Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

पूर्वअधिराजकुमारी शिताष्मा बुटिक व्यापारमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
गिरीश गिरी, काठमाडौं, माघ १८- अहिले पनि यहाँका केही पसलको नाम 'रोयल' बाट सुरु हुन्छ। यो बाटोलाई अहिले पनि 'किंग्स वे' भनिन्छ। तर, यसको सिरानमा रहेको फराकिलो घर मात्रै होइन, मुलुककै सम्पूर्ण कागजपत्रबाट 'रोयल' र 'किंग' शब्द हटाइसकिएका छन्।
गणतन्त्र घोषणा भएको २० महिनापछि शनिबार खुलेको एउटा बुटिकले फेरि एकपटक यो सडकलाई 'रोयल' शब्दसँग जोडेको छ। पूर्वरानी कोमलद्वारा उद्घाटित यो पसलको नाम हो, 'बार्ज इन्टरनेसनल।' सञ्चालिका पूर्वअधिराजकुमार धिरेन्द्र शाहकी छोरी हुन्, शिताष्मा।
'प्रत्येक दिन उहाँ आउनुहुन्छ,' पसलको सिर्जनात्मक पक्ष हेर्ने साझेदार विवेक उपाध्याय भन्छन्, 'बिहान ११ बजेदेखि राति ८ बजेसम्म खुल्ने बुटिक चलाउन सञ्चालक नआउने त कुरै हुँदैन।'
दरबारमार्गस्थित केएफसी रेस्टुरेन्टस"गै दक्षिणतर्फको बाटो भित्र गएपछि लिफ्ट अथवा सिँढी चढ्नुपर्छ। त्यसको माथिल्लो तलामा खुलेको पसल आइतबार बेलुकी पुग्दा बन्द भइसकेको थियो।
'भित्र सबैजना होइबक्सन्छ,' बाहिर कुरेर बसेका एक व्यक्तिले सामुन्नेको ढोका देखाउँदै भने, 'ढकढक्याए हुन्छ।'
तुरुन्त ढोका खुलेपछि पहिलो नजरै परिचित अनुहारमा पर्‍यो। 'के होला?' त्यही अनुहार अर्थात् शिताष्माले सोधिन्। चिताएकोभन्दा अत्यन्त सामान्य व्यवहार थियो त्यो 'ब्लूब्लड' जमघटमा।
'हो, हामीले हिजोदेखि पसल खोलेका हौं,' शिताष्मालगायत दुई-तीन जनाले एकै साथ बोले र तीमध्येकै विवेकले भने, 'पसल बन्द भए पनि प्रेसका निम्ति हामी खुला छौं।'
ढोका खोल्दै उनले बुटिकमा प्रवेश गराए जसको सामुन्ने भित्तामा पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर झुन्डिएको छ भने त्यसको छेवैमा छ फ्रेमै लगाइएको पसलको लाइसेन्स। महँगो गलैंचा, बत्तीहरूको प्रभाव र अधिकांश जडिएका साडीहरू झुन्डिएको यसको बीचमा आरामले बस्न मिल्ने सोफा राखिएको छ।
'बजारमा ठगी बढ्दो छ,' बेलायतमा पढेका होटल व्यवस्थापनका विद्यार्थी विवेकले भने, 'हामी स्तरीय उत्पादन र विश्वासको कारोबार गर्न अघि बढेका हौं।' उनले धमाधम आफ्ना केही सारी देखाउँदै बजारमा जर्जेटको नाममा नाइलन बेच्ने गरिएको बताए।
'यो सारी नै हेर्नुस्, बजारमा गएर किन्नु भयो भने ६० हजार भन्छन्,' उनले थपे, 'हामी ३० हजारमा दिन्छौं, त्यो पनि पक्का जर्जेट कपडा भएको ग्यारेन्टीका साथ।'
