Friday 7 Kartik, 2071 |
Menu

विचार

स्कुलमा प्रहरी छापा

(0 votes)
नेपाल प्रहरीका काम के के हुन? सायद प्रहरी अधिकृतहरू पनि उत्तर दिन सक्ने स्थितिमा छैनन्। 'सत्य, सेवा, सुरक्षा' प्रहरीको मूल मन्त्र हो। ऊ यही मन्त्रबाट प्रेरित भएझैं गर्छ। समाजका हरेक क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ भन्ने चाहना राख्छ। माथिको आदेशमा चोरलाई साधु र साधुलाई चोर बनाउन सक्ने कलामा निपुण प्रहरी संगठनका अधिकांश सदस्य जहाँजहाँबाट असुली हुन्छ, त्यतैतिर ड्युटी ताक्ने प्रवृतिका हुन्छन्।
विश्वमणि पोखरेल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

 प्रहरी आफूलाई समाजमा अमनचयन कायम राख्ने असीमित दायित्व वोध गर्छन्। तर व्यवहारमा उनीहरूले मुलुकको संविधान, कानुन, मानव अधिकारका आधारभूत अधिकारमाथि धावा बोलिरहेको अवस्था पटकपटक अनुभव गर्न सकिन्छ। बेलाबेला चर्चामा आउन रमाउने उनीहरू समाचारको खेती पनि गरिरहेका हुन्छन्। अहिले त्यस्तै भइरहेको छ। प्रहरीहरू स्कुलमा छापा मारिरहेका छन्। शिक्षा मन्त्रालयले जारी गरेको आचारसंहिताको फेहरिस्त लिएर प्रहरी अहिले किशोरमाथि जाइलागिरहेको छ। काठमाडांैबाट सुरू भएको प्रहरीको मोबाइल, मोटरसाइकल र मिनीस्कर्ट विरोधी अभियान पोखरा पुगेको छ। अन्यत्र पनि विस्तार हुने देखिँदैछ। वर्षको प्रारम्भदेखि नै सुरू भएको यो अभियान नियमित भने छैन। छापामार शैलीमा स्कुलमा प्रकट हुने प्रहरीले समाजमा अमनचयन कायम गर्ने काम गर्दैछन् कि आतंक मच्चाइरहेका छन्? मसिनोसँग केलाउन आवश्यक छ।  के देखिन्छ भने आचारसंहिता जारी गर्ने शिक्षा मन्त्रालय स्कुलहरूमा प्रहरी खटाउनसक्रिय छैन। तर निजी उच्च माध्यमिक विद्यालयहरूको संगठन हिसान भने यस काममा हात धोएर लागेको छ। हिसानको लगानीमा प्रहरीहरू स्कुलमा छापा मारिरहेको विचित्रको अवस्था अनुभव हुन्छ यहाँ । हिसानले, काठमाडौंका स्कुलमा प्रहरी गस्ती गर्न ५ वटा मोटरसाइकल अनुदान दिएको छ। स्कुलमा मोटरसाइकल विरोधी अभियान पूरा गर्न केही समयअघि मोटरसाइकल चढेर प्लस टु आउन नपाउने उर्दी जारी गरियो। स्कुल ड्रेसमा मोटरसाइकल चलाउन नपाउने उर्दी शिक्षण संस्थाले कुन कानुनको आडमा जारी गर्‍यो? प्रहरी दत्तचित्त भएर गैरकानुनी काममा किन सक्रियता देखाउँदैछ? प्रहरीले केही काम नपाएर हो? काम नपाएरै प्रहरी प्लस टुका पछाडि लागेेको अवस्था देखिँदैछ।
प्रहरीलाई राम्ररी जानकारी हुनुपर्छ, मोटरसाइकल चलाउन यातायात व्यवस्था विभागबाट लाइसेन्स लिनुपर्छ। लाइसेन्स लिन लिखित र ड्राइभिङ परीक्षा पास गर्नुपर्छ। नियमअनुसार लाइसेन्स लिएकाले सवारी र सडक नियमअनुसार सवारी चलाउनुपर्छ। स्कुल ड्रेस लगाएर मोटरसाइकल चलाओस् वा औपचारिक लुगामा चलाओस्, प्रहरीको टाउको दुुखाइको विषय होइन। मोबाइल, ल्यापटप, आइप्याड जस्ता उपकरणको प्रयोगले पनि प्रहरी पिरोलिएको देखिन्छ। कक्षा कोठामा विद्यार्थीले त्यस्ता सामग्रीको उपयोग गरेका छन् वा दुरुपयोग? दुरुपयोग हुनसक्छ। त्यस्तो हो भने त्यो सम्बन्धित स्कुल वा शिक्षक र विद्यार्थीको आपसी मामला होइन र? मिनीस्कर्टको लम्बाइ कति हुनुपर्ने? घुँडासम्मको स्कर्ट लगाउनुुपर्ने आचारसंहिता पालनालाई पनि आचारसंहिताकै दायरामा लिनुपर्‍यो। कानुन उल्लंघन गरेझैं मिनीस्कर्टको लम्बाइमा विरोध गर्न मिल्छ र?
युवा पुस्ता स्वभावैले फेसनेबल हुन्छन्। स्कुल कलेजले तोकेकै परिधिमा रहेर पनि उनीहरू फेसन गरिरहेका हुन्छन्। फेसन समयसाक्षेप  हुन्छ। फेसन गर्ने युवा मेधावी विद्यार्थी हुनसक्छ। स्कुलका नियम कानुन उसले पालना गरेको छ वा छैन? त्यो स्कुल, सम्बन्धित विद्यार्थी र अभिभावकबीचको मामला हो। प्रहरीले त्यस्तो बेलामात्र सरोकार राख्न पाउँछ जब कुनै विद्यार्थी अपराधमा संलग्न भएको प्रमाण उसले भेट्टाउँछ।
