6 Mangshir, 2071 |
Menu

विचार

उनको जिन्दगानी

(0 votes)
पोर्टल्यान्डस्थित एउटा हाइस्कुलको खेलमैदानमा उनी भेटिए। पोर्टल्यान्डमा बस्ने नेपालीमध्ये केही हरेक आइतबार यस स्कुलको मैदानमा फुटबल खेल्न आउने गर्छन्। पछिल्लो केही समयदेखि म पनि दर्शकका रूपमा भए पनि प्रत्येक आइतबार यहाँ आइरहेको थिएँ तर उनीसँग भने आजमात्र भेट भएको थियो। सुरुमा ठट्यौलो पारामा आफ्नो नाम शिव श्रेष्ठ बताएका २७ वर्षीय युवाको वास्तविक नाम भने सोनाम रहेछ।
राजेन्द्र ज्ञवाली

राजेन्द्र ज्ञवाली नागरिक दैनिकका सह-सम्पादक हुन्।  Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
'दाइ मेरो बिहे त टुट्यो नि! उनले भरखरै मैदानमा छिरेका अर्का एक जनालाई भने। तर त्यसको केहीअघि मात्र त्यो कुरा मैले उनीसँगको परिचयसँगै थाहा पाइसकेको थिएँ। 'धन्न छोराछोरी नहँुदै अलग भएछौ, नत्र दुःख पाउथ्यौँ।' अर्का एक जनाले भनेको सुनेपछि मैले अघिल्लो आइतबार सुनेको त्यस्तै अर्को घटना सम्झें। त्यहीँ फुटबल खेल्न आउने एक जना भाइको पनि त्यस्तै भएको रहेछ। नेपाल आएकी अमेरिकी पर्यटकसँग माया बसेपछि उनी घर ज्वाइँ बन्न ओरेगन राज्यको पोर्टल्यान्ड आएका थिए। चार वर्षको वैवाहिक जीवनपछि अलग हुन परे पनि सन्तान नभएका कारण दुःख नभएको उनले बताएका थिए।
'मैले त्यसपछि नेपाल गएर अर्को बिहे गरेर आएँ'– उनले भनेका थिए। तर सोनामको कुरा भने त्यस्तो थिएन। निकै उदास देखिन्थे उनी। आफ्नो जीवन चलचित्रको कथा जस्तो भयो भन्दै थिए बारम्बार। आफ्ना कुरा भन्दा मुस्कुराउन बिर्सदैनथे। तर उनको मुस्कानमा निहीत फिक्कापन राम्ररी नै उजागर भइरहेको थियो। 'मैले पत्नीका रूपमा त्यस्ती युवती पाउँदिन दाइ। मेरै त्रुटिका कारण हामी अलग हुनुपरेको हो'– उनी बारम्बार भनिरहेका थिए।
काठमाडौंको बौद्ध र पोखरा घर भएका सोनामको कथा पनि विदेशी पर्यटकसँगको प्रेममै आधारित छ। तर त्यो प्रेम अंकुरित र प्रस्फुटन सबै भारतको गोवामा भएको थियो। उनी लगभग सात वर्षअघि गोवा गएका थिए। त्यहीँ उनको एक जना विदेशी मित्रको मिल्ने साथी थिइन् उनकी पत्नी। साथीलाई भेट्न गोवा आएको बेला सोनमसँग उनको माया नजानिँदो किसिमले बस्यो। त्यसपछि कोरिया जानुपर्ने अमेरिकाको सियाटलकी ती युवती सोनमसँगै छ महिना गोवामै बसिन् र आइन् सँगै नेपालमा। 'उसले मेरालागि के मात्र गरिन दाइ?' आफ्ना लागि नेपाली बोल्न, नेपाली गाउन र नेपाली खाना पकाउनसमेत सिकेको सोनामले बताए।
छ महिनाको प्रेमलाई दुवैले वैवाहिक बन्धनमा बाँध्ने निर्णय गरे। त्यसपछि पनि लगभग  साढे दुई वर्ष दुवै नेपालमै बसे। अनि अमेरिका आए नयाँ भविष्य निर्माण गर्न। तर अमेरिका आएको दुई वर्षमै परिस्थितिले यसरी कोल्टे फेर्‍यो कि दुवै नदीका दुई किनारमा उभिन बाध्य छन्। 'उसले जति मिठो दाल कसैले पकाउन सक्दैन'– अलग भइसकेकी आफ्नी पत्नीको बखान गर्दैथे सोनाम। 'म निरास भएको बेला, रिसाएको बेला गितार बजाउँदै नेपाली गीत सुनाएर मलाई फकाउँथी।'
