Friday 14 Kartik, 2071 |
Menu

राजनीति

'चुनाव बहिष्कार जनतालाई धोका'

  • शुक्रबार ११ श्रावण, २०७०
  • तिलक पाठक
  • DISQUS_COMMENTS
(0 votes)
काठमाडौं - मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले प्रतीकात्मक शैलीले मतपेटिका फुटाएर बिहीबार सुरु गरेको संविधानसभा चुनाव बहिष्कारलाई प्रमुख राजनीतिक दलका नेताले 'जनताप्रति धोका भएको' टिप्पणी गरेका छन्।
एकीकृत नेकपा माओवादीका नेता अग्नि सापकोटाले संविधानसभा चुनाव बहिष्कार गर्ने कार्य जनताको भावनाविपरीत भएको बताए। 'संविधानसभा चुनाव बहिष्कार गर्ने र बिथोल्ने कार्य देश र जनताको आवश्यकताविपरीत कार्य हो,' सापकोटाले नागरिकसँग भने, 'यो जनताप्रतिको धोका र विश्वासघात हो।' जनताले गरेको संघर्षको परिणाम नै संविधानसभा भएको बताउँदै सापकोटाले भने, 'अब यो उपलब्धिलाई मास्न खोज्नु जनताको हितविपरीत जानु हो।' 
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चुनाव बहिष्कार कार्य जनविरोधी भएको टिप्पणी गरे। 'उहाँ (वैद्य माओवादी) हरूको चुनाव बहिष्कार र बिथोल्ने कार्य जनविरोधी छ,' निधिले भने, 'संविधान नबनाउने यस किसिमको कार्य खेदजनक पनि छ।' 
संविधानसभा चुनाव नगर्नु सार्वभौमसत्ता सम्पन्न जनताको अपमान र खिलाफ भएको बताउँदै निधिले भने, 'नेपालको मालिक नेपाली जनता हुन् भन्ने विश्वास गर्नेहरू चुनावबाट भाग्न सक्दैनन्।' नेकपा–माओवादीले जनताको एजेन्डामाथि विश्वास नगरेको निधिको भनाइ छ।
एमाले नेता शंकर पोखरेलले चाहिँ वैद्य माओवादीले चुनाव बहिष्कार गरेर जनताको एजेन्डालाई नै बहिष्कार गरेको बताए। 'आफ्नो एजेन्डामा भरोसा भएका दलहरू जनतामा जाने गर्छन्। नेकपा–माओवादीलाई पनि आफ्नो एजेन्डामा भरोसा भए जनतासमक्ष जानु नै बुद्धिमानी हुन्छ,' पोखरेलले भने, 'अहिलेको अवस्थामा चुनाव बहिष्कार अभियान सम्भवै छैन।' 
एनेकपा माओवादी नेता सापकोटाले जनताले चुनाव चाहिरहेका बेला नेकपा–माओवादीले बहिष्कार गर्नुको औचित्य नभएको बताए। 'जनताको अधिकार खोसेर फेरि जनताकै हितको कुरा गर्नु आफैंमा विरोधाभाषपूर्ण र झुक्याउने चालबाजी हो,' सापकोटाले भने। दोस्रो संविधानसभाको विकल्प खोज्ने कार्यले देशलाई अराजकता र संकटतर्फ लैजाने बताउँदै उनले भने, 'चुनाव बहिष्कार गर्ने कार्यले उहाँ (नेकपा–माओवादी) हरू आफैं जनताबाट बहिष्कृत हुनुहुन्छ।' 
राजनीतिक समिति लचिलो हुँदाहुँदै पनि नेकपा–माओवादीले वार्ता र चुनावी प्रक्रियाबाट भागेर देशलाई अराजकता र संकटतर्फ लैजान खोजेको पनि सापकोटाको भनाइ छ। यसले परिवर्तन र अग्रगमनका विरोधी शक्तिलाई फाइदा पुग्ने बताउँदै उनले भने, 'यसबाट पनि उहाँहरूले कसको हित गरिरहनुभएको छ, त्यो खुल्दै जानेछ।' सहकार्यको कुरा गरेर राजावादीहरूको सहयोगी बन्दै गएको पनि उनले बताए। 'चुनाव बहिष्कार गर्ने रणनीतिक चालबाजी गरिराख्नुभएको छ। यसले उहाँहरूलाई नै घाटा पुर्यादउँछ। र, यो उहाँहरूका लागि आत्मघाती कदम हुनेछ,' सापकोटाले भने।
अघिल्लो संविधानसभालाई जोगाउन नसक्नु गम्भीर गल्ती भएको बताउँदै उनले भने, 'तर, एकपटक दुर्घटना भयो भन्दैमा अर्काे दुर्घटना निम्त्याउन खोज्नु यसअघिका उपलब्धिलाई पनि सिध्याउन खोज्नु हो।' 
अघिल्लो संविधानसभाले गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानुपातिक निर्वाचन प्रणाली, समावेशीकरणजस्ता विषयहरूलाई स्थापित गरेको बताउँदै नेकपा–माओवादीले ती उपलब्धिसमेत मास्ने प्रयत्न गरेको सापकोटाको भनाइ छ। 
एकपटक संविधानसभाले संविधान बनाउन नसकेकाले नेकपा–माओवादीले विकल्पस्वरूप संविधानसभाबाहिरबाट संविधान बनाउने अभिव्यक्ति दिएकोप्रति सापकोटाले भने, 'एउटा सन्तानको मृत्यु भयो भन्दैमा अर्काे नजन्माउने कुरा सृष्टिविरोधी कार्य हो।' साथै, संविधानसभाभन्दा बाहिरबाट संविधान बनाउने कार्य सर्वथा गलत भएको पनि उनले बताए। 
यता, एमाले नेता पोखरेलले पनि चुनाव बहिष्कार गर्ने र संविधानसभाभन्दा बाहिरबाट संविधान बनाउने नेकपा–माओवादीको सोच अतिवादी भएको टिप्पणी गरे। आफ्नो एजेन्डा जनतामा स्थापित गर्न चुनावमा जानुको सट्टा बहिष्कार गर्दा त्यस्तो शक्ति नै जनताबाट एक्लिने पनि उनले बताए। 'उनीहरूलाई चुनावमा आफ्नो पोजिसन राम्रो होला भन्ने विश्वास छैन। त्यसले बहिष्करणतिर जान उत्प्रेरित गरेको हुन सक्छ,' उनले भने, 'बहिष्कार भनिरहेको अवस्थामा कथंकदाचित चुनाव सर्यो भने आफ्नो राजनीतिक विजय हुन्छ भन्ने पनि सोचेका हुन सक्छन्।' 
झट्ट हेर्दा अहिले प्रमुख चारदलबीच चुनावका विषयमा एकरूपता नभए पनि नेकपा–माओवादीको बहिष्कारको उग्रताले प्रमुख शक्तिलाई एक ठाउँमा ल्याउने पनि उनले बताए। 'जति उनीहरू (नेकपा–माओवादी) उग्र हुँदै जान्छन्, त्यसले नै चारदललाई चुनावप्रति झन् बढी प्रतिबद्ध बनाउँदै लैजान्छ,' पोखरेलले भने। शान्ति–सुरक्षाको दृष्टिले केही चुनौती थपिए पनि यही कारण चुनाव नरोकिने पनि पोखरेलले प्रस्ट्याए। 'नेकपा–माओवादीको बहिष्करणले चुनाव हुने/नहुने कुरामा सरोकार राख्दैन,' पोखरेलले भने, 'प्रमुख चार राजनीतिक शक्ति प्रतिबद्ध हुने हो भने माओवादीले चुनाव रोक्न सक्दैन।'

