15 Kartik, 2071 |
Menu

खेल

१६ वर्षपछि झुल्किए पहिलो ओलम्पियन बक्सर

  • बुधबार १ जेष्ठ, २०७०
  • कमल खत्री
  • DISQUS_COMMENTS
(0 votes)
१६ वर्षपछि झुल्किए पहिलो ओलम्पियन बक्सर
काठमाडौं - नेपालबाट ओलम्पिकमा पहिलोपल्ट सहभागिता जनाउनेमध्येका एक रामप्रसाद गुरुङले मंगलबार १६ वर्षपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा पाइला टेके। प्रथम ओलम्पियन बक्सर गुरुङ धेरै वर्ष खेलकुदबाट टाढा थिए।
उनीमात्र होइनन्, पहिलोपल्ट ओलम्पिकमा देशका लागि खेल्ने उनका साथीहरूबारे पनि नेपाल सरकारले खासै चासो दिएन। बीचमा दुई वर्ष प्रथम ओलम्पिन भएवापत राखेपले भत्ता उपलब्ध गराउनुबाहेक नेपाली खेल प्रशासनसँग उनको कुनै सम्बन्ध रहेन। स्वयम् उनीहरू पनि खेलकुदसँग नजिक रहिरहन सकेनन्। मंगलबार भने नेपाल बक्सिङ संघले प्रथम ओलम्पियनको नातामा गरेको सम्मान थाप्न उनी राखेप परिसर आइपुगेका हुन्। 
सन् १९६४ को टोकियो ओलम्पिक नेपालका लागि ऐतिहासिक थियो। त्यही संस्करणबाट नेपालले विश्व खेलकुदको सबैभन्दा ठूलो मेलामा सहभागिता यात्रा थालेको हो। पाँच दशकअघि देशले पहिलोपल्ट सहभागिता जनाउँदाका ६ खेलाडीमध्ये एक थिए, बक्सर रामप्रसाद गुरुङ। 
लामो समय गुमनाम भए पनि मंगलबार राखेपमा संघबाट सम्मानित हुँदा गुरुङले त्यसलाई जीवनकै सबैभन्दा खुसी पाएको दिनमा वर्णन गरे। 'खेलाडीका लागि राष्ट्रको झन्डा बोक्न पाउनु गौरवको विषय हुन्छ, टोकियो ओलम्पिकमा नेपालको झन्डा उचाल्न पाउँदा मलाई गौरव महसुस भएको थियो,' उनले भावना साटे, 'आज ५० वर्षअघि खेलेको सम्झेर संघले सम्मान गर्दा त्यत्तिकै खुसी लागेको छ। संघलाई धन्यवाद।' 
बेलायती सेनामा रहँदा नेपालका लागि टोकियो ओलम्पिक खेलेका गुरुङले सम्मानित भएपछि नेपाली खेलकुदको विकासमा केही गर्ने अठोट लिए। 
टोकियो ओलम्पिकमा गंगाबहादुर थापा र भूपेन्द्र सिलवालले म्याराथनमा भाग लिएका थिए। भीमबहादुर गुरुङ, ओमप्रसाद पुन, नामसिंह गुरुङ र रामप्रसाद गुरुङले बक्सिङमा सहभागिता जनाए। यीमध्ये ओमप्रसादको निधन भैसकेको छ भने भीमबहादुर सम्पर्कविहीन छन्। हङकङमा बस्दै आएका नामसिंहलाई भने वैशाखको पूर्वार्द्धमा नेपाल आएको मौका छोपी संघले सम्मान गरेको थियो। रामप्रसाद पनि नामसिंहमार्फत नै संघको सम्पर्कमा आएका हुन्। 
ओलम्पिकका लागि म्याराथनका दुई धावक नेपालबाट छनोट भएर जापान गएका थिए भने बेलायती सेनाका लागि हङकङमा कार्यरत बाँकी चार बक्सर उतैबाट प्रतियोगितास्थल पुगेका थिए। 
ओलम्पिकमा हङकङको प्रतिनिधित्व गर्न नमिल्ने भएकाले बेलायती सेनाकै पहलमा नेपाली चार बक्सरले सहभागिता अवसर पाएका थिए। जसका कारण टोकियो ओलम्पिक सकिएपछि उनीहरू पुनः बेलायती सेनाको क्याम्पमा फर्किए। त्यसैले नेपाली खेलकुदसँग उनीहरूको भावनात्मक सम्बन्ध गाँसिनै पाएन। बेलायती सेनाको जागिरबाट अवकाश पाएपछि नेपाल फर्किए पनि गुरुङलाई खेलकुदसँगको छोटो सम्बन्धलाई नवीकरण गर्न माहोल मिलेन। 
