Friday 12 Mangshir, 2071 |
Menu

विचार

अविश्रान्त चरित्रनेताको विश्राम

  • मङ्गलबार २२ श्रावण, २०७०
  • इस्माली
  • DISQUS_COMMENTS
(0 votes)
कमरेड नरबहादुर कर्माचार्य अब रहेनन् ,उनानब्बेऔं वयमा हिँडदै गरेका अभियन्तानायकले अन्तिम सास फेरे  र विश्रान्तिमा लीन भए  सत्तरी सालको साउन नौ गते बुधबार बिहान ,काठमाडौंको मोडेल अस्पतालमा। पछिल्लो समयमा एमाओवादी पार्टीसँग आवद्ध राजनीतिक अभियन्ता कर्माचार्यलाई पार्टी कार्यालय पेरिस डाँडामा पार्टीका नेता,कार्यकर्ता,समर्थक,शुभेच्छु लगायत विभिन्न राजनीतिक दलका शिर्ष नेताहरूले श्रद्धासुमन चढाए। नगर परिक्रमा गर्दै शवयात्रा भयो। खुलामञ्चमा पनि आमजनले श्रद्धाञ्जली अर्पे। अनि आर्यघाटमा दाहसंस्कार सम्पन्न भयो। यसरी एक जना अविश्रान्त अभियन्ताको जीवनचर्या पटाक्षेप भयो। पुष्पलालको विद्यालयको लौह अनुशासनका आदि उनलाई जीवनको उत्तरार्धकालमा पनि उत्तिकै सक्रिय,बिरामी भएर अस्पतालको शैयामा सुतेका थिए तर पार्टीको बैठकमा जाने हतारो थियो। उनको जीवनको पटाक्षेप त भयो तर मान्छेको हृदयमा नेपाली क्रान्तिमा र राजनीतिमा उनको निस्वार्थ योगदानको फेहरिस्त चलचित्रको चक्काझैं घुम्न थाल्यो। छापाहरूमा उनीबारे लेखमात्र होइन उनको सम्मानमा पाठकका पत्रहरूसमेत प्रकाशित भइरहेका छन्।  उनले खेति गरेको विचारको गुनले मान्छेलाई गुनिलो बनायो। अहिले मान्छेका मानसपटमा उनको हँसिलो मुखमुद्रासँगै निस्वार्थ राजनीतिक सेवा मन पर्ने गीतको धूनझैं घन्किरहेछजस्तो लाग्छ। उनी पार्थिव रुपमा मरेका भए पनि वैचारिक रुपमा जीवित छन् र जीवित रहिरहनेछन्। जनसांस्कृतिक कर्मी रायनले गाउने गरेको गीत 'मान्छे त एक दिन मर्दछ उसको विचार मर्दैन,जनताका लागि मर्ने मान्छे कहिल्यै मर्दैन' भनेझैं।

अभियन्ता कर्माचार्य कहिल्यै न त पार्टीको सत्तामा न त राज्यको सत्तामा रहे,एकाध पटक रहे पनि गर्जो टार्ने हिसाबले,प्राविधिक कामकुरो मिलाउन। सत्ताले विचलन ल्याउँछ भन्ने सत्य शायद उनको मनमा लिसोझैं टाँसिएको थियो कि! सत्ताको लोभलालसाबाट धेरै पर थियो उनको मनको मुकाम। उनबाट मानिसले पाउने 'लाभ' केही छैन। तर पनि उनीप्रति मानिसको मनमा उत्कट प्रेम!
उनको मनको मुकाममा रौरव नर्कमा निसासिइरहेका जनमनलाई धरतीकै सुखमय स्वर्गमा स्थायी बसोबास गराउने उत्कट अभिलाषा थियो। नेपाली राजनीतिमा चेतनाको धिपधिपे राँको बाल्ने काम विक्रमाब्दको नब्बेको दशकमा केही जिउँदा नेपाली ज्यानहरूले गरे। त्यस्तो दुस्साहस गरेबापत तिनले ज्यानै जाने भारी मूल्य चुकाउनु पर्‍यो।  तीमध्ये चारजनालाई रुखमा झुण्ड्याएर,गोली ठोकेर फाँसी दियो निरङ्कुश राणा सरकारले। किशोरवयी कर्माचार्यले रुखमा झुण्ड्याइएका ती शहिदलाई आफ्नै आँखाले देखे। त्यो हेर्न उनी सिफल पुगे, पचली गए अनि विजयेश्वरी धाए, हेर्दाहेर्दै गाह्रो भयो। ठाउँठाउँमा तिनले जनजनको सुषुप्त प्रतिरोध पनि आफ्नै आँखाले देखे। किशोर मनमस्तिष्क उद्वेलित भयो , मथिङ्गलमा नानाथरी कुराहरू खेल्न थाले —यस्तो किन भइराछ?घरको सौतेनी माम्लोले दिमाग त्यसै पनि तातिरहेको हुन्थ्यो। झन त्यसमाथि थपियो अर्को अतिचार। साथी भैरव र राजारामलाई सोधे, 'यस्तो बेकाइदा किन भइराछ? रोक्नुपर्छ यो बेकाइदा। रोक्ने कसरी हो यो बर्बरता?'  
