Thursday 16 Ashwin, 2071 |
Menu

विचार

softworica

शान्ता चौधरीको संघर्ष

(0 votes)
संघर्ष सबैभन्दा महत्त्वपूर्ण कुरा मान्ने हो भने पूर्वकमलरी शान्ता चौधरी नेपाली महिलाकी रोलमोडल हुन्। आमाको औँलामा पिङ खेल्ने उमेरमै कमलरी बनेकी शान्ताको संघर्षको कथा सहरिया महिलाका लागि अकल्पनीय छ। तर, अथक संघर्षकै परिणामस्वरूप उनी देशकै भाग्य कोर्ने संविधान सभा सदस्यसम्म भइन्। माइतीबाट पाएको दाइजो, श्रीमान्बाट पाएको दया, कम्मरमा झुन्डिने साँचोको झुप्पा र हातमा नछुट्ने टीभीको रिमोटलाई सर्वस्व ठान्ने महिलाले शान्ताको संघर्षबाट सिक्न सके देशकै अनुहार फेरिन सक्छ।
अभय श्रेष्ठ

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.

संघर्षको महागाथा
संविधान सभा छिर्दासम्म शान्ताले कखरा चिनेकी थिइनन्। व्यवस्थापिका–संसद्को प्राकृतिक स्रोत र साधन समितिको सभापति बन्दा उनलाई 'औँठाछाप' भनेर गिल्याउने सभासद् धेरै थिए। तर, पढेलेखेर मै हुँ भन्नेहरूले भन्दा राम्ररी उनले त्यो भूमिका निर्वाह गरिन्। नेपाली कांग्रेसका नेता तथा पूर्वसभासद् लक्ष्मण घिमिरेले अघिल्लो हप्ता शान्ताको आत्मकथा 'कमलरीदेखि सभासद्सम्म' विमोचन कार्यक्रममा भने, 'उहाँले अत्यन्त परिपक्व ढंगले सभापतिको भूमिका निर्वाह गर्नुभयो।'
शान्ता चौधरी सात जना जमिनदारकहाँ कमलरी बसिन्। गरिखान एक धरो जमिन नहुँदाको दुःख र आफूले जस्तै छोराछोरीले दुर्दशा भोग्नु नपरोस् भन्ने कामनाले उनलाई भूमिहीन संघर्षमा होमिन प्रेरित गर्‍यो। जमिनदारहरूले श्रीमान् र परिवारलाई आन्दोलनविरुद्ध उक्साउँदा उनले कतिकति लात र मुक्का खप्नुपर्‍यो। कुटेरै हात भाँचिदिएका थिए। जेठाजुले समेत लात हान्थे। २०५७ साल साउन २ गते सरकारले कमैया, कमलरी मुक्तिको घोषणा गर्‍यो। तर, शान्ता स्वयं ०६३ सालसम्मै कमलरी थिइन्। कमैया मुक्तिपछि शान्ताको परिवारले जमिनदारको छाप्रो छाडेर नजिकैको वनमा घर बनायो। जमिनदारले थाहा पाएपछि प्रहरी लिएर आए र छाप्रो भत्काइदिए। फेरि त्यहीँ छाप्रो बनाएपछि प्रहरीले आगो लगाइदिए। त्यतिखेर शान्ता नौ दिनकी सुत्केरी थिइन्। अघिल्लो वर्ष पहिलो बच्चा जन्मँदा पाँच दिनसम्म उनले पानीमात्र खाएर ज्यान जोगाएकी थिइन्। प्रहरीले उनीबाहेक परिवारका सबैलाई थुनिदियो। जलेकै छाप्रो टालटुल गरेर त्यहीँ बसिन्। खानेकुरा केही थिएन। पेट भोको हुँदा दूध सुक्यो। दूध खान नपाएरै १९ औँ दिन बच्चा मरेको प्रसंग कोट्याउँदा कार्यक्रममा मुस्किलले उनले भक्कानो रोकिन्।