यति भन्दै गर्दा बुट्टे सारी लगाएकी शिताष्मा आइपुगिन्। 'अहिले त लेडिज पहिरन मात्र देखिन्छ,' शिताष्माले भनिन्, 'हामी मेन्स वेयरका सामग्री पनि छिट्टै राख्ने भएका छौं।' उनले तीन महिनामै काठमाडौंभित्रै शाखा विस्तार गरिने जानकारी दिइन् र अन्तै लागिन्।
'हामी केटाकेटीदेखिका साथी हौं,' विवेकले भने, 'अरु विषय पढे पनि फेसनको स्केच गर्ने मेरो प्रतिभा देखेर एक वर्षअघि उहाँ (शिताष्मा)ले अचानक बुटिक खोलौं भन्नुभयो।' यस अवधिमा आफूले २ सय सारी तयार पारेपछि शनिबार उद्घाटन गरेको उनले जानकारी दिए।
'कस्तो अचम्म, हेर्नुस् न,' उनले भने, 'यहाँ तपाईंले देखेका सारी आज एक दिनमै लगभग बिक्री भइसक्यो।'
भोलि के बेच्नु हुन्छ त? 'भोलिको निम्ति आजै जयपुरबाट एक लट् सामान आइसक्यो,' उनले उत्साहित हुँदै भने, 'त्यसपछिका निम्ति भोलि नै म दिल्ली उड्दैछु।'
पसलमा सम्पूर्ण कारोबार हेर्ने गरी शिताष्मा अध्यक्ष, लेखा हेर्ने रोचना राज्यलक्ष्मी शाही निर्देशक र बिक्रीका सम्पूर्ण सामग्री तयार पार्ने आफ्नो जिम्मेवारी भएको विवेकले बताए। विश्वसनीयता र गुणस्तरकै कारण एक दिनमै पसल खालि हुने गरेर बिक्री भएको दाबी उनको थियो।
'धेरै फरक भइसक्यो,' विवेकले भने 'अहिलेका मान्छे बाहिर जान्छन् र सबैतिरको जानकारी राख्छन्, त्यसैले कसैलाई ठग्न सकिँदैन।'
स्तरीय भइकन पनि सस्तो हुनुको कारण पनि उनले खुलाए। 'दिल्ली, जयपुर, लखनउ र सुरतमा हाम्रा निम्ति काम गर्ने विशेष कालिगढहरू छन्,' उनले भने, 'त्यसैले एलिट मात्र नभई मासकै निम्ति पसल बनाउन सम्भव भएको हो।' उनले आफ्नो पसलमा ८ हजारदेखि २ लाख रुपैयाँसम्मका सारी रहेको जानकारी दिए।
करिब २२ वर्षअघि दरबारमार्गमा पहिलो बुटिक खुलेको विवेकलाई सम्झना छ। 'त्यो त बन्द भयो,' उनले भने, 'तर, अहिले यहाँ झण्डै नौवटा बुटिक छन्।'
प्रारम्भमा बुटिकका निम्ति दरबारमार्ग अग्रणी भए पनि अहिले आएर उपत्यकाका थुप्रै बजारले त्यो अग्रता लिएको बताउने विवेक 'बार्ज इन्टरनेसनल' को उपस्थितीपछि पुरानो दिन फेरि फर्कने विश्वास गर्छन्।
आफूसँग कुरा सम्पन्न भएपछि पूर्व शाहज्यादी शिताष्मासँग विस्तारमा कुरा गर्ने नागरिकको योजनामा विवेकले अनिच्छा देखाए। 'संसारमा पूर्व राजपरिवारका सदस्य यसरी केही गरौं भनेर घरबाट बाहिर निस्केको देख्नुभएको छ?' उनले प्रश्न गर्दै भने, 'व्यापारीकै रूपमा कुरा गर्ने हो भने पनि त्यो अनुभवकै लागि कम्तीमा एक महिना समय दिनुस्।'
विवेकको कुरामा सहमत हुँदै निस्कने बेला शिताष्मा ढोकैमा आइपुगिन्। 'धन्यवाद,' संवाददाता बिदा माग्दै हिँड्न लाग्दा ढोकै छेउमा उभिएकी उनले मुस्कानसहित जवाफ फर्काइन्- 'थ्यांक यू।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

समाज

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली