Friday 4 Poush, 2071 |
Menu

विचार

भारतीय टेलिग्राम र नेपालको दूरसञ्चार

  • बिहीबार २० असार, २०७०
  • रामचन्द्र भट्ट
  • DISQUS_COMMENTS
(0 votes)
आउँदो महिनाको १५ तारिकमा सम्भवतः दक्षिण एसियामा अन्तिम टेलिग्राम सन्देश आदान–प्रदान हुनेछ। सार्क देशहरुमध्ये सबैभन्दा पहिले टेलिग्राम सेवा थालेको भारतले सबैभन्दा पछि यो सेवा बन्द गर्दैछ। टेलिग्राम सेवालाई भव्य समारोहबीच बिदाइ गर्ने कार्यक्रम त्यहाँ केन्द्र सरकारले नै तय गरेको छ।
केही वर्ष अघिसम्म पनि अत्यन्तै जरुरी कुनै खबर आदान–प्रदान गर्न टेलिग्रामको प्रयोग हुन्थ्यो। 'तार' भनिने यो सेवा प्रयोग गर्न उपभोक्ता दूरसञ्चारको एउटा कार्यालयमा गएर सन्देश टिपाउनुपर्थ्यो। त्यो सन्देश दूरसञ्चारका कर्मचारीले पुग्नुपर्ने ठाउँ नजिकको दूरसञ्चार कार्यालयमा फोन गरेर टिपाउँथे। त्यो सन्देशलाई चिठी जस्तै गरी बोक्दै दूरसञ्चारका कर्मचारी घर–घरसम्म पुग्थे। तारबाट या त असाध्यै खुसी हुनुपर्ने खबर प्राप्त हुन्थे, या त सबैभन्दा पीडादायी। 
नेपालमा टेलिग्राम सेवालाई व्यवस्थित गर्न राजधानी काठमाडौंको त्रिपुरेश्वरमा छुट्टै निर्देशनालय नै सञ्चालन गरेको थियो तत्कालीन दूरसञ्चार संस्थानले। मोबाइल फोनको पहुँच विस्तारसँगै नेपालमा साँढे चार वर्षअघि नै यो सेवा बन्द भइसकेको थियो। सन् २००९ को जनवरी १ बाट नेपाल टेलिकमले यो सेवालाई बिदा गरिसकेको छ। 
स्वचालित टेलेक्स सेवालाई अन्तिमसम्म पनि केही बैंक, नेपाल वायुसेवा निगमले प्रयोगमा ल्याइरहेका थिए। रकम ट्रान्सफरका लागि प्रयोगमा आउने 'स्विफ्टकोड' टेलेक्सको माध्यमबाट सञ्चालन गर्दा सबैभन्दा भरपर्दो हुने भन्दै बन्द गर्न ती संस्थाले मानिरहेका थिएनन्। 
नेपालमा सन् १९५० (वि.सं.२००६) मा टेलिग्राम सेवा सुरु भएको हो। भारतमा भने त्यसको एक सय वर्षपहिले नै कोलकातामा तत्कालीन इष्ट इण्डिया कम्पनीले यो सेवा थालेको थियो।
मानिसको मृत्युका खबर, बिरामी भएकोदेखि लिएर कार्यालयहरुमा तत्काल गर्नुपर्ने निर्देशनका लागि टेलिग्राम प्रयोग हुने गरेको थियो। फ्याक्स सेवाको सुरुवातसँगै टेलिग्रामको दिनगन्ती सुरु भएको हो। अहिले मोबाइल सेवाको पहुँच विस्तारले यसलाई संसारभरि नै संग्रहालयमा राख्न थालिएको छ।
दक्षिण एसियाली राष्ट्रहरुमध्ये श्रीलंकामा सन् २०११ को जुनमै यो सेवा बन्द गरिएको हो। पाकिस्तानले सन् २००६ को जनवरीबाटै यो सेवा बन्द गरिसकेको थियो। सबैभन्दा पहिला प्रयोगमा आएको मुलुक अमेरिकाले पनि त्यसै वर्षको जनवरी २७ बाट सदाका लागि टेलिग्राफ सेवा बन्द गरेको हो।
एक सय ४४ वर्षपहिले यसको आविष्कार गर्ने स्यामुअल मोर्सले वासिङ्टनमा पठाएर सुरु भएको टेलिग्राम सेवाको अन्तिम सन्देश प्रेषक र प्रापक दुवै भारत नै हुने भएको छ। सन् १८५० मा तत्कालीन कलकत्ता र डायमण्ड हार्बरबीच सम्पर्क भएपछि दक्षिण एसियामै पहिलोपल्ट औपचारिकरूपमा यो सेवा थालनी भएको हो। 
एक पटक आविष्कार भएको प्रविधि सधैँभरि टिकिरहन सक्दैन। झण्डै दुई दशकअघि फ्याक्स सेवा नयाँ र लोकप्रिय थियो नेपालमा। जरुरी कुनै कागजपत्र पठाउनुपर्दा फ्याक्सको निकै उपयोग हुन्थ्यो। एकातिरबाट पठाएको डकुमेन्ट अर्कोतिर दुरुस्तै आउने प्रविधिले यसका प्रयोगकर्तालाई समेत धेरै नै आश्चर्यमा पारेको थियो। तर अहिले फ्याक्स मेसिनमा धुलो जम्न थालिसकेको छ। इमेलले गर्दा फ्याक्स सेवा पनि केही वर्षमै टेलिग्रामको अवस्थामा जाने निश्चित छ। इमेलपछि अर्को कुनै भरपर्दो प्रविधि आइसकेको त छैन तर पनि ठूला फाइल ट्रान्सफर गर्न मिल्ने प्रविधिहरु प्रयोगमा आइसकेका छन्। जसले भोलि इमेललाई पनि अहिलेको टेलिग्रामको हविगतमा अवश्य पुर्यािउनेछ। 
अहिले टेलिकमले मोबाइलबाट एक मिनेट कुराकानी गरेको प्रिपेडबाट एक रुपियाँ ५० पैसा, पोष्टपेड र ल्याण्डलाइनबाट एक रुपियाँ लिन्छ। तर यो करबाहेक हो। दूरसञ्चार सेवामा सरकारले १० प्रतिशत दूरसञ्चार सेवा शुल्क र १३ प्रतिशत भ्याट लगाउँछ। तिर्ने बेलामा उपभोक्ताले एक मिनेट कुराकानी गरेको दुई रुपियाँको हाराहारीमा तिर्नुपर्छ। 
तर अबको केही वर्षमा एक मिनेट कुराकानी गरेको यति रुपियाँ भन्ने प्रणाली सदाका लागि अन्त्य हुने दिशातिर अघि बढिरहेको छ प्रविधि। भाइबर, ट्याङगो, स्काइप, फु–टक, ह्वाट एप्स, बिबिएम जस्ता दर्जनौं प्रविधि आइसकेका छन्। जसले डाटा (इन्टरनेट) प्रयोगमार्फत् निःशुल्क कल, टेक्स्ट मेसेज, मल्टिमिडिया मेसेजहरु आदान–प्रदान गराइरहेका छन्। अर्थात् यी प्रविधिको प्रभाव टेलिफोन सेवा प्रदायकको आम्दानीमा सिधै पर्ने देखिएको छ। अहिलेदेखि नै नसोच्ने हो भने नेपालको सरकारी स्वामित्वको नेपाल टेलिकम, निजी क्षेत्रका एनसेल, युटिएलमात्र होइनन्, भ्वाइसको माध्यमबाट अर्बौ रुपियाँ आम्दानी लिइरहेका संसारका ठूला दूरसञ्चार सेवा प्रदायकहरुको अवस्था टेलिग्रामको भन्दा फरक हुने छैन। 
हालैमात्र क्यालिफोर्नियाको सिलिकन भ्यालीमा रहेको संसारकै सबैभन्दा ठूलो नेटवर्क उपकरण निर्माता सिस्कोले नयाँ डिभाइसको परीक्षण गरेको छ। सिस्कोले एउटै स्लटमा ४ सय जिबी डाटा आदानप्रदान गर्नसक्ने कोर राउटर बनाएको छ। सन् २०१७ सम्म मोबाइल टेलिफोनमा हुने डाटामध्ये दुई तिहाइ भिडियो हुने प्रक्षेपण कम्पनीहरुले गरिरहेका छन्। त्यसलाई थेग्नसक्ने क्षमताको राउटर सिस्कोले उत्पादन थालेको हो। 
कानुनको बलमा मात्र प्रविधि रोक्न सकिँदैन। भाइबर, ट्याङगो, स्काइप सबै भिओआइपीका रूप हुन्। जसले इन्टरनेटमार्फत् संसारभरि कुराकानी गर्न सहज बनाएको छ। नेपालबाट भिओआइपी प्रविधिमार्फत् विदेशमा कुराकानी गर्न वैध भए पनि आगमन कललाई रिसिभ गर्ने कार्य भने अझै अवैध नै छ। तर माथि उल्लिखित भाइबर, ट्याङगो, स्काइपलगायत्का निःशुल्क कल गराउने प्रविधि भिओआइपी हुन्। जसले कल गर्न र रिसिभ गर्न कसैले रोक्न सकेको छैन।
नेपाल सस्तो फोन सेवा भएका मुलुकहरुको सूचीमा छ। दुई वर्षअघि अङटाडले गरेको अध्ययनअनुसार नेपाल संसारमै सस्तो फोन सेवा हुने मुलुकहरुको सूचीमा छ। तर इन्टरनेट सेवा भने निकै महँगो भइकन पनि स्तरीय छैन। अबको दिनमा जसले इन्टरनेट सेवा सस्तो र सहजरूपमा दिनसक्छ, त्यसैको भविष्य आर्थिकरूपमा बलियो हुने देखिएको छ। किनकि भिओआइपी प्रविधिका लागि इन्टरनेटका रूपमा चिनिने डाटा सेवा नभई हुँदैन। डाटाबिना कुनै पनि यस्ता प्रविधि चल्न सक्दैनन्। 
दुई दशकअघिसम्म फोनमा एसटिडी सेवा राख्न अलग्गै धरौटी राख्नुपर्थ्यो। देशभरि चार किसिमको एसटिडी दर थियो। तर अहिले प्रविधिले गर्दा देशभरि दुई प्रकारको कल रेटमात्र कायम भएको छ। विगतमा टेलिकमको आम्दानीको ठूलो अंश आइएसडी, एसटिडीबाट उठ्थ्यो तर अब यी दुवै प्रविधि विस्थापित हुँदैछन्। एसटिडीको प्रयोग गर्नुको बदला नेपालबाट विदेशमा फोन गर्नेले भिओआइपीका प्रविधि प्रयोग गरिरहेका छन्। एसटिडीको रेट त स्थानीय कलसरह झरिसकेको हुँदा अब दूरसञ्चार सेवा प्रदायकले बजारमा टिक्नकै लागि पनि गम्भीर सोच्नुपर्ने अवस्था छ। 
हालैमात्र स्मार्टफोनको एप्स 'भाइबर' लाई प्रयोगकर्ताले डेक्सटप कम्प्युटरमा समेत प्रयोग गर्ने सुविधा थपिएको छ। यसले गर्दा अब स्मार्टफोन नै नभए पनि कम्प्युटरका प्रयोगकर्ताले संसारमा जहाँसुकै रहेका आफन्तलाई सित्तैमा फोन गर्न सक्छन्। यसको असर पनि सिधै दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा नकारात्मकरूपमा पर्नेछ। 
भारतमा टेलिग्राम सेवा बन्द हुने समाचार अहिले अन्तर्राष्ट्रियरूपमा निकै नै 'कभरेज' भएको छ। नेपालका दूरसञ्चार सेवा प्रदायकले अहिलेको भ्वाइस सेवालाई मात्र बेचेर त्यसैमा रमाइरहे भने भोलि नेपालको टेलिफोन सेवाको कभरेज पनि यहीरूपमा नहोला भन्न सकिँदैन। किनकि दक्षिण एसियाका धेरै देश नयाँ प्रविधिमा गइसकेका छन्। वाइक्यास, एलटिइ, फोरजीमा धेरै सेवा प्रदायक पसिसकेका छन्। जसले नयाँ प्रविधिलाई तत्काल 'एडप्ट' गर्न सहज बनाइरहेको छ। नेपालमा भने कानुनको आडमा नयाँ प्रविधि ल्याउन बाटो छेक्ने काम हुँदैछ। मोबाइलको विस्तारले गर्दा चार वर्षअघि नै टेलिग्रामलाई फ्याँक्न सफलता पाए पनि नयाँ प्रविधि सुरु गर्न नसक्दा भोलिका दिनमा नेपालको दूरसञ्चार सेवा भारतीय टेलिग्रामसरह नहोला भन्न सकिँदैन।