Nepal Republic Media Pvt. Ltd.

epaper
Saturday
Mar 13th

विदेशिएका सपना

smaller text tool iconmedium text tool iconlarger text tool icon
भारतको मुम्बईका लागि उडेको जेट एअरवेजको सिटमा दुईजना नेपाली साथी छन्। एकजना साउदी अरेबिया र अर्का दुबई हिडेका। सिटमा पहिल्यैदेखि थिए साउदी हिडेका दाङ देउखुरीका जनबहादुर थापा मगर। यी उज्यालो अनुहारका मगरभित्रका अनगिन्ति सपना प्रष्टै देखिन्छन्। दुबई हिडेका नीरकुमार श्रेष्ठ जनआन्दोलन भएको वर्ष २०४६ सालमा जन्मेका हुन्।

यी दुवैले पहिलो पटक नेपाल छोडेका हुन्। मगरले अस्पतालमा काम पाएका छन् भने श्रेष्ठले सवारी चालक बनेर दुई वर्षसम्म देशमा रेमिटान्स पठाउने छन्। यी दुई हाम्रो देशका प्रतिनिधि पात्र हुन्, जो विदेशमा दुःख गरेर आफू र परिवारको खुसीका निम्ति काम गर्छन्। मगर र श्रेष्ठजस्तै धेरैजना विमानमा छन्। समूहमा हिडिरहेका उनीहरूका निम्ति देशको नेटो काटेर जानु एउटा वाध्यता हो, किनभने देशमा उद्योगधन्दा खुलेर यिनको श्रम किन्न सक्ने अवस्था छैन। पाखुरीमा बल भएको श्रमशक्ति हाम्रा खोलानालाजस्ता हुन् जहाँ अनगिन्ती विद्युत् शक्ति छ, तर त्यसलाई दोहन गरेर उपयोग गर्न सक्ने क्षमता राज्यको छैन।

विदेशमा दक्ष र अर्धदक्ष श्रमका निम्ति हिँडेका यी नेपाली दाजुभाइले आफ्नो परिवारका निम्तिमात्र होइन देशको अर्थतन्त्रका निम्ति महत्वपूर्ण भूमिका खेलेका छन्। अलि टाठाबाठाले आफ्नो रकम विदेशतिर लगिरहेका बेला यिनीहरूले भने प्रत्यक्षरूपमा देशको अर्थतन्त्रका लागि योगदान गरिरहेका छन्। नेपाललाई उडान गन्तव्य बनाइरहेका विदेशी विमान सेवाले पनि यिनीहरूमार्फत् आफ्नो सेवालाई मुनाफामा लगेका छन्। विदेशी विमान कम्पनीले नेपाल सेक्टरबाट मुनाफा कमाइरहे पनि आफ्नै देशको विमानसेवा नेपाल एअरलाइन्स विमान उडानभन्दा ग्राउन्ड ह्यान्डलिङबाट आउने कमाइमा रमाइरहेको छ।
मुम्बईतर्फ उडेको यस विमानमा पश्चिमा विदेशी पर्यटक संख्या एकदम नगण्य छ।

भारतीय यात्रुको संख्या पनि धेरै ठूलो छैन। नेपाली यात्रुमा पनि विदेशमा काम गर्न जानेको संख्या ठूलो छ। मुम्बई विमानस्थलमा जहाज उत्रेपछि बाहिर निस्किनेभन्दा अन्तर्राष्ट्रिय ट्रान्सफर डेस्कतर्फको लर्को काठमाडौं विमानस्थलमा जस्तै देखिन्छ। दुईजना (अष्ट्रेलिया र सिंगापुर) बाहेक सबै खाडी क्षेत्रमा जाने थिए। खाडीबाहेकका अन्य मुलुक वा सेवामा जानेको योगदान अर्थतन्त्रमा नगण्य छ भन्ने यो नै प्रमाण हो।

यसपटक विदेशमा श्रम गर्न जाने नेपालीलाई विमानभित्र र विमानस्थलमा नराम्रो व्यवहार गरेकोजस्तो लागेन। विमान परिचारिकाहरूले प्रत्येक पटक उनीहरूलाई सोधिरहेका हुन्थे, 'सर, के लिनु हुन्छ?' उनीहरूको सुकिलोपनले यी श्रमिकलाई भित्रीमनदेखिसम्मान गर्न गाह्रो परेको हुँदो हो। तर, पहिलापहिलाका यात्रामा जस्तो झर्कोफर्को गरेको सुनिएन। सायद तिनले पनि बुझेको हुनुपर्छ, उनीहरूलाई रोजगारी दिने विमानको आम्दानीका स्रोत सुकिलामुकिला पर्यटक होइनन्, नेपालबाट जाने यिनै कामदार हुन्।

मुम्बईको ट्रान्सफर डेस्क अघिल्तिर लाइनमा यी श्रमिक दाजुभाइसँगै उभिँदा उनीहरूका अनुहारमा भय र उत्सुकता दुवै देखिन्थ्यो। नयाँ ठाउँ र परिवेशमा उनीहरू पुग्नेछन्। त्यहाँ उनीहरूले काम गर्नु त छँदैछ, कतै दलालको फन्दामा परेर आफूले गरेको लगानी खेर जाला कि भन्ने पीर पनि छ। राम्रो कुरा के भएछ भने अहिले सबैजसो सक्कली भिसा र रोजगार अनुमतिसहित यात्रा गर्न पाउन थालेछन्। सम्भवतः ठगीसम्बन्धी निरन्तरका समाचार, जानकारी आदिले श्रमका निम्ति जानेलाई सशक्तीकरण गरेको हुनुपर्छ।

लाइनमा पालो आएपछि विमान कर्मचारीले मसहित अर्का अस्ट्रेलिया जाने साथीलाई भने एकैछिन पर्खन आग्रह गरिन्। उनलाई खाडी जाने श्रमिक नेपालीमा भन्दा हामी उड्न लागेको देशका यात्रासम्बन्धी कागजातमा उनलाई शंका थियो। 'एकैछिन पर्खनुहोला, पहिले म गल्फ सेक्टरलाई निप्ट्याइहालूँ,' खुसीसाथ म अलि पर्तिर राखिएको सोफामा बसेर सबै हेरिरहेको थिएँ। त्यहाँ एकजना पनि अड्केनन्। सबैजना अगाडि उड्न पाउने भए।
बरु मेरै यात्रा अनिश्चित् भयो। 'तपाईं सिंगापुर उड्न पाउनु हुन्न, किनभने तपाईंको भिसा छैन,' ती कर्मचारीले भनिन्। मैले भनेँ, 'संसारमा यही एउटा मुलुक छ, जहाँ नेपालीले विमानस्थलमा भिसा पाउँछन्, त्यसमाथि मसँग मानव संशाधन मन्त्रालयको तालिम अनुमति पत्र छ।'

झण्डै तीन घन्टाभन्दा बढी लामो पर्खाइ, पटक-पटकको बहसपछि बल्ल सिंगापुर उड्न पाइनेभयो। मलाई रमाइलो चाहिँ के लाग्यो भने कम्तीमा हाम्रा श्रमिक दाजुभाइ कामका निम्ति खाडी जाने बेलामा झन्झट कम भएछ। म सिंगापुर जान पाउन्न भन्नेमा म थिइन। अन्त्यमा धेरै लामो पर्खाइपछि फेरि ती कर्मचारी आइन् र भनिन्, 'हामीले त्यहाँको इमिग्रेसनमा फोन गरेर सोध्दा पठाइदिनु भन्ने जवाफ आयो।'

उड्न पाइनेभयो, खुसीको कुरा हो। तर, हामी नेपालीका निम्ति विमानस्थलमै भिसा दिने एउटै मुलुकको यात्रामा पनि झन्झट सुरु भएछ। नेपालले भने केही मुलुक छाडेर संसारभरलाई विमानस्थलमै भिसा दिन्छ। कुनै पनि मुलुकको नागरिकको इज्जत त्यस देशको सम्वृद्धिमा भरपर्छ। त्यसपछि मात्र अरूको हेपाइ कम हुन्छ। आफ्ना नागरिकको यात्रा सुनिश्चित हुने र तिनको इज्जत बढ्ने कामले मात्र नागरिक सर्वोच्चता कायम हुन्छ।
विमानमै परिचारिकाले इम्बार्केसन फारम ल्याएर दिइन्। दुवैले निकैबेर हेरे। श्रेष्ठले आफ्नो नामसम्म लेखे, मगरले केही लेखेनन्। केही छिनपछि मलाई फारम भरिदिन भने। मैले खुसीसाथ उनको काम गरेँ। त्यसपछि श्रेष्ठले पनि आग्रह गरे। उनको फारम पनि भरिदिएँ। मैले दुवैलाई भनेँ, 'तपाईंहरूजस्तैका कारणले नेपालको अर्थतन्त्र टिकेको छ। यात्रा सुखद होस्।'

जनआन्दोलन भएकै वर्ष जन्मेका श्रेष्ठलाई भने सोध्न मन लाग्यो, 'तपाईंको भविष्यको योजना के छ?,' उनले हाँस्दै भने, 'पहिले ऋण तिर्ने हो।' उनले एक लाख रुपैयाँ ऋण लिएर विदेशको बाटो लिएका हुन्। ऋण तिरिसकेपछि उनका सपनाका कुरा आउलान् नै। लाग्यो, श्रेष्ठ त यतिबेला उच्च अध्ययनका निम्ति विश्वविद्यालयमा हुनुपर्ने थियो, किनभने जनआन्दोलनपछि यस्ता युवाको भविष्य सुनिश्चित् हुनुपर्ने थियो। र, काममै जाँदा पनि दक्ष जनशक्तिको रुपमा राम्रो कमाइ हुने काम पाउनु पर्ने थियो।

मैले उनीहरूलाई ट्रान्सफर डेस्कबाट अगाडि बढिरहेको हेरिरहेँ। उनीहरूसँगै हाम्रा सपनाहरू विदेशिइरहेका थिए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
onlineversion

ब्लग

विजय राई "ड्याङ !" सातदोबाटो स्विमिङ पुलअगाडि एक्कासी ठूलो आवाजले म तर्सिएँ। आफ्नै साइडब...

- विजय राई

केशव थोकर पूर्व राजा रुद्रचण्डी महायज्ञमा आउने थाहा पाएर बिहान साढे दश बजेतिरै म पशुपतिनाथ...

- केशव थोकर

राजेन्द्र ज्ञवाली 'नेपालबाट आएको?' मैले सहमतिमा टाउको हल्लाउनासाथ उसले मेरो पेशा सोध्यो। मैले 'पत्...

- राजेन्द्र ज्ञवाली