Nepal Republic Media Pvt. Ltd.

epaper
Friday
Mar 12th

सहिद विशेष

smaller text tool iconmedium text tool iconlarger text tool icon
हसना ! हसना !!
पावना श्रेष्ठ (सहिद गंगालाल श्रेष्ठकी नातिनी)-

उहाँलाई मार्न भेडासिं हुँदै लगिएको थियो। त्यतिबेला हाम्रो घर त्यहीँ थियो। घरअगाडि आइपुगेपछि हजुरबुबा चिच्याउनुभएको थियो रे - हसना... हसना ...। तर उहाँको त्यो अन्तिम बोलीको जवाफ हजुरआमाले फर्काउन सक्नुभएन। हजुरआमालाई त्यहीबेला बेथाले चापिसकेको थियो


घरको भित्तामा धमिलो-धमिलो तस्बिर झुन्डिएको थियो। त्यसकै अगाडि राखेर हजुरआमा, आमा र बुबाले सानो छँदा मेरो परिचय हजुरबुबासँग गराउनुभएको थियो। उहाँको बानीबेहोरादेखि मृत्यु अंगाल्ने दिनसम्मका कथा। म सानै थिएँ, दिमागमा ती कुरा छिर्दैनथे। सहिद के हो? राणा को हुन्? म मात्र टाउको हल्लाउँथेँ। कस्तो नबुझिने कथा रहेछ भन्ने लाग्थ्यो।

अहिले पनि तस्बिर त्यहीँ छ। मचाहिँ बुझ्ने भएँ। देशको स्थिति देख्दा हजुरबुबाको त्यही तस्बिर याद आउँछ - उहाँको सपना, समर्पण। खै, बुझ्न कसले सक्ला?

हजुरबुबाको भौतिक शरीर न मैले देख्न पाएँ, न मेरो बुबाले। हजुरबुबा गंगालाल श्रेष्ठलाई भन्दा पहिला सहिद गंगालाल श्रेष्ठलाई चिन्यौं हामीले। सायद म चार-पाँच कक्षा पढ्दा हुनुपर्छ, उहाँसँग मेरो वास्तविक परिचय भएको। कक्षामा सबै साथी मैलाई हेर्थे। सर पनि मलाई नै हेर्दै पढाउनुहुन्थ्यो। म भने एकोहोरो पुस्तकमा घोत्लिन्थेँ। सरले चार सहिदको व्याख्या गर्दा म हजुरबुबालाई सम्भि्करहेको हुन्थेँ। मलाई गजब लाग्थ्यो - आफ्नै हजुरबुबाको योगदानबारे कक्षामा सरले बयान गर्दा। यसले मलाई हजुरबुबाबारे धेरै कुरा जान्ने इच्छा जाग्यो।

मेरो इच्छा पूरा गर्नुभो हजुरआमा हसिनादेवीले। हजुरबुबालाई लामो समय जेलमा राखिएछ। उहाँलाई माफी माग्न समय पनि दिइएको रहेछ। माफी मागे नमार्ने राणाहरूको निर्णय रहेछ। उहाँ भने राणाहरूसामु झुक्नभन्दा मर्न तयार हुनुभयो। हजुरबुबालाई शोभाभगवती लगेर मारे राणाहरूले। उहाँलाई मार्न भेडासिं हुँदै लगिएको थियो। त्यतिबेला हाम्रो घर त्यहीँ थियो। घरअगाडि आइपुगेपछि हजुरबुबा चिच्याउनुभएको थियो रे - हसना... हसना ...। तर उहाँको त्यो अन्तिम बोलीको जवाफ हजुरआमाले फर्काउन सक्नुभएन। हजुरआमालाई त्यहीबेला बेथाले चापिसकेको थियो। उहाँ प्रसव पीडामा हुनुहुन्थ्यो। चाहेर पनि ठूलो स्वरले बोलाउन सक्नुहुन्थेन। बेथाले घरभित्रै लडिरहनुभएको थियो। त्यो अन्तिम घडी एकचोटि हजुरबुबालाई घरभित्र छिर्नधरी दिएनन् प्रहरीले।

