Tuesday 17 Bhadra, 2071 |
Menu

विचार

युरोजोनको मन्दी

  • बिहीबार ६ भाद्र, २०७०
  • डा. सञ्जय आचार्य
  • DISQUS_COMMENTS
(0 votes)
सन् २०१३ को दोस्रो त्रैमासिक (अप्रिल–जुन)को समग्र आर्थिक गतिविधि नियाल्दा युरोजोनअन्तर्गतका धेरै मुलुक मन्दीको चपेटाबाट बिस्तारै बाहिर आउन लागेको आभास हुन्छ। यस क्षेत्रका सत्र मुलुकबीचमा आर्थिक केन्द्रको रूपमा रहेको जर्मनीको त्रैमासिक आर्थिक वृद्धि ०.७ प्रतिशत रहेको थियो भने फ्रान्सको ०.५ प्रतिशत र इटालीको ०.२ प्रतिशत रह्यो। जर्मनीमा त बेरोजगारी दर गत २० वर्षकै सबैभन्दा न्यून बन्न पुगेको छ। यसले गर्दा समग्र युरोजोनको आर्थिक वृद्धि दर ०.३ प्रतिशतको हाराहारीमा पुगेको छ। ऋणग्रस्त पोर्चुगलले झन् १.१ प्रतिशतको वृद्धि हासिल गरेको छ जुन गत तीन वर्षभरिकै सबैभन्दा ठूलो वृद्धि हो। तर जर्मनीमा जस्तो आर्थिक वृद्धिसँगै पोर्चुगलमा रोजगारीमा वृद्धि चाहिँ भएको छैन, बेरोजगारी दर १६ प्रतिशतको हाराहारीमा छ। अस्ट्रिया र फिनल्याण्डमा पनि आर्थिक वृद्धि दरमा सुधार आएको छ।
यी उपलब्धिका पछाडि केही नीतिगत प्रयासको प्रभाव रहेको छ। लामो समयसम्म सरकारी खर्चमा नियन्त्रणमुखी नीतिलाई छोडेर लगानी मैत्री नीति अवलम्बन गरिनु र उपभोक्ता मूल्य सूचीको स्थिरतालाई त्यति महत्व नदिई उपभोग खर्च बढाउने र निर्यात प्रबर्धन गर्ने नीति अपनाउनुले सकारात्मक प्रभाव ल्याएको देखिन्छ।
यी उत्साहवर्धक समाचारकै भरमा समग्र युरोपेली समूहलाई नै साँढे तीन वर्ष लामो मन्दीबाट बाहिरै निकालेको हो भन्ने निष्कर्ष निकाल्नु भने अलिक हतार नै हुनेछ। किनभने विगत १८ महिनादेखिको युरोपको जटिल ऋण संकट मूलरूपले दक्षिणतर्फ केन्द्रित छ र त्यहाँ अपेक्षित सुधार हुनसकेको छैन। अर्कोतिर युरोजोनको मुटुमै रहेको गतिशील अर्थतन्त्र नेदरल्यान्डस अझै मन्दीकै भूमरि मै छ भने दक्षिणको साइप्रसमा आर्थिक वृद्धि दर १.४ प्रतिशतले अझै ऋणात्मक नै छ। त्यसैगरी ग्रीस, आयरल्यान्ड, साइप्रस, इटाली र स्पेन अझै मन्दीकै चपेटामा छन्। यस पृष्ठभूमिमा केन्द्रका दुई ठूला मुलुकहरूका आर्थिक वृद्धिले किनारमा रहेका र मन्दी र ऋणको दोहोरो मारमा परेका सबै मुलुकलाई गतिशीलता प्रदान गर्न पर्याप्त आधार बनिसकेका छन् भनी अहिल्यै उत्साहित हुने बेला आइनसकेको हुनसक्छ। सम्पूर्ण युरोजोनको कुल गार्हस्थ उत्पादन अझै पनि गत वर्षको तुलनामा ०.७ प्रतिशतले कमै छ। अझ पाँच वर्ष पहिलेको विश्वव्यापी मन्दीपूर्वको स्थितिको तुलनामा त ३ प्रतिशतले कम छ। अमेरिकी अर्थतन्त्र भने यस अवधिमा ४ प्रतिशतले विस्तार भएको छ। तर पनि धेरै परिसूचकहरू सुधारोन्मुख छन्। युरोजोनको पाँचौँ ठूलो अर्थतन्त्र स्पेनले विगत डेढ वर्षदेखि अवलम्बन गरेको वित्तीय अनुशासन र वाह्य क्षेत्र सुधार कार्यक्रमहरूले सकारात्मक परिणामहरू देखाउन थालेका छन्। तर पनि आर्थिक वृद्धि दर ०.१ प्रतिशतले ऋणात्मक नै छ, यद्यपि यो सुधारोन्मुख छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले अबको चरण भनेको रोजगारी सिर्जनासँगै उच्च आर्थिक वृद्धि दरको हुनुपर्ने सुझाएको छ। किनभने वाह्य क्षेत्र सुधार र वित्तीय अनुशासनका नीतिहरू प्रकारान्तरले आएका सहायक नीति थिए, ठोस रूपमा स्पेनको समस्या भनेको बढ्दो बेरोजगारीको थियो। हालसम्मको सुधार बेरोजगारीको स्थितिलाई परिवर्तन गर्नसक्ने रूपले भने आइसकेको छैन। यिनै पृष्ठभूमिलाई केलाउँदा युरोजोनमा आएको सुधार अलिक उतार चढावको शैलीमा आएको भान हुन्छ तसर्थ यसलाई स्थिर र दूरगामी प्रकृतिको बनाउन सक्नु युरोजोन भित्रका मुलुकहरू, युरोपेली केन्द्रीय बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको जिम्मेवारी बनेको छ। सबैभन्दा संकटग्रस्त मुलुक ग्रीस मन्दीको छैटौं वर्षमा प्रवेश गरेको छ। यस आर्थिक वर्षको अन्त्यसम्ममा यस मुलुकको समग्र आर्थिक आयतन मन्दी पूर्वको स्थितिभन्दा एक चौथाइले मात्र कम भइसकेको हुनेछ। यसले गर्दा दीर्घकालीन रूपले बेरोजगारीको समस्या ग्रीसमा चर्को रूपमा रहनेछ। यस समस्याको सेरोफेरोमा धेरै नीति निर्माताको एकै किसिमको धारणा के आउन थालेको छ भने ऋण र वित्तीय संकटलाई पहिलो समस्या र कम आर्थिक वृद्धि र बेरोजगारीलाई दोश्रो स्तरको समस्याका रूपमा लिनु गल्ती थियो। यिनीहरूको प्राथमिकीकरण ठीक उल्टो हुनुपर्थ्यो। यही समस्याले गर्दा युरोपेली मन्दीको संकट अत्यन्त लामो र पीडादायक बन्न पुगेको हो। त्यसैले युरोपेली केन्द्रीय बैंकका अध्यक्ष मारियो द्रागीले अब आफ्नो ध्यान श्रम बजारतिर सोझिएको बताउन थालेका छन्। किनभने अहिलेका परिवर्तनले श्रम बजारमा भरोसालाग्दो संकेत छोड्न अझै सकेका छैनन्।
युरोजोनभन्दा बाहिरको युरोपको अवस्था के छ त? यसमा पनि युरोजोनको जस्तै एकै प्रकारको तस्बिर देखिँदैन। केही उदीयमान पूर्वी युरोपेली मुलुकहरूमध्येको चेक गणतन्त्र यो आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि मन्दीमा प्रवेश गरेको छ भने हंगेरी र पोल्यान्ड मन्दीबाट बाहिर निस्केका छन्। तर समग्रमा पूर्वी यूरोपका साना तर गतिशील अर्थतन्त्र निर्यात र वैदेशिक लगानीका कारणले ढिलो चाँडो जर्मनी, फ्रान्स र समग्र युरोजोनको परिसूचकहरूसँग नै एकाकार हुन पुग्छन्।
हाल युरोजोन धितोपत्र बजार कसरी विकसित भइरहेको छ भन्ने अर्को महत्वपूर्ण प्रश्न उठेको छ। गत तीन महिनाको प्रवृत्ति हेर्ने हो भने यसतर्फ पनि केही सकारात्मक संकेत देखिएका छन्। विगत १८ महिनाको चरम वित्तीय संकटको समयमा युरोजोनभित्र ठूला अर्थतन्त्रहरूमा कम लागतका ऋणपत्र संचालनमा थिए भने दक्षिण युरोपका ऋणग्रस्त मुलुकहरू उच्च मूल्यका ऋणपत्रहरूले ढाकिएका थिए। हाल यिनीहरूबीचको भिन्नता (स्प्रेड) साँघुरिएको छ। युरोजोनभित्र जर्मनीमा बढ्दो वैदेशिक लगानीले ऋण लागतलाई घटाएको थियो भने स्पेनमा ऋण लागत सबैभन्दा उच्च थियो। यिनीहरूको भिन्नता (स्प्रेड) सन् २०१२ को जुलाइमा ६.३ प्रतिशत विन्दु रहेकोमा सन् २०१३ को जुलाइमा २.५ प्रतिशत विन्दुमा आइपुगेको छ। त्यसैगरी, जर्मनी र इटालीको बीचमा यो भिन्नता ५.५ प्रतिशत विन्दु रहेकोमा हाल यो २.३ प्रतिशत विन्दुमा झरेको छ। यो ज्यादै सकारात्मक पक्ष हो।
युरोजोन संकटको भूमरीमा परेका इटाली, स्पेन, पोर्चुगल, ग्रीसजस्ता राष्ट्रहरूले किन यति धेरै जोखिमपूर्ण ऋणहरू लिनेतर्फ उद्यत् भएका थिए होलान् त? यी मुलुकहरूको सन्दर्भमा मात्र नभैकन विश्वव्यापी अनुभवले पनि के देखाउँछ भने दुई वा तीनवटा आर्थिक परिसूचक नराम्ररी खस्कन पुगे भने ती मुलुकहरू जोखिमयुक्त उच्च लागतका ऋणपत्रहरूको उकालो चढ्न वाध्य हुन्छन्। यी मुलुकहरूको सन्दर्भमा पनि यही सिद्धान्त लागु हुन्छ। बढ्दो बेरोजगारी र ऋणात्मक आर्थिक वृद्धि दरले यी मुलुकहरूमा यस्तो वाध्यकारी परिस्थितिको सिर्जना भएको थियो।    
लगानी र व्यापारका दृष्टिकोणले अमेरिकी आर्थिक नीतिमा हाल आएको परिवर्तनले युरोजोनको पुनरुत्थान प्रक्रिया र त्यसमा पनि ऋण लागतमा केही परिवर्तन आउने संभावना भने देखिन्छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भ मौद्रिक सहजीकरणको नीति अवलम्बन गर्ने बाटोमा अग्रसर छ। मौद्रिक सहजीकरण सँगै सरकारी खर्च बढ्न गयो भने युरोजोनका मुलुकलाई अमेरिकी ऋण बिस्तारै महङ्गो हुन जानेछ र पुनरुत्थानको बाटो खण्डित हुने संभावना रहन्छ। तर अर्कोतिर मौद्रिक सहजीकरणको नीतिसँगै अमेरिकामा निजी लगानी कम हुँदै गयो भने युरोपले सस्तोमा ऋण पाउने संभावना बढेर जान्छ। त्यसैले युरोजोनमा ऋणपत्र माथिको ब्याजदर कुन दिशातर्फ मोडिन्छ भन्ने अमेरिकी अर्थतन्त्रमा लगानीको वातावरणले धेरै हदसम्म निर्देशित गर्छ। यो भने भविष्यले नै देखाउला।
रूपमा गत त्रैमासिकको आधारभूत परिसूचकहरू धेरै मुलुकहरूको सन्दर्भमा सुधारोन्मुख नै देखिन्छ। अब सारमा हेर्ने हो भने यो सुधार आउँदा दिनहरूमा दिगो रहन्छन् कि रहँदैनन् भन्ने नै महत्वपूर्ण विषय हो। यस अतिरिक्त आर्थिक मन्दीसँगै आएको ऋण संकट सस्तो वा महङ्गो कुन रूपबाट अघि बढ्छ अर्को विश्लेषणको पाटो हो। आशा गरौं, युरोजोनका मुलुकहरू चाँढै मन्दीको चपेटाबाट बाहिर निस्कनेछन्। फलस्वरूप, नेपालजस्ता विकासशील राष्ट्रहरूको युरोप निर्यात व्यापार र युरोपेली लगानीमा पनि सुधार आउनेछ।