Thursday 11 Baishak, 2071 |
Menu

विचार

चुनावी वातावरणको निर्माण

  • मङ्गलबार २२ श्रावण, २०७०
  • रामहरि खतिवडा
  • DISQUS_COMMENTS
(0 votes)
नेपालको राजनीति दयनीय अवस्थामा पुगेको छ। राष्ट्रियता कमजोर बनेको छ। लोकतन्त्रका मूल्य र मान्यता समाप्त भइरहेका छन्। मुलुक जनप्रतिनिधिविहीन बनेको डेढ वर्ष हुनलागेको छ। संविधान सभाको निर्वाचन गर्न तीन पटक मिति घोषणा भइसक्दा पनि चुनाव हुनेमा विश्वस्त हुन सकिएको छैन।

प्रमुख चार दलको समिति र सरकार चुनावको रट लगाइरहेका छन्। चुनाव गर्न निर्वाचन आयोग पनि तम्तयार भएर बसेको छ। अर्कातिर 'चार दलीय सिन्डिकेट मान्दैनौ, गैरदलीय सरकारले गराएको निर्वाचन स्वीकार्दैनौ' भनेर घनले नक्कली मटपेटीका फुटाएर मतदाता तर्साउने काम पनि सुरु भइसकेको छ। अहिलेदेखि नै कागजको मतपेटीकामा घन बर्साउन थालेको नेकपा–माओवादीले भोलि जनताका टाउकामा त्यसैगरी घन नबर्साउँदैन भन्न सकिने अवस्था पनि छैन। माओवादीका हिजोका क्रियाकलापले उनीहरू जस्तोसुकै हिंसात्मक क्रियाकलाप गर्न तम्सन्छन् भन्ने देखाएको छ। जनतालाई आतंकित पारेर आफ्नो विचारमा सहमत नहुनेलाई सिध्याएर यहाँसम्म पुगेको पार्टी न हो। त्यसैले तिनको असन्तुष्टिको व्यवस्थापन नगरी चुनावमा जाने निर्णयमा सरकार र चार दलीय संयन्त्र पुगे भने यो मुलुकमा अप्टेरो स्थिति उत्पन्न हुन सक्छ।
केही दिन अघि काभ्रेमा पुगेर एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्ति सुन्दा लाग्छ उनी चुनाव गराउन नभई देशमा मुठभेड उत्पन्न गराउन अग्रसर भएजस्तो प्रतीत हुन्छ। वाईसीएलका कार्यकर्तालाई ' चुनाव भाँड्न खोज्नेलाई गाउँगाउँबाट' लखेट भन्नुको तात्पर्य त मुलुकमा मुठभेड गराउनु नै भन्ने प्रष्ट हुन्छ। हिजो माओवादीले आफ्नो पार्टीसँग फरक मत राख्ने र नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्तालाई गाउँगाउँबाट लखेटेर मुलुकमा द्वन्द्व मच्चाएको थियो। अब पनि त्यस्तै द्वन्द्व मच्चाउने दाउमा देखिन्छ माओवादी। आफैँ १८ महिना प्रधानमन्त्री हुँदा केही गर्न नसक्ने, पूर्वराजाका विश्वासप्राप्त लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउने, रमेशनाथ पाण्डेसँग साँठगाँठ गर्ने, कमल थापासँग भित्रभित्र्रै ज्ञानेन्द्रलाई पहिलो राष्ट्रपति बनाउने प्रस्ताव राख्ने माओवादी नेता नै हुन्। यसैगरी, आफूहरु राजा विरोधी नभएको र द्वन्द्वकालमा राजासँग सहकार्य गरेको खुलासा गर्ने पनि माओवादी नेता नै हुन्।  अञ्चलाधीशदेखि राजाका एडीसीसम्मका सुर्यबहादुर सेन ओली, कुमार फुदुङसम्मलाई पार्टीमा भित्रयाउने माओवादी नेताले अहिले पूर्वराजालाई जेल हाल्ने माग गर्नु चुनाव नगराउने रणनीतिअन्तर्गत रचिएको षड्यन्त्र हो।   