मारिनु केही हप्ताअघि जेलभित्रबाट हजुरआमालाई हजुरबुबाले भन्नुभएको थियो रे - जनताको स्वतन्त्रताका लागि म अब मर्दैछु, हाम्रो साथ यहीँसम्म रहेछ, तिमी आफ्नो राम्रो ख्याल राख्नू, भाइबहिनीको राम्रो रेखदेख गर्नू, अब यो सब जिम्मेवारी तिमी एक्लैले उठाउनुपर्छ। यो सब सुन्दा कुनै फिल्मजस्तो लाग्छ - हजुरबुबा मारिनु, मेरो बुबा जन्मनु झन्डै एकसाथ।

हजुरआमा भन्नुहुन्थ्यो - उहाँको अंग्रेजी निकै राम्रो थियो। साहित्यमा विशेष रुचि राख्नुहुन्थ्यो। अंग्रेजीमा नाटक पनि खेल्नुहुन्थ्यो। पढाइमा उत्तिकै तेज। उहाँ अझै भन्नुहुन्छ, 'बाजेको नाम रोशन गर्नुपर्छ, गलत बाटो हिँड्नु हुँदैन, राजनीति नै गर्नुपर्छ भन्ने छैन, अरू तरिकाले पनि देश बनाउन सकिन्छ।' सायद देश बनाउने विभिन्न बाटा देखेकैले होला, उहाँ राजनीतिमा लाग्न मान्नुभएन। २०४६ पछि थुप्रै नेता हाम्रो घर आए, हजुरआमालाई राजनीतिमा लाग्नुपर्‍यो भन्थे। सायद उहाँले बुझ्नुभएको थियो- आफ्नो स्वार्थपूर्ति गर्न सबै उहाँलाई गोटी बनाउन खोज्दैछन्।

हजुरबुबा मारिँदाको कथा सुन्दा त्यतिखेर किंबदन्तीजस्तो लागे पनि अहिले निकै गर्व लाग्छ। त्यो समयमा पनि त्यति ठूलो त्याग गर्न सक्नुभयो - जानीजानी मृत्यु अंगाल्नुभयो। अहिले कुनै ठाउँ आफूलाई चिनाउनुपरे म पहिला हजुरबुबाको नाम लिन्छु।

तर अहिले सम्झँदा लाग्छ, मेरो हजुरबुबाले बेकारमा आफ्नो ज्यान दिनुभएछ। बाँचेको भए मैले उहाँको न्यानो काख र मायाको अनुभव गर्न पाउँथेँ। उहाँमा पनि रहर थियो होला - छोराछोरी, नातिनातिना खेलाउने। उहाँले आफ्ना सपना र रहर भावी नेपालीका नाममा नामसारी गर्नुभयो। र, आफ्नो हकमा मृत्युलाई अंगाल्नुभयो। तर, अहिले उहाँका सपना त्यहीँ देख्छु, जहाँ उहाँले छोडेर जानुभएको थियो। जसले पूरा गर्ने जिम्मा लिए, तिनले आफ्ना सपना पूरा गरे होलान्, नेपाली जनताका सपना भने ज्यूँका त्यूँ छन्।

केही वर्षयता मेरो दिनचर्या मैले तय गरेको समय तालिकाअनुसार चल्न सकेको छैन। हरेकदिन कुनै न कुनै अवरोध सामना गर्नैपर्छ - कहिले कसको चक्काजाम रे, कहिले कसको बन्द रे। समय र मेरो कार्यतालिकाबीच दुरी बढ्दो छ। नचाहँदा-नचाहँदै बल, कर र दबाबमा आमनेपालीले भोग्नुपरेको यो साझा समस्या हो।