प्रहरी कारबाईको विरोधमा विद्यार्थीहरू संगठित हुन थालेका छन्। भदौ ४ मा उनीहरूले उच्च माध्यमिक शिक्षा परिषद्को कार्यलयमा धर्ना दिए। सरकारी अधिकारीलाई ज्ञापनपत्र बुझाए। विरुद्धमा उत्रिएका सीमित विद्यार्थीले प्रहरी कारबाईलाई मानव अधिकार विरोधीको संज्ञा दिएका छन्। प्रहरीले कक्षा कोठामा प्रवेश गरेर मनोवैज्ञानिक त्रास उत्पन्न गराएको उनीहरूको आरोप छ। विद्यार्थीको विरोधलाई उच्च्ा शिक्षा परिषद्ले सामान्य अर्थमा लिएको देखिन्छ। सामान्य अर्थमा लिने विषय होइन, स्कुलमा प्रहरी छापा। आचारसंहिताको नाममा भइरहेको प्रहरी आतंकबारे बेलैमा गम्भीरता आवश्यक छ। हिसानको प्रायोजनमा कक्षा कोठामा प्रहरी छापा समस्याको समाधान हो? शिक्षा अधिकारीहरूको चिन्ताको विषय हुनुपर्छ।
प्रहरी परिचालनबाहेक कतिपय निजी उच्च माविले स्कुलमा डिसिप्लिन इन्सपेक्टर (डिआइ) नियुक्त गरेका छन्। स्थानीय आवारालाई डिआईमा नियुक्त गर्नुपछाडिका कारण स्पष्ट छैनन्। डिआइले विद्यार्थीमा बाहुबल प्रर्दशन गरेर अनुशासनको पाठ सिकाइरहेको अवस्थालाई कसरी लिने? स्कुलमा कस्तो शैक्षिक वातावरण राख्नुपर्छ भन्ने स्कुल संचालकले जानकारी राख्ने विषय हो। निजी स्कुलका सञ्चालकहरूले आफ्नो र स्कुलको सुरक्षा कवचको रूपमा भाडामा लिएकाहरू डिआइको नाममा विद्यार्थीमाथि डण्डा चलाइरहेका त छैनन्? प्रश्न गम्भीर छ। स्कुलमा अनुशासन कायम गर्न सडकको आवारा सहयोगी हुन्छ कि मनौवैज्ञानिक उपचार? प्रहरी र शिक्षा अधिकारीले खै चासो राखेको?
सहरी अपराधमा प्लस टु अध्ययनरत् युवाहरूको ठूलो संख्या संलग्न रहेको प्रहरी निचोड छ। प्रहरी आफ्नो ठाउँमा ठिक होला तर सबै विद्यार्थीलाई एउटै घानमा राख्न मिल्दैन। प्लस टु शिक्षा आफैँमा नेपालमा विकराल समस्या बन्दैछ। अभिभावको पक्षबाट हेरौं। घरघरको समस्या बनेको छ, प्लस टु शिक्षा। हातमा दामी मोबाइल, साथमा नयाँ मोडलको मोटरसाइकल र खल्तीमा रेष्टुरामा चिया चमेना गर्ने फुटकर अनि मोटरसाइकल हुइँक्याउने पैसा। स्कुल शिक्षापछिको महँगो शुल्क र आफ्ना नानीहरूको मागले अभिभावक पिरोलिएका छन्।
फेल हुने प्लस टुका किशोर, अभिभावकको चिन्ताको विषय प्लस टुका नानीहरू? किन यस्त्ाो अवस्था? पचासको दशकदेखि नेपालमा न स्कुल न कलेज भन्न्ा मिल्ने एउटा वर्णशंकर शिक्षा प्रणाली विकास भयो जुन अहिले प्लस टुका नामले प्रचारमा छ। एलएसलीसम्मको अनुशासित वातावरणमा हुर्किएको विद्यार्थी प्लस टुको व्यापारको अपार दुनिँयामा प्रवेश गर्छ। उच्च शिक्षामा प्रवेश गरेको मनोविज्ञानमा उ फेसनेवल हुन्छ, खर्चालु बन्दै जान्छ, खर्च धान्न्ा अपराधमा समेत हात हाल्न पुग्छ।
समस्याको जड सरकारी नीतिमा छ। उपचार प्लस टुका विद्यार्थी, मोबाइल, मोटरसाइकल र मिनीस्कर्टमा खोजेर भेटिन्न्ा। सरकारी नीतिमा प्लस टु भनेको १२ कक्षासम्मको स्कुल शिक्षा हो। सरकारी नीति जस्ताको त्यस्तै कार्यान्वयन हुने हो भने अहिले प्लस टुमा देखिएका अधिकांश समस्या आफैँ समाधान हुनेखालका छन्। यसका लागि प्रहरी परिचालन होइन, सरकारी प्रतिबद्धता चाहियो। प्लस टुसम्मको स्कुल शिक्षालाई मुलुकभर विस्तार गर्ने र १२ कक्षामा एसएलसी परीक्षा लिने व्यवस्था लागु गर्न कसले रोकेको छ? वर्षेनि घोषणा हुने तर कहिल्यै कार्यान्वयन हुन नसक्ने १२ कक्षामा एसएलसी परीक्षा अहिलेको आवश्यकता हो। त्यस्तो हुन सकेमा प्लस टु स्कुल शिक्षा बन्न पुग्छ। अहिले प्रहरी, शिक्षण संस्था र अभिभावकको टाउको दुखाईको विषय आफैँ कमजोर भएर जानेछन्।