नेपाली खेल प्रशासनले पनि खासै चासो दिएन। गुरुङको धमिलो स्मरणअनुसार उनले बीचमा दुई वर्ष प्रथम ओलम्पियन भएवापत राखेपबाट भत्ता पाए, तर भत्ता पाएको वर्ष उनलाई याद छैन। बैंकमै गएर नियमित मासिक १ हजार ५ सयको हाराहारीमा भत्ता लिने गरेका उनलाई एक दिन बैंकले अब पाउनुहुन्न भनेपछि जानै छोडेको मात्र सम्झना छ। त्यसबाहेक टोकियोको सहभागितापछि चार बक्सरलाई राखेपले कुनै चासो दिएको उनलाई याद छैन। उनले भने, 'नेपाल सरकारको भत्ता पाउनु गर्वको विषय हो। मैले त्यो रकम बक्सिङको विकासमा खर्च गर्ने योजना बनाएको थिएँ।' 
गत वर्ष लन्डन ओलम्पिक हेरेर फर्किएपछि प्रथम ओलम्पियनमध्येका एक भूपेन्द्र सिलवालको निधन भयो। सञ्चारमाध्यममा नेपाली खेलकुदको पहिलो पुस्ताको अन्त्य भन्ने आसयमा समाचार आएपछि गुरुङले सञ्चारमाध्यमबाटै आफू जीवित रहेको सन्देश दिए। तथापि उनी संघ वा अन्य खेल प्रशासनको सम्पर्कमा भने पुगिसकेका थिएनन्। त्यतिखेर उनी हङकङमै थिए।
स्याङ्जा दरुनमा जन्मिएका गुरुङ सन् १९५९ मा बेलायती सेनामा भर्ती भए। बेलायती सेनामा हरेक वर्ष ब्वाइज च्याम्पियन घोषित हुने एकको तस्बिर ब्यारेक कार्यालयमा टाँस्ने गरिन्थ्यो। सेनाको जागिर खाएर पहिलो पटक मलेसियाको पेनाङ पुग्दा आँखा ब्वाइज च्याम्पियनको तस्बिरमा परेपछि आफूले पनि च्याम्पियन बन्ने अठोट लिएको उनी सम्झन्छन्। सबै खेलमा गरेको प्रदर्शनका आधारमा प्राप्त अंक जोडेपछि सबैभन्दा बढी अंक ल्याउनेलाई ब्वाइज च्याम्पियन घोषणा गरिने चलन थियो। सैनिक जीवनमा सबै खेलमा पोख्त गुरुङले अठोटअनुरुप ब्वाइज च्याम्पियन भएर तस्बिर ब्यारेकमा टाँस्न सफल भए। 
१९ वर्षको उमेरमा ओलम्पिक खेलेका गुरुङको टोकियो यात्रा पनि निकै रोचक छ। ६ महिनाका लागि घरबिदामा आएको बेला ब्यारेकबाट एउटा 'अत्यन्त जरुरी' लेखिएको चिठी आयो। चिठीमा आफूलाई जतिसक्दो छिटो फर्कने निर्देशन रहेछ। तर, लामो समय पछि घर आएकाले ६ महिना बिदा सकिएपछि मात्र उनी फर्किएका रहेछन्। ६८ वर्षे गुरुङ सम्झन्छन्, 'ब्यारेक पुग्नेबित्तिकै ओलम्पिकका लागि छनोट भएको खबर पाएँ। त्यति बेला मलाई ओलम्पिक भनेको पनि थाहा थिएन। अरु तीन साथीले प्रशिक्षण क्याम्पमा तयारी सुरु गरिसकेका रहेछन्। पछि म पनि केही समय प्रशिक्षण गरेर टोकियो गएको थिएँ।' 
ओलम्पिकमा उनले पहिलो बाउटमा हंगेरीका जोनस्क काजदीलाई प्रतिद्वन्द्वीका रुपमा पाए। उनको यात्रा काजदीलाई छिचोल्दै अघि बढन सफल भएन। 
बेलायती सेनाबाट अवकासपछि नेपाल फर्किएका उनी चितवन पटियानी–५ मा बस्ने गरेका छन्। ललितपुर सातदोबाटोमा पनि उनको घर छ। हङकङ र नेपाल अझै नियमित आउजाउ भइरहन्छ। 
सम्मान गरेपछि राखेप सदस्यसचिव युवराज लामाले गुरुङलाई सरकारको तर्फबाट फेरि नियमित भत्ता उपलब्ध गराउने वाचा गरे। 
'मलाई सम्मान गरेकामा बक्सिङ संघलाई धेरै धन्यवाद छ, अब मेरो चाहना चितवनका दुर्गम स्कुलका बच्चाहरूलाई खेल्नका लागि सहयोग गर्ने हो। बक्सिङ विकासमा सक्दो सहयोग गर्छु,' गुरुङले अठोट बताए।
फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

