मानन्धरले सन् १९८४ देखि सुरु भएको पहिलो दक्षिण एसियाली खेलकुददेखि कोलकातामा भएको तेस्रो सागसम्म तीनवटा स्वर्ण जित्न सफल भए पनि इस्लामाबादमा सन् १९८९ मा भएको चौथो साफमा स्वर्ण जित्न सकेनन्। उनी चौथो साफमा कास्यमा सीमित भए।
'मैले यसको कल्पना पनि गरेको थिइनँ। यसपालि मलाई थुप्रै दबाब थियो,' दक्षिण एसियाली खेलकुदमा लगातार ४ स्वर्ण जित्ने इतिहास बनाएका दीपकले नागरिकसँग भने।
उनलाई सागमा यो दुर्लभ कीर्तिमान बनाउन सोमबार ठूलै मेहनत गर्नुपर्यो। एक वर्षअघि बेइजिड ओलम्पिकको तयारी गर्दा बायाँ घुँडामा लागेको चोटका कारण राम्रोसँग तालिम गर्न नसकेका दीपकका अगाडि यसपालि पदक जित्न ठूलै दबाब थियो। 'दबाबका कारण रातभरि सुत्न सकेको थिइनँ। धेरै नेपालीको आशा ममाथि थियो,' खेलअगाडिको पीडा सुनाउँदै उनले भने।
उनको दायाँ घुँडाको शल्यक्रिया दुईपल्ट भइसकेको अवस्थामा चिकित्सकहरूले बायाँ घुँडाको पनि शल्यक्रिया गर्ने सल्लाह दिएका थिए। तर, उनले शल्यक्रिया गर्दा एघारौं साग प्रभावित बन्ने भन्दै मानेका थिएनन्।
एघारौ सागको पहिलो खेलमै दशौं सागका स्वर्ण विजेता बंगलादेशी मोहम्मद मिजानुर रहमानलाई पाएपछि दीपकको स्वर्ण जित्ने सम्भावनालाई कम आँकिएको थियो। अघिल्ला तीन सागमा स्वर्ण जित्दा दीपक ७८ केजी तौल समूहमा उत्रिएका थिए। यसपालि उनी घुँडाको चोटका कारण धेरै तौल घटाउन नहुने चिकित्सकहरूको सल्लाहबमोजिम ८७ केजीमूनि तौल समूहमा उत्रिएका थिए। यो समूहमा मिजानुरले दसौं सागको स्वर्ण जितेका थिए। तर, दीपकले स्थानीय बंगाली प्रतिद्वन्द्वी मिजानुरलाई पहिलो खेलमै १०/१ को भारी अन्तरले पराजित गरे। सुरुमै अप्पर किक प्रहार गर्दै तीन अंक जोडेयता पछाडि नफर्किएका दीपकको प्रदर्शनपछि नेपाली समर्थकको चर्को हुटिडले खेलस्थल नै गुन्जिएको थियो।
'यो कीर्तिमान म सबै नेपालीलाई समर्पण गर्न चाहन्छु र बेइजिड ओलम्पिकमा सारा नेपालीलाई दुखी तुल्याएको घटना बिर्सन विशेष आग्रह गर्छु,' स्वर्ण जितेपछि ३३ वर्षीय कीर्तिमानधारी खेलाडीले प्रतिक्रिया दिए। बेइजिड ओलम्पिकमा दीपकको प्रदर्शन निकै फितलो थियो।
दीपकले फाइनल प्रवेशका लागि भारतका नकुल मल्होत्रालाई ६/१ अंकमा हराए। पहिलो खेलपछि घुँडामा केही समस्या महसुस गरेका दीपकले दोस्रो खेलमा पनि भारतीय खेलाडीसँग पहिलो ३ अंक स्ल्याप किकबाटै बटुलेका थिए।
'साँच्चै उनको कीर्तिमान लोभलाग्दो छ। अब उनको कीर्तिमान तोड्न अरु खेलाडीलाई गाह्रो पर्नेछ,' पाकिस्तानी टोलीका तेक्वान्दो कप्तान रहमान जानले भने। नेपाली प्रशिक्षक मिस्टर क्वान दक्षिण एसियाली खेलकुदमा दीपकले पाएको सफलतालाई उनको मेहनतको प्रतिफल भन्न रुचाउँछन्। 'ऊ यो क्षेत्र (दक्षिण एसिया) कै स्टार खेलाडी हो। उसको सफलतामा मेहनत झल्किन्छ,' बुसान र दोहा एसियाड गरी दुईवटा एसियाडमा लगातार दुई कास्य जित्ने इतिहास पनि बनाइसकेका दीपकको विषयमा क्वान गुरुले नागरिकसँग भने।
१२ वर्षअघि डाक्टर बन्ने उद्देश्यले सुदुरपश्चिमी सहर महेन्द्रनगरबाट राजधानी आएका दीपक डाक्टर त बन्न सकेनन् तर दक्षिण एसियाकै उत्कृष्ट खेलाडी बन्न सफल भएका छन्।
यो खुसी साट्न बुधबार ढाकाबाट फर्किंदा त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा आमाबाबुलाई भेट्न चाहन्छन्। 'म थुप्रैपल्ट अन्तर्राष्टिय प्रतियोगिता जितेर फर्कँदा कहिले पनि आमा, बाबुलाई काठमाडौं बोलाइनँ। तर, यसपालि म विमानस्थलमै आमाबाबुलाई भेट्न चाहन्छु,' जितपछि केही भावुक दीपकले भने।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



