Nepal Republic Media Pvt. Ltd.

epaper
Thursday
Mar 18th

यसरी भयो जमिमको हत्या

smaller text tool iconmedium text tool iconlarger text tool icon
उच्च सुरक्षाका बीच आक्रमणकारी फरार-दूतावासका सुरक्षाकर्मी गोली चलेको हेरेर बसे-'कमजोरी भयो':प्रहरी प्रवक्ता
केपी ढुंगाना, काठमाडौं, माघ २५- उच्च सुरक्षा व्यवस्था रहेको लाजिम्पाटको बीच सडकमा टेलिभिजन सञ्चालक जमिम शाहको हत्या भएको छ। आइतबार मध्याह्न २:३५ बजे लाजिम्पाटमा रहेको फ्रान्सेली दूतावास नजिकै मोटरसाइकलमा आएका हतियारधारी आक्रमणकारीले उनी चढेको गाडीभित्रै गोली हानेर हत्या गरे। घटनामा उनका चालक समेत घाइते भएका छन्।

बायाँ कञ्चट र बायाँ कोखामा गोली लागेका शाहको शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भयो भने बाँया तिघ्रामा गोली लागेका चालक मालाकार खतरामुक्त अवस्थामा उपचार गराइरहेका छन्।

राष्ट्रपति निवास र प्रधानमन्त्री निवास सोही क्षेत्रमा रहेकाले उपत्यकाका अन्य क्षेत्रको तुलनामा लाजिम्पाट क्षेत्रमा सँधै उच्च सुरक्षा व्यवस्था गरिएको भए पनि आक्रमणकारीहरु प्रहरीको भीडबाटै सहजै फरार भए।


करिब एक सय मिटरको पेरीफेरीमा चार वटा दूतावास छन्। घटनास्थलको २० मिटर पश्चिममा भारतीय र बेलायती दुतावास रहेको छ भने ५० मिटर उत्तरमा इजरायली दुतावास छ।

घटनास्थलको १० मिटर अगाडि फ्रेन्च दूतावास छ। आइतबार बेलायती दुतावासमा बेलायती सेनाध्यक्ष आउने भएकाले सो क्षेत्रको सूरक्षा थप कडा थियो। दुतावासको सुरक्षामा नेपाल प्रहरीका तर्फबाट पाँच जना सुरक्षाकर्मी खटिएका हुन्छन्। घटना भएको क्षेत्रमा प्रहरीको तीन वटा बिट समेत छन्।






आइतबार साढे तीन बजे उपराष्ट्रपतिको सपथका लागि काठमाडौंको सडक चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति थियो। सपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका विशिष्ट पदाधिकारीहरु आउने भएकाले प्रहरीले सडकमा प्रहरीको बाक्लो उपस्थिति थियो।

घटना भएको समय फ्रेन्च दूतावासको सुरक्षा पोष्टमा नेपाल प्रहरीका सुरक्षाकर्मी थिए। तर उनीहरुले कुनै प्रतिकृया जनाएनन्।

प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका आक्रमणकारीले घटनास्थलमा करिब सात मिनेट समय बिताए र सहजै फरार भए। गोली हानेर मोटरसाइकलमा भाग्न खोज्दा मोटरसाइकल स्टार्ट नभएर उनीहरु अल्मलिएका थिए। सुरक्षाकर्मीको भीडबाट आक्रमणकारीहरु सहजै उम्किए।

प्रत्यक्षदर्शीका अनुसार बा १५ प ८७३३ नम्बरको एफजेड मोडलको मोटरसाइकलमा आएका २ जना आक्रमणकारी कालो पोशाकमा थिए। दुबैले कालो रुमालले आफ्नो आधा अनुहार ढाकेका थिए। उनीहरु जमिम चढेको ना १ च २१५१ नम्बरको मित्सुविसी पजेरो नाघेर केही अगाडि मोटरसाइकल रोकेर जमिम नजिकै गएर उनको कोखा र कञ्चटमा गोली हानेका थिए। पोष्टमार्टमबाट जमिमको बायाँ कोखामा दुई र बायाँ कञ्चटमा १ गोली लागेको देखिएको छ।

