Monday 8 Mangshir, 2071 |
Menu

विचार

जाली झुटले ललकार

  • बिहीबार १० श्रावण, २०७०
  • वसन्त लोहनी
  • DISQUS_COMMENTS
(0 votes)
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अत्यन्त तागत भएको र मलाई असाध्यै मनपर्ने  कविता हो 'पागल'। यसै कविताको एउटा पंक्ति ' मेरो विवेक­वीरलाई जाली झुटले ललकार्छ' शीर्षकमा २०५७ र पछि शृंखलाबद्धरूपमा लेखेको थिएँ – लाउडा एयरको कथा । सत्ताधारीले उतिबेलाको शाही नेपाल वायुसेवा निगम (शानेवानी)  लुट्दा नेपालीलाई कसरी दुखेको थियो भन्ने व्यथा थियो त्यो । र, यसरी लुट्ने क्रममा पनि गरिब जनता र विकासको गफ आधिकारिकरूपमा आइरहेको थियो – 'विकासको फल गरिब जनताले चाख्न पाउनका लागि सरकार कटिबद्ध छ' भनेर । जनताले जे सुकै गरेर भए पनि मुद्दा जित्न जालझेल गर्ने झगडियाको रूपमा नभएर प्रधानमन्त्रीलाई सधैँ माटोलाई माया गर्ने नेताका रूपमा हेरेको हुन्छ। तर प्रजातन्त्र ल्याएको हुनाले भ्रष्टाचार गर्न पाउनु नैसर्गिक अधिकारसरह थियो नेताहरूको त्यतिबेला।

तेह्र वर्षपछि पर्केर हेर्दा अहिले देखिन्छ हिजोको लउडा एयर त केही पनि होइन रहेछ। गणतन्त्र ल्याउनेको मानसिकता त झन् डरलाग्दो पो देखियो। हिजोकाले त संस्थामात्रै मारेका थिए। आजकाले त  मुलुकै मार्न लागे। कमिसन नपाई अख्तियारीमा दस्तखत गर्दिन भन्ने सिञ्चाइ मन्त्री देखियो। केही नभएकाले जन्मिदै करोडपति भएसरहको विवरण पेस गरेको पनि देखियो। अझ प्रतिनिधि पात्रका रुपमा बाबुरामजीलाई हेरे पुग्छ। महान् क्रन्तिकारी उनले त प्रधानमन्त्री हुँदाको गुन तिर्न र आशिर्वादलाई मजबुत पार्न मुलुकका १५ वटा एयरपोर्ट नै विदेशी प्रभुलाई सुम्पिन खोजे ।  जनदबाबका कारणले मात्र त्यो रोकिएको थियो। त्यस्तै आफन्तलाई जग्गा नै बाँडे उनकै बिताजस्तो ठानेर। फरक यत्ति हो कि हुकुमको सट्टा आजको तरिकाबाट गरे। अनि अपराधीलाई उन्मुक्ति दिन हरप्रयास गरे। हिजोको जस्तो सयकडा यति भनेर कमिसन खाने जमाना रहेनछ। अहिले त दुई अर्बको काम चार अर्बमा ठेकेदारलाई दिएर दुई अर्ब नै मार्ने चलन आएछ। एउटामात्र उदारहण हेराँै – त्रिशुली 'ए' को। यसको बाटो खोले उनले। तर सकेनन् पहिलो पटक। किनभने मुलुकलाई मायागर्ने एउटा इमानदार कर्मचारीका कारण। दोश्रो पटकको प्रयास कर्मचारीको आन्दोलन र जनदबाबबाट असफल भयो।
 अझ उल्टो ठाडै हकार्छन् –  ' महिनाको करोडौँ कमाउन सक्ने बाबुराम र हिसिलाले भ्रष्टाचार गरे भनेर छन्कसले पत्याउँछ? ' यस्तो करोडाँैको बगम्फुसे कुरा गर्नुभन्दा महिनाको लाखाँैमात्र इमानको पसिना चुहाएर कमाएर देखाउन सकुन् त! हामी पनि दुई अक्षर जानेको र सीप भएकै मानिस हौँ। इन्जिनियरिङ्ग क्याम्पसमा पढाउँदा के कति कमाए देखेकै हो। अझै भट्याउँछन् उनी, अधुरो क्रान्ति पूरा गर्न बाँकी छ भनेर। त्यसको मतलब कसरी बुझ्ने हो हामी नेपालीले? अधुरो क्रान्ति पूरा गर्ने भनेको के अब बाँकी पनि उतै बुझाउने भनेको हो?
कुनैबेला लेन्डोप दोर्जेको भाषण सुन्ने हजारौंको भिड हुन्थ्यो र अगाडिपछाडि झुन्डका झुन्ड मान्छे हुन्थे। त्यही दोर्जे आखिरमा नित्तान्त एक्लो भयो । अन्ततः ऊ पश्चातापको आगोमा जलेर मर्‍यो। राजनीतिमा जे गरेपनि हुन्छ भन्ने 'इन्फ्रास्टक्चर' अर्थात् जगमा बनेको लुटपाट र बेइमानीको 'सुपर स्ट्रक्चर' अथात् माथिको बनोट अत्यन्त कमजोर हुन्छ भन्ने आर्किटेक्ट बाबुरामजीले नबुझ्ने कुरा त होइन। इतिहास नै साछी छ यसको त। जहाँ हेरे पनि देखिन्छ। अझ टडकारो त गोर्वाचोभकै छ। ऊ आफ्नो मुलुक भित्रकै तागतमा उभिएको थियो।
नेपालमा अहिलेको राजनीति मूलतः अन्तैका लागि उपयोगिताको खेल भएको देखिन्छ। यस खेलमा कसैले टेलिभिजनमा कुर्लिँदैमा कद अल्को हुने अवस्था छैन। यिनको कद जमिनस्थ भइसकेको छ। मुस्तण्डहरूलाई अगाडि पछाडि लगाएर तागत आउने होइन। अफगानिस्तानका सबै युद्ध सरकारले आआफ्नो सेना राखेका हुन्छन्। हाम्रो मुलुकमा मुस्तण्डहरू पहिले जमिन्दारले पाल्थे र राज्य शक्तिको आडमा गरिबको शोषण गर्थे । तराईतिर त किल्ला जस्तो घर हुन्थ्यो र हात्ती पाल्थे। १९ सौं सताब्दीको सुरुमा यसरी शोषित भएर आफ्नो मुलुक छोड्न वाध्य पारिएका ती नेपाली बर्मा, दार्जिलिङ, आसाम, सिक्किम र भुटान पुगे। तिनले घर छाड्दा यति धेरै पीडा बोकेका थिए कि रुँदा उनीहरुको मुखबाट आवाज निस्कन सकेको थिएन। समग्रमा भन्नुपर्दा मूलतः अहिले त्यो अर्को स्वरूपमा र केही फरक ढंगमा रूपान्तरण भएको छ।
हालै भेट भयो एकजना मित्रसँग। उनी व्यावसायिक रूपमा प्रतिष्ठित छन् र सम्पन्न पनि। मुलुकको अवस्थाबाट चिन्तित र ज्यादै दुःखी भएर भने – 'महेन्द्र र वीरेन्दको त कुरै छोडौँ ज्ञानेन्द्रका बेला पनि अहिलेको भन्दा राम्रो थियो। मुलुक अहिलेकोजस्तो पराधीन भएको थिएन। न यस्तो भाँडभैलो नै थियो। ध्वस्त नै पारे मुलुक त यिनले '। म जिल्ल परेर उनलाई हेरिमात्र राखेँ। यी तिनै व्यक्ति थिए जसलाई त्यतिबेला टेलिभिजनमा सबैले देखेका थिए, नेपालीको हकहित, स्वाभिमान र पहिचानको जगेर्ना गर्न उनले राजा ज्ञानेन्द्रको कर्फ्यु तोडेका थिए, गोलीखान तयार भएर।
सात महिनादेखि लगातार सरकारी निर्णयका लागि सम्बन्धितहरूको ढोका ढकढकाइरहेको छु एक जना नागरिक म ­ निर्णय गर्दिनुस् न भनेर । निर्णय या जानकारी दिनु त कता हो कता केही मतियारले राज्य संयन्त्रलाई प्रयोग गरेर तालिवान शैलीमा मेरो घर भत्काए । उता हिसिला यमीको चुनाव क्षेत्र परेको हँुदा त्यहाँ छुन सकेन राज्यले। कसैको भत्कियोस् भन्ने चाहना होइन। राज्यको दोहोरो मापदण्ड र पाखण्डको मात्र चर्चा गरेको हो। मलाई कसैले अन्याय गर्न सक्तैन, राज्यले मलाई अन्याय हुन दिँदैन भन्ने सामान्य नागरिकको विश्वास गुमिसकेको छ। न्याय पाउँछु भनेर ठान्ने अवस्था नै हराइसकेको छ। जे हुन्छ नाटकको मञ्चनमात्र हो। खेल लोभको खेती भित्त्याउन प्रभुको आशीर्वादका लागि जोहो गर्ने तँछाडमछाडमात्र हो। राजनीतिक सेरोफेरो यत्ति हो र जनसाधारण भने पिल्सिइरहेका छन् अन्त्यहीन बन्दै गएको संक्रमणकालीन भागबन्डा, लुट र सरकारको उपस्थितिहीन हुँदैगएको अवस्थाबाट।
साँच्ची नै पछि हुने कुरा देख्न सक्तोरहेछ तागत भएको कविले। हाम्रा महाकविले देखे। पढौँ पागल कविताका यी पंक्तिहरूमा। लाग्छ आजको दिनको कल्पना गरेर उनी आगो भएका छन्।
 'निर्लज्ज नेतृत्वको निरस रसनाको
रण्डीको नाच हेर!
जन अधिकारको डँडाल्नोको भाँच हेर!
जब भँगेरे­टाउके छापाको कालो मिथ्याले
मेरो विवेक­वीरलाई
जाली झुटले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी!
सल्केको गोल झैँ राता!
जब निमुखा दुनियाँ कालो जहर पिउँछ,
पिउँछ कानले,
र अमृत भनी ठानेर
र मेरो आँखा अगाडि
साथी!
तब हुन्छन् ठाडा मेरा रौं, रौं
गर्गनका सर्पकेश झैं, मेरा जिस्काएका
रौं, रौं!'
जुनसुकै तन्त्र भए पनि यो मुलुक कसैको बिर्ता होइन। नेपाल हामी नेपालीको साझा चोक हो। हाम्रो सामूहिक अभिव्यक्ति हो। हाम्रो हाँस्ने र बाँच्ने ठाउँ हो। क्रान्तिको नाममा या शान्तिको नाममा, विषलाई अमृतको भ्रान्तिमा पिलाउने यो क्रम नेपालीले अब धेरै सहने छैनन्। यत्ति चेतना भए!