम्मेलनमा उनले भने, 'अन्तमा सफल भएका छौं।' 
अध्यक्ष तामाङले सोही अवसरमा नेपाली टोलीका नवनियुक्त कप्तान कैलाशदत्त भट्टलाई राष्ट्रिय जर्सी हस्तान्तरण गरे। 

निरन्तरताको प्रयास 
पहिलो पटक गर्न लागिएको दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपलाई आगामी वर्षहरुमा निरन्तरता दिन संघले पहल गर्ने अध्यक्ष तामाङले बताएका छन्। 'हामीले खेल्ने एउटै क्षेत्रीय प्रतियोगिता सागमात्र हो। त्यो पनि नियमित हुँदैन। त्यसैले यसलाई निरन्तरता दिने प्रयास गर्नेछांैं,' उनले प्रतिवद्धता जनाए।

खेलतालिका

असार २७ 
नेपालविरुद्ध अफगानिस्तान (३ :०० बजे)
माल्दिभ्सविरुद्ध श्रीलंका (५ :०० बजे)

असार २८
नेपालविरुद्ध श्रीलंका (३: ०० बजे)
अफगानिस्तानविरुद्ध (५:०० बजे)

असार २९ 
श्रीलंकाविरुद्ध अफगानिस्तान (३०० बजे)
नेपालविरुद्ध माल्दिभ्स (५:०० बजे)

असार ३० 
फाइनल शीर्ष दुई टोली