२००७, २०४६ र २०६२ सालको जनआन्दोलनसमेत गरी स्वतन्त्र, सबल र विकसित नेपालको मुहार देख्न धेरैले आफ्नो ज्यान दिइसके। हजुरबुबासहित चारजना (शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द) को मृत्युबाट निरंकुश राणा शासनको पतन सुरु भयो। उहाँहरूले नयाँ पिढीलाई नयाँ पाठ सिकाएर जानुभयो। सायद त्यही भएर उहाँहरू एउटा आइडल मोडलका रूपमा चिनिनुहुन्छ। अहिलेचाहिँ जो पनि, जसलाई पनि सहिद भनेकोमा दुःख लाग्छ। दुई पार्टीको राजनीतिक स्वार्थको झगडामा मारिए पनि सहिद, सडक दुर्घटनामा मारिए पनि सहिद, डाँका मरे पनि सहिद घोषणाको माग हुन्छ। नेताहरूले पनि सहिदलाई मात्र होइन, सहिद शब्दको अर्थ पनि भुलेजस्तो लाग्छ।

मलाई सहिदगेट हुँदै कतै जानु नपरोस्जस्तो लाग्छ। त्यहाँ पुगेपछि एकछिन नअडिई अगाडि बढ्न सक्दिनँ। के उद्देश्यका लागि ज्यान अर्पण गर्नुभयो, कहाँ ल्याएर राखिदिए? लाग्छ सहिदका सपना सहिदगेटभित्र सीमित छ, त्यहाँबाट बाहिर आउन सकेको छैन। जसरी उहाँको सालिकभरि धुलो जमेको देखिन्छ, त्यसरी नै उहाँको सपना पनि धुलाम्मे बन्दै गएको देख्छु।

निरंकुशताको अन्त्य, प्रजातन्त्र र स्वतन्त्रताका लागि हजुरबुबाले ज्यान दिनुभयो। तर अहिले चाहिनेभन्दा बढी स्वतन्त्रता भएजस्तो लाग्छ। कोही कसैको नियन्त्रणमा छजस्तो लाग्दैन। अनुशासनको कमी देख्छु। जे भए पनि सडक अवरुद्ध, बन्द, तोडफोड - यी कुराले सभ्य नागरिक बनाउँदैन। (सुरेन्द्र पौडेलसँग कुराकानीमा आधारित)



 
म त सहिदकी छोरी पो रहेछु
रेणु श्रेष्ठ (सहिद धर्मभक्त माथेमाकी छोरी)
उहाँलाई तीनचोटि फाँसी दिनुपरेको थियो रे! पहिलोचोटि फाँसी दिन झुन्ड्याउँदा रुखको हाँगो लर्किएर भुइँमा गएछ। दोस्रोचोटि डोरी चुँडेछ


मलाई १७ वर्षसम्म मेरो बुबाको बारेमा थाहै थिएन। कालिङपोङमा हुर्केबढेँ म। माइलाबा (ध्रुवभक्त माथेमा) र माइलीआमाले मलाई हुर्काउनुभयो। उहाँहरूलाई नै म आफ्ना आमाबुबा ठान्थेँ। कालिङपोङमा आठ कक्षा पास गरेर काठमाडौं आएपछि पो मलाई थाहा भयो, मेरा आमाबुबा अर्कै हुनुहुँदोरहेछ। म बुझ्ने भैसकेकी थिएँ। बुबाको बारेमा थाहा पाएपछि मन भक्कानिएर आयो। मैले केही सोच्नै सकिनँ। पहिलोचोटि त पत्याउनै गाह्रो भो। गर्व पनि लाग्यो, 'म त सहिदको छोरी पो रहेछु। मैले केही गर्नुपर्छ।'

मैले पहिलोचोटि आफ्ना आमाबुबाको फोटो देखेको पनि त्यतिखेरै हो। त्यसअघि माइलाबा र माइलीआमाले फोटोसम्म देखाउनुभएको थिएन। सायद नरमाइलो मान्छे भनेर होला। निकै हृष्टपुष्ट हुनुहुँदोरहेछ मेरो बुबा।

