पूर्ण बस्नेत, हङकङ, माघ २६- चीनले सुपुर्दगी सन्धि गर्न फेरि आग्रह गरेको छ। गृहमन्त्री भीम रावलसँग सोमबार बेइजिङमा भएको छुट्टाछुट्टै वार्तामा चीन सरकारका जनसुरक्षा मन्त्री मङ जियान्जु र चिनियाँ कम्युनिष्ट पार्टीका स्थाई समिति सदस्य चाउ योङ खाङ तथा उप विदेशमन्त्री हु चङ्वेले यस्तो आग्रह गरेका हुन्।
वार्तामा संलग्न बेजिङस्थित राजदूत टंक कार्कीका अनुसार नेपालमा चीन विरोधी गतिविधिमा संलग्न हुनेहरूलाई फिर्ता गर्नका लागि भन्दै प्रस्तावित सुपुर्दगी सन्धिलाई अगाडि बढाउन चीनले आग्रह गरेको हो।
चिनियाँ पक्षले सन्धिको कुरा उठाएपछि यस बारे छलफल चलाउँदै जाने तर संक्रमणकालीन राजनीतिक अवस्थाका कारण तत्काल सन्धि गर्न नसकिने अडान नेपाली पक्षले राखेको राजदूत कार्कीले बताए।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा एक वर्ष पहिले चीनले नेपालसमक्ष सुपुर्दगी सन्धिको गोप्य प्रस्ताव राखेको थियो। तर राजनीतिक अस्थिरताका कारण दाहालको चीन भ्रमण स्थगित भएपछि यो विषयमा थप छलफल भएको थिएन। डेढ महिना पहिले प्रधानमन्त्री माधव नेपालको चीन भ्रमणको क्रममा सुपुर्दगी सन्धि बारे सामान्य छलफल मात्र भएको थियो।
दुई साता पहिले गृहमन्त्री भ्रमणमा जाँदा भारतले सुपुर्दगी सन्धि गर्न र काठमाडौँबाट उड्ने इण्डीयन एयरलान्समा एयर मार्शल राख्ने सहमती गर्न आग्रह गरेको थियो।
त्यसपछि चीन आएका गृहमन्त्रीलाई बेइजिङले पनि त्यस्तै प्रस्ताव राखेको हो। तर काठमाडौँबाट उड्ने चाइन एयरलाइन्समा एयर मार्शल राख्ने बारे वार्तामा कुनै चर्चा भएन।
बेइजिङ वार्तामा संलग्न गृह प्रवक्ता जयमुकुन्द खनालका अनुसार तिब्बतको सिमावर्ती भेगमा हुने अपराध नियन्त्रणका लागि गृहमन्त्रालय स्तरमा सुरक्षा संयन्त्र बनाउने सहमती भएको छ। यो संयन्त्रले सिमा अपराध सम्बन्धी सूचना आदान प्रदान लगायतका विषयमा सुरक्षा र कर्मचारी तहमा काम बताइएको छ।
नेपालको सुरक्षा निकायलाई सुदृढ गर्न चीनले करिब दुई करोड बराबरको सहयोग दिने भएको छ। गृहमन्त्री रावल र चिनियाँ जनसुरक्षा मन्त्री मङबीच यससम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। यो सहयोग अन्तर्गत चीनले सुरक्षा उपकरण दिने प्रवक्ता खनालले बताए। नेपालले प्रहरीलाई तालिम लगायत सुरक्षा निकायलाई सुदृढ गर्न थप सहयोगको आग्रह गरेको थियो। खनालका अनुसार थप सहयोगका लागि पनि चीन सकारात्मक छ।
हङकङमा नेपालीका लागि भिसा खुला गर्न नेपालले राखेको प्रस्तावमा सकारात्मक प्रतिक्रिया जनाउँदै बेइजिङले सम्बन्धित निकाय र विभागमा निर्देशन दिने जनाएको छ। पाँच वर्षदेखि भिसा बन्द गरिएपछि नेपालीहरूले हङकङ आउन कठिनाई सामना गर्दै आएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य चाउ योङ खाङ तथा उप विदेशमन्त्री हु चङ्वेले पहिला गृहमन्त्री रावलको टोलीसँग ग्रेट हल अफ द पिपुलमा आधा घण्टा सुरक्षा मामिला र दुई देशबीचको सम्बन्ध बारे वृहत् छलफल गरेका थिए। त्यसपछि जनसुरक्षा मन्त्री मङ जियान्जु र सुरक्षा अधिकारीहरू संलग्न चिनियाँ टोली र नेपाली टोलीबीच आधा घण्टा छलफल भएको थियो।
सोमबार बेइजिङ पुगेका गृहमन्त्री रावलले द्विपक्षीय वार्ताको शुरुमै चिनियाँ सुरक्षा चासोलाई सम्बोधन गर्दै नेपालको भूमीबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्याएका थिए। चिनियाँ पक्षले नेपालको शान्ति प्रक्रियाप्रति समर्थन जनाउँदै आर्थिक उन्नतीमा सकेसम्म सघाउने वचन दिएको छ।
साताव्यापी चीन भ्रमणका क्रममा तिब्बतको ल्हासा, छेन्दू हुँदै तेस्रो दिन बेइजिङ पुगेका गृहमन्त्री रावलको औपचारिक कार्यक्रम सकिएको छ। मंगलबार र बुधबार बेइजिङ महानगरको जनसुरक्षा र ट्राफिक प्रणाली तथा केही ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ। नेपाल प्रहरीका महानिरिक्षक रमेश चन्द, सशस्त्र प्रहरीका महानिरिक्षक सनतकुमार बस्नेत र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अशोकदेव भट्ट सहितको आठ सदस्यीय टोली बिहिबार काठमाडौँ फर्किने छ।


Twitter
Digg
Del.icio.us
StumbleUpon
Facebook



