Nepal Republic Media Pvt. Ltd.

Friday
Jul 30th

नेपाल प्रेसिडेन्ट्स कपको समूह ए मा

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, फागुन २३ (नागरिक)- नेपालमा सहिद स्मारक ए डिभिजन लिग चल्दै गर्दा एसियाली फुटबल महासंघ (एएफसी) ले प्रेसिडेन्ट्स कप-२०१० का लागि समूह विभाजन गरेको छ।

नेपाली लिग सकिन दुई महिनाभन्दा बढी समय लाग्नेछ भने समूहका अन्य टोलीको टुंगो लागिसकेको छ। नेपाल समूह 'ए' मा परेको छ।

समूह 'ए' को खेल बंगलादेशमा मे १२ देखि १६ सम्म हुनेछ। यसअघि मार्च ६ देखि १६ सम्म समूह चरण हुने मिति तय भएको थियो।

नेपालसँगै समूहमा आयोजक बंगलादेशको अवामी युनाइटेड, दुई पटकको विजेता किर्गिस्तानको डोर्डोइ बिस्केक र चाइनिज ताइपेइको योडी छन्। प्रेसिडेन्ट्स कपको समूह चरणमा ग श्रेणीका ११ राष्ट्रको लिग विजेताको सहभागिता रहनेछ, जसलाई तीन समूहमा राखिएको छ। प्रत्येक समूहको विजेता र तीनै समूहमध्येको उत्कृष्ट उपविजेताले प्रेसिडेन्ट्स कपको सेमिफाइनल खेल्नेछन्।

एएफसीले फेब्रुअरी १२ सम्म क्लबको नाम दर्ता गर्न निर्देशन दिँदा नेपालमा लिग नै सुरु भएको थिइन। पछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको सहभागिता रहने र क्लबको नाम पछि उपलब्ध गराउने अनुरोध गरेपछि एएफसीलाई त्यसले स्वीकारेको थियो। एन्फाले अप्रिलको अन्त्यसम्ममा लिग सक्ने आश्वासन एएफसीलाई दिएको छ। २०६३ पछि नेपालमा लिग रोकिँदा पूर्व विजेताका हैसियतमा नेपाल पुलिस क्लबले दुई पटकसम्म प्रेसिडेन्ट्स कप खेलेको थियो। सन् २००७ मा विजेताका रूपमा पुलिसले प्रेसिडेन्ट्स कप खेल्दा फाइनलसम्म पुगेको थियो। प्रतियोगितामा नेपाली क्लबको त्यो नै सबैभन्दा सफल नतिजा हो।

सन् २००५ मा काठमाडौंमा सम्पन्न प्रेसिडेन्ड्स कपको पहिलो संस्करणमा नबिल थ्री स्टार क्लबले नेपालको प्रतिनिधित्व गरेको थियो। त्यसमा थ्री स्टार सेमिफाइनलसम्म पुगेर टाइब्रेकरमा पराजित भएको थियो। अर्को वर्ष सहभागिता जनाएको मनाङ मर्स्याङ्दी क्लब भने पहिलो चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल

Nagarik Offer