Sunday 7 Baishak, 2071 |
Menu

विचार

ज्ञानेन्द्र शाहको कदम

(0 votes)
पूर्वराजा ज्ञानेन्द्र शाह सुदूर पश्चिमाञ्चलको भ्रमणमा रहँदा उनीप्रति स्थानीय जनताले देखाएको चाख र उनले बाढी पीडित जनतालाई गरेको सहयोगका कारण अचानक राजा र राजतन्त्र पनि ठीक हो कि भ्रम केही व्यक्तिमा परेको देखिन्छ। पूर्व राजाले जनताको सेवामा जे गरे त्यसले राजतन्त्र ठीक भएको प्रमाणित गर्ने होइन। बरु, जनताको रुपमा पूर्वराजा ज्ञानेन्द्र सही काम गर्ने कोसिस गर्दा रहेछन् भन्ने चाहिँ देखिएको छ। आफू राजा हुनेबित्तिकै राजपरिवारको वार्षिक खर्च २२ करोडबाट बढाएर ६५ करोड पुर्‍याउने शाहलाई अहिले अचानक नेपाली जनताको अन्तिम उद्धारकर्ता ठानिहाल्नु हतारको निष्कर्ष हुनसक्छ। तर उनले गरेको सहयोग र परोपकारको कार्यलाई भने कम मूल्यांकन गर्नु हुँदैन। आफूलाई जनताका सक्कली प्रतिनिधि भन्नेहरू काठमाडौंको शीतलमा आराम गरेर बसेका बेला शाह धनगढीको गर्मीमा जनताको सेवाको लागि आफँै अग्रसर हुनु सराहनीय हो। तर, ज्ञानेन्द्र शाह एक जना धनी नेपाली भएका नाताले जनसेवा गर्दैछन् कि गुमेको राजतन्त्र पुनर्स्थापना गर्न षड्यन्त्र भन्ने गम्भीर प्रश्न पनि उठेको छ। पूर्वराजामा अझै पनि कुनै प्रकारको राजतन्त्र फर्काउने चाहना ज्युँदै छ भने अहिलेका शासकले त्यसको प्रतिकार गर्नुपर्छ। बाबुराम भट्टराईले बोले भन्दैमा त्यसलाई गलत मान्नु पर्दैन। केही राजनीतिक दलका हतास नेताहरूले कतै आडभरोसा नपाएका कारण पूर्वराजासँग सहकार्य गर्ने इच्छा देखाउनु पनि स्वाभाविकै होला तर यसले ज्ञानेन्द्र शाहलाई दिग्भ्रमित नपारोस् भन्ने चाहना लोकतान्त्रिक शक्तिको हुनुपर्छ।
सम्पादकीय

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

शाह आफैँले सोझो सम्बन्ध नदेखाए पनि कमल थापाको नेतृत्वमा रहेका पुराना मण्डले र राजावादीहरू राजतन्त्रको पुनरागमनका लागि खुला राजनीति गर्दैआएका छन्। विसं २०६३ को आन्दोलनपश्चात पनि कुनै राजनीतिक दल लोकतन्त्रविपरीत जान पाउँछ कि पाउन्न भन्ने कुनै प्रावधान नबनेको हुनाले लोकतन्त्र विरोधी शक्तिहरू समाजमा सशक्त रुपमा परिचालित छन्। विडम्बना, तिनलाई कुनै गतिरोध भयो भने ती दल आफैँ चाहिँ लोकतन्त्रको दुहाई दिएर सुरक्षा खोज्छन्। वास्तवमा लोकतन्त्र, राष्ट्रिय अखण्डता र आधारभूत मानव अधिकार विरोधी अधिनायकवाद समर्थक समूहलाई राजनीतिक प्रश्रय दिनु हुँदैन। नेपाललाई राजतन्त्रमात्र होइन कुनैपनि किसिमको एकतन्त्र चाहिएको छैन।
ज्ञानेन्द्र शाहमा राजनीतिक महत्वाकांक्षा हुनु पनि आफैँमा समस्या चाहिँ होइन। तर राजनीतिक दलहरूको परस्पर र आन्तरिक  द्वन्दका कारण नेपालमा फेरी राजतन्त्र स्थापित हुन्छ भनेर कुरेर बस्दा गणतन्त्र पुनःस्थापित हुने अवस्था आयो भने फ्रान्सको गणतान्त्रिक अभ्यासजस्तै हुनसक्छ भन्ने बिर्सनु उनैका लागि पनि हितकर हुँदैन। पूर्व राजा शाहले साधारण जनताका रूपमा राजनीतिमा आउन पाउनुपर्छ। समाज सेवाको आवरणमा राजतन्त्र पुनर्स्थापना गर्ने सपना देखेर बस्नुभन्दा सिधै राजनीतिमा आउनु बरु देश र पूर्वराजा शाह दुवैको हितमा हुने देखिन्छ। बहुमत ल्याउने दललाई शासक नमान्नु अलोकतान्त्रिक हुन्छ। कथित 'राष्ट्रवादी' शक्ति एक हुने अवस्था भयो र तिनको नेतृत्व ज्ञानेन्द्र शाहको हातमा गयो भने पनि राजनीतिकरूपमा अगाडी नआएर नेपथ्यमा बसेर नेता बनिदैँन। ज्ञानेन्द्र शाहमात्र उनका परिवारका सबैलाई खुल्ला राजनीतिमा आउने अधिकार छ। जनताको विश्वास जितेर सत्तामा जाँदा कसैले कुनैपनि प्रकारको विरोध गर्न पाउने छैनन्। अहिले तर्सिएका एनेकपा (माओवादी)लगायतका दलले समेत शाह खुला राजनीतिमा आएमा त्यसलाई स्वीकार गर्नुपर्ने हुन्छ। तर नेपथ्यमा बसेर शासन सत्ता फिर्ता पाउने अभिलाषामा गोटी चल्न थालिएको हो भने सम्पुर्ण लोकतान्त्रिक शक्ति राजतन्त्रका नाममा कहिल्यै टाउको उठाउन नसक्ने गरी आन्दोलनमा उत्रन सक्छन्। त्यसबेला सबैभन्दा ठूलो क्षति ज्ञानेन्द्र शाहकै हुनेछ। भविष्यमा हुनसक्ने खतराप्रति समयमै सजग हुनु हितकर हुन्छ।