आक्रमणकारीले जमिमलाई गोली हानेपछि गाडी चालक मथुरामान मालाकारलाई पुनः गोली हानेर मोटरसाइकल चढेर पानीपोखरी हुँदै भागेका थिए।



प्रत्यक्षदर्शी सुर्यलाल महर्जनका अनुसार आक्रमणकारीले जमिममाथि गोली चलाइरहँदा फ्रान्सेली दुतावासमा खटिएका सुरक्षाकर्मी माथिबाट हेरेर बसिरहेका थिए। गोली चल्दा समेत उनले कुनै प्रतिकृया जनाएनन्। प्रत्यक्षदर्शी बनेर बसिरहे। गोली लागेर गम्भिर घाइते भएका शाहलाई बटुवाहरुले माइक्रोमा हालेर उपचारका लागि अस्पताल पुर्‍याएका थिए। चालक मालाकारलाई पनि बटुवाले नै उद्दार गरेर ट्याक्सीमा हालेर अस्पताल पुर्‍याएका थिए।

घटनाका प्रत्यक्षदर्शी मर्हजनका अनुसार घटनाको समयमा सडक हल्का जाम भएको थियो। गाडिहरु सुस्त चलिरहेका थिए। शाह पजेरोमा ड्राइभरसँगै सिटमा बसेका थिए। गाडीको झ्याल खुल्ला थियो भने, उनले गाडीको सिसा लगाउन खोज्दै थिए। बाइकमा आएका २ जनामध्ये एक जना नजिकै गएर भटाभट गोली हाने।

महर्जनका अनुसार बाईक जमिम चढेको गाडीभन्दा केही अगाडि रोकियो। आक्रमणकारी पुरै कालो पोशाकमा थिए। उनीहरुले आफ्नो मुख कालो रुमालले बाधेका थिए भने, कालो पाईन्ट र कालो ज्याकेट लगाएका थिए।


गोली लागेर जमिम गाडीभित्रै ढलेपछि ती आक्रमणकारी फर्किएका थिए। बाइकमा बसिरहेका अर्को आक्रमणकारीले बाइक नारायणहिटीतिर फर्कन घुमाए। तर बाईक स्ट्राट भएन। बन्दुक बोकेका आक्रमणकारीले पुनः फर्किएर गाडीको अगाडिबाट गोली चलाए। बाइकमा सवार आक्रमणकारीले दोस्रो प्रयासमा बाइक स्टार्ट गरे अनी दुबै जना महाराजगञ्जतिर गए।

प्रत्यक्षदर्शी अमित ढुंगानाका अनुसार गाडीबाट निकाल्दा नै शाह बेहोस थिए। उनको टाउको र जिउबाट रगत बगिरहेको थियो। माइक्रो चालकले शाहलाई शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएपछि आकस्मीक कक्षमा राखिएको थियो। अस्पताल पुर्‍याउँदा गम्भिर अवस्थामा रहेका उनी आकस्मीक कक्षमै रहँदा मृत घोषित गरियो। चालक मालाकारको बायाँ तिघ्रामा गोली लागेको छ। अप्रेशन गरेर उनको गोली झिकेपछि उनी अहिले खतरामुक्त छन्।

ढुंगानाका अनुसार गोली चलेर घाइते गाडिभित्रै हुंदा समेत कसैले रेस्क्यु गरेको थिएन। सबैजना वरिपरी झुम्मीएर बसिरहेका थिए। उनले भने 'गाडी सुस्त चलिरहेको थियो। एक्कासी गोली चलेको आवाज सुने। सबै गाडीहरु रोकियो। मेरो अगाडि माइक्रो बस थियो। के भएछ भनेर गाडीबाट बाहिर निस्कीए। नजिकै एक जना ट्राफिक प्रहरी थिए। एक जना प्रहरी दौडदै आए। वरिपरी मान्छेहरु झुम्मीए पनि घाइतेलाई गाडीबाट निकाल्न कोही तम्सिएका थिएनन्।' उनले अगाडि भने' ड्राइभरको सिटमा रहेको ब्यक्ति बोल्न सक्ने थियो। उसलाई तत्काल झिकेर ट्याक्सीमा हालेर पठायौं। घाइते एक जनामात्र होला भन्ठानेको अर्को सिटमा पनि मान्छे रगतमा लत्पतिएरको रहेछन। हतार हतार उनलाई पनि गाडीबाट निकाल्यौं। उनी होसमा थिएनन। सास पनि त्यत्ति चलेको थिएन। नजिकै निलो माइक्रो थियो। त्यसैलाई रोकेर उनलाई हालेर अस्पतालतिर पठायौं। त्यो बेलासम्म पनि अन्य प्रहरी घटनास्थलमा आईपुगेका थिएनन।'




