Nepal Republic Media Pvt. Ltd.

Thursday
Sep 09th

महान क्रिके‍टरहरुको लर्डसमा असफलता

smaller text tool iconmedium text tool iconlarger text tool icon
लर्ड्स, असार ३२ (एजेन्सी)- हरेक क्रिकेट खेलाडीले लर्ड्समा खेल्ने एउटा सपना पालेको हुन्छ। अझ क्रिकेटको ‘तीर्थस्थल' मा सतक बनाउनु त खेलाडीका लागि धेरै माथिको सफलता मान्ने गरिन्छ, भलै व्यक्तिगत रूपमा संसारकै सर्वाधिक सफल ब्याट्सम्यानहरू अझै यो सपना हासिल गर्न सफल नहुन सक्छन्।
सचिन तेन्दुलकर, रिकी पोन्टिङ र ब्रायन लारा सर्वकालिन महान् ब्याट्सम्यान हुन्। यी तीन टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउनेको सूचीमा अग्रपंक्ति कब्जा गर्ने खेलाडी हुन्। यिनीहरूको नाममा टेस्ट क्रिकेटमा ३५ हजारभन्दा बढी रन छ। दुर्भाग्य, यी तीनैले लर्ड्समा सतक बनाउन सकेका छैनन्।
भारतका तेन्दुलकरले टेस्ट क्रिकेटमा सबैभन्दा बढी रन बनाएका छन्। तेन्दुलकरको नाममा १ सय ६६ टेस्टबाट ५५.५६ को औसतमा १३ हजार ४ सय ४७ रन लेखिएको छ। त्यसपछि दोस्रो नम्बरमा पोन्टिङ आउँछन्। उनले १ सय ४५ टेस्टमा ११ हजार ९ सय ५४ रन बनाएका छन्। लाराले १ सय ३१ टेस्ट खेल्दै ११ हजार ९ सय ५३ रन बनाएका छन्।

सन् १९९५ मा इङ्ल्यान्डविरुद्ध लाराले ५४ रन बनाउनु नै लर्डसमा यी तीन खेलाडीमध्येको व्यक्तिगत उच्च स्कोर हो। ३७ वर्षे तेन्दुलकरले लर्ड्समा ४ टेस्ट खेलेका छन्, जहाँ उनले २१.२८ को औसतमा १ सय ४९ रन मात्र बनाउन सकेका छन्। ३७ रन उनको उच्च स्कोर हो। लर्ड्स टेस्टको रन हटाउने हो भने तेन्दुलकरको औसत इङ्ल्यान्डमा खेलिएको टेस्टमा ८२ भन्दा माथि हुन आउँछ। सर्वाधिक रन बनाउनेमा तेन्दुलकरलाई पछ्याइरहेका पोन्टिङले पनि लर्ड्समा १ सय ३५ रन मात्र बनाउन सकेका छन्। ४२ रन ३५ वर्षे पोन्टिङको लडर््समा उच्च स्कोर हो। लर्ड्समा उनको औसत १५ भन्दा केही माथि मात्र छ। लर्ड्समा उनको औसत सबैभन्दा कम छ।

पाकिस्तानविरुद्धको पहिलो टेस्टमा २६ रन बनाउँदै पोन्टिङले लारालाई उछिनेर सर्वाधिक रन बनाउनेमा दोस्रो स्थानमा उक्लिए। तर दोस्रो इनिङमा उनी खाता खोल्न नसकी आउट भएपछि लर्ड्समा सतक बनाउन पाएको राम्रो मौका पोन्टिङले गुमाए। इङ्ल्यान्डले १९१२ पछि पहिलो पटक तटस्थ भूमिका रूपमा टेस्ट क्रिकेट आयोजना गरिरहेको छ। आफ्नो राष्ट्रमा सुरक्षाका कारण विदेशी टोली गएर खेल्न नमानेपछि पाकिस्तानले घरेलु शृङ्खला इङल्यान्डमा खेलिरहेको हो। त्यसमा लर्ड्स टेस्टले पोन्टिङसहितका खेलाडीका लागि व्यक्तिगत सफलता हात पार्ने राम्रो अवसर दिएको थियो।

लाराले तीन वर्षअघि नै टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका छन्। अहिले खेलिरहे पनि उमेर ढल्किइसकेका तेन्दुलकर र पोन्टिङले लर्ड्समा सतक बनाउने सम्भावना कम देखिन्छ। अस्ट्रेलियाले २०१३ एसेज शृङ्खला लर्डसमा खेल्ने कार्यक्रम छ, तर त्यतिखेरसम्म पोन्टिङ सक्रिय खेलाडीको रूपमा नरहन सक्छन्। भारतको आगामी इङल्यान्ड भ्रमण निश्चित नभएको अवस्थामा तेन्दुलकरको पनि लर्ड्समा सतक बनाउने सपना अधूरै रहन सक्छ।
इङ्ल्यान्डका पूर्व ब्याट्सम्यान ग्राहम गुच लर्ड्सका सबैभन्दा सफल खेलाडी हुन्। उनले यहाँ २१ टेस्ट खेल्नेक्रममा ५३.०२ को औसतमा ६ सतकसहित २ हजार १५ रन बनाएका छन्, जसमा १९९२ मा भारतविरुद्ध बनाएको ३ सय ३३ रन पनि समावेश छ। यो लर्डसमा व्यक्तिगत उच्च स्कोर पनि हो। इङ्ल्यान्डका एलेक स्टेवार्ट र डेबिड गावरले यहाँ सर्वाधिक ८/८ सतक बनाएका छन्।

१८१४ मा स्थापित लर्ड्सले १८८४ मा अस्ट्रेलिया र इङ्ल्यान्डबीच पहिलो टेस्ट आयोजना गरेको थियो। १९औं सताब्दीमा यो क्रिकेटको ‘मक्का' बन्यो। अस्ट्रेलियाका वारेन ब्राडस्लीले ५ टेस्टमा बनाएको ५ सय ७५ रन विदेशी खेलाडीले लर्ड्समा बनाएको सर्वाधिक रन हो। यसले विदेशी खेलाडीलाई लर्ड्समा रन बनाउन कठिन हुन्छ भन्ने पनि देखाएको छ।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

खेल