प्रचण्ड कहिले सिंह, कहिले श्याल, कहिले चील त कहिले कुखुरा बन्नसमेत पछि पर्दैनन्। जितेर होस् या हारेर आफू केन्द्रमै रहन सक्छन्। त्यसैले आखिर के हुन् त प्रचण्ड? लाग्छ, उनी भावनामा बग्न, रमाउन, रुन  र हँसाउन सक्ने उम्दा कलाकार हुन्। उनको हालैको अभिव्यक्तिबाट त्यही निष्कर्ष निस्कन्छ। भारत गएर सोनीया गान्धीसँग आफूले भेट नपाएको तर उनीपछि भारत पुगेका कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भेटेको पीडा छ प्रचण्डलाई। आफू पुनः भारत गएर सोनीयालाई भेटेर उनको आर्शीवाद लिएर चुनाव गराउने पक्षमा उनी छन्। यो पनि चुनाव हुन नदिने अर्को षड्यन्त्र हो।
बाबुराम भट्टराईको म प्रधानमन्त्री भएको भए पूर्वराजालाई जेल हाल्थेँ भन्ने र प्रचण्डको वैद्यका कार्यकतालाई गाउँगाउँबाट लखेट भन्ने भनाइले एमाओवादी चुनाव चाहँदैन भन्ने प्रष्ट हुन्छ। माओवादीले महाधिवेशनबाट गठित नयाँ समिति ६ महिना नपुग्दै भंग गरेको छ। चुनावमा जान चाहेको भए सायद कार्य समिति विघटन गर्ने थिएन। कार्यकर्तालाई उत्साहका साथ गाउँमा पठाउँथ्यो। त्यसले पनि देखाउँछ माओवादी चुनावका लागि तयार छैन।
नयाँ  प्रविधि लिएर गाउँ पस्ने कुरा गरेपनि एमाले चुनावका लागि तयार देखिएको छैन। बहुदलीय जनवादको नारा लिएर जनतामाझ जानका लागि घनश्याम भुसालहरुले नै अब यसको औचित्य समाप्त भयो भन्न लागेका छन्। एमालेमा केही यसलाई छुनै हुन्न भन्ने पनि छन्। त्यस दलमा सिद्धान्तकैे बारेमा विवाद छ। मधेसी र जनजाति नेताले छोडेका कारण एमाले नेतृत्वले आफूलाई कमजोर महसुस गरेको हुनुपर्छ।
मधेसवादी दलले पनि चुनावको खासै तयारी गरेको देखिँदैन। कहिले मिलेर चुनाव लड्ने कुरा गर्छन् त कहिले आआफ्नै तरिकाले चुनाव लड्ने भन्छन्। कांग्रेस पनि आन्तरिक रुपमा चुनावका लागि तयार भइसकेको छैन। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई महिना हुदाँसम्म पनि बस्न सकेको छैन।
अन्तर्राष्ट्रिय समुदायले भने नेपालमा चुनाव होस् भन्ने चाहेका छन्। नेपाल सरकार र राजनीतिक दललाई चुनावमा होमिन तयार हुन सबैले आग्रह गरिरहेका छन्। पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, शेरबहादुर देउवा तथा माधवकुमार नेपाल भारतको भ्रमण गरेर नेपाल फर्किसकेका छन्। कांग्रेस सभापति सुशील कोइराला भारत भ्रमणमा छन्। नेताहरु सबै भारत पुगेर चुनावका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्छन् तर नेपाल फर्केपछि त्यसका लागि अनुकूल हुने कुनै काम गर्दैनन्। अन्तर्राष्ट्रिय समुदाय सामु चुनावका लागि तयार हुने तर राष्ट्रिय स्तरमा चुनावको तयारी नहँुदा देश अप्ठेरोमा पर्ने शंका जनताले गर्न थालेका छन्।
चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खीलराज रेग्मी आफू चुनाव गराउन तयार भएपनि मुख्य राजनीतिक दलहरुले वातावरण बनाएको भन्ने दोष लगाएर पुनः प्रधानन्यायाधीश पदमै फर्कने सुरमा हुनसक्छन्। सरकार भित्रीरुपमा चुनाव गराउन अनिच्छुक रहेको छ। एमाओवादी, एमाले र मधेसी दलहरु बाहिर तयार देखिए पनि भित्री रुपमा चुनावका लागि तयार छैनन्। राजनीतिक दलहरु पहिले मिल्न नसकेका संघीयता, शासकीय स्वरुपजस्ता विषयमा छलफल गर्न एउटै स्थानमा बस्न सकेका छैनन्। समानुपातिकका आधारमा आउने निर्वाचन परिणामबाट कुनै दलको दुई तिहाई त के बहुमत पनि आउने अवस्था देखिँदैन। स्थानीय निकायको चुनाव नभएको १७ वर्ष पुगिसकेको छ। ग्रामीण भेगका जनता गाविस सचिवलाई भेट्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। गाउँमा पुगेको बजेट बाँडचुडमा सिद्धिने गरेको छ। कुनै निकाय पनि व्यवस्थित ढंगमा सञ्चालन हुन सकेको छैन। कर्मचारीको शासन छ र सरुवा बढुबामा समेत मनपरी छ।
जनप्रतिनिधिलाई शासन सुम्पन चुनाव अपरिहार्य हुन्छ। झिनामसिना कुरामा अल्झेर, उग्र भडकाउमा लागेर चुनाव हुन सत्तै्कन। नेपाली प्रजातन्त्र चाहन्छन्। अध्यावधिक निर्वाचनबिना प्रजातन्त्र गतिशील हुँदैन। यसैले प्रजातान्त्रिक पार्टी भएको नाताले निर्वाचनको वातावरण बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। पार्टीभित्रका झिना मसिना विषयमा अल्झन हुँदैन। कार्यकर्तालाई उचित सम्मानका साथ गाउँगाउँमा पठाउनु पर्छ। यस पटकको निर्वाचनमा कांग्रेस पछारिए धेरै पछिसम्म उठन सक्ने छैन। त्यसैले राजनीतिमा आफ््नो अस्तित्व कायमै राख्न पनि कांग्रेसले कार्यकर्तालाई मात्र होइन जनतालाई समेत आफ्ना पक्षमा क्रियाशील पार्ने कार्यक्रम लिएर गाउँगाउँमा जान सक्नुपर्छ। मुलुकका प्रजातन्त्रवादी सबै कांग्रेसको छातामा अटाउन सक्छन् भन्ने सन्देश कांग्रेसले दिन सक्नुपर्छ। कांग्रेसले मात्र आर्थिक उन्नति गर्न सक्छ, मुलुकमा प्रजातान्त्रिक संस्कार र संस्कृति विकास गर्न सक्छ, मूल्य र मान्यता स्थापित गर्न सक्छ भन्ने विश्वास नेपाली जनतामा दिलाउन सक्नुपर्छ।
राजनीतिक दलबीच सानो र ठूलो भनेर फरक व्यवहार गर्न हुन्न। त्यसैले चुनावमा भाग लिँदैनौ भन्ने ३३ दललाई तिनको मागबमोजिम गोलमेच सम्मेलन गरेरै भएपनि चुनावमा भाग लिने गराउनुपर्छ। चार दलले हाम्रो मात्रै सरकारहो भन्नु हुँदैन। असहमत पक्षले पनि यो चार दलको सत्ता हो त्यहाँ पस्नै हुँदैन भन्ने ठान्नु हुन्न। देशलाई निकास दिन र मुलुक समृद्ध बनाउन चुनाव गर्नैपर्छ नत्र मुलुक अप्ठेरोमा पर्छ। त्यति बेला चुनावका पक्ष र विपक्षमा रहेका भनेर कोही पनि उम्कन पाउनेछैन।
DMC Firewall is a Joomla Security extension!