अनि त साथी भैरव र राजारामसमेतको सहभागितामा शुरु भयो गुप्त संगठनको गतिविधि। तिघ्रा चिरी रगतको ल्याप्चे लगाउँदै हेलिए अन्याय र निरङ्कुशताको विरुद्धको संघर्षमा। म्याटि्रक त जिनतिन पास गरे। त्यसपछि औपचारिक पढाइ उनको प्राथमिकतामा कहिल्यै परेन। देश,जनता,पार्टी , क्रान्ति र अग्रगमन नै उनको मूलमन्त्र बन्यो। भूमिगत किताबहरू पढने लत बस्यो। साम्यवादका सन्देश पुस्तक पढेपछि त्यसैले मन छोयो र त्यही विचारतिर आकष्र्िात भए। 'नाश गरौं यो राणाशाही झण्डा लाल समाऔं। दूर हटाई धनीगरीबी समको राज्य बनाऔं।। रक्त बगाई धनसम्पति सब पैदा गर्छौ हामी। तैपनि किन हो हाय अचम्भ भोकै मर्छौ हामी।। 'जस्तो गीत तिनताकै गाउँदै हिँडने उनको सम्पर्क  साँगठनिक कामकै सिलसिलामा काइँला बा (देबेन्द्रलाल श्रेष्ठ),पुष्पलाल, निरञ्जनगोविन्द वैद्य, नारायणविलाश जोशी लगायत अरुहरूसँग पनि भयो। तिनताका मुस्किलले पाइने र लुकीचोरी पढनपर्ने सीमित मार्क्सवादी साहित्य पढेपछि साम्यवादप्रति आकर्षण बढ्यो उनको। अनि त कम्युनिष्ट पार्टी खोल्ने हुटहुटी चढ्यो उनमा। तर पार्टी खोल्ने कामकुरो फलामको च्युरा चपाउनेजस्तो होइन यमराजको आतिथ्य ग्रहण गर्नेजस्तो हुन्थ्यो,झन कम्युनिष्ट पार्टी खोल्ने कुरो त सपनामा धरि चिताउन गाह्रो थियो। प्रेमबहादुर कंसाकारको नेतृत्वको नेपाल प्रजातन्त्र संघको सक्रीय सदस्यताले नपुगेर गोपाल प्रसाद रिमालको प्रजा पञ्चायतको सदस्य पनि बने। प्रजातन्त्रका लागि लडदालडदै दमन चर्को हँुदै गएपछि बाध्य भएर भारत प्रवासमा गए। रक्सौल,दरभंगा,अयोध्या  लगायत विभिन्न शहरको हावा खाँदै अन्ततोगत्वा पुगे कलकत्ता साम्यवादी नेताको खोजीमा। तिनताका भारतमा पनि पार्टीहरू प्रतिबन्धित नै थिए। बल्लतल्ल सम्पर्क बनाए पुष्पलालले भाकपाका स्थानीय नेतासँग। र जम्मा भए चारभाई—नरबहादुर आफू,उनका प्रेरक पुष्पलाल,र सहकर्मी साथीहरू निरञ्जनगोविन्द वैद्य, नारायणविलाश जोशी। एउटा घोषणापत्र मस्यौदा तयार पारे र नेपाल कम्युनिष्ट पार्टी स्थापना गरे ०६ साल ६ बैशाखका दिन। अनि त जीवनले  अर्को चरणमा प्रवेश पायो। यतिञ्जेल अरुको पार्टीमा काम गरिएको थियो ,अब आफ्नै पार्टी भयो —नेपाल कम्युनिष्ट पार्टी। उनको मनले चिताएको पार्टी।
अहिले त्यही पार्टी चिराचिरामा बाँडिएको छ र दशदिशातिर फर्केका छन्। कोही दक्षिणतिर त कोही उत्तरतिर,कोही भारततिर त कोही चीनतिर,कोही प्रभूतिर त कोही पैसातिर। कोही अमेरिकाले आतंककारी सूचिबाट हटायो भनेर दङ्ग छन् त कोही भारतले भाउ दियो भनेर मक्ख छन्। सैकडा साठीको जनमत पाएका कम्युनिष्टहरू परस्पर सत्तोसराप गर्नु र आफ्नो तुम्बा भर्नुबाहेक जनहितका लागि माखो पनि मार्न सकिरहेका छैनन्। अब त पार्टीले केही गर्ला कि जस्तो लाग्दै थियो उनलाई , फुटिदियो पोहोर मात्र उनी रहेकै पार्टी,अन्तिम बेलामा उनी संरक्षक थिए जाने साथीहरूले छोडिगएको पार्टीको।