घटनामा संगठित समूह संलग्न
सुरक्षाकर्मीहरुको बाक्लो भीडको बीचबाट अपराधी सहजै उम्किए पनि प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालयले आइतवार बेलुका उपत्यकाको सूरक्षा संयन्त्रको बारेमा समिक्षा गरेका छन। घटनाको समिक्षा गर्न प्रहरी प्रधान कार्यालयमा बसेको उच्च प्रहरी अधिकारीहरुको आकस्मिक बैठकले घटनामा उच्चस्तरको संगठित समूह संलग्न रहेको निष्कर्ष निकालेको छ।


प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जना ब्यक्तिलाई पक्राउ गरेको छ। तर घटनामा उनीहरुको संलग्नता देखिएको छैन। स्रोतले भन्यो'यत्रो घटना घटाउने उनीहरुको बुता देखिंदैन , तर केही जानकारी पाईन्छकि भनेर सोधपुछका लागि पक्राउ गरेका हौं।'


नाम उल्लेख गर्न नचाहने उच्च स्रोतका अनुसार प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानबाट आक्रमणकारीहरुले जमिमसंग केही समय कुरा गरेपछि बन्दुक निकालेर नजिकवाट गोली हानेको खुलेको छ। स्रोतले भन्यो घटनाको प्रकृति हेर्दा गोली निक्कै नजिकवाट हानेको पुष्टी हुन्छ।'

प्रहरीले लामो समयको जमिमको दैनिकी पत्ता लगाएर आक्रमण गर्ने दिन र स्थान पहिलानै तय गरी योजनाबद्ध रुपमा आक्रमण भएको निष्कर्ष समेत निकालेको छ। स्रोतले भन्यो'घटनाको प्रकृतीले नै पुष्टी गर्छ यो सामान्य अपराधीको काम हैन। घटनामा उच्चतहका संगठीत अपराधीहरु संलग्न छन।'

अनुशन्धानमा घटनामा ९ एमएम लाग्ने पेस्तोलको प्रयोग गरिएको पुष्टी भएको छ। जमिमलाई मार्ने उद्धेश्यले गाडिको बायां झ्यालवाट काखी र कञ्चटमा गोली हानेको र उनका चालकलाई घाइते बनाउन गाडिको अगाडिपट्टीबाट गोली हानेको देखिएको छ।
घटनामा प्रयोग भएको मोटरसाइकल चोरीको भएको समेत पुष्टि भएको छ। घटनामा एफजेड मोडलको मोटरसाइकल प्रयोग भएको छ। तर यातायात व्यवस्था विभागमा सो नम्बर कामपा वडा-४ का रामकुमार राईको नाममा सुजुकी मोडल दर्ता छ।

दरवारमार्ग प्रहरी प्रभागमा रहेको जमिम चढेको गाडिको अगाडिको सिसा चर्किएको छ भने विचमा एउटा मात्र प्वाल छ। गाडिको भित्र ह्यान्डब्रेकनिर रगत लागेको छ।


प्रहरीले घटनाका प्रत्यक्षदर्शी समेत रहेका चालक मालाकारवाट घटनाको बारेमा महत्वपूर्ण जानकारी पाउने आशा गरेपनि उनले आफुलाई केही थाहा नभएको बयान दिएका छन।

उपचारकाक्रममा अस्पतालमा रहेका मालाकारसंग प्रहरी टोलिले प्रारम्भीक बयान लिएको थियो। बयानमा उनले'गाडी सूस्त गतीमा रहेको बेलामा गोली हानिएको र आफु आत्तिएकाले केही थाहा नभएको बयान दिएका छन। उनले आक्रमणकारीहरुले मुख छोपेकाले चिन्न नसकेको बताएका छन।

