सांगाकाराले सातौं दोहोरो सतक बनाउनेक्रममा २ सय १९ र जयबर्द्धनेले १ सय ७४ रन बनाएपछि श्रीलंकाले सिंहालिज स्पोर्टस क्लब मैदान (एसएससी) मा ४ विकेट गुमाई ६ सय ४२ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको छ।
पहिलो टेस्ट १० विकेटले हारेर तीन खेलको शृङ्खलामा १-० ले पछाडि भारतले जवाफमा विनाक्षति ९५ रन बनाएको छ। फलोअनभन्दा अझै ४ सय ४३ रनले पछाडि रहेको भारतका लागि वीरेन्द्र सेवाग ६३ बलमा ६४ र मुरली विजय २२ रन बनाई क्रिजमा छन्।
पहिलो दिन ओपनर थाराङ्गा पारानाभितानाले सतक बनाएको गतिमा सांगाकारा र पूर्वकप्तान जयाबर्द्धनेले बलरलाई कुनै सहयोग नभएको विकेटमा रन बनाउने क्रमलाई जारी राखेका थिए। चार वर्षअगाडि दक्षिण अफ्रिकाविरुद्ध यसै मैदानमा कीर्तिमानयुक्त ६ सय २४ रन जोडेका यी दुई वरिष्ठ जोडीले तेस्रो विकेटमा १ सय ९३ रन जोडेर श्रीलंकालाई विशाल स्कोरतर्फ डोर्याएका थिए।
सांगाकाराले इङ्ल्यान्डका वाली हेमोन्डले सात दोहोरो सतक बनाएको कीर्तिमानलाई बराबरी गरेका छन्। टेस्टमा सबैभन्दा बढी दोहोरो सतक बनाउनेमा उनी वेस्ट इन्डिजका ब्रायन लारा (९) र अस्ट्रेलियाली महान डन ब्रेडम्यान (१२) भन्दा मात्र पछाडि छन्। जयाबर्द्धने एउटै मैदानमा बढी सतक बनाउने खेलाडी बने। एसएससीमा जयाबर्द्धनेको यो १० औं टेस्ट सतक हो। ब्रेडम्यानले मेलवर्न क्रिकेट मैदानमा ९ टेस्ट सतक बनाएका थिए।
३१२-२ बाट दिनको खेल प्रारम्भ गरेको श्रीलंकाका लागि सांगाकारा र जयबर्द्धनेले पहिलो घन्टाको खेलमा १४ ओभरभित्र ६५ रन जोडी दोस्रो नयाँ बललाई सजिलै खेलेका थिए। लन्चसम्मको खेलमा श्रीलंकाले २९ ओभरमा १ सय ४५ रन जोडेको थियो। देब्रे हाते स्पिनर प्रज्ञान ओझालाई एकै ओभरमा ४ चौका प्रहार गरी १ सय ९९ को व्यक्तिगत स्कोरमा पुगेका सांगाकाराले हरभजन सिंहको बललाई थर्ड म्यानमा चौका प्रहार गरी दोहोरो सतक पूरा गरे।
लन्चसम्म २ सय १४ रनमा अविजित सांगाकारा लन्चपछिको चौथो ओभरमा सेवागको बललाई अल्छी ढंगले खेल्दा एकमात्र स्लिप राहुल द्रबिडलाई क्याच दिन पुगे। ३ सय ३५ बलको सामना गरेका उनले सात घन्टा क्रिजमा बिताएर ७ चौका प्रहार गरेका थिए।
जयबर्द्धनेको यो २०औं सतक हो। उनले कुल २ सय ४४ बल खेलेर २० चौका र एक छक्का प्रहार गरे। लामो सट खेल्ने क्रममा उनले मिडविकेटमा क्याच दिएपछि अफ स्पिनर हरभजन सिंहले शृङ्खलामा पहिलो विकेट पाए। उनी आउट भएसँगै सांगाकाराले श्रीलंकाको पहिलो इनिङ समाप्तिको घोषणा गरे।
जयबर्द्धनेले थिलान समराविरासँग चौथो विकेटमा १ सय ७६ रनको साझेदारी गरे। समराविरा ७६ रनमा अविजित रहे। भारतका चारै प्रमुख बलर हरभजन, ओझा, अभिमन्यु मिथुन र इशान्त शर्माले १ सयभन्दा बढी रन खर्चे।



Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