राजनीतिक भागबन्डाले सहमति जटिल : भट्टराई

कठमाडौं– संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका अध्यक्ष बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमतिमा पुग्ने कार्य केही नेता र पार्टीको सत्ताप्रतिको चासोले गर्दा जटिल भएको बताएका छन्। कुनै पार्टीको नाम नलिई...

संघीयता बारे रसियन राजदूतले के भने?

काठमाडौं– नेपालका लागि रुसका राजदुत सेरेगेई भ्यासिलोभिच भेलिच्किनले यान्त्रिक पहिचानको आधारमा संघीय राज्य बनाउन नहुने सुझाव दिएका छन्। बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा राजदुत भेलिच्किनले सिमान्तकृत तथा पिछडिएका...

कोइराला, ओली र दाहाल गोप्य बैठक गर्दै

काठमाडौं– संविधान सभाका विवादित विषयमा सहमति जुटाउन सक्रिय मुख्य तीन दलका शीर्ष तीन नेताहरुले गोप्य बैठक गर्ने भएका छन्। आज अपरान्हका बबरमहल स्थित शान्ति कोषको सचिवालयमा तोकिएको बैठक विषय प्रवेश...

भट्टराईद्वारा सूर्यबहादुर र कमल थापाहरुसँग परामर्श

काठमाडौं— संविधान सभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बिहीबार पूर्वपञ्च एवं कम्युनिस्ट नेताहरुसँग सामुहिक परामर्श गरेका छन्। आज उनले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा, राप्रपा नेपालका अध्यक्ष कमल थापा,...

प्रदेशमा कांग्रेस–एमालेबीच सहमति

काठमाडौं- संविधान सभाका मुख्य दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले ६ वा ७ प्रदेशमा राज्यको संघीय पुन:संरचना गर्नेबारे सहमत भएका छन्।

१० दिनमा १४२ अभियुक्त पक्राउ

काठमाडौं-अदालतबाट भएको अन्तिम फैसला बेवास्ता गरेर बसेका अभियुक्तसँग कैद तथा जरिवाना असुल गर्न न्यायालयले अभियान थालेयता १ सय ४२ जना पक्राउ परेका छन्।

क्षतिपूर्ति बडापत्र लागु गर्न निर्देशन

काठमाडौं-राष्ट्रिय सतर्कता केन्द्रले क्षतिपूर्तिसहितको बडापत्र सञ्चालनमा ल्याउन सबै सरकारी निकायलाई निर्देशन दिएको छ। केन्द्रले सबै मन्त्रालयहरुलाई मातहतका निकायमा ढिलासुस्ती रोक्न क्षतिपूर्तिसहितको नागरिक बडापत्र सञ्चालनमा ल्याउन निर्देशन दिएको हो।

सार्क सम्मेलनको नारा- ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन'

काठमाडौं– आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौं शिखर सम्मेलनका लागि ‘शान्ति र समृद्धिका लागि गहन सम्मिलन' भन्ने नारा तय भएको छ। शिखर सम्मेलन आगामी मङ्सिर १० र...