कमैया मुक्ति घोषणापछि शान्ताले परिवार र आफ्नै समुदायको विश्वास जित्न गरेको संघर्ष असाधारण छ। उनकै पहलमा दाङको डाँडागाउँ, चुक्लीपाटामा बिजुली बल्यो। सांसद विकास कोषबाट सहयोग जुटाएर गाउँमा इनार खनियो। २०६१ सालमा उनी भूमिहीन अधिकार मञ्च दाङकी अध्यक्ष भएको थाहा पाएर जिम्दार्नीले कामको बोझ थपिदिइन्। समय नपाउँदा उनी बिहानै दुई भारी घाँस काट्थिन्। एक भारी साथीकहाँ लुकाउँथिन्। अर्को भारी जमिनदारकहाँ पुर्‍याउँथिन्। साँझ फेरि घाँस काट्न भनेर निस्कन्थिन् र आन्दोलनमा पुग्थिन्। फर्कँदा बिहान साथीकहाँ लुकाएको घाँस लिएर आउँथिन्। २०६४ फागुन १८–२० मा दाङमा भएको राष्ट्रिय भूमि अधिकार मञ्चको दोस्रो सम्मेलन उनको जीवनको कोसे ढुंगा थियो जहाँ राष्ट्रिय स्तरका नेताले उनलाई 'मार्क' गरे। त्यसले नै उनलाई संविधान सभा सदस्य बन्ने बाटो खुलायो। उनी एमालेबाट समानुपातिकतर्फको सभासद् भइन्। सबै सभासद्लाई स्यालुट गरिरहेका सुरक्षाकर्मीले मैलो थारु परिधानमा संविधान सभा छिरेकी शान्तालाई पहिलो दिन स्यालुटसमेत गरेनन्। उल्टै झोला खानतलासी गरेका थिए।
शान्ताले शैक्षिक, मानसिक र व्यक्तित्व विकासमा गरेको परिवर्तन उदाहरणीय छ। २०६१ सालतिर दाङको डाँडागाउँस्थित वसन्तपुर सामुदायिक वनको परिचयात्मक कार्यक्रममा अगाडिका एक जनाले आफ्नो परिचय दिए, 'नमस्कार, म प्रेमप्रकाश देवकोटा। घर डाँडागाउँ वसन्तपुर।' परिचय के हो, शान्तालाई थाहा थिएन। शान्ताले पनि भनेकी थिइन्, 'म प्रेमप्रकाश देवकोटा। घर डाँडागाउँ, वसन्तपुर।' भूमिहीन अगुवा कार्यकर्ताको भेलामा सुनसरी जाने क्रममा हेटौँडाको शौचालयमा पिसाब गर्दा पैसा तिर्नुपर्ने सुनेर उनी अचम्भित भएकी थिइन्। २०६३ सालमा मालपोत कार्यालय दाङमा १९ दिनसम्म तालाबन्दी गरेपछि सरकारले वार्ताका लागि काठमाडौँ बोलायो। लुंगी र ब्लाउज लगाएर खाली खुट्टा उनी काठमाडौँ आइन्। खुट्टाभरि हिलो देखेर मन्त्रालयका कर्मचारीले धुन पठाए। धारा चलाउन नजान्दा उनी निथ्रुक्क रुजिन्। थाहा नपाएर पुरुष शौचालयमा छिरिन्। संविधान सभा छिर्दासम्म कखरा नचिनेकी र आफ्नै ड्राइभरलाई 'सर' भन्ने त्यस्तो हालतकी शान्ताले अत्यन्त छोटो समयमै आफैँ गाडी चलाउन, ल्यापटपमा नेपाली टाइप गर्न र इमेल गर्न सिकिन्। अन्ततः उनले आत्मकथै लेखिन्। शान्ताको अथक संघर्ष र इच्छाशक्तिबाट सबै नेपालीले सिक्नु जरुरी छ।
जैविक बुद्धिजीवी
संविधान सभाको प्रत्यक्ष चुनावमै थिचिएका, मिचिएका, आफन्त गुमाएका, मान्छेको दर्जा नपाएका, दुःखी, गरिब, दलित, उत्पीडित, महिला, आदिवासी, जनजाति, मुसलमान, मधेसीले जुन संख्यामा र जसरी चिरपरिचित पुराना नेतामाथि शानदार जित हासिल गरे, त्यो युगान्तकारी थियो। त्यस विजयले हिजो कहिल्यै त्यहाँ पुग्ने नसोचिएका समुदायको आत्मविश्वासमात्र बढाएन, तिनलाई मूलधारमा ल्याउन पनि महत्त्वपूर्ण भूमिका खेल्यो। हाम्रो देशमा अहिलेसम्म पीडक वर्गले आफ्नै स्वार्थअनुरूप नीति निर्माण र शासन गरे। अब पीडित र सीमान्तकृत वर्गले देशको भाग्यरेखा कोर्नुपर्छ भन्ने त्यसका प्रष्ट जनादेश थियो। अनावश्यक संख्या बढाएर ६ सय १ जना पुर्‍याइएको भनी यसको व्यापक विरोध भयो। त्यसले संविधान सभालाई खर्चिलो बनाएको अवश्य थियो। तर समतामूलक संविधान बनाउने ऐतिहासिक सभामा सबै