त्रिभुवन सरकारले वि.सं. १९९४ सालतिर नेपाल प्रजा परिषद्का सदस्यलाई काठमाडौंमा समातेपछि हाम्रो परिवारलाई सर्वस्वहरणसहित देशनिकाला गरेछ। राजद्रोहको अभियोग थियो परिवारमाथि। त्यसपछि हाम्रो परिवारै भारत गएर बसेछ। देशका लागि ज्यानको बाजी लगाउने मान्छे नै राजद्रोही रे, कस्तो अचम्म! हाम्रो देशको विडम्बना नै यही हो। अहिलेसम्म पनि देशको भलो गर्नेलाई राम्रो मानिँदैन। पछि त्रिभुवन सरकारले तिमीहरू देश फर्केर आओ भनेर बोलाए र हामी फर्क्याैं।

बुबा पहिल्यैदेखि निकै हकी स्वभावको हुनुहुन्थ्यो रे। कसैले थिचोमिचो गरेको सहनै नसक्ने। राजा त्रिभुवन र महेन्द्र अनि राणा परिवारका व्यायाम प्रशिक्षकसमेत हुनुहुन्थ्यो रे। राणा शासनको निरंकुशता देखेर बुबासहित अरू केहीले १९९३ साल जेठ २० गते आफ्नै घर ओमबहालमा नेपाल प्रजा परिषद् खोलेर राणा शासनविरुद्ध गतिविधि सुरु गर्नुभएछ। त्यही बेलादेखि राणाहरूले बुबालाई कडा निगरानीमा राखेका थिए। परिषद्मा लाग्न थालेपछि बुबाले माइलीआमालाई भन्नुभएको थियो रे, 'यो टहुरीलाई उतै (कलकत्ता) लगेर पाल। मेरो केही ठेगान छैन। आज मार्छन् कि भोलि।' मेरी आमा भने त्यसअघि नै बितिसक्नुभएको रहेछ।

बुबाले देशका लागि ज्यानको माया मार्नुभयो। मलाई पनि उहाँको सम्मानमा केही गर्नुपर्छ भन्ने लाग्यो। जसरी सहिद सधैं अमर हुन्छन्, मैले पनि बुबाको नाममा अमर हुने काम गर्नुपर्छ भन्ने लाग्यो। २०३८ सालमा सैंबु भैंसेपाटीमा सहिद धर्मभक्त विद्यालय खोलेँ। १५ वर्ष प्रिन्सिपल भएर काम गरेँ। अहिले संरक्षक छु।

हुन त मलाई त्यति धेरै कुरा थाहा छैन, माइलाबाले भनेर थाहा पाएकी हुँ। हामी ओमबहालमा बस्थ्यौं रे। त्यहीँ प्रजा परिषद्को अफिस पनि थियो। त्यहीँबाट बुबाले गोप्य मिटिङ राख्नुहुन्थ्यो। पछि शत्रु लागेर पोल खुल्यो। सर्वस्वहरणसहित १९९७ साल माघ १३ गते बिहान काठमाडौंको सिफलमा फाँसीका लागि उहाँलाई लगियो। अहिले पनि बुबालाई यसरी मारियो, उसरी मारियो भन्ने सुन्दा निकै दुःख लाग्छ।

धर्मभक्तलाई व्यवस्थाले मार्न लाग्दैछ भनेर नरशमशेरले एकपल्ट सूचना पनि दिएका रहेछन् - सँगै फुटबल खेल्न जाँदा। भागेर भारततिर जान सल्लाहसमेत दिएका रे! तर, मेरो बुबाले 'नाइँ, जान्नँ। मैले के बिगार गरेको छु र! जे परे पनि सहन तयार छु' भन्नुभएछ। पछि उनै नरशमशेरसहित दुईजना पोडेले फाँसीमा चढाए।

