Wednesday 19 Jestha, 2073 |
Menu

राजनीति

republica-headerdiscount-subscribe1

istl

एमाओवादीमा पश्चाताप र रुवाबासी

(1 Vote)
काठमाडौं - एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको जिम्मेवारी हेरफेर प्रस्तावप्रति अधिकांश केन्द्रीय सदस्यले असहमति जनाएका छन्। गुटगत प्रक्रियामार्फत नामावली आएको उनीहरूको आरोप छ।
nepali-patro-may

जिम्मेवारी बाँडफाँटसहित पेस गरिएको नामावलीप्रति असहमति सयभन्दा बढी सदस्यले मतदान प्रक्रियामार्फत नेता छान्नुपर्ने माग गर्दै हस्ताक्षर बुझाएका छन्। १२ पूर्व लडाकु कमान्डरले सामूहिक राजीनामा दिँदै बैठक बहिस्कार गरे।
तीन मधेसी नेता असन्तुष्टि जनाउँदै बैठकमा सहभागी नै भएनन्। जारी बैठकमा बोल्ने ३१ मध्ये दीनानाथ शर्मा र लीलबहादुर थापामगरबाहेक सबैले कार्यालयको प्रस्तावमा असहमति जनाए।
कार्यालयले महाधिवेशनले छानेका पदाधिकारी यथावत राख्दै सचिवमा कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेल तथा कोषाध्यक्षमा हिसिला यमीलाई प्रस्ताव गरेको छ।
पूर्व स्थायी समिति सदस्य अमिक शेरचन, लीलामणि पोखरेल र दीनानाथ शर्मालाई बढुवा गरिएको छैन। पोलिटब्युरो सदस्यको जिम्मेवारीमा रहेका हरिबोल गजुरेल, अग्नि सापकोटा, जनार्दन शर्मा, शक्ति बस्नेत, नन्दकिशोर पुन, देवेन्द्र पौडेल, लोकेन्द्र बिष्टमगर, गोपाल किराँती, राम कार्की, लेखराज भट्ट, विश्वभक्त दुलाल र नवप्रवेशी रामचन्द्र झालाई स्थायी समिति सदस्यमा प्रस्ताव गरिएको छ।
वैकल्पिक स्थायी समिति सदस्यमा स्वनाम साथी, हितराज पाण्डे, हेमन्तप्रकाश ओली, उर्मिला अर्याल, विश्वनाथ साह, प्रभु साह र श्रवण यादवको नाम परेको छ। पार्टी प्रवेश गर्दा स्थायी समिति पाउने भनिएकी उर्मिला अर्याललाई वैकल्पिक स्थायी समिति सदस्यमा राखिएको छ।
कार्यालयको प्रस्तावप्रति असहमति जनाउँदै स्थायी समिति सदस्यमा प्रस्तावित जनार्दन शर्माले पदबाट राजीनामा दिएको घोषणा मात्र गरेनन्, सयभन्दा बढी सदस्यको हस्ताक्षर अध्यक्ष पुष्पकमल दाहाललाई बुझाएका छन्। 'नेताको चाकरी, चाप्लुसी गर्ने र गुटबन्दीमा नरहेकालाई पाखा लगाउने काम जसरी भयो, त्यसले इमान्दार, त्याग र बलिदानको अवमूल्यन भएको छ। यसरी यो पार्टी चल्दैन' शर्माले भने।
'यो प्रस्ताव फिर्ता लिन आग्रह गर्दछौं। टीका लगाएर होइन, मतदानमार्फत नेता चयन गरियोस् भन्ने जोडदार माग पनि गर्दछौं,' देवेन्द्र पौडेल, लेखराज भट्ट, शक्ति बस्नेत, गोपाल किराँती, झक्कु सुवेदी, हेमन्त प्रकाश ओलीलगायत सय बढी केन्द्रीय सदस्यले अध्यक्षलाई बुझाएको पत्रमा उल्लेख छ।