बैठकमा सहभागी स्रोतका अनुसार प्रहरी अधिकारीहरुले जमिममाथिको आक्रमणलाई २०५५ सालमा मारिएका मिर्जा दिलसादवेगको हत्यासंग जोडेर समिक्षा गरिएको थियो। २०५५ असार १५ गते बेलुका साढे सात बजे मित्रपार्क पछाडि रहेको घर जानेक्रममा मिर्जालाई गोली हानेर हत्या गरिएको थियो।


अनुसन्धानकोक्रममा मिर्जाको हत्या भारतीय अन्डरबर्ल्डका कुख्यात अपराधी छोटा राजनले गरेको खुलेको थियो। प्रहरी अनुशन्धान रिपोर्टमा राजनको निर्देशनमा आठजना भारतिय नेपाल आएर २०५५ असार १५ गते मिर्जाको हत्या गरेको उल्लेख छ।


मिर्जाको हत्याका अभियुक्त मञ्जित सिंह (मग्गा सरदार) मिर्जा मारिएको १३ महिनापछि मारिएका थिए। बब्लु श्रीवास्तव भारतिय जेलमा छन। अन्य भारतिय अभियुक्तहरु फरार छन। नेपाली अभियुक्तहरु साफिक अहमद खाँ, सुरेन्द्रकुमार भण्डारी, पुष्पराज गौतम र सतीश गौतम हिरासतमा छन।


उच्च प्रहरीस्रोतका अनुसार जमिमको हत्यामा भारतिय अन्डरवल्डको संलग्नता रहेको आशंका गर्दै प्रहरीले हिरासतमा रहेका मिर्जाको हत्यामा संलग्न अभियुक्तहरुसंग सोधपुछ गरेको छ।



हामी झस्कियौँ : डिआइजी शर्मा
प्रधान कार्यालयमा बसेको उच्च सूरक्षा अधिकारीको समिक्षा बैठकले समयमै सूचना सम्प्रेशण हुन नसक्दा आक्रमणकारीहरु प्रहरीकैविचवाट उम्कन सकेको निष्कर्ष निकाल्दै उपत्यकाको सूरक्षाको जिम्मा पाएको आयुक्तको कार्यालयवाट गल्ती भएको निष्कर्ष समेत निकालेको छ।

घटनालगत्तै सो क्षेत्रमा रहेका प्रहरी अधिकारी र प्रहरी विटमा कार्यरत प्रहरीसंग घटनाको बारेमा सोधपुछ गरेको थियो। स्रोतका अनुसार विटमा कार्यरत प्रहरीले-गोली चलेको आवाज नसुनिएको' बताएकाले घटनामा साइलेन्सर जडित बन्दुक प्रयोग भएको आशंका गरिएको छ।

स्रोतले घटना भए लगत्तै दुतावासको शुरक्षामा खटिएका प्रहरीहरु सक्रिय नभएको निष्कर्ष समेत निकालेको छ। स्रोतले भन्यो'सायद उनीहरुले आफ्नो कार्यक्षेत्र दुतावासको शुरक्षा मात्र हो भन्ने बुझेक्यारे, समयमै उनीहरु परिचालीत भएको भए नतिजा अर्कै हुनसक्थ्यो।'
घटनाको बारेमा जानकारी लिन महानगरिय प्रहरी आयुक्त मदन खड्कासंग सम्पर्क राख्दा उनले बोल्नै चाहेनन। उनले भने'आज कुरा नगरौं म अपसेट छु।'

प्रहरी प्रवक्ता विज्ञानराज शर्माले भने दिउसै गोली हानेर आक्रमणकारी सहजै फरार भएकाले उपत्यकाको सूरक्षा व्यवस्थाको बारेमा प्रहरी प्रधान कार्यालय झस्किएको बताए। उनले भने'दिउसै गोली हान्दा पनि आक्रमणकारीलाई ट्रयास आउट गर्न सकिएन यसमा पक्कै कमजोरी भएको छ।'


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy

समाज

onlineversion

ब्लग

सुरेन्द्र पौडेल झुल्किँदो घाम केही कठोर भैसकेको छ। हाम्रो गन्तव्य - सुन्दरीजलबाट हिंडेर चिसापानी...

- सुरेन्द्र पौडेल