Wednesday 4 Bhadra, 2071 |
Menu

फोटो फिचर

१ सय १० वर्षीया वृद्धाको जोश

  • १ असार, २०७०
  • सन्तोष पोखरेल
  • DISQUS_COMMENTS
(0 votes)
पोखरा- धनकुमारी गुरुङ उमेरले १ सय १० वर्ष पुगिन्। तैपनि उनी अझै तगडा छिन्। लौरो टेकेर एक्लै शौचालय जाने आउने गर्छिन् भने खाना पनि आफैं खान्छिन्। धेरै नै वृद्ध भएर पनि उनी अझै स्वस्थ छिन्। नजिकको हिँडडुलमा उनलाई खासै समस्या छैन। 

लेखनाथ नगरपालिका–११ पचभैयाकी उनको दैनिकी बिहान चार बजेबाटै सुरु हुन्छ। बेलुकी ८ बजे नै सुत्‍ने र बिहान ४ बजे उठ्ने अनि उज्यालो नहुन्जेल बिस्तारामै बसिरहने उनको बानी छ। 'बिहान चार बजे उठेपनि उज्यालो भएपछि मात्र घरबाहिर निस्किने बानी छ,' हेरचाह गर्दै आएका ६१ वर्षीय नाती इमानसिंह गुरुङले भने, 'धेरै वृद्ध भएपछि निद्रा नलागेर पनि होला छिटो ब्यूँझने गर्नुहुन्छ, तर ढिलामात्र बाहिर निस्कने हो।'

धेरै नै वृद्ध भए पनि हातखुट्टा धुने, खानाखाने उनी आफैंले गर्छिन। आक्कलझुक्कल प्रेसरको समस्या देखिएपछि उनलाई कुनै ठूलो ब्यथा छैन। उनी अझैपनि आँखा देख्छिन्। वृद्धा गुरुङका अहिले ४ खनाती र १ खनातीति छन्। सबैभन्दा जेठी खनातीनि पनि १७ वर्षकी पुगिसकेकी छन्। वृद्धा गुरुङ अझैपनि मासु भनेपछि हुरुक्क हुन्छिन्। दात नभए पनि मासुको रस र दुधभात उनको सबैभन्दा मनपर्ने खाना हो। मकैको फुलासमेत उनले टोक्न सक्छिन् भने रोटी पनि खाने गर्छिन्। 
उनी कान ज्यादै कम सुन्छिन्। तर गुरुङ भाषा भने स्पष्टै बुझि्छन्। केही सोध्नुपरेमा गुरुङ भाषामै सोध्दा उनले आफ्नै भाषामा जवाफ फर्काउँछिन्। आफ्नो नाम भने उनले अझै बताउन सक्छिन्। आफन्तलाई अझै चिन्नसक्ने उनको क्षमता छ। दिनभर घरबाहिरको सितलपाटीमा बस्ने र सुत्‍ने तथा टोहोलाएर दिन कटाउँछिन्। 

नाती इमानसिंह वृद्ध हजुरआमाको स्याहारसुसार गर्न पाउँदा खुसी छन्। 'उहाँकै भरमा म हुर्के, अहिले म उहाँलाई हुर्काउँदै छु,' उनले भने, '१ सय १० वर्ष पुगेकी हजुरआमाको स्याहारसुसार गर्न पाउनु मेरो सौभाग्य हो।' हामीले पालैपालो एकअर्कालाई हुर्काउने मौका पायौं' उनले भने। गुरुङको नागरिकतामा जन्ममिति १९६० भदौ ७ गते उल्लेख छ। उनको नागरिकताको प्रमाणपत्र नम्बर ३९ छ। नागरिकता लिएको मिति भने स्पष्ट छैन।