Thursday 5 Bhadra, 2071 |
Menu

विचार

गाईजात्रा : आयामिक संस्कृति

  • सोमबार १० भाद्र, २०७०
  • तेजेश्वरबाबु ग्वंगः
  • DISQUS_COMMENTS
(0 votes)
जहाँ पनि, जहिले पनि संस्कृति बहुआयामिक रहिआएको छ। यिनका सामुदायिक, सामाजिक, व्यावसायिक, आर्थिक अनि आस्थाजनक, मनोरञ्जनात्मक र नैतिक सुधारका आयाम रहिआएका छन्। यिनै आयामपरक रहेको छ–गाईजात्रा उत्सव। सामुदायिक आयामका आधारमा गाईजात्रा सम्पूर्ण नेवार समुदायले अँगालेको सामूहिक संस्कारयुक्त संस्कृति हो। ललितपुर, भक्तपुर र कान्तिपुरका तमाम नेवारका साथै नेपालभरका नेवार समुदायले यस पर्वलाई संस्कृतिकै रूपमा परिपालना गरिआएका छन्। ७५ जिल्ल्ाामध्ये नेवार समुदायले बस्ती भएका ठाउँमा गाईजात्रा मनाइँदै आएको छ।
सामाजिक आयामका दृष्टिकोणले गाईजात्रा पर्वले स्थानीय नेवार समाजलाई एक आपसमा सहयोगी र सहभागी बन्ने चेत जगाएको छ। गाईजात्राका झाँकी लाने क्रममा यिनका पारिवारिक, रक्तसम्बन्धी तथा आफन्तजन सामाजिक दायित्व बोध गरी परस्पर सहयोग र सद्भाव पुर्यााइरहेका हुन्छन्। व्यावसायिक आयामको परिप्रेक्ष्यमा नियाल्दा गाईजात्रासित व्यवसायमूलक सीप र साधनहरुको विवेचना गर्नुपर्छ। यस झाँकी प्रदर्शन कार्यमा व्यावसायिक सीप र साधन परिचालनको लेखाजोखा गरिनु अपरिहार्य हुन आउँछ। बाँस, डोको, काठ, चोया, परालका साथै मौलिक सीपहरु प्रयुक्त भएका छन् यसमा। संस्कृतिभित्र सदैव आन्तरिक सीप समाहित हुन्छ। आन्तरिक सीपमा अपनत्व हुन्छ। बाह्य सीप र साधन प्रवेश हुँदा सांस्कृतिक अधपटन हुन थाल्छ। 
आर्थिक आयामका रूपमा विवेचना गर्दा यस चाडको आरम्भिक कालमा सहकारी पहुँच नै आधार बनेको थियो। एक परिवारको कार्यभारमा साझा सहयोगको भावना र सहकार्य हुन्थ्यो। परिवार, समुदाय र समाजका नजिक सदस्य, इष्टमित्र, सद्भावुकहरुबाट गरिने सहयोग र सहकार्य गुरुत्तर आर्थिक पक्ष बनेका हुन्थे। यी कार्य अहिलेको भौतिक आग्रहग्रसित समयमा पूरापूर मौद्रिक बन्न पुगेको छ। सहकारिता पनि ओठेभक्ति साधना बन्न पुगेको छ। गाईजात्राको वर्तमान आर्थिक पक्ष शतप्रतिशत मौद्रिक स्वार्थको चङ्गुलमा फसिसकेको छ। 
आस्थाजन्य आयाममा गाईजात्राभित्र रुमलिएका विश्वासका धारणा पर्छन्। विश्वास मानिसका जीवन मूल्य–मान्यताजन्य विजन पद्धतिको जरो हो। मानिसका जीवन आस्थामय छन। आस्था बलियो विश्वास भनँु या विश्वासको बलियो चिन्तनले उने/बुनेको हुन्छ। इहलोक र परलोकको सोच–आस्थाका आधार बनेको छ गाईजात्रा उत्सव। कोही भन्छन्– मरणपछि चाहर्नुपर्ने स्वर्ग–नर्कको विचरण अवश्यम्भावी छ। कोही बताउँछन् कि गाईजात्रा वैतर्नी तर्दै पुग्नुपर्ने यमलोक विचरणको अवस्थ्ााका काल्पनिक तर यथार्थ चित्रण नै ठान्छन् पनि। कोही कथ्छन् कि गाईजात्रा मल्ल महारानीको पुत्र वियोग वेदन्त शान्त पार्न रचे/रचाइएका सांस्कृतिक पहल। मनोरञ्जनात्मक तरङ्गमा गाईजात्रा भक्तपुरको सर्वोत्कृष्ट छ। प्रहसन र व्यङ्ग विनोदको प्रचुरता यस चाडको मोहक, स्वादिलो रस हो। व्यङ्ग विनोद आक्षेप नभएर सुधारका लागि मार्ग प्रशस्ति बन्छ। यिनै सुधारत्मक व्यङ्ग विनोदले समाजका अघिल्ला पंक्तिमा दरिएकाहरुको नैतिक आचारण सुदृढ पार्न परोक्ष/अपरोक्षतवरले बल पुर्या इरहेको हुन्छ।
अनेक कोणका अनेक अनेक आयाम बोक्दो यो विचित्रमय गाईजात्रा मलाई भने शासन प्रणालीले सहज प्रतिपादन गरे/गराइएको राज्य व्यवस्थामूलक चाड पर्व उत्सव जे भने पनि प्रबन्ध नै लाग्छ। राज्य व्यवस्थामूलक संस्कृति भन्नु वर्ष दिनभित्र दिवंगत मानिसको मृत्यु गणना सहजतवरले गर्न लगाउने योजना, रणनीति जे भनिए पनि राजनीतिक निपूर्णता कसरी होइन भन्न सकिन्छ? मृत्यु गणनालाई सहज, सरल र सुगम बनाउन राजनीतिक/राज्य व्यवस्था/शासन प्रणालीका बेजोड समकालीन पहुँच पक्कै थियो। अझै मान्नुपर्दो नै रहेको छ। बेजोड समकालीन पहुँच भन्नुको तात्पर्य सरकार र शासनयन्त्रलाई सम्पूर्ण भार मुक्त पारी पूरापूर जनसहभागितामूलक बनाएर स्वचालित पर्व मनाउने कूटनीतिक चातुर्य तत्कालीन मल्ल शासन पद्धतिको जनताप्रति प्रगाढ आस्था बनेको छ। एक्काइसौँ शताब्दीको दोस्रो दशकको आरम्भकालीन नेपाली लोकन्तन्त्र नामक शासन प्रणाली निमित्त पनि प्रेरणादायी निर्देशक सिद्धान्त बन्न सक्छ। 
मृत्यु गणनाको प्रयोजन निमित्त सहज पार्न भक्तपुर सांस्कृतिक नगरमा सबैभन्दा पहिले समयको कित्ताकाट/निर्धारण गरेको छ। बिहान सखारै डोको–सा (डोके–गाई) केटाकेटी मरण सूचक विम्ब बनाएर सांस्कृतिक सम्पदा मार्ग भएर परिक्रमा गरिन्छ। केटा या केटी मरेको सूचक विम्ब बनाएर डोको–सा नगर परिभ्रमण गराइन्छ। केटाको विम्ब केटौली पहिरन, केटीको प्रतीक केटीको लुगा डोकोमा बेरेर तयार परेको हुन्छ। मृत्यु गणना गर्नेका लागि तिनै पहिरन केटो या केटीको बस्त्र नै सहज बनिरहेको हुन्छ। नौ दश बजे उपरान्तका समय युवा, मध्य वयस्क, वृद्धवृद्धाका लागि हुन्। युवा, मध्य वयस्क, वृद्धवृद्धाका मृतक सूचक बिम्व थरीथरी किसिमका हुन्छन। धेरैले ताहासा (अग्लो गाई) नै प्रदर्शन गर्छन्। ताहास चारवटा बाँस खर्पनको गोलाकार चक्का, चोया वा पराल बाटेको डोरी निर्माण सामग्री बन्छन्। केटो/पुरुषको चिह्न सेतो कपडा/बस्त्र, केटी/महिलाको चिह्न फरिया/सारी बेराईबाट बुझाइन्छ। गर्भवती महिलाको निधन सूचक विम्बका रूपमा ताहासाको पेट भागमा एउटा सानु गाई–चित्र र पराले सिङ्ग जडेर परिभ्रमण गराइन्छ। 
इह, पर या यमलोकको अवधारणा चिन्तन धार मात्र नभई वैज्ञानिक सोच पनि सावितिन थालिरहेको छ। पर या यमलोक मृत्यु वा देहको अवशानपछि अदृश्य अवस्थाका ठाउँ हो। व्योम अर्थात आकाश अभेद्य अवस्थामा डुल्दो आत्मातत्वको विचरणलोक हो। आकाश देखिने र नदेखिने दुवै अवस्थापरक अनन्त आनन्दस्थल रहेको छ। गाईजात्रामा प्रदर्शन गरिने दिवंगतहरुका विम्ब बनाइने डोको–सा, ताहासाका सिलसिलाले यहाँ यमलोक छुन पुगेको छ। परलोक र यमलोक एक आपसका पर्याय बनेको छ। गाईजात्राका झाँकीहरु यहलोक र परलोक अर्थात् यमलोकसम्बन्धी काल्पनिक प्रस्तुति बनेका छन्। त्यसै कारण अल्वर्ट आइन्ष्टाइनले भनेथे– ज्ञानभन्दा कल्पना महत्वपूर्ण छ।