'धेरै स्थानमा हामी अपमानित हुँदै आयौं। समायोजनमा अपमान हुँदा पनि हामीले सह्यौं। आज जिम्मेवारी दिँदा जनमुक्ति सेनाको भूमिकालाई अवमूल्यन गरियो,' पूर्व जनमुक्ति सेना कमान्डरका तर्फबाट बोल्दै कालीबहादुर खामले  भने, 'हामी १२ पूर्व जनमुक्ति सेनालाई केन्द्रीय कार्यालयको प्रस्ताव स्वीकार्य छैन। हामी सामूहिक राजीनामा घोषणा गर्दछौं।' लडाकु कमान्डरहरू नेतृत्वलाई 'देखाइदिने' धम्की दिँदै बैठक हलबाट बाहिरिएका थिए।
कार्यालयको सो प्रस्तावप्रति आपत्ति जनाउँदै भरत साह, दिलीप साह, अजयकुमार नायकलगायत मधेसी नेताले बैठक बहिस्कार गरेका थिए। मधेसी समुदायलाई केन्द्रीय समितिमा उचित स्थान नदिएको उनीहरूको गुनासो छ। उनीहरूले शनिबार बैठक सुरु हुनुअघि बिहान ९ बजे छुट्टै भेला बोलाएका छन्।
वैकल्पिक स्थायी समितिको जिम्मेवारी पाएका श्रवण यादवले जनयुद्धमा लडेकालाई अपमान गरिएकाले प्रस्ताव अस्विकार गरेको बताए। 'जनयुद्धमा लडेका र पार्टीमा रहेकालाई माथि तान्नु त कता हो, कता हिजो आएका चैतेलाई क्रेन लगाएर तान्ने काम गरियो,' यादवले बैठकमा भने, 'यो निकै अपमानपूर्ण कार्य हो।'
पोलिटब्युरो सदस्य हेमन्तप्रकाश ओलीले कार्यालयको प्रस्ताव समर्थन गर्न नसकिने घोषणा गरे। 'गुटगत आधारमा ल्याइएको यो प्रस्ताव स्विकार गर्न सकिँदैन। कुन विधि र नियममा टेकेर यो प्रस्ताव ल्याइएको हो? जवाफ चाहियो?' ओलीले बैठकमा भने, 'विधि र नियमभन्दा बाहिर गएर ल्याइएको यो प्रस्ताव फिर्ता लिनुहोस्।'
वैकल्पिक पोलिटव्युरोको जिम्मेवारी पाएका झक्कुप्रसाद सुवेदीले 'म र तँ' शीर्षक कवितामार्फत् असन्तुष्टि पोखे। 'म भनेको झक्कु हो र तँ भनेको अध्यक्ष हो,' कविताको शीर्षक व्याख्या गर्दै उनले भने – तैंले जे जे भनिस्, मैले त्यो त मान्दै गएँ, तैंले जे–जे भन्दै गइस्, मैले गर्दै गएँ तर आज तैंले मलाई किन निकै पीडा दिइस्। झक्कुले पार्टीमा लागेर सबैभन्दा पीडाबोध भएको दिनका रुपमा शुक्रबारलाई व्याख्या गरे।
अर्का केन्द्रीय सदस्य कृष्ण केसीले एमाले परित्याग गरी माओवादी हुन पुगेकोमा पश्चताप गरे। 'पार्टी परित्याग गरी माओवादीमा आएकोमा पहिलोपटक मलाई यति धेरै पीडाबोध भएको छ,' केसीले भने, 'यस्तो पीडा हुन्छ भने म किन पार्टी परित्याग गरेर माओवादीमा आउँथे र?'
बैठकमा प्रस्तावको पक्षमा बोलेका दिनानाथ शर्माले भने लामो संघर्षपछि आएको प्रस्तावलाई नरोक्न आग्रह गरेका थिए। 'मेरा चेलालाई मभन्दा माथि तानिएको अवस्था छ। म स्थायी समितिमा नै सीमित भएको छु,' शर्माले भावुक हुँदै भने, 'म त ६५ वर्षमा लागेँ। मलाई राजनीति गर्न पार्टीले दिँदैन। लामो संघर्षपछि आएको प्रस्तावलाई समर्थन गरिदिनु हुन अनुरोध गर्दछु।'



सचिव नपाए पार्टी छाड्छु : झा

नेकपा एमालेबाट विद्रोह गरी एकीकृत माओवादीमा प्रवेश गरेका रामचन्द्र झाले पूर्वसहमति अनुसारको जिम्मेवारी नपाए पार्टी त्याग्ने बताएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा सहभागी नभएका झाले पाँचभन्दा बढी पदाधिकारी थप्दा आफूलाई सचिव बनाउने सहमति कार्यान्वयन नभएको बताए।
'पदाधिकारीको झमेलामा म गइनँ। पाँचजना मात्रै पदाधिकारी हुँदा नवौं स्थानको स्थायी समिति सदस्य बन्ने,' उनले भने, 'पाँचभन्दा बढी पदाधिकारी भए सचिवमा लाने सहमति भएको हो।' पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति कार्यान्वयन नभएकाले बैठकमा जानुको औचित्य नदेखेको झाले बताए।
सहमति कार्यान्वयन नभए पार्टीमा पनि नजाने उनले बताए। 'सहमति एउटा गर्ने, अहिले भद्रगोल स्थायी समितिमा राखेपछि म जान्नँ,' झाले नागरिकसँग भने, 'सहमतिअनुसार जिम्मेवारी नपाए कुनै जिम्मेवारी लिन्न। कुनै जिम्मेवारीमा नबसे पार्टीमा रहने–नरहने कुरै भएन।'
झा माओवादीमा प्रवेश गरेपछि मधेसमा एमालेलाई ठूलो क्षति पुर्‍याएको निष्कर्ष माओवादीको थियो। एमाले पोलिटब्युरो सदस्य झा पार्टीभित्र 'पहिचानसहितको संघीयता'का पक्षधर थिए। उनी पहिचानको मुद्दामा पार्टीसँग असन्तुष्टि जनाउँदै एकीकृत माओवादीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

कर्मचारी ट्रेड युनियनको निर्वाचन सुरु

काठमाडौँ-निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन आज बिहान ९ बजेदेखि सुरु भएको छ ।

राज्य ढुकुटीबाट साढे ५ करोड लिएका कर्मचारी सार्वजनिक विदा गराएर मतदानमा

काठमाडौं— देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारमा भित्तामा ट्रेड युनियनको चुनावका पोष्टर टाँसिएका छन्। आ–आफ्नो दल निकटका कर्मचारी प्रचारप्रसार गर्दै पोष्टर टाँसेका हुन्।

बेपत्ताका आफन्तको गुनासोः ‘कानुनै नभए न्याय कसरी ?'

दाङ— ‘बिर्सेको घाउ कोट्याउन किन आउनु भा’छ ?,’ दाङमा केही दिनअघि बेपत्ता छानबिन आयोगका पदाधिकारीसामु डुरुवा–७ गब्दहवाकी ज्ञानु विष्टले गुनासो गरिन्, ‘कानुनै छैन भने मेरो श्रीमान् बेपत्ता पार्नेलाई कसरी कारबाही...

भूकम्पप्रभावित ८८ गाविस सचिवविहीन

काठमाडौं— भूकम्प प्रभावित १४ जिल्लाका ८८ गाविस सचिवविहीन छन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने सचिव नहुँदा स्थानीयले समयमै सरकारी सेवा पाउन सकेका छैनन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्को...

जाजरकोट एमालेमा समानान्तर कमिटी

जाजरकोट— नेकपा (एमाले) केन्द्रीय तहमा देखिएको विवादको असर जाजरकोटमा पनि परेको छ। एमाले भ्रातृ संगठन युवा संघ, जाजरकोटमा दुई समानान्तर समिति बनेपछि विवाद बाहिर आएको हो।

जिल्ला कमिटीमा ओली–नेपाल विवाद

दाङ— नेकपा (एमाले) दाङमा पार्टी केन्द्रीय अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष समानान्तर कमिटी गठनमा लागेपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको छ । एकअर्काको प्रस्ताव अस्वीकार गर्दै दुवै...

सर्वोच्चलाई दाहालको जवाफ : 'पुरानै अडान राख्दा कसरी मानहानि ?'

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतलाई अवहेलना मुद्दामा जवाफ दिँदै विस्तृत शान्ति सम्झौता र संविधान बमोजिम अभिव्यक्ति दिँदा अदालतको अवहेलना नहुने जिकिर गरेका छन् ।

बजेट सूचना छानबिन गर्न ३ महिना १५ दिन

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आर्थिक वर्ष २०७३/७४ को बजेट चुहाएको आरोप लगाउँदै संसद अवरुद्ध गरेपछि त्यसको छानबिन गर्न व्यवस्थापिका संसदले संसदीय विशेष समिति बनाएको छ। कांग्रेस सांसद रमेश लेखकको...