वर्ग, जातजाति, भाषा, संस्कृति, क्षेत्रबाट प्रतिनिधित्व हुनु सबैभन्दा महत्त्वपूर्ण कुरा थियो। त्यस हिसाबले यो विश्वकै उत्कृष्ट संविधान सभा थियो। यसमा महिला, दलित, मधेसी, पिछडिएको क्षेत्र, वर्ग सबैको प्रतिनिधित्व थियो। मुसलमान चुरौटे, तेस्रो लिंगीदेखि मधेसी दलित, कमैयासमेत सभासद् थिए जो यसअघि त्यहाँ पुग्ने कल्पना सपनामा समेत गर्न सकिन्नथ्यो। त्यही पंक्तिमा शान्ता थिइन्।
झ्याल बनाउनु छ भने इतिहासका पीएचडीको विशेषज्ञताले काम गर्दैन, सिकर्मी नै चाहिन्छ। गारो लगाउने ज्ञान इन्जिनियरलाई थाहा हुँदैन, डकर्मी नै चाहिन्छ। अशिक्षित भए पनि हरेक क्षेत्रका व्यक्ति आफ्ना काममा विशेषज्ञ हुन्छन्। इटालीका मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्सीले यस्तै व्यक्तिलाई 'अर्गानिक बुद्धिजीवी' भनेका छन्।
धेरै पढेका तर आफ्नै क्षेत्रकोे व्यावहारिक ज्ञान नभएका नक्कली बुद्धिजीवी हाम्रो देशमा सर्वत्र छन्। सभासद् भइखाएका राधादेवी तिम्सिना र सरस्वती चौधरीले संविधान सभा परिसरमा शान्ताको मैलो थारु परिधान देखेर उनकै अगाडि गर्नुसम्म उपहास गरेका थिए। कतिपय कुलीन सभासद्चाहिँ 'कमलरी भनेको के हो' भन्ने सोधेर शान्तालाई हैरान पार्थे। भूगोल थाहा नहुनेले संघीयताको नक्सा कोर्न खोजेझैँ त्यस्ता व्यक्ति पनि सबै वर्गको दुःख निदान गर्ने संविधान लेख्छु भनेर संविधान सभा पुगेका थिए। अर्कातिर शान्ताजस्ता निरक्षर व्यक्ति थिए जसको आफ्नै अनुभव ज्ञानको सबैभन्दा ठूलो स्रोत थियो। कमैया, कमलर, कमलरीको समस्याबारे शान्तालाई जति ज्ञान कुन सभासद्लाई थियो? बुद्धले सत्यबोधलाई ज्ञानको सबैभन्दा ठूलो स्रोत त्यसै मानेका थिएनन्। तर, ठुटे बुद्धिजीवी, भुइँफुट्टा कलाकार, अल्पमतिका परपीडक पत्रकार, टोलटोलका गँजडी र लालबुझक्कडहरूले शान्ताजस्ता जैविक बुद्धिजीवीको गरिबी र वर्गीय पछौटेपनलाई हेरेर गर्नुसम्म उपहास गरे। यही कुरा ठूला दलका प्रमुख नेताको मानसिकतामा गाडिएर बसेको थियो। सतहमा जे/जस्ता कारण देखिए पनि गरिब र निमुखाको पक्षमा बन्न लागेको संविधान जारी नहुनुको कारण त्यही थियो। त्यसपछि कुमालेको चक्रजस्तो जिन्दगीको गाडीले शान्तालाई फेरि त्यही विन्दुमा फर्काइदिएको छ जहाँ उनी दीनहीन अवस्थामा भूमिहीनका पक्षमा संघर्ष गरिरहेकी थिइन्। संविधान नबन्दा दुनियाँको सत्तोसराप सुन्नुपरेको छ, त्यसमाथि बेरोजगारी। मजदुरी गरौँ, सभासद् भइसकेकी मान्छेलाई कसैले काम दिँदैन। नगरूँ जिन्दगी चल्दैन। तर, उनले संविधान सभामा भूमिहीन र निमुखा वर्गको हितलाई संविधानमा पार्न अनि गाउँठाउँको विकास गर्न गरेको प्रयास स्मरणीय छ। आफूलाई दुःख दिने जमिनदार र तिनका सन्तानप्रति उनले देखाएको क्षमाभाव स्तब्ध पार्नेखालको छ। हिमाल पाक्षिकको एक प्रश्नमा शान्ताले भनेकी छन्, 'संसार सहनशीलता, क्षमाभाव र धैर्यले चलेको हुन्छ।' यो साधारण कुरा कतिले आत्मसात गरेका होलान्?