१३ गते बिहान उहाँलाई सिफल पुर्‍याइएछ। उहाँलाई मार्नुभन्दा पहिले नरशमशेरले अन्तिम इच्छा सोधेका थिए रे। उहाँले भन्नुभएछ, 'मलाई राणाहरूको अन्त्य हेर्ने इच्छा छ।'

उहाँलाई तीनचोटि फाँसी दिनुपरेको थियो रे! पहिलोचोटि फाँसी दिन झुन्ड्याउँदा रुखको हाँगो लर्किएर खुट्टाले भुइँ छोएछ। दोस्रोचोटि डोरी चुँडेछ। बल्ल तेस्रोचोटि झुन्ड्याउँदा परान गएछ। कस्तो क्रुर रहेछन् त्यो बेलाका मानिसहरू! हुन त अहिले पनि बेलाबेलामा यस्तै क्रुरतापूर्वक मारिएको सुनिन्छ।

अहिले म विदेशमा बस्छु - अमेरिका। नातिनी सँगै छ, १२ मा पढ्छे। बस्न त यतै मन लाग्छ, तर यहाँको अवस्था देख्दा खिन्न लाग्छ।

चार सहिदको बलिदानपछि देशमा राणाशासन अन्त्य भयो। उहाँहरूले देखाएकै बाटो पछ्याएर बहुदलीय व्यवस्था आयो, गणतन्त्र पनि आयो, तैपनि सहिदको सही मूल्यांकन नभएजस्तो लाग्छ। राजनीतिक पार्टीहरूले आफ्ना कार्यकर्ताको मन जित्न जो पायो त्यहीलाई सहिद घोषणा गर्न थालेका छन्। 'दसलाखे सहिद'ले साँच्चिकै वास्तविक सहिदको अपमान भइरहेको छ। भारत नै हेरूँ न नेपालभन्दा धेरै गुना ठूलो छ, तैपनि त्यहाँ औंलामा गन्न सकिने मात्र सहिद छन्। (कञ्चन अधिकारीसँगको वार्तामा आधारित)  

 



दशरथ चन्द मार्ग
सन्तोष न्यौपाने

काठमाडौंको बालुवाटारमा 'दशरथ चन्द मार्ग' छ। सहिद दशरथ चन्दको नामबाट राखिएको यो मार्गमा उनका परिवारका पछिल्लो पुस्ता बस्छ। ३७ वर्षको अविवाहित उमेरमा देशका लागि ज्यान दिएका दशरथको आफ्नै रगतका सन्तान नभए पनि बहादुर सहिदसँग साइनो जोडिएकोमा उनीहरू गर्व गर्छन्। रगतको साइनो नजोडिए पनि उनीहरूको भावनाको साइनोले सिंगै नेपाललाई जोडेको छ।
'गर्व यसकारण लाग्छ दशरथले ज्यान दिएर देशमा प्रजातन्त्र ल्याए। सबै स्वतन्त्र भए। फुकेको घोडेजस्ता भए। चाहेको गर्न पाए र बोल्न पाए। तर पछिल्ला पुस्ताका छोराछोरीलाई यसको अनुभव भएजस्तो लाग्दैन,' दीर्घबहादुर चन्द (दशरथका ठूलोबुबाका नाति) भन्छन्, 'देशमा प्रजातन्त्र आयो अझ त्यसमाथि गणतन्त्र, तर के गर्नु छोराछोरीलाई सुरक्षाको अनुभव हुन सकेन।'
देशकै निम्ति ज्यान दिएका पुस्ताका सन्तान अहिले देशकै प्रतिकूल परिस्थितिका कारण विदेशिन बाध्य छन्। दीर्घबहादुरको मात्र होइन, दशरथसँग नाता जोडिएका पछिल्ला पुस्ताका छोराछोरी सबै विदेशमा छन्। कतिले उतै घरजम गरिसके। आफ्नो छोरा विदेशिनुको कारण खुलाउँदै उनले भने, 'यहाँ शिक्षादिक्षा राम्रो छ, तर न सुरक्षा छ, न राम्रो कामकै व्यवस्था।'
'देशका सबै युवामा उहिलेका वीर सहिदको जस्तो जोसजाँगर र देशभक्ति छ,' उनले भने, 'तर योग्यताको सम्मान छैन। पाँच-दस लाखको मूल्य तोकिन्छ अहिले।'
पुर्ख्यौली घर बैतडी भएका दशरथलाई राणाहरूले मार्ने बेला, उनको विवाहको कुरा चलिरहेको थियो। प्राध्यापक राजेश गौतमको 'अमर सहिद दशरथ चन्द र नेपालको प्रजातान्त्रिक आन्दोलन' नामक पुस्तकअनुसार दशरथ पक्राउ पर्नु केही समयअघि उनको प्रेमप्रसंग चलिरहेको थियो। तत्कालीन कमान्डर इन चिफ रुद्रशमशेरले दशरथलाई दरबारमा आवास दिएका थिए। उनकै छोरी जुलिया मैयासँग दशरथको प्रेम चलेको थियो। यत्तिकैमा उनीहरूको विवाह छिनियो।
यो १९८८ सालतिरको कुरा हो। त्यतिखेर राणा परिवारको कुनै सदस्यको मृत्यु भएकाले विवाह हुन सकेन। दोस्रोपटक पनि यस्तै घटनाले विवाह रोकियो। पछि जुद्धशमशेर र रुद्रशमशेरबीच द्वन्द्व भएपछि रुद्रलाई काठमाडौंबाट निकाला गरी पाल्पा पठाइयो। जुलिया मैया पनि बाबुसँगै पाल्पा गएपछि उनीहरूको विवाह स्थगन भयो। पछि बहादुरशमशेरले आफ्नी छोरीको विवाह दशरथसँग गराउने विचार व्यक्त गरे, तर दशरथले नमानेको पुस्तकमा उल्लेख छ। त्यसको केही समयपछि दशरथ राणा शासनविरुद्धमा लड्न थालेपछि उनको विवाह हुन सकेन।
दशरथका बाबुका तीन दाजुभाइ थिए। त्यसमध्ये जेठा दाजुकी दोस्रो पत्नीबाट जन्मेका नरबहादुर चन्दका चार छोरामध्ये दानबहादुरको परिवार क्यानडा बस्दै आएको छ। दानबहादुर रिटायर्ड पुलिस इन्सपेक्टर हुन्। कर्णबहादुर व्यापार गर्छन्। दीर्घबहादुर प्रमुख सेनानीका रिटायर्ड र हिक्मतबहादुर सहायक रथी छन्। अर्का दाजु शेरबहादुर चन्दका चार श्रीमतीमध्ये पहिलो श्रीमतीबाट तीन दाजुभाइ जन्मे। दशरथ माइला थिए। उनका भाइ चन्द्रबहादुर चन्द सन्यासी भई कता लागे, कसैलाई थाहा भएन। दाजु गोकर्ण चन्दबाट तीन छोरा जन्मे। भीम चन्द, गणेश चन्द र राम चन्द। यी परिवार काठमाडौंमै बस्दै आएका छन्।
दशरथका बाबुका कान्छा भाइ दलबहादुर चन्दका छोरा मानबहादुरबाट सात छोरा जन्मे। त्यसमध्ये गणेश, तिलक, हर्कबहादुर महेन्द्रनगरमा छन् भने सुरेन्द्र परराष्ट्रमा, जनक अर्थ मन्त्रालयमा उपसचिव र डम्मरबहादुर पाल्पा जिल्लाका प्रशासक छन्। दोस्रो श्रीमतीका छोरा ललित चन्दबाट जन्मेका नेपालभूषण चन्द नेपाली सेनामा जनरल छन्।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

समाज

onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली