Wednesday 27 Magh, 2072 |
Menu

राजनीति

istl

थातथलो नै मेटायो भूकम्पले

  • बुधबार २२ पुष, २०७२
  • प्रवीण ढकाल/ ध्रुव दङ्गाल
  • DISQUS_COMMENTS
(0 votes)
थातथलो नै मेटायो भूकम्पले
दुरागाउँ (दोलखा)-भूकम्पपछिको नौ महिनामा ठाउँ सर्दै नवैवटा अस्थायी टहरो बनाइसकेका निरबहादुर थापा दसौं टहरो बनाउने थलो खोजिरहेका छन् । भूकम्पमा सर्वस्व गुमाएका उनलाई ठाउँ चहार्दै हिँड्न कुनै रहर छैन । 'बाँच्ने रहरले नि, हजुर !' उनले सुस्तरी भने, 'जहाँ टहरो हाल्यो, त्यहीँको जमिन धस्सिएपछि बाँच्ने जुक्ति त निकाल्नै पर्‍यो नि !'


nepalipatro-nagarik
सेपिलो साप्रा गाउँ । जताततै चिरा र धाँजा । धस्सिरहेको जमिन । कतै उठेका त कतै थ्याच्च बसेका । धाँजा छलेर बीचमा बनाइएको निरबहादुरको पछिल्लो टहरो जमिनसँगै धस्सिइरहेको छ । अर्को टहरो बनाउने थलोको खोजीसँगै गहिरो चिन्तामा डुबेका छन् उनी । भूकम्पअघि दुई घर र रोपनीका रोपनी जग्गाका मालिक अहिले रित्तिएका छन् । न उनीसँग घर छ न गरिखाने जग्गा । यहाँसम्म्म कि सद्दे दुई हात जमिन पनि छैन उनीसँग ।

भत्किएको घरछेउमै टहरो बनाएर भूकम्पको त्रासबाट बिस्तारै ब्यँुतिँदै चिरिएका धाँजा जमिन पुरेर उनले कोदो रोपे । असारमा गोडमेलमा निस्कँदा उनले पुरिएका धाँजा फाट्दै गरेको देखे । बर्खासँगै क्रमिक रुपमा धाँजा बढ्दै जमिन धस्सिन थालेपछि उनको परिवार धेरै टहरो फेर्दै थापाडाँडास्थित सुरक्षित स्थानमा विस्थापित भयो । बर्खा थामिएर चाडबाड सुरु भएसँगै थातथलो फर्केका निरबहादुरले यहीँ पनि धाँजा छल्दै केही टहरो बनाउन भ्याइसके तर जमिन धस्सिन छाडेको छैन ।

'जाऊँ त कहाँ, जाने कुनै ठाउँ छैन । नजाऊँ त यो ठाउँमा बाँच्ने आसै भएन,' निरबहादुरले सुस्केरा छाडे, 'जेठसम्म जेनतेन बाँचिएला । यस्तै हो भने आउँदो बर्खामा मरिन्छ कि बाँचिन्छ, थाहा भएन ।'

६ सदस्यीय परिवारका मूली निरबहादुरलाई मानो, छानो र न्यानोभन्दा कसरी बाँच्ने भन्ने नै चिन्ता छ । यो बर्खामै मरिन्छ भन्ने सोचेका उनी अहिलेसम्म बाँच्नुलाई भाग्य ठान्छन् । बर्खामा मुसलधारे झरी पर्दा बस्तुभाउ छाडेर बाँच्ने धुनमा धेरैपटक भागेको तितो अनुभूति छ थापा परिवारसँग ।

'बर्खामा पानी नपरिदिए हुन्थ्यो भनेर भगवान पुका¥यौं । नभन्दै पोहोर–परारभन्दा निकै कम पानी प¥यो,' निरबहादुर सुनाउँछन्, 'आकाश धुम्म हुँदा अहिले पनि मन आत्तिन्छ ।'

भूकम्पअघि उनको घरअघिको फराकिलो बारीको पाटोमा गाउँका युवा फुटबल खेल्थे । यही जमिन अहिले धाँजा फाटेर चार चिरा बनेको छ । कतै खाल्डा छन्, कतै भिरालो बनेर माटो बहिरहेको छ । 'जग्गै नरहेपछि सरकारले घर बनाउन दिने भनेको २ लाख रुपैयाँ पनि कहाँ खर्च गर्नु,' उनको पिरलो छ ।

सम्पत्तिका नाममा घर मात्रै भएकी ३८ वर्षीया हरिमाया सुनुवार बन्धकमा अर्काको जमिन कमाएर बिहान–बेलुकाको गर्जो टार्थिन् । भूकम्पले घर त ढाल्यो नै, कमाइ खाने जग्गा कामै नलाग्ने गरी धाँजा, चिरा र ठुल्ठूला खाडलसहित धस्सिएपछि गरिखाऊँ कि मरिजाऊँको अवस्थामा पुगेकी छन् उनी । घर रहेको एक टुक्रा जमिनसमेत भास्सिँदा उनको १० सदस्यीय परिवार त्यही असुरक्षित ठाउँमा टहरो बनाएर बसेको छ । ठूलो परिवारलाई मजदुरीले खान नपुगेपछि उनले ४० हजार रुपैयाँ बन्धक बुझाएर तीन वर्षदेखि साहुको जग्गा कमाउन थालेकी थिइन् । चार मुरी मकै र तीन मुरी कोदो उब्जनीले जीवन गुजारामा ठूलो भरथेग गरेको थियो ।

'खानाको के चिन्ता भो र बासै उठेपछि,' धस्सिएको जमिन देखाउँदै उनले भनिन् । पहिरो लागेजसरी धस्सिएको यही जमिनले उनको अस्थायी टहरो पनि तान्दैछ । कतै जाने ठाउँ नहुँदा उनको परिवार त्यही जोखिममा भगवान पुकारेर बसिरहेको छ । जमिनमा खेती लगाउने अवस्था नरहे पनि साहुले बन्धक फिर्ता नगरेको गुनासो उनी गर्छिन् ।

हरिमायाका अनुसार जमिनमा कमाइ गर्न छाडेका दिन बन्धकमा राखिएको रकम फिर्ता हुने पूर्वसहमति थियो । 'कमाउने अर्को जग्गा देखाइदिँदैनन् । पैसा पनि फिर्ता गर्दैनन्,' मलिन अनुहारमा उनी भन्छिन्, 'मर्नु न बाँच्नु भो !'

निरबहादुर र हरिमायासँगै शून्यमा झर्दैछ उनीहरुको दुरागाउँ पनि । उत्तर–पूर्वी रामेछापको सबैभन्दा विकट गाविस दुरागाउँ भूकम्पपछि धाँजा र चिरासँगै धस्सिएर साब्रोखोलातिर झरिरहेको छ । दुरागाउँ–५ र ६ का सबै जमिन १० देखि ५० मिटर तल झरिसकेको छ । कतै ठूला पहिरा छन् त कतै खाडलै खाडल । चिरा र धाँजा त कत्ति हो कत्ति । १ सय ५७ परिवार बसोबास गर्ने दुवै वडाका सबै गाउँबस्ती तलतिर धस्सिँदै छन् । अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्थाका भूकम्पपीडित कतै जाने विकल्प नहुँदा धाँजा, चिरा छलेर टहरो सार्दै जोखिममै बसिरहेका छन् ।

'धेरै परिवारले पाँचपटकभन्दा बढी टहरो सारिसकेका छन्,' स्थानीय अगुवा हरिकुमार सुनुवार भन्छन्, 'प्राविधिकले गाउँमा नबस्न भनिसकेका छन् ।' गाउँका पुराना विकासे कार्यकर्ता सुनुवारका अनुसार दसैंअघि साप्रा गाउँछेउ धाँजाको गहिराइ पत्ता लगाउन बाँसको सहारा लिँदा पूरै छिरेको थियो । यो घटनापछि बर्खामा भलबाढी छिरेर गाउँका गाउँ बगाउने निष्कर्षमा पुगेका गाउँले अहिले पनि आकाश कालोनिलो हुँदा रातभर सुत्न सक्दैनन् । जोखिम मोलेर बसेका उनीहरु स्यार्रर पानी पर्दा पनि भागदौड गर्छन् ।

दुइटा वडा घेरेर निकै फराकिलो चकालो गोलो आकारमा क्रमशः धस्सिइरहेको छ । एउटै बारीको पाटो तीन–चार टुक्रा बन्दा उक्लन र ओर्लन नसकेपछि ठाउँ–ठाउँमा राखिएको भ¥याङ र लिस्नोबाट जमिन कति भास्सियो भन्ने सहज अनुमान लगाउन सकिन्छ । ५ नं वडाका साप्रा, सद्गाउँ, ६ का थापाडाँडा, तम, चिउरीडाँडा, कात्तिके, पुन्दी र ओखरेनी गाउँ धस्सिँदै साब्रोखोलातिर झर्दैछन् । यो खोलाले जमिन कटान गर्दा सबैभन्दा मुन्तिरको ओखरेनी गाउँका तीन घर पहिरोले बगाइसकेको छ । स्थानीयका अनुसार भूकम्पले सामान्य मात्र क्षति गरेका ती घर पहिरोले तानेको थियो ।

माथि साप्रा गाउँबाट जमिन धस्सिरहेको छ भने तल ओखरनी र चिउरीडाँडा गाउँबाट पहिरो गइरहेको छ । बीचका टाकुरेडाँडा, चिउरीडाँडालगायत गाउँ चेपुवामा छन् । चिउरीडाँडाका ७७ वर्षीय नरबहादुर भुजेलले ४ लाख रुपैयाँ खर्चेर यसै वर्ष घर बनाए । भूकम्पले नढालेको घर बस्न लायक थियो । जमिन धस्सिँदा उनको घर बांगिएको मात्र छैन, पहिरोले तलतिर तानिरहेको छ । 'टाकुरेमा टेन्टमा बस्छौं । टेन्टभित्रै जमिन चिरा पर्दैछ,' उनले भने, 'छिर्नै नपाई नयाँ घरको सत्यानास भो, गरिखानै सबै जग्गा पहिरोले खोलामा पु¥याइसक्यो ।'

पिछडिएका सुनुवार, तामाङ समुदाय बाहुल्य दुरागाउँ वैशाख १२ को भूकम्पबाट रामेछापमा सबैभन्दा बढी जनधन क्षति पुगेको गाविस हो । भूकम्पबाट नौ जनाको ज्यान गयो भने सबै ७ सय ७२ घरमा क्षति पुग्यो । 'गाविसका १ देखि ८ नं वडाका १ सय ९८ घरपरिवार विस्थापित गरेर अन्यत्रै स्थानान्तरण गर्नुपर्ने खाँचो छ,' सचिव लेखनाथ चौलागाईंले भने, 'वडा नं ५ र ६ बढी प्रभावित छ । यहाँको जमिनै खतरामा छ ।' गाउँको अवस्थाबारे सदरमुकाम मन्थलीमा रहेको प्रशासनलाई जानकारी दिएको उनले बताए ।

दुरागाउँलाई अहिलेसम्म सडक बाटोले छोएको छैन । मोटरबाटो नपुगेको यो गाविस जिल्लामै एक मात्र हो । सडकबाटो पुगेको सैपुको धोबीबाट तीन घन्टा पैदल हिँडेपछि दुरागाउँ पुगिन्छ । मोटरबाटो पुगेको सैपुकै ढाँडे प्रयोग गर्दा नाकै ठोक्किने उकालो चढेर दुई घन्टा हिँड्नुपर्छ । नाम मात्रको कच्ची सडक बर्खामा तीन महिना बन्द हुन्छ । सदरमुकाम पुगेर एकै दिनमा फर्कन भ्याइँदैन ।

धाँजा र चिरासँगै कामै नलाग्ने गरी सबै जमिन धस्सिँदा गाउँलेसँग टहरो बनाउन पुग्नेसम्म सुरक्षित जमिन छैन । विकल्प नभएकै कारण गाउँ छाड्न नसक्दा जोखिम मोलेर बस्नुपरेको स्थानीय बताउँछन् । भिरालो जमिन बग्न थालेपछि टाकुरेडाँडा र आसपास विस्थापित भएका चिउरीडाँडा र ओखरेनीका १७ परिवार अरूको जग्गा भाडा तिरेर टहरो बनाउन बाध्य छन् । समथर टाकुरे पनि धाँजा र चिराबाट अछुतो छैन । 'समथर भएकाले केही सुरक्षित ठानेर बसेका हौं,' ४५ वर्षीय विस्थापित पदमबहादुर थापा भन्छन्, '६ महिनालाई प्रतिपरिवार १५ सयका दरले भाडा तिरेका छौं ।'

धाँजा, चिरा, खाल्डा, पहिरोले खेतीपाती, बालीनाली मेलो बन्द छ । अहिलेसम्म राहत पुगेकाले दुई छाक खान भने समस्या छैन । दाताले दिन छाडेपछि के खाने भन्ने चिन्ता छ । शीत चुहिने अस्थायी टहरोमा बसिरहेका गाउँलेलाई ठन्डीको पर्वाह छैन । उनीहरु सुरक्षित ठाउँमा सर्न चाहन्छन् । घर बनाउने जमिन नहुँदा नवनिर्माणमा २ लाख रुपैयाँ अनुदान र सहुलियत ब्याजदरमा थप ऋण दिने सरकारी घोषणाले दुरागाउँमा कुनै उत्साह ल्याउन सकेको छैन ।

त्यो पैसा निर्माणमै खर्च गर्नुपर्छ । अन्य काममा खर्च गर्न पाईँदैन । उनीहरु सुरक्षित स्थानमा घडेरी चाहन्छन् । बर्खा नजिकिँदै जाँदा गाउँले कहालिन थालिसकेका छन् । 'मर्न लाग्दा नि सरकारले हेरेन,' ३८ वर्षीय ठगबहादुर सार्कीले दुखेसो पोखे, 'यो बर्खामा भाग्यले बाँच्यौँ । अर्को बर्खामा मरिएलाजस्तो छ ।' ओखरेनी गाउँ साब्रोखोलाले तान्न थालेपछि थापागाउँमा विस्थापित उनको ६ सदस्यीय परिवार अहिले फेरि त्यही जोखिम ठाउँमा फर्केको छ ।

'सरकारले घडेरी मात्र दिए जसोतसो आफैं घर बनाउँथ्यो,' उनले भने ।

सरकारसँग गाउँलेको ठूलो गुनासो छ । दुई जना राष्ट्रपति गाउँ आए पनि सुरक्षित बासनिम्ति कुनै पहल नभएकोमा उनीहरुले चित्त कुँडाएका छन् । भूकम्पपछि तत्कालीन राष्ट्रपति डा. रामवरण यादव हेलिकप्टर चढेर गाउँ आए । सँगसँगै बहालवाला राष्ट्रपति विद्या भण्डारी (तत्कालीन एमाले उपाध्यक्ष) पनि यसैगरी आएकी थिइन् । सुरक्षित स्थान त्रिपुरेश्वर उच्च माविमा ओर्लेका उनीहरु नजिकको जोखिम गाउँ नपुगेको स्थानीय राजनीतिक कार्यकर्ता कमल सुनुवार बताउँछन् ।

'हेलिकप्टरबाटै फन्को मारेर फर्किए,' उनले भने, 'केही गर्लान् कि भन्ने आसमा थियौं तर हेरेनन् ।'

यस क्षेत्रका सांसद आङटावा शेर्पा भूकम्पको नौ महिना बित्दा एकपल्ट पनि सबैभन्दा बढी प्रभावित यस गाउँ आएका छैनन् । आफूले निर्वाचित गरेर पठाएका सांसद दुःखसुख सोध्न नआएकोमा दुरागाउँबासी उत्तिकै खिन्न छन् । कांग्रेसबाट निर्वाचित उनको पक्षमा झन्डै १२ मत खसेको मध्ये ८ सय भोट झरेको थियो यही गाउँबाट । 'गाउँमा धेरै नेता हुँदा पनि पछि परिँदोरहेछ,' पीडितको गुनासो छ । उनीहरुका अनुसार सरकारले भूकम्प प्रभावित क्षेत्रका जोखिम बस्तीको अध्ययन गर्न विज्ञ सम्मिलित सम्बन्धित क्षेत्रका सांसद खटाए पनि शेर्पा टोली दुरागाउँ पुगेन । टोली ओखलढुंगा सीमा ढाँडेबाटै फर्केको थियो । सांसद शेर्पा टोलीले बुझाएको प्रतिवेदनमा दुरागाउँबारे के उल्लेख गरिएको छ, गाउँलेलाई अहिलेसम्म पत्तो छैन ।

प्रतिक्रिया

कोइरालाको किरियामा भतिजा अतुल बस्ने

काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको किरियाकर्ममा उनका भतिजा अतुल कोइराला बस्ने परिवारले जनाएको छ।

कोइरालाको निधनले एशियाको राजनीतिमा असर: भारतीय नेता

काठमाडौँ-पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनले समग्र एसियाको राजनीति विकासमा असर पुर्याउने भारतीय प्रधानमन्त्रीका पूर्व राजनीतिक सल्लाहकार डा. एच एन शर्माले बताएका छन् ।

सहमति गर्न कार्यदल असफल: अन्ततः चुनाव हुने

बाजुरा–नयाँ नेतृत्व सर्वसम्मत चयन गर्न बनेको पाँच सदस्यीय कार्यदल असफल बनेको छ। सर्वसम्मत नेतृत्व चयनका लागि आवश्यक परामर्श गरी एकताको अधिवेशनको सन्देश दिने लक्ष्य सहित गठन भएको कार्यदल अन्ततः असफल...

कोइरालाको शोकमा गृहजिल्लाका उद्योग व्यवसाय बन्द

नेपालगन्ज–नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको असामयिक निधनप्रति शोक स्वरुप बुधबार बाँकेका उद्योग, व्यवसाय बन्द गरिएको छ। नेपालगन्ज उद्योग वाणिज्य संघको आह्वानमा उद्योग, व्यवसाय बन्द गरिएको हो।

कोइरालाको निधनले चितवन शोकमा

कोइरालाको निधनले चितवन शोकमा

चितवन–सुशील कोइरालालाई संविधानसभा सदस्यमा चितवनवासीले पनि विजय गराए। दोस्रो संविधानभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं. ४ मा काँग्रेसका उम्मेद्वार कोइरालाले अत्याधिक मत ल्याएर जित हाँसिल गर्दा खुसी भएका चितवनवासी अहिले...

प्रधानमन्त्री हुँदा पनि कार्यकर्ताकै घरमा

पोखरा-भर्खर नयाँ घर बनेको छ । टिभी जोडिएको छैन । सुशील कोइराला बितेको खबर सुन्नासाथै पति अर्जुन कुँवर काठमाडौं हान्निएपछि मीनालाई छटपटी भयो । के भयो होला कसो भयो होला...

'ढुक्क हुनुस्, मधेसी रणनीति बनाउँछु'

झापा-पछिल्लो समय पार्टी महाधिवेशनसँगै सुशील कोइराला मधेसबारे अलग रणनीति बनाउने सोचमा थिए । खासगरी पार्टीका युवा नेताले आन्दोलनका बीच मधेसका आठ जिल्ला घुमेर निर्माण गरेको प्रतिवेदन पढेपछि उनले टोली नेता...

अभिभावक गुमेको पीडा

अभिभावक गुमेको पीडा

कोहलपुर-नेपालगन्ज उपमहानगरपालिका विस्तार, चार लेनको सडक र व्यापारिक मार्ग बनाउने घोषणा, बृहत चक्रपथ, नेपालगज विमानस्थल स्तरोन्नति, भेरीअञ्चल अस्पतालमा हृदयरोग केन्द्र स्थापना गर्ने, न्युरोलोजी केन्द्र स्थापना गर्ने र सर्पदंशका बिरामीका लागि...