कामरेड नरबहादुर कर्माचार्य पटक पटक जेल बसे ,कहिले मुक्ति सेनाको हिरासतमा त कहिले सरकारको कैदमा।तर विद्रोह गर्न छोडेनन्। नक्खु जेलमा पनि विद्रोह,भारत प्रवासमा पनि लोहियाको नेपाललाई भारतीय प्रान्त ठान्ने मतको प्रतिरोध। मनमोहनको शान्तिपूर्णसमाजवादी आन्दोलनमा लाग्ने वक्तव्यको प्रतिरोधलगायत रायमाझीको राजावादी लाइनको विरोध गर्न पनि उनी चुकेनन्। पार्टी हित विपरित जानेमा मोतिदेवीलगायत अरुलाई पार्टीबाट निलम्बन गर्न पनि पछि हटेनन्। स्पष्टवक्ता, कसैको मोलाहिजा छैन। लोभ पनि छैन। ४७ सालमा बहुदल आएपछि सन्त नेता किसुनजीको सिफारिशको राजनीतिक पीडितको रकम पनि उनले राजनीति आस्था र सेवाको सिद्धान्त हो लाभको होइन भन्दै लिन अस्वीकार गरे। हुन त जोगी हुन राजनीति गरेको होइन भन्ने राजनीतिज्ञहरूको जमातलाई कामरेड कर्माचार्यको त्यस्तो बोली र कर्म फुटेको मादलको तालमा बजेको बेसुरे गीतजस्तो लाग्दो हो।
 कर्मकाण्डी ब्राह्मणबाजेका नाति,राणाका चाकरीदार सेवक बाबुका छोरा उनले विपरित जीवनमार्ग अवलम्बन गरे —राणा विरोधी,कर्मकाण्डी परम्परा विरोधी। आजीवन अविवाहित उनी आर्थिक हिसाबले कमजोर वर्गकै मानिस थिए ,भाइबहिनीको भरथेगमा उनीहरूको आजीवन अभिभावक बनेर रहे।
दीर्घ राजनीतिक यात्रामा कामरेड कर्माचार्यको पार्टी यात्रा पनि विविधताले भरिएको देखिन्छ। तेश्रो महाधिवेशन पछिको पार्टी विभाजनपछि दुई दशकसम्म सहकार्य गरेको पुष्पलालतिर पनि उनी लागेनन् न त आफ्नै शहरका तुलसीलालतिर लागे बरु जिल्ला समितिलाई नै तटस्थ राखे। त्यसपछिको यात्राले भने मोहनविक्रम र निर्मल लामाको चौथो महाधिवेशनबाट निरन्तरता पायो। अनि चौम,एकता केन्द्र,एकताकेन्द मसाल हँुदै एकीकृत माओवादी। धोबिघाटको जमघटमा पनि रहे उनी। धोबीघाटको भेलाले माओवादी पार्टीभित्र उत्पन्न तरङ्ग सबैलाई थाहा छ।  एकताकेन्द्र र माओवादी पार्टीको एकीकरणपश्चात उनी एकीकृत नेकपा माओवादी पार्टीको पोलिटब्युरो सदस्य,केन्द्रीय सदस्य ,सल्लाहकार र पछि संरक्षकका रुपमा रहे। र उनी रहेेे जनताकै माझमा। मानिसहरू उनलाई पार्टीको गहना भन्थे।
