Tuesday 7 Ashwin, 2071 |
Menu

विचार

softworica

चुनावको सही समय

  • सोमबार १० भाद्र, २०७०
  • दयालबहादुर शाही
  • DISQUS_COMMENTS
(0 votes)
राज्यको सशस्त्र सैन्य बलले तह लगाउन नसकेका अराजकवादी एवं अवसरवादीलाई निशस्त्र जनताले चुनावको माध्यमबाट थान्को लगाएका उदाहरण विश्व इतिहासमा धेरै पाइन्छन्। यस्तो असीमित शक्ति सन्निहित भएकाले नै जनसमुदायलाई जनता जनार्दन भनिएको हो। निरंकुश राजतन्त्र, पञ्चायत र नेपाली काँग्रेसको उत्कर्षकालमा खरो उत्रिएर गौरवमय इतिहास रचिसकेको कीर्तिमानधारी एमालेका सामु उग्रवामपन्थलाई नेपाली जनताको सामर्थ्यको नियन्त्रण घेराभित्र ल्याउने ऐतिहासिक दायित्व छ।

२०६४ सालयता वागमतीमा धेरै पानी बगिसकेको छ। वर्षायामको नदीमा पानीमात्र पनि हुँदैन। भदौरे बाढीमा माटो, ढुङ्गा, बालुवा, झारपात र मुडा पनि पानीझैं बग्छन्। जब हिउँद ऋतु आउँछ, बग्ने सामर्थ्य पानीसँग मात्र हुन्छ। एमाओवादीको आँगनमा ‍औंसी अवतरण हुँदैछ। मानवीरेहरुको छलाङले मुक्तिवीर हुँदै मूर्तिचोरसम्मको किनारामा ठोकिएर पूर्णविराम पाइसकेको छ। कुखुरा चोरहरु छापामार हुँदै चेक खोसिएर जोइ न जुँगा सातु भएर प्रचण्डको सट्टा पदम कुँवरलाई आदर्श नायक मान्दैछन्। नेताप्रतिको श्रद्धा, भक्ति, भ्रम र भरोसाको क्रमभंग भइसक्यो। पिलो पाकेको बेला निचोर्नुपर्छ। फलाम तातेको बेला पिट्नुपर्छ। जनता जागेको बेला र उग्रवामपन्थ दलदलमा फसेको यही बेलामा चुनाव हुनुपर्छ। संविधान सभाको यो चुनाव हरहिसावले एनेकपा (माओवादी)लाई महँगो सावित हुँदैछ। नारायणमान विजुच्छेले भक्तपुरमा किल्ला जमाएजस्तै एमाओवादी नेताहरु एकाध ठाउँबाट चुनाव जितेर आउन सक्छन् तर उनीहरुको घमण्ड र चुलिएको महत्वाकांक्षाको आयु धेरै छैन। २०६४ अघि एमाओवादीलाई बल पुर्यानउने घटना, पात्र र प्रवृत्तिमा आएको परिवर्तन तथा त्यसपछिको परिस्थितिले एमाओवादी यो अवस्थामा पुग्ने आधार खडा भएको छ। निम्नलिखित तथ्य तथा तिनमा आएको बदलाबका कारण केन्द्रीय राजनीतिको वृत्तबाट प्रचण्डको पलायन अनिवार्य भइसकेको छ–

एमाले निशाना 
नेपालको लोकतन्त्रका लागि सबैभन्दा ठूलो चुनौती निरंकुश राजतन्त्र भएकाले त्यसको अन्त्य गर्नु गत संविधान सभामा एमालेको पहिलो प्राथमिकतामा परेको थियो भने २०४८ सालदेखिका प्रायः सबै चुनावमा हाबी हुँदै आएको नेपाली काँग्रेसको अहंकार तोड्नु दोस्रो प्राथमिकतामा थियो। किनकि २०४८ र २०५६ मा जस्तै २०६४ मा नेपाली काँग्रेस दुई ठूला वामपन्थी दललाई भिडाएर सबैभन्दा ठूलो दल बनेको भए अहिलेको माओवादी जतिकै समस्याको पाको हुने खतरा थियो। तत्कालीन अवस्थामा एमाओवादी एमालेको तेस्रो प्राथमिकता पर्योप र चुनावमा फाइदा उठायो। अब राजतन्त्रको चुनौती रहेन। गिरिजाप्रसाद कोइराला नरहेपछि अब नेपाली काँग्रेस खतरनाक खेलाडी होइन। तीन तीन वटा पहलमानमध्ये दुई जनालाई उठ्नै नसक्ने गरी थला पार्न सक्ने पहलमानलाई चोरीमार हान्ने शेष पहलमानलाई थला पार्न कुनै कठिनाइ हुँदैन। राजतन्त्रको जरो उखेल्ने र गिरिजाप्रसाद कोइरालाको अहँकार तोड्ने काम एकसाथ फत्ते गर्ने एमालेका कर्मठ संगठकहरुका लागि पुष्पकमल दाहालको चुलिएको महत्वाकांक्षालाई खण्डहर पार्न कुनै कठिनाई छैन।

अराजकताप्रतिको सावधानी
कहिलेकाहीँ नपत्याउदो खोलाले बगाउँछ। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले तथा नेपाली काँग्रेस वाइसएिलका अराजकतावादी हर्कतप्रति असावधान रहे। चुनाव प्रचारका क्रममा माओवादीले गरेका हर्कतहरु पञ्चायतकालको भन्दा ज्यादतीपूर्ण हुँदा पनि सरकार र पार्टीहरुले कानमा तेल हालेका थिए। जनताको साथ लिएर विजय प्राप्त गर्दो हो त यति चाँडै एमाओवादीको विनाशलीला सम्भव थिएन। माओवादीलाई एमाले ताछ्ने अचानो ठान्ने काँगे्रसको असावधानीले गर्दा प्रचण्ड निवासमा सदावहार चाड सम्भव भएको हो। अब काँग्रेसले आँखा खोलिसकेको छ भने एमालेमा विचार राजनीतिको पुनरुदय भइसकेको छ। तसर्थ अब झुक्याउने जमानाको पटाक्षेप भइसकेको छ।

पाहुनालाई स्वागत गर्ने नेपाली मनोविज्ञान
राजनीति प्रतिद्वन्दीका रूपमा एउटा दलले अर्को दललाई आरोप लगाउनु वा आलोचना गर्नु अनौठो होइन। तिनले त्यतिबेला मात्र विशेष अर्थ राख्छन् जतिबेला ती दाबीलाई जनताले आफ्नो आवाज र भावना ठान्छन्। २०६४ को संविधान सभा चुनावमा माओवादीप्रति अन्य दलले गरेका शंकालाई जनताले पत्यादिएनन्। आफँै दिल्लीबाट काँध चढाएर ल्याउने तर जनताबाट भकुर्न लगाउने कुरा तत्काल सम्भव पनि थिएन। पाहुनालाई सत्कार गर्ने नेपाली मनोविज्ञानले गर्दा माओवादीका हर्कत क्षम्य भए। राजनीतिका गहनतम् सुझबुझहरु जनसमुदायसम्म पुर्यािउन लोकतन्त्रवादीहरु चुके। परिणामस्वरूप अकल्पनीय घटना भयो र माओवादी ठूलो दल बन्यो। अब एमाओवादी पाहुना रहेन। पाहुनाले पाउने सहुलियत र छिपिएको प्रतिद्वन्द्वीले पाउने निर्ममताबीचको अन्तर एमाओवादीले आगामी चुनावमा महसुुस गर्नेछ।

माओवादीप्रतिको भ्रम र जनअपेक्षा
युद्धकालीन अवस्थामा तल्लो तहका कार्यकर्ताबाट अक्षम्य गल्ती भए पनि उच्च तहका माओवादी नेताहरुको अनुहारमा एकहदसम्म जनसमुदायमा समेत बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, मनमोहन अधिकारी र मदन भण्डारी जस्ता राजनेताको कल्पना र अपेक्षा थियो। सशस्त्र संघर्षको रणनीति अख्तियार गरे पनि एमाओवादी नेताहरु यति सारो असहिष्णु, अलोकतान्त्रिक, अहंकारी र अन्याय एवं अराजकताका प्रतिरूप होलान् भन्ने कल्पना कसैले गरेका थिएनन्। व्यवहार हेर्दा सबैलाई थाहा भयो कि माओवादीहरु गाउँ–टोलदेखि केन्द्रसम्म सबै एउटै ड्याङका मूला सावित भए। हिजो भ्रमका पर्दा नच्यातिदाको फाइदा उठाए पनि अब सम्भव छैन। माओवादी नेता/कार्यकर्तालाई सपनाको राजकुमार ठान्ने गल्ती महँगो सावित भएको महसुुस गर्नेको मात्रा असाधारणरूपले बढेको छ।

राजनीतिमा उपयोगिता ह्रास नियम
कुनै पनि चिजको उपभोग गर्दा त्यसबाट पाइने आनन्दमा कमी आउने सच्याइ अर्थात् उपयोगिता ह्रास नियम एक हदसम्म राजनीतिमा लागु हुने गर्छ। राष्ट्रिय राजनीतिको केन्द्रीय वृतमा करिब दुई दशकसम्म एमाले र काँग्रेस रहँदा जनसमुदायमा पैदा भएको उपयोगिता ह्रास नियमबाट लाभ माओवादीले उठायो। अब उपयोगिता ह्रास नियमको विषय एमाओवादी स्वयं बनिसकेको छ।

एमाले–काँग्रेसको आन्तरिक संकट
पुष्ट मकैको दाना निमोठ्न सकिँदैन तर घुनले खाएर भित्रैदेखि कमजोर मकैको दाना सजिलै धूलो बनाउन सकिन्छ। २०६४ सालतिर गुटबन्दी, घात/प्रतिघात, विभाजन र तुषसहितको एकता जस्ता आन्तरिक कारणले एमाले र काँग्रेस भित्रैदेखि कमजोर थिए। निर्वल भइसकेको बूढो साँढेले हुँकार छोड्दैमा थारो गाई मैदान छाडेर भाग्दैन। परम्परागत लोकतान्त्रिक दल भित्रैदेखि कमजोर भएको बेला सेनासहितकोे पूर्व विद्रोहीले २०६४ को चुनावमा लाभ उठायो। संकटले अवसर पनि ल्याउँछ। लोकतान्त्रिक दलहरुले सहकार्य र सामूहिक नेतृत्वको अवधारणालाई व्यवहारमा उतारिसकेका छन्। पार्टीसत्ता, पार्टी प्रमुख वा संस्थापनको मनमौजीको ठाउँमा तर्क, बहस र विचारले स्थान पाउने गरेको छ। यसरी अन्य दलको कमजोरीबाट अब एमाओवादीले राजनीतिक लाभ उठाउन सक्ने अवस्था छैन।

उन्माद व्यवस्थापनको कमजोरी
एमाले र नेपाली काँग्रेस संकटमा पर्नुको मूल कारण दुवै पार्टी उत्कर्ष कालमा विजय उन्मादको व्यवस्थापन गर्न चुक्नु नै थियो। २०४८ सालमा प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली काँग्रेस बनेको थियो। जनआन्दोलनका सहयात्रीहरु वामपन्थीहरुलाई समेटेर राष्ट्रिय सरकारको नेतृत्व गर्ने महानता देखाउन नेपाली काँग्रेसले सकेन। २०५१ सालमा एमाले प्रतिनीधि सभामा सबैभन्दा ठूलो दल बन्यो। नेपाली काँग्रेस र अन्य साना वामपन्थी दललाई समेटेर राष्ट्रिय सरकार बनाई एमालेले देशको दुर्भाग्य टार्ने दूरदिर्शिता र चौडा छाती देखाउन सक्नुपर्थ्यो। एमाले पनि विजय उन्मादको शिकार भयो। बहुमतमा रहेका फरक वर्गको प्रतिनिधित्व गर्ने, अलग विचारधारामा आस्था राख्ने विपक्षीलाई धम्क्याएर सरकारमा रहने कमजोरी एमालेले देखायो। सरकारमा रहेर जतिसुकै जनमुखी र लोकप्रिय कार्यक्रम ल्याए पनि एमाले सरकारले निरन्तरतामा पाइरहेसम्म बहुमतमा रहेका विपक्षीले आफ्नो भविष्य सुरक्षित देखिनन्। यसको फाइदा माओवादीले उठायो। एमाओवादी नेताहरु कमजोरी देखाउनमा मात्र सीमित भएनन् बरु खलनायकीय चरित्र देखाएर कीर्तिमान भंग गरे। यसरी जनताको अदालतले एमाओवादीलाई दण्ड दिने दरिलो आधार पनि खडा भएको छ।