जेठभित्रै नयाँ नम्बर प्लेट

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, माघ २४ (नागरिक)- सवारी साधनहरूमा वैज्ञानिक पद्धतिको नम्बर प्लेट कायम गराउन गठित समितिले तोकिएको समय जेठभित्रै काम पूरा गर्ने जनाएको छ।

पूर्व सचिव वंशिधर घिमिरेको अध्यक्षतामा छ सदस्यीय सर्वाधिकार सम्पन्न यातायात क्षेत्र व्यवस्थापन तथा कार्यान्वयन विशेष समितिले अहिले राम्रो र सस्तो प्रविधिबारे अध्ययन भइरहेको बताएको छ।

रंग र स्वरूप निर्धारण हुन बाँकी रहेको नयाँ नम्बर प्लेटमा अञ्चल र नम्बरको बीचमा सेक्यूरिटी विवरणसहितको होलोग्राम स्टिकर राखिने हुँदा कसैले बदल्न नसक्ने श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताए। उनले भने, 'यसलाई आल्मुनियमको पातामा मेसिनद्वारा डिजाइन गरेर राखिने हुँदा सम्बन्धित मेसिनले मात्र पढ्न सक्छ।'

उपत्यका लगायतका क्षेत्रमा हाते नम्बर प्लेटका कारण सवारी चोरीका घटना बढेको ठहरसहित सरकारले वैज्ञानिक पद्धतिको नम्बर प्लेटको अवधारणा अघि सारेको हो।

'हाते नम्बर प्लेट जो कोहीले पनि बनाउन सक्ने हँुदा दुरुपयोग बढी भयो', प्रवक्ता भट्टराईले भने, 'नयाँ नम्बर प्लेट पूर्णतवरले वैज्ञानिक पद्धतिको हुँदा यसलाई कसैले बदल्न सक्दैन।'

नम्बर प्लेट जाँच्ने क्रममा मेसिनले सवारीको पूर्ण विवरणसमेत पढ्ने हुँदा हरेक वर्ष नवीकरण आवश्यक हुने उनले बताए। उनले भने, 'यसले गर्दा सवारी चोरी र त्यसको दुरुपयोगलाई नियन्त्रण गर्नुका साथै कर र राजश्व नियन्त्रणमा समेत सघाउ पुर्‍याउँछ।'

समितिका सदस्य तथा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक प्रेमकुमार सिंह सवारीहरूको नम्बर प्लेटमा बेग्लाबेग्लै सुरक्षा प्रबन्ध हुने हुँदा बढी प्रभावकारी हुने दाबी गर्छन्। अहिले प्रयोग भइरहेको लाइसेन्स पद्धतिलाई स्मार्ट कार्डमा बदल्ने कामसमेत यही समितिले गर्नेछ।

यातायात व्यवस्था विभागले यो कार्यक्रमलाई यही आर्थिक वर्षमा सकाउने लक्ष्य राखेको थियो। प्रवक्ता भट्टराईले भने, 'जेठभित्र समितिले नयाँ नम्बर प्लेट तयार परी आंशिक कार्यान्वयनसमेत गरिसक्नु पर्नेछ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

समाज