कामरेड नरबहादुर कर्माचार्य अब हाम्रा माझ छैनन्। उनका सम्झनाहरू मात्र छन् हामीसँग। उनलाई एमाओवादीका अध्यक्ष प्रचण्डले दागबत्ती दिए। पार्टीको नेता कार्यकर्ताको मृत्युमा पार्टीले अभिभावकत्व स्वरुप दागबत्ती दिने चलन एकताकेन्द्र पार्टीमा उनैले चलाएका थिए कामरेड दिवाकर र कामरेड निर्मल लामालाई दागबत्ती दिएर। पार्टी नेतृत्व आफ्ना कार्यकर्ताको अभिभावक हो भन्थे उनी। पार्टीप्रणालीभित्र विवाहलगायत विभिन्न घरायसी व्यवहारमा पनि नेतृत्वले समुचित विचार पुर्‍याउनु पर्छ भन्ने मतका उनले आफूसमेत साथीहरूको पहलमा पुष्पलाल र सहानाको विवाह पनि गराएका थिए।
कामरेड नरबहादुर कर्माचार्य  सादा जीवन उच्च विचारका व्यक्ति थिए। अनुशासित जीवन शैली,विचारप्रति निष्ठावान तथा प्रतिवद्धता औ वैचारिक निरन्तरता उनको विशेषता हो। सिद्धान्तनिष्ट कम्युनिष्टहरूको बीचको एकता र सहकार्यका कायम गरी देशलाई अग्रगतिमा लाने र जनमुखी गणतन्त्रात्मक नेपाल देख्ने धोको साँचेका उनलाई  नेपाली राजनीतिमा उनले दिएको सतत सार्थक योगदानका लागि थुप्रै महत्वपूर्ण संघसंस्थाहरूले पटकपटक सम्मान गरेका थिए।  
हँसिलोखुसिलो अनुहारका कामरेडलाई २०४९सालमा कोरिया भ्रमणबाट फर्कँदा चीनले सँगैका साथी रोहित र जीवराजलाई चीनको  प्रवेशाज्ञा दिएको तर चीनमा प्रतिक्रान्ति भएको ठहर चौमको रहेको हुनाले उनलाई प्रवेशाज्ञा नदिएको तितो अनुभव पनि उनको स्मृतिमा जिउँदै थियो। माया गर्नेहरू धेरैले उनलाई पार्टीको बहुमुल्य आभूषण  ठान्थे। कम्युनिष्ट पार्टीका यी संस्थापकको मृत्युसँगै नेपालको कम्युनिष्ट आन्दोलनको एउटा युगको पटाक्षेप भएको छ। कम्युनमा निष्ठा राख्ने मानिस कम्युनिष्ट भनिने हुन् तर अचेल कम्युनमा होइनन् व्यक्तिगत सम्पति आर्जनको होड र सुखसयल विलासिता प्रतिको आसक्ति कम्युनिष्ट भनिनेहरूमा तीव्रतर रुपमा बढदै गएको छ। पजेरो मोह बढदै गएको छ। कम्युनिष्ट आन्दोलन संसदीय भासमा हेलिइसकेको छ। वर्ग संघर्ष र सर्वहारा अधिनायकत्व फडके किनाराका कुरा बनेका छन्। सत्तामा पुगेका कम्युनिष्ट पार्टीहरू जनताको हिततिरभन्दा आफ्ना गुटका कार्यकर्ताहरू पोस्न कम्म्ार कसेर लागेका पाइन्छन्। जनता कम्युनिष्ट पार्टीहरूप्रति समेत उदासिन हँुदै गएका छन्। यस्तो अवस्थामा कामरेड नरबहादुर कर्माचार्यको सादा जीवन उच्च विचार र जनताप्रतिको अविचल निष्ठा र वैचारिक निष्ठाको निरन्तरताले प्रेरित भई सद्मार्गमा हामी उभिन सक्यांै र जनताको हितको पक्षधर विचारको पक्षमा उभिन सक्यौंंभने त्यही नै दिवंगत कामरेडप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। उनको जीवन्त कर्मले उनलाई अमर राख्ने त छ नै। रायनको गीतमा अभिव्यक्त भएझैं—मान्छे त एक दिन मर्दछ उसको विचार मर्दैन,जनताका लागि मर्ने मान्छे कहिल्यै मर्दैन।