आफ्नो आमा बुबाले दिएको कारसमेत लैजान नमानेकी आफ्नी पत्नीलाई उनले सम्झाएर कार दिएका थिए। संयुक्त खातामा भएको पैसा पनि सबै सोनामलाई नै छाडेर गएकी रहिछन् उनी। पत्नीसँग अलग हुनुपरेको दुःखमा एक महिना जति भएछ उनी काममा पनि जान छाडेको। 'केही रमाइलो लाग्दैन दाइ अचेल। खान पनि मन लाग्दैन। काम गर्न पनि मन लाग्दैन।' अबको नोभेम्बरमा उनले अमेरिकी नागरिकताका लागि निवेदन दिन पाउनेछन् तर त्यसअघि पारपाचुके भएको खण्डमा उनले त्यो अधिकार गुमाउनेछन्। त्यसैले उनकी पत्नी आफैँले नोभेम्बरपछि अर्थात् उनले अमेरिकी नागरिकताका लागि आवेदन दिएपछि मात्र कानुनीरूपमा पारपाचुके गर्ने सुझाव दिएकी रहिछन्।
'माया त हामी दुवै एकअर्कालाई अझ पनि गर्छौँ दाइ।' त्यसैले छुट्टिने निर्णय गर्दा हामी दुवै रोएका थियौँ। रुँदै रुँदै अलग भयौँ।' 'माया गरेरमात्र हँुदैन रहेछ दाइ, देखाउनु पनि पर्दोरहेछ। म त्यहीँनिर चुकेको थिएँ'– अलग हुनुको मुख्य कारण आफूले श्रीमतीलाई समय दिन नसकेको बताउँदै उनले भने। दुवैको कामको समय नमिलेका कारण समस्या उत्पन्न भएको रहेछ। उनी कामबाट फर्केर आउँदा पत्नी सुतिसकेकी हुने। अनि पत्नी कामबाट फर्केर आउँदा उनी काममा हुने। त्यसबाहेक आफ्नो झनक्क रिसाउने बानीलाई पनि दोष दिँदै थिए सोनाम। धेरै पटक उनले रिस देखाएका रहेछन्। अनि उनी रिसाउँदा पत्नीले कहिल्यै जवाफ फर्काइनन् रे। आफ्नो रिससँग श्रीमती निकै तर्सिने गरेको पनि उनले बताए। यी कुरालाई गम्भीरपूर्वक लिएको भए आज यस्तो स्थिति भोग्न नपर्ने बताउँदै थिए उनी। पत्नीले चाहेको भए निकै दुःख दिन सक्ने बताउँदै थिए सोनाम तर दुःखको त के कुरा छाडेर जाँदा पनि उनकै बारेमा चिन्तित थिइन् रे।
सोनामको जीवन कथा सुन्दा मलाई अचम्म लागेको थियो। पत्नीसँग अलग हुनाको पीडा थियो। अनि पत्नीको प्रशंसामै शब्द खर्चंदै थिए उनी। 'अझ उसका आमाबुबाले त मलाई झनै माया गर्छन्।' आफ्नो बिहेमा दुवै नेपाल आएको सम्झँदै उनी भन्दै थिए। उनीहरू अलग हुने निर्णय सुनेपछि निकै रोएकी थिइन् रे उनकी सासू। अझ पनि सासू ससुराले उनीप्रति सहानुभूति नै राख्दा रहेछन्। कुराकानीकै क्रममा आफ्नी सासूले पठाएको सन्देश उनले मोबाइलमा देखाए। सासूले उनीप्रति सहानुभूति प्रकट गर्दै सन्देश पठाएकी रहिछन्। 'उसले केही लिएर गइन्। आफ्ना केटाकेटीदेखिका तस्बिरसमेत छाडेर गएकी छे।' मैले गर्दा म र ऊ दुवैले दुःख पाउने भयौँ।' आफ्नी पत्नीसँग बिताएको साढे चार वर्ष एकै छिनमा समाप्त भएको जस्तो लागेको बताउँदै उनले थपे। 'सिनेमामा हेरेको थिएँ। अरुको सुनेको थिएँ। आज आफँैलाई परेपछि थाहा भयो।'
'वास्तवमा हामी विदेशी भन्नेबित्तिकै कति गलत सोँच्छौँ तर त्यस्तो होइन। मलाई उसले गर्ने जति माया अरु कसैबाट पाउन सक्दिन मैले। उसले त मेरो कल्पनाभन्दा पनि बढी माया गर्थी, मलाई मैले नै बुझ्न सकिन। अहिले पछुतो भइरहेछ। तर कानुनीरूपमा अझै पारपाचुके नभइसकेको अवस्थामा पुनः सँगै हुन सक्ने सम्भावना देखाउँदा उनले त्यसको कुनै गुञ्जायस नरहेको बताउँदै भने– यहाँनेर भने विदेशी हामीभन्दा फरक छन्। उनीहरूले एक पटक लिएको निर्णय फेरेको उदाहरण विरलै पाइन्छ। 'उसले पनि अलग हुने निर्णय त छ महिनाअघि नै गरिसकेकी रहिछ'– अर्को उदास मुस्कान छर्दै सोनामले भने।