फुटबल खेल्ने क्रममा १५ वर्षे युवतीको मृत्यु

लन्डन— फुटबल खेलिरहेकी एक १५ वर्षे युवतीको मैदानमै मृत्यु भएको छ। वेलायतकी उत्तरपूर्वी लेनक्यासाइरमा अन्डर–१६ गर्ल्स फुटबल म्याच खेल्ने क्रममा मेलिसा स्मिथले ज्यान गुमाएकी हुन्।

गाइड नहुँदा विक्रम दौडन पाएनन्

गाइड नहुँदा विक्रम दौडन पाएनन्

काठमाडौं, कात्तिक २– दक्षिण कोरियामा भइरहेको पारा एसियाली खेलकुदमा 'गाइड' नभएका कारण एथलेटिक्सका विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्न पाएनन्। आफूलाई दौडाउने मान्छे नभएपछि रानाले आइतबार २ सय मिटरमा सहभागि नसकेका हुन्। 

विमला आर्मीमा अनुबन्धित

विमला आर्मीमा अनुबन्धित

काठमाडौं- इन्चोन एसियाडकी पदकधारी विमला तामाङ सोमबार त्रिभुवन आर्मी क्लबसँग अनुबन्धित भएकी छन्। कराते खेलाडी विमलाले दक्षिण कोरियाको इन्चोनमा सम्पन्न १७औं एसियाली खेलकुदमा एकल काताबाट कांस्य पदक जितेकी थिइन्।

'लेखाको निर्णय पुनर्विचार गर'

'लेखाको निर्णय पुनर्विचार गर'

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का जिम्मवार पदाधिकारीको २ महिनाका लागि पद स्थगन गर्ने सार्वजनिक लखा समितिको निर्णय पुर्नविचार गर्न राष्ट्रिय फुटबल खेलाडी, प्रशिक्षक र रेफ्रीले सामूहिक आग्रह गरेका...

रारामा बालकदेखि वृद्धसम्म दौडने

रारामा बालकदेखि वृद्धसम्म दौडने

जुम्ला- कर्णालीमा पहिलोपल्ट हुन लागेको जुम्ला–रारा अल्ट्रा म्याराथनमा भाग लिन ७ देखि ७२ वर्ष उमेर भएकाले नाम दर्ता गराएका छन्। कर्णालीको नाम राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आयोजित म्याराथनमा ऐक्यबद्धता जनाउन...

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चोनको भव्यताले अन्य आकांक्षीलाई चुनौती

इन्चन- एसियाकै सबैभन्दा ठूलो खेल मेलाको १७ औं संस्करणले आइतबार विदा लिएसँगै यसको भविष्यलाई लिएर चिन्ता सुरु भएको छ। दक्षिण कोरियाले इन्चोन एसियाडलाई कम खर्चमा चुस्त आयोजनाको नमुनाका रुपमा प्रस्तुत...

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

रोनाल्डोको २२ औं ह्याट्रिकले रियल म्याड्रिड ५–० ले विजयी

म्याड्रिड—स्टार खेलाडी क्रिस्टियानो रोनाल्टो तथा ग्रेथ बेलको शानदार प्रदर्शनको मद्दतले रियल म्याड्रिडले स्पेनिस प्रिमियर लिगमा एट्लेटिको बिल्बाओलाई ५–० ले हराएको छ। रोनाल्डोको यो २२ औं लिग ह्याट्रिक हो। यो जितसँगै...

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

चेन्नइद्वारा च्याम्पियन्स लिगको उपाधि कब्जा

बैंगलोर- सुरेश रायनाको शतक प्रहारसँगै ट्वान्टी-२० च्याम्पियन्स लिगको उपाधि चेन्नइ सुपर किङ्गले जितेको छ। शनिबार राति भएको खेलमा कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै चेन्नइले उपाधि जितेको हो। रायनाले...