
श्याम भट्ट, काठमाडौं, साउन २७- नेपालको पूर्वी हिमालय क्षेत्रमा वनस्पति र जीवका ९३ वटा नयाँ प्रजाति पत्ता लागेका छन्। यीमध्ये ४० वनस्पति, ३६ अमेरूदण्डीय प्राणी, ६ माछा, २ भ्यागुता र ९ छेपारोका नयाँ प्रजाति छन्। नयाँ फेला परेका ९३ प्रजातिमध्ये १० वटालाई नेपाली नाम 'नेपालेन्सिस' दिइएको छ।
जैविक विविधताको 'हट स्पट' मानिने नेपाल, भारत र भुटानमा फैलिएको पूर्वी हिमालयका तीन देशमा एक दसकसम्म गरिएको अनुसन्धानले वनस्पति र जन्तुका ३ सय ५३ प्रजाति पत्ता लगाएको छ। यीमध्ये २ सय ४२ वनस्पति र १ सय ११ जीव छन्।
एक दसकको यो अनुसन्धानलाई तीनै देशमा सोमबार एकैपल्ट सार्वजनिक गरिएको छ। नेपालका वनमन्त्री दिपक बोहरा, भुटानका कृषिमन्त्री ल्योन्पो पेमा ग्याम्छो र भारतका पर्यावरण एवं वन राज्यमन्त्री जयराम रमेशले यो सार्वजनिक गरेका हुन्।
नेपालस्थित लिभिङ हिमालयज नेटवर्क इनिसिएटिभ्स्का अगुवा तारिक अजिजका अनुसार जैविक विविधताको खानी पूर्वी हिमालयमा भेटिएका नयाँ प्रजाति विश्वका लागि गौरव हुन्। पवित्र मानिने यो क्षेत्रको संरक्षणको जिम्मा सबै देशको साझा एजेण्डा बन्नुपर्ने उनले बताए।
सन् १९९८ देखि २००८ सम्म भएको अध्ययनले वाषिर्क ३५ नयाँ प्रजाति भेटिएको जनाएको छ। अहिलेसम्म यस क्षेत्रको सम्पूर्ण जैविक विविधताको अध्ययन हुन नसकेको नयाँ पत्ता लगाइएका सयौं प्रजातिले स्पष्ट गरेको अजिजले बताए।
पूर्वी हिमालयबाट पत्ता लगाइएका १ सय ११ प्रजातिका जीवमध्ये ६१ अमेरूदण्डीय, १४ माछा, १६ उभयचर, १६ घस्रने प्राणी, २ चरा र २ स्तनधारी छन्।
नेपालमा पत्ता लागेका ४० वनस्पतिमध्ये ४ सुनाखरी छन्। सन् १९९५ मईमा सरिसृपविज्ञ करण शाहको टोलीले बाजुराको अगौपानी गाउँमा भेटेको हरियो रंंगको छेपारो विज्ञानकै लागि नौलो मानिएको छ।
सरिसृप विज्ञ शाहका अनुसार अध्ययन अनुसन्धान हुन नसकेको नेपालमा अनसन्धान गर्ने हो भने अझैं कयौं पहिचानमा नआएका प्रजाति भेटिन सक्छन्। बाजुराको अगौपानी गाउँबाट यसको नाम 'अगौपानी माउन्टेन लिजार्ड' राखिएको छ।
दोलखाको रोल्वालिङ उपत्यकामा भेटिएका गोगन, कपासे फूल र कुथको नामबाट परिचित वनस्पति 'साउस्युरिया रोल्वालेन्सिस'लाई सन् २००७ मा फुजिकावा र ओहबाले पत्ता लगाएका हुन।
चितवन राष्ट्रिय निकुञ्जमा भेटिएको बिच्छी 'हेटेरो मेटस नेपालेन्सिस' प|mँन्टिसेक कोमारिकले सन् २००४ मा पत्ता लगाएका हुन्।
डब्लुडब्लुएफ नेपालका राष्ट्रिय प्रतिनिधि अनिल मानन्धरले विभिन्न देशका विज्ञ र संस्था मिलेर गरेको अनुसन्धानलाई सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गर्दै भने, 'हामीकहाँ थुप्रै पत्ता नलागेका प्रजाति छन्, तिनको आगामी दिनमा अध्ययन हुनु पर्छ।''
पत्ता लगाइएका ६१ अमेरूदण्डीय प्राणीका प्रजातिमध्ये आधाभन्दा बढी ३६ वटा नेपालबाट छन्। नेपालबाट पत्ता लगाइएकामध्ये ३५ माकुरा र १ बिच्छीका प्रजाति छन्।
जर्मनीका डा. पिटर यागरले सन् २००१ मा 'पिस्योडोपोडा' जातिका ४२ नयाँ प्रजातिका माकुरा पत्ता लगाएका हुन्। यी माकुराको संकलन पूर्वी नेपाल, सिक्किम, दार्जिलिङ र पश्चिम भुटानमा भएको थियो। नेपाली माकुरोका तीन प्रजाति दुर्लभ मानिएका छन्।
पत्ता लगाइएका १४ प्रजातिका माछामा आधाजति नेपालका नदीनालामा संकलन गरिएका हुन्। नयाँ प्रजातिका माछाकोे संकलन डा. डेविड इड्सले गरेका थिए। ७ नयाँ प्रजातिका माछामध्ये ६ वटा सिंगे प्रजातिका 'क्याट फिस' हुन्। यीमध्ये सिंगेमाछा 'बटासियो म्याक्रोनोटस' कोसीमा भेटिएको हो। चितवन राष्ट्रिय निकुञ्जमा दुई नयाँ भ्यागुताका प्रजाति फेला परेका छन्। यसलाई 'चितवनेन्सिस' नाम दिइएको छ।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





