अमेरिका नेपाल मेडिकल सोसाइटी एएनएमएफ सदस्यको रुपमा अमेरिकास्थित साउर्दन इलिनोइस युनिभसर्सिटी स्कुल अफ मेडिसिन स्प्रीङफिल्डकी सहप्राध्यापक डा.संगीता बस्नेतको पहलमा यस्तो युनिट स्थापना गरिएको हो। एएनएमएफ चिकित्सकीय ज्ञान सीप र प्रविधिको आदानप्रदान गर्ने उद्देश्यले दश वर्षअघि स्थापना गरिएको संस्था हो।
सन् २००६ मा अस्पताल हातामा निर्माण गरिएको निक साइमन्स बल्कमा ६ बेडको न्यु नेटल आइसियू र ६ बेडको प्याड्रियटिक आसियू कक्षाको स्थापना यसै साता सकिएको छ। नेपालका विभिन्न अस्पतालमा रहेका आइसियू कक्षमा भ्यान्टिलेटरलगायतका उपकरण राखिए पनि बालबालिकाको उपचारका लागि अन्तर्राष्ट्रियस्तरका उपकरण र दक्ष प्राविधिक जनशक्तियुक्त सघन उपचार कक्ष छैनन्। अमेरिकाबाट आइसियुका विषयमा पोस्टग्य्राजुएसन गरेकी बस्नेतले सो सोसाइटीमार्फत् अभियान सञ्चालन गरेकी थिइन्। न्यु नेटल आइसियुले समय नपुग्दै जन्मिएका वा भर्खरै जन्मिएका बालबालिकालाई आमाको पेटभित्रको जस्तै तापक्रम र वातावरण बनाउन सहयोग गर्छं।
शिक्षण अस्पताल महाराजगन्जबाट एमबीबीएस गरेकी बस्नेतले अमेरिका बस्दा नेपाललाई सहयोग गर्नेबारे सोचेको बताइन्। 'बाल सघन उपचार कक्षको बारेमा विशेष अध्ययन गरेकोले र नेपालमा यसको अभावबारे पनि थाहा भएर प्रयास गरेकी हुँ'- बस्नेतले भनिन् 'पाटन अस्पताल निक साइमन्स फाउन्डेसन र एएनएमएफको सहयोगबिना यो सम्भव हुने थिएन।'
उनको अभियानलाई निक साइमन्स फाउन्डेसनले ३ लाख डलरको अनुदान दिएको थियो। दश वर्षदेखि नेपालमा प्रविधि र ज्ञान आदानप्रदानमा सहयोगी संस्थाको काम गर्दै आएको संस्था एएनएफएमका पूर्व अध्यक्ष एवं सोही विश्वविद्यालयका उपप्राध्यापक डा.जनक कोइरालाले नेपालमै यस्तो अत्याधुनिक युनिट खडा हुनुले नेपालको बालस्वास्थ्यको क्षेत्रमा थप योगदान भएको बताए। 'प्रत्येक सदस्यले संस्थाको छाताभित्र रहेर नेपाल र नेपालीलाई सहयोग गर्ने कार्यक्रम गर्नसक्छ'- उनले भने 'पछिल्लो पटक डा.बस्नेतको पहलमा यो कार्यक्रम सम्पन्न भएको हो।'
भर्खरै स्थापित युनिटको व्यवस्थापन र सञ्चालनका लागि पाटन अस्पतालका चिकित्सक एवं नर्सिङ स्टाफलाई तीन महिने विशेष तालिमसमेत सुरु गरिएको छ। 'प्रविधिक युनिट स्थापना गर्न मात्र होइन यसको दीगो साचालनको लागि पनि नेपालमै प्रविधिक जनशक्ति तयार पार्न यस्तो तालिम सुरु गरेका हौं'- डा.बस्नेतले भनिन्।
अमेरिकास्थित विभिन्न स्वास्थ्य संस्थाबाट आउने दक्ष जनशक्तिले अस्पतालका ४० जनाभन्दा बढी चिकित्सक र नर्सलाई विशेष तालिम दिन्छन्। जसमा झन्डै आधा चिकित्सक छन्। अमेरिकास्थित साउदन इलिनोइस युनिभसर्टी, स्टेफर युनिभसर्सिटी, डेनभर युनिभसर्टी, माइमी चिल्ड्रेन यूनिभसर्टीबाट डाक्टर नर्सलगायतका जनशक्ति नेपाल आउँछन्। नेपाल आउने चिकित्सकले आफ्नै खर्चमा र नस्रको हवाईजहाज भाडा एएनएमएफले र सबैको बस्ने खाने व्यवस्था पाटन अस्पतालले मिलाएको छ। 'पाटन अस्पतालको विशेष सहयोग र सक्रियताबिना यो कार्यक्रम सफल हुँदैन्थ्यो'- बस्नेतले भनिन्।
एएनएमएफले नेपालका चिकित्सकलाई मुलुकबाहिर विशेष खालको तालिमको अवसर जुटाइदिनुका साथै महिलाको पाठेघर खस्ने समस्यालगायत समस्यामा केन्द्रित भएर शिविर सञ्चालनका दर्जनौं कार्यक्रम गरिसकेको छ। पाटन अस्पतालमा आउने बालबालिकामध्ये झन्डै २० प्रतिशतलाई आइसियूको आवश्यकता पर्छ। भर्खर जन्मिएका बच्चा त्योभन्दा बढी उमेरका बच्चालाई छुट्टा-छुट्टै रुपमा यूनिट आवश्यक पर्छ। अस्पतालमा ५० बेडको